काठमाडौँ – सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ४१ ढोका खोलिएका छन् । पानीको बहाव बढ्दै गएपछि ब्यारेजका ५६ मध्ये ४१ वटा ढोका खोलिएको छ ।
निरन्तरको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ । कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार आइतबार बिहान ६ बजे ब्यारेज भएर ३ लाख ४२ हजार ६५ क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको छ ।
सप्तकोशीमा अहिलेसम्मको इतिहासमा सबैभन्दा बढी सन् १९६८ मा सात लाख ८८ हजार २०० क्युसेक पुगेको थियो। कोशी ब्यारेज बन्दा सुरुवातका वर्षमा कोशी नदीले झन्डै आठ लाख क्युसेक पानीको क्षमता धाने पनि त्यसपछिका वर्षहरूमा पानीको लेभल घट्दै गएको पाइन्छ।
पछिल्लो समय कोशी ब्यारेजभन्दा माथिल्लो भागमा बालुवा थुप्रिएका कारण थोरै पानीको बहावमा पनि खतरा हुने गर्छ।
२०६५ भदौ–२ गते एक लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो। त्यति वेला कोशीले पूर्वी तटबन्ध भत्काउँदा कोशी गाउँपालिकाका चारवटा मानवबस्तीमा पसेको थियो। त्यति वेला सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काउँदा ७ हजार ५ सय ६३ परिवार विस्थापित भएका थिए।
सप्तकोशी नदीमा अझै बहाव बढ्न सक्ने भएकाले नदी आसपासका बस्तीमा सर्तकता अपनाउन सूचना जारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया