मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सङ्गीत

‘हामीले स्टेजमा गीत गाउँदा पाँच सय रुपैयाँ पाइन्थ्यो, अहिले लाखौँ कमाइ हुन्छ’

५३ वर्षको अविराम यात्रामा साङ्गीतिक आकाशकी तारा

काठमाडौँ– असार महिनाको मध्य झरी । एकैछिनमा कहिले चर्को घाम र कहिले मुसलधारे झरीको मौसममा उत्तिकै दौडधुपमा छिन्, कोकिलकण्ठ आवाजकी गायिका तारा थापा ।

‘फूल झरे पनि काँडा झर्दैन,’ ‘सबैले दिने उस्तै हुन्छ माया,’ ‘सय थरी बाजा एउटै ताल,’ ‘कलिलो तामालाई सोध रामलाई,’ ‘तारी नदेऊ हे माझी दाई,’ ‘काली पनि देखेँ मैले गोरी पनि देखेँ’ जस्ता सैयौं कालजयी गीतहरुमा सङ्गीतप्रेमीहरुले उनलाई दिलमा बसाएका छन् । तिनै गीतहरु फेरि उनी उनका स्रोताहरुलाई सुनाउँदै छिन् ।   

शुक्रवार जमलस्थित राष्ट्रिय नाचघरमा हुने आफ्नो गायन प्रस्तुति ‘तारा थापा: स्वर्णिम साँझ–२०८१’ का लागि उनलाई अहिले भ्याइनभ्याइ छ । आफ्ना कालजयी सिर्जनाहरु रियाज र अभ्यासमा उनी निकै अभ्यस्त छिन् ।

उनको दौडधुप र व्यस्तताकै बाबजुत पनि थोरै समय बातचितका लागि आग्रह गरेपछि उनी राजी भइन् । र फुकाइन्, उनको हालको व्यस्तता र पाँच दशकभन्दा लामो समयको अविराम साङ्गीतिक यात्राका किस्साहरु ।

हुन त असार महिना गायिका थापाका लागि सुख, दुःख, पीडा र जीवन बोध यी सबै उतारचढावहरुको समिश्रण हो । यही महिनाबाट जीवनमरणको दोसाँधको युद्धमा लडेर उनी पुनः साङ्गीतिक फाँटमा उभिन आइपुगेकी छिन् ।

आजभन्दा झण्डै १० वर्षअघि २०७१ साल असार महिनामा डाक्टरले स्तन क्यान्सर भएको पुष्टि गर्दै गर्दा उनलाई लागेको थियो, ‘मेरो जीवन सकियो, म मरेँ, मेरो जीन्दगी छैन । अब मेरो दिन यत्तिकै रहेछ ।’

त्यसपछि एक वर्षसम्मको निरन्तर उपचारपछि उनले क्यान्सरलाई जितिन् । त्यो समयमा उनले संसारबाटै माया र आर्थिक सहयोग समेत पाइन् ।

उनका स्रोता, शुभचिन्तक, सङ्गीतकर्मीको प्रेमले नै उनको आत्मबललाई बलियो बनायो । त्यही प्रेमले उनी पूर्ववत अवस्थामा त फर्किइन् नै उनले आफ्नो साङ्गीतिक जीवनलाई निकै सुक्ष्म रुपमा नियाल्ने मौका समेत पाइन् ।

अन्य क्षेत्रमा लागेका समकालीन सहपाठीलाई हेर्दा आफू लागेको सङ्गीत क्षेत्रबाट केही गर्न सकिएन भन्ने उनको भ्रमलाई यही क्यान्सरले ताडिदियो । क्यान्सरबाट थलिँदा जुन माया र साथ उनले पाइन्, त्यो अतुलनीय रहेछ भन्ने बल्ल उनलाई ज्ञात भयो । उनले रोजेको सङ्गीतको बाटो त्यतिबेला उनलाई निकै प्रिय र आत्मिय लाग्यो ।

त्यही बेला उनले साङ्गीतिक क्षेत्रबाट नै क्यान्सर पीडितहरुको सहयोगार्थ केही गर्छु भन्ने प्रतिज्ञा गरिन् । त्यही प्रतिज्ञा पूरा गर्न अहिले साङ्गीतिक साँझ प्रस्तुति दिन लागेको उनले प्रस्ट्याइन् । भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत रहँदा उनले त्यहाँ टिकट मात्र काट्नलाई पनि नसक्ने वर्गका मानिसहरु देखिन् ।

किमो दुई/तीन पटक गर्दागर्दै आर्थिक अभावका कारण नसकेर हार मानेका मानिसहरुलाई पनि आँखै अगाडि भेटिन् ।

‘क्यान्सर थोरै पैसाले धान्ने र उपचार हुने रोग होइन । मलाई पनि संसारबाट सहयोग आएको थियो,’ उनले भनिन्, ‘त्यतिबेला नै मलाई लाग्यो, म निको भएपछि मेरो सङ्गीत क्षेत्रबाट नै क्यान्सर रोगीहरुका लागि एउटा फण्ड रेज गरेर सहयोग गर्छु । यो मेरो त्यतिबेलाकै सपना हो ।’ असहाय र अशक्तहरु क्यान्सरका कारण मर्न नपरोस्, दुःख नपाओस् र औषधी उपचारबाट बञ्चित हुन नपरोस् भन्ने उनको सोच थियो ।

उनको यही सपनालाई पूरा गर्न अहिले चन्द्रज्योति आले (लाफा रुङ्ग फाउण्डेसनकी अध्यक्ष) लगायत लागि परेका छन् । उनको स्वर्णिम साँझलाई समर्थन गर्दै थुप्रै आर्थिक सहयोगहरु आइरहेका छन् । उनको प्रस्तुतिबाट सङ्लन भएका रकमले क्यान्सर पीडितहरुको घाउमा मलम लगाउनेछ भन्ने कुराले उनी निकै उत्साहित फुरुङ्ग छिन् ।

किनकि साङ्गीतिक सिर्जना र सङ्गीतप्रेमीहरुकै कारण उनी उठ्न सकिन् । क्यान्सर पुष्टि भएर किमो चढाउनु अघि अप्रेसन गरेको १८ दिनमै उनी हङकङको कार्यक्रमको स्जेटमा उभिएकी थिइन् ।

६ महिना अगाडिदेखि साइन गरेको उक्त कार्यक्रमका लागि टिकट बिक्री भइसकेर अन्तिम अवस्थामा आयोजक र उनका स्रोताहरुकै लागि उनी त्यहाँ पुगेकी थिइन् । सङ्गीतले दिएको प्रेम र सम्मानको गुणलाई उनी आफ्नो साङ्गीतिक कोसेलीहरु मार्फत नै तिर्न खोजिरहेकी छिन् ।

५३ वर्षमा दौडिँदै गरेको साङ्गीतिक यात्रा

वि.सं. २०२८ चैत २८ गते रेडियो नेपालबाट पहिलो गीत रेकर्ड गराएपछि अहिलेसम्म पनि तारा थापाको साङ्गीतिक यात्राले विश्राम लिएको छैन । सरोजगोपालको शब्द र सीके रसाइलीको सङ्गीतमा पूर्णसिंह नेपालीसँग संयुक्त रूपमा ‘माझी दाइ डुङ्गा तारिदेऊ’ बोलको गीत रेकर्ड गरेपछि उनको सङ्गीत यात्राले निरन्तरता पायो ।

वि.सं. २०२९ सालपछि उनले बाल गीत, लोक, राष्ट्रिय, आधुनिक सबै खालका सयौं गीतहरु गाइन् । तारादेवी, अरुणा लामा जस्ता हस्तीहरुपछि सङ्गीत फाँटमा छिरेकी उनका गायनले नेपाली सङ्गीतलाई स्वर्णिम बनाउन अझै टेवा पुग्यो । उनका गायनसँगै उनी नामजस्तै नेपाली सङ्गीतका लागि चम्किने तारा बनिरहेकी छिन् ।

एक त सङ्गीतका सर्जकहरु कम हुनु अर्कोतिर नेपाली सङ्गीतलाई माथि लैजानुपर्ने त्यो कालखण्डमा उनको कोकिलकण्ठ नै उनका लागि ठूलो अवसर बन्यो । नातीकाजी, शिवशंकर, गोपाल योञ्जन जस्ता सङ्गीत सर्जकहरुको साथ उनका लागि निरन्तर रह्यो ।

पूख्र्यौली थलो पाल्पा भएपनि उनको परिवारको बसाइँ भैरहवा हुँदै काठमाडौँमा भयो । बुवा (अमृतलाल थापा) भारतीय पल्टनमा भएकै कारण उनको जन्म देहरादूनमा २०१२ साल माघ १३ गते भयो । देहरादुनमा ६ कक्षासम्म पढेपछि उनले ७ कक्षा जम्बो कश्मिरमा पढिन् ।

बुवा रिटायर्ड भएर परिवारको बसाइँ काठमाडौँमा सरेपछि उनको अध्ययन यतै भयो । बाल्यकाल भारतमै बितेको हुनाले सानो छँदा उनले हिन्दी गीत सुनिन् । बाल्यकालमा घरको काम गर्दै गर्दा आमा(सुकुमारी थापा)ले पनि हिन्दी गीत गाएको उनले सुनिन् । बुवाआमा दुवैलाई सङ्गीतमा असाध्यै रुचि थियो ।

उनी सानै छँदा बुवाले एउटा भ्वाइलिन घरमा लिएको आएको उनलाई स्मरण छ । दुई/तीन वर्षमा पल्टनबाट देहरादूनस्थित परिवारलाई भेट्न आउँदा बेसुरमै भ्वाइलिन बजाउँथे । त्यसपछि उनीसहित सबैजना ताली बजाएर रमाएको उनलाई आजै जस्तो लाग्छ । उनलाई बाल्यकालदेखि नै त्यो भ्वाइलिनको धुन र सङ्गीतको प्रभाव पर्‍यो ।

जब नेपालबाट ‘आमा’ फिल्म देहरादूनसम्म पुग्यो, तब मात्र उनले नेपाली गीत सुनिन् । नेपाली गीत र कलाकारहरु देखेर उनी त्यतिबेला खुब खुसी भएकी थिइन् । १२ वर्षको उमेरमा काठमाडौँमा आएपछि नेपाली गीत र साथीहरुको सरसङ्गतमा उनी निकै भिजिन् ।

उनी स्कूलमा गीतहरु गाइरहन्थिन् । उनले निकै प्रसन्न मुद्रामा सुनाइन्, ‘क्लास सकिने बित्तिकै साथीहरुले तारा गीत गा न गा, गाइहाल भन्थे, अनि म गाउन शुरु गरिहाल्थेँ । स्कूलको पिकनिक पनि गाउँथेँ ।’

स्कूल जाँदाआउँदा, घरमा साथीहरुका माझमा उनको गीत गायनको यात्रा चलिरह्यो । उनकी मिल्ने साथी सीता गुरुङको दाई तिर बहादुर गुरुङले एक दिन उनलाई भने, ‘तारा तिम्रो यति मिठो स्वर छ, तिमीले रेडियो नेपालमा गाउनैपर्छ ।’

उनैले रेडियो नेपालमा भ्वाइस टेस्टका लागि निवेदन लेखेर पेश गरिदिएका थिए । यसरी काठमाडौँस्थित कन्या स्कूलको कक्षा र सहपाठीहरुको जमातमा गीत गाउने सानी ‘तारा थापा’ २०२७ सालमा भ्वाइस टेस्टका लागि सिंहदरवारको रेडियो नेपाल छिरेकी थिइन् ।

साङ्गीतिक माहोल र ज्ञानबारे अनविज्ञ उनी त्यतिबेला अनुत्तीर्ण भइन् । स्कूलको रातो फ्रक र सेतो सर्टमै १५ वर्षको उमेरमा उनी रेडियो नेपाल पुगेको उनलाई आज पनि त्यो पल उत्तिकै यादगार छ ।

त्यतिबेला ठ्याक्कै कुन गीत गाइन् उनको स्मरणमा छैन । नातीकाजी, शिवशंकर, सिके रसाइली, ज्ञानबहादुर श्रेष्ठहरुले उनको स्वर पहिलोचोटी सुनेपछि र उनलाई देखेपछि गायिका हुने सङ्केत देखे । सङ्गीतकार श्रेष्ठले उनलाई त्यही भने, ‘तारा तिम्रो स्वर मिठो छ । तर तिम्रो रियाज पुगेन । अब तिमीले रियाज गर्नुपर्छ र प्राक्टिस (अभ्यास) गर्नुपर्छ ।’

श्रेष्ठले सङ्गीत सिक्न र रियाज गर्न घरमै बोलावट भएपछि उनी बिहान–बिहान त्यही सिक्न गइन् । कुराकानीकै क्रममा उनले भनिन्, ‘ज्ञानबहादुर श्रेष्ठ नै मलाई सङ्गीतको सरगम सिकाउने पहिलो गुरु हुनुहुन्छ । त्यही नै मैले हार्मोनियममा सारेगमको स्थान कहाँ हुन्छ र त्यसको लय सिकेँ ।’

त्यसपछि श्रेष्ठकै सल्लाहमा रेडियो नेपालमा रहेकी सङ्गीत सर्जक कोइलीदेवी माथेमाकै सहायतामा उनले हार्मोनियम किनिन्, जुन अझै उनको घरमा छ । घरमा हार्मोनियम आएपछि स्कूलबाट आउने बित्तिकै उनको समय रियाजमा हुन्थ्यो ।

श्रेष्ठको घरमा नयाँ–नयाँ गीतहरु रियाज गर्ने अभ्यास दिनकै भएपछि फेरि उनी रेडियो नेपालमा भ्वाइस टेस्टका लागि एक वर्षपछि पुगिन् र सफल पनि भइन् । त्यसपछि उनको साङ्गीतिक यात्रा अविराम रुपमा चल्यो । श्रेष्ठकै सङ्गीतमा उनले थुप्रै गीतहरु रेडियो नेपालबाट रेकर्ड गरिन् ।

उनका अनुसार हालसम्ममा उनले छ/सात सयको हारहारीमा गीतहरु गाएकी छिन् । यद्यपि नेपालमा पुराना गीतहरु सङ्ग्रह गर्ने प्रणाली शुरुवाती समयदेखि नै नहुँदा उनका कतिपय गीतहरु अहिले पनि रेडियो नेपालको सङ्कलनमा छैनन् ।

रेडियो नेपालले पछिल्लो केही समयअघि मात्र पुराना गीतहरुलाई अर्काइभ गर्ने कार्यलाई थालनी गरेको छ ।

३० को दशक उनका लागि मात्र नभएर नेपाली सङ्गीतका लागि स्वर्णिम समय थियो । गीतकार, गायकगायिकाहरु, वाद्यवादक सबैजनाको भेला हुने थलो उही रेडियो नेपाल थियो ।

उनी स्मरण गर्छिन्, ‘त्यो समय अहिलेको हिसाबले हाम्रो लागि स्वर्णिम काल नै थियो । अहिले जसरी महोत्सव हुन्छ, त्यसरी नै रेडियो नेपालमा पनि त्यस्तै माहोल हुन्थ्यो । गीतकार, सङ्गीतकार, गायकगायिकाहरु त्यस्तै राम्रा र धुरन्धर हुनुहुन्थ्यो ।’

तीनताका गायकगायिकाहरु नारायण गोपाल, तारादेवी, अरुणा लामा, सङ्गीतकारहरुमा अम्बर गुरुङ, गोपाल योञ्जन, नातीकाजीहरु उत्तिकै धुरन्धर थिए ।

तिनै नै तीनताकाका साङ्गीतिक क्षेत्रका हस्तीहरु थिए । त्यही हस्तीहरुको छत्रछायामा उनी उभिन पुगेकी थिइन् । नजानीनजानी रहरै रहरले गाएको उनको पहिलो रेकर्ड गीत नै निकै लोकप्रिय भयो । १५/१६ वर्षको उमरमै गायिकाको ओझ उनले बोकिन् र औपचारिक रुपमै सङ्गीत ज्ञान लिनुपर्छ भन्ने बल्ल बुझिन् ।

सङ्गीत सिक्ने हुटहुटीमै उनी पद्मकन्या क्याम्पस पुगिन् । सङ्गीतमा औपचारिक ज्ञान उत्तिकै जरुरी छ भन्ने कुरामा अडिग भएर नै उनले त्यहाँबाट सङ्गीत विषयमै २०३७ सालमा स्नातक सम्मको अध्ययन पूरा गरिन् ।

त्यता उनले शास्त्रीय सङ्गीतका पद्मा कादम्बरी, इन्दिरा पाण्डे, बुद्धरत्न शाक्य लगायतका धुरन्धर गुरुहरु भेटाइन् । लोक गीतमा गोपाल योञ्जन, नुच्छे डङ्गोल जस्ता त्यस्तै गुरुहरु भेटाइन् ।

२०३५ सालपछि गोपाल योञ्जनको साङ्गीतिक सङ्गतमा उनको सङ्गीतको यात्रा फेरियो ।

‘गोपाल योञ्जन जस्ता सङ्गीत सर्जकको साथले मेरो सांगीतिक करिअर नयाँ स्वरूप पायो । किनभने उहाँकोको सङ्गीतमा वि.सं. २०३५ सालमा ‘तारी नदेऊ हे माझी दाई माइतीको पाप लाग्ला है गीत गाएँ, त्यो गीतले नै मलाई स्थापित गरिदियो । यही गीतले चाहिँ मलाई पक्का गायिका हो भने र स्थापित गरिदियो ।,’ उनी सम्झन्छिन् ।

उनले योञ्जनसँगको साङ्गीतिक सहकार्य स्मरण गरिन् । यसभन्दा अघि उनको ‘मायालुको छेउमा जाँदा ए हावा,’ ‘म तिम्रै हरेक बस्तीहरुमा’  आधुनिक गीतहरु पनि निकै सुपरहिट थिए । स्टेजमा जहाँ जाँदा पनि उनी यिनै गीतहरु गाउँथिन् ।

त्यतिबेला उनले निकै राम्रा सङ्गीत सर्जकहरुको साथ पाइन् । त्यस मानेमा उनी आफूलाई पनि भाग्यमानी ठान्छिन् ।

साङ्गातिक यात्राको शुरुवाती दौडानमा उनी सोल्टी, भैरव नृत्य दलमार्फत याक एण्ड यति, मनास्लु होटलमा आफ्नो गायन प्रस्तुति दिन्थिन् । कार्यक्रम सकेर आउँदा रातको १०/११ बज्थ्यो । कुनै महत्वपूर्ण उत्सवहरुमा बिहानी मिर्मिरे नै हुन्थ्यो ।

तत्कालीन नेपाली समाज र छोरीमान्छेलाई हेर्नेलाई परम्परागत मान्यताहरुलाई पन्छ्याउँदै उनले आफ्नो यात्रालाई अगाडि बढाइरहिन् । २०४० सालमा खगेन्द्र सङ्गमसँग वैवाहिक बन्धनमा बाँधिएपछि पनि उनको साङ्गीतिक बाटो रोकिएन ।

त्यसपछि २०४२ सालमा जेठो र २०४५ सालमा उनले कान्छो छोरा जन्माएपछि उनले श्रीमती, बुहारी र आमाको भूमिका निर्भाह गर्दै आफ्नो गायनको छविलाई पनि सँगै लिएर हिँडिरहिन् ।

विवाहपछि उनको गायन स्टेज र गीत रेकर्डिङतिर बढी केन्द्रीत भए । उनी स्मरण गर्छिन्, ‘उहाँ (श्रीमान् खगेन्द्र सङ्गम)ले मलाई विवाहपछि होटलमा चाहिँ हुन्न भनेर गाउन दिनुभएन । तर स्टेजमा गीत गाऊ, रेडियोमा, स्टुडियोमा गीत रेकर्ड गर, विदेशतिर प्रोग्राममा गएर गाऊ भन्नुभयो । उहाँबाट केही बाधा अड्चन भएन ।’

आफ्ना गीति सिर्जनाहरु सुनेर उनी आफैं आनन्दमा डुब्छिन् । ‘तारी नदेऊ हे माझी दाई,’ ‘अगेनीमा आगो बल्दा’, ‘किनार भेट्न खोज्दा खोज्दै,’ ‘रोएर जान्छु म त आफैं’ सिर्जनाहरु उनका लागि अझै विशेष छन् । ‘तारी नदेऊ’ बाहेक बाँकी उनका प्रिय गीतहरु मिडियामा त्यति नआएकै कारण स्रोताहरुले सुनेनन् ।

उनको गुनासो छ, ‘मलाई अति नै मनपर्ने यी गीतहरु मेरा स्रोताले सुन्न पाउनुभएन । मिडियाबाट पनि तारा थापाका यी गीतहरु भनेर खोजी भएन । जुन बढी बजिरहेका छन्, त्यही बढी बजाइयो ।’

उनका अनुसार वेदना भरिएका ती गीतका शब्द र सङ्गीतको गहनता भित्र उनले डुबेर स्वर र लय भरेकी छिन् । महिनौं दिन अभ्यास गरेर मात्र गाइएका ती गीतहरुलाई भित्री मन र मस्तिष्कबाट उनले गाइन् । जुन गीतहरुले उनको मात्र नभएर सबैका उमेर, जोस र अनुभूतिहरुलाई समेत सम्बोधन गरेका छन् भन्ने उनलाई लाग्छ । 

अहिले सङ्गीतलाई सुन्ने भन्दा पनि हेर्ने जमानामा पनि कालजयी सिर्जनाहरुको महिमा उत्तिकै छ । गीत बझाउने अनगिन्ती सञ्चारमाध्यमहरुबाट ती गीतहरुलाई खोजेर बजाउने हो भने नयाँ पुस्तामाझ पनि पुग्थ्यो कि भन्ने उनको धारणा छ । अहिलेका सर्जकहरु सिर्जना बचाउन भन्दा पनि आफू बाँच्न बजारतिर पुगे ।

सङ्गीत क्षेत्रमा भएका यी सबै कायालपट उनले नियालिरहेकी छिन् । फेरि उनी आफ्नो पुरानै क्षणको फ्ल्यासब्याकतिर पुग्छिन्, ‘सङ्गीतमा अहिलेका भाइबहिनाहरुलाई निकै सजिलो छ नि । २०३८/०३९ सालतिर होला सबैले दिने उस्तै हुन्छ माया गीतमा मैले २५ टेक खाएर बल्ल रेकर्ड गरेकी थिएँ ।’ जुन गीतमा राम थापाको सङ्गीत सुरेन्द्र राणा रचना समावेश थियो ।

उनी फेरि थप्छिन्, ‘अहिलेका गायक/गायिकालाई नाम र दाम दुवै छ । हाम्रो पालामा स्टेजमा कार्यक्रम गर्दा पाँच सय देखि सात सय रुपैयाँसम्म दिइन्थ्यो । अहिले एउटा गीत हिट भएमा विदेशमा हुने कार्यक्रमहरुबाट लाखौं रुपैयाँ आउँछ । पहिला हेरेर अहिलेको पुस्तालाई निकै राम्रो छ । तर साधना चाहिँ निकै कम भएर गएको छ ।’

यद्यपि यही माहोलमा सङ्गीत सिकेर र बुझेर आएका थोरै भएपनि राम्रो गरिरहेकाहरु पनि उनले देखेकी छिन् । साधनाले सङ्गीतलाई कालजयी बनाउँछ भन्ने धारणा राख्ने उनी अबका पुस्तालाई सङ्गीत साधनाका लागि नै सुझाउँछिन् ।

साङ्गीतिक यात्राकै क्रममा प्रज्ञा प्रतिष्ठानमा नाै वर्ष, रेडियो नेपालमा आठ/नौ वर्ष र आयल निगममा ४ वर्ष उनले बिताइन् । तर स्थायी जागीर कतै भएन । गीतसङ्गीत मार्फत नै सङ्गीतप्रेमी स्रोताको दिलदिमागमै उनले स्थायीत्व पाइन् ।

उनको मन यसैमा खुसी छ । क्यान्सर हुनु एक वर्षअघि २०७० साल चैत्र २८ गते ‘तारा’ एल्बम् विमोचन गरेकी उनले त्यसपछि नयाँ गीत रेकर्ड गरेकी छैनन् । आफ्ना पुराना गीति सिर्जनाहरुलाई नयाँ पुस्तामाझ पनि ल्याउने उनको अर्को सपना बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?