हरेक मानिसबाट कहिलेकाहीँ गल्ती हुने गर्छ । कतिपय गल्ती जानीजानी भएको हुन्छ भने कतिपय अन्जानमा । तर गल्ती अपराध होइन । न त यो असफलता नै हो ।
गल्ती बारम्बार दोहोरियो भने चाहिँ अपराध र असफलता दुवै बन्न सक्छ । गल्ती भइहाल्यो भने तनाव उत्पन्न हुन्छ । त्यसैले यस्तो अवस्थामा गल्ती सुधार गर्नका लागि तपाईँ आफैँले महत्त्वपूर्ण भूमिका खेल्न सक्नुहुन्छ ।
आफूले गल्ती गरेको महसुस गर्नुभयो भने त्यो गल्ती को जिम्मेवारी लिनुहोस् । आफूले गल्ती गर्ने र अरूलाई दोष दिने व्यक्ति बाठो होइन, इमानदारिता र हिम्मत नभएको व्यक्ति हो ।
आफ्नो गल्ती का कारण माफी माग्नुपर्ने छ भने पनि माफी माग्नुहोस् । माफी मागेर तपाईँ सानो बन्नुहुन्न, झनै सम्मान कमाउनुहुन्छ ।
गल्ती के कारणले भएको हो ? त्यो गल्ती पछाडिको कारण पहिल्याउनुहोस् ।
कारण पत्ता लगाइसकेपछि त्यो गल्ती हुन नदिन तपाईँले के गर्नुपर्थ्यो भन्ने सोच्नुहोस् । अथवा, तपाईँले के गरेको भए त्यो गल्तीबाट जोगिनुहुन्थ्यो भन्ने सोच्नुहोस् ।
सबै कुराको विश्लेषणपछि त्यसलाई सिकाइको रूपमा लिनुहोस् । जब तपाईँले सबै कुरा विश्लेषण गरेर त्यसलाई सिकाइको रूपमा लिनुहुन्छ भविष्यमा तपाईँबाट फेरी त्यस्तै गल्ती हुने सम्भावना निकै कम हुन्छ ।
आफूबाट भएको गल्तीका कारण अब पश्चात्ताप नगर्नुहोस् । तपाईँले माफी माग्नुभयो, त्यो गल्तीलाई सिकाइको रूपमा लिइसक्नुभयो भने पश्चात्ताप गर्नुपर्ने ठाउँ पनि रहँदैन । गल्ती हरेक व्यक्तिबाट हुन्छ ।
ती गल्तीबाट आउने सिकाइले नै तपाईँ सफलतातर्फ उन्मुख हुन सक्नुहुन्छ । यो पनि याद राख्नुहोस् कि, उही गल्ती तपाईँले बारम्बार दोहोर्याउनुभयो भने तपाईँलाई त्यही बानी नै सजाय बन्न सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया