मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सामाजिक जागरणमा नेपाली नाटकको भूमिकाबारे परिचर्चा

काठमाडौँ– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा सामाजिक जागरणमा नेपाली नाटकको भूमिकाबारे परिचर्चा गरिएको छ ।

बुधवार प्रतिष्ठानको नाटक विभागद्वारा प्रतिष्ठान परिसरमा गरिएको ‘सामाजिक जागरणमा नेपाली नाटकको भूमिका’ विषयक परिसंवाद कार्यक्रममा प्रतिष्ठानका उपकुलपति शम्भु राई, भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर, प्रतिष्ठानका प्राज्ञ सभा सदस्य पुरु लम्साल, नाट्य अध्येयता गीता सापकोटा र संस्कृतिकर्मी तथा समालोचक इश्वरचन्द्र ज्ञवाली लगायतकाले सामाजिक जागरणमा नेपाली नाटकको भूमिकाबारे आ–आफ्नो धारणा राखे ।

‘सामाजिक जागरणमा नेपाली नाटकको भूमिका’ विषयमै प्राज्ञ सभा सदस्य लम्साल लघु अनुसन्धान प्रस्तुत गरे । उनले डबली र लोक नाटक, सडकनाटक, गीतिनाटक/अपेरा, कचहरी नाटक, मुक्तरङ्गमञ्च र रेडियो नाटकलाई आफ्नो अनुसन्धानका समेटेका थिए ।

उनले लघु अनुसन्धानमा मैथिली नाट्य इतिहास, सामाजिक जागरण, रुपान्तरणको प्रभाव, २०४६ साल सम्मको अवस्था, बहुदलपछिको नाट्य गतिविधि, युद्धकालीन अपेरा, जनसांस्कृतिक परिवारहरु र वर्तमान अवस्था लगायतका पक्षलाई औल्याउने प्रयास गरेका थिए ।

नाट्य अध्येयता सापकोटा र संस्कृतिकर्मी तथा समालोचक ज्ञवालीले प्रस्तुत लघु अनुसन्धानमाथि टिप्पणी गरे । दुवैले लघु अनुसन्धानको प्रशंसा गर्र्दै छुटेका र समावेश गर्नुपर्ने विषयवस्तुहरुलाई थप गरी अझै समृद्ध बनाउनु पर्नेमा जोड दिए ।

उपकुलपति राईले वृहत अध्ययन र अनुसन्धानका लागि प्रज्ञा प्रतिष्ठानसँग श्रोत साधनको कमी भएता पनि यस्ता कार्यहरुलाई निरन्तरता दिइरहने प्रतिवद्धता व्यक्त गरे ।

भाषा आयोगका अध्यक्ष ठाकुरले लघु अनुसन्धानको शीर्षक प्रष्ट नभएको औँल्याउँदै ‘नेपाली नाटक’को स्थानमा ‘नेपालीय नाटक’ शब्दको प्रयोग गर्नु सुझाए । उनले नेपालीय शब्दले नेपाली लगायत नेपालका सम्पूर्ण भाषाहरुलाई समेट्ने बताउँदै यसलाई प्रयोगमा ल्याउनुपर्ने बताए ।

उनका अनुसार यस्ता अनुसन्धान पत्र तयार पार्दा उद्देश्य, लक्ष्य र सिमा निर्धारण गरेर अगाडि बढे त्यसले सार्थकता पाउँछ ।
नाटक विभाग प्रमुख प्राज्ञ हिसन बहादुर मगले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सामाजिक जागरणमा नेपाली नाटकको भूमिकालाई उजागर गर्न परिसंवाद कार्यक्रमको आयोजना गरिएको बताउँदै अनुसन्धान प्रारम्भिक खाका भएको जिकिर गरे ।

कार्यक्रममा जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष भीम मल्ल कुमाखी, नाट्यकर्मी प्रविण पुमा, जनगायक टेक बहादुर बमपाखी लगायतले नेपाली समाजको रुपान्तरण्मा जनयुद्धको विशेष भूमिका रहेको चर्चा गर्दै अनुसन्धान पत्रमा जनयुद्धकालीन नाट्य गतिविधिलाई अझ प्रभावकारी रुपमा समावेश गर्न सुझाव दिए ।

कार्यक्रममा प्रतिष्ठानकी सदस्य सचिव कुश्मा महरा, ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीलगायत व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?