मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सेलिब्रेटी

चार दशक लामो फिल्मी करिअरमा आफूलाई ‘ब्राण्ड’ बनाएका राजेश हमाल

‘शंकर हुँ म शंकर !’ 

काठमाडौँ– नेपाली सिनेमा क्षेत्रका लागि चिरपरिचत नाम हो, राजेश हमाल । कुनै समय नेपाली सिनेमा भविष्य एक्लो काँधमा थापेका हमाल अहिले पनि उत्तिकै सक्रिय छन् ।

उमेरले ६ दशक पुगिसकेका हमाल युवापुस्तामाझ मात्र सीमित नभएर वृद्धवृद्धादेखि बालबालिकासम्म उत्तिकै लोकप्रिय छन् । उनले अभिनय गरेका फिल्म नहेरेका दर्शकले पनि उनलाई सहजै चिन्न सक्छन् ।

अझ उनले फिल्ममा बोलेका ‘साथीका लागि यो हात सलाम, दुष्मनका लागि यो हात, फलाम’, ‘हे…शंकर हु म शंकर’ लगायतका संवादहरू अझै पनि उत्तिकै चर्चित छन् । जुन जति पुरानो भएपनि यी संवाद र शब्दलाई त अझ नयाँ कलाकार तथा टेलिसिरियलमा समेत प्रयोग पनि गर्दै आएको पाइन्छ ।

वि.सं. २०४० बाट नेपाली सिनेमा क्षेत्रमा इन्ट्री गरेका हमालको आफ्नै दिनचर्या र पहिचान छ । करीब चार दशक अघि सिनेमा क्षेत्रमा आएका उनी अहिले पनि उत्तिकै व्यस्त हुन्छन् ।

भलै उनी केही वर्षयता कुनै पनि फिल्ममा देखिएका छैनन् । तर, उनको दिनचर्या बढ्दो छ । फिल्ममा त्यति सक्रिय नभएपनि उनी टेलिभिजनबाट प्रसारण हुने विभिन्न रियालिटी शो, म्युजिक भिडियो, विज्ञापन तथा विभिन्न कार्यक्रमहरुमा निकै व्यस्त देखिन्छन् ।

वि.सं. २०२१ साल जेठ २७ गते पाल्पाको तानसेनमा जन्मिका हमाल काठमाडौँमै जन्मिए/हुर्किए ।  परिवारका दुई छोरा र तीन छोरीमध्ये हमाल तेस्रो सन्तान हुन् । सम्पन्न परिवारमा जन्मिएका उनका पिता चुडाबहादुर हमाल परराष्ट्र मन्त्रालयका जागीरे थिए । पछि उनी राजदूत भएर पाकिस्तान पनि गए ।

राजेश हमालले काठमाडौँको सेन्ट जेभियर स्कूलमा कक्षा ८ सम्मको अध्ययन गरेका उनले मस्कोबाट विद्यालय तहको शिक्षा र अङ्ग्रेजीमा स्नातकोत्तर तह भारतको पञ्जाब विश्वविद्यालयबाट पूरा गरेका हुन् ।

शालिन, नम्र, मिलनसार र धैर्यवान व्यक्तिको रुपमा चिनिने उनी तत्कालीन समयमा कलाकारमध्ये सबैभन्दा बढी पढेको व्यक्तिको रुपमा परिचित थिए । अझ त्यसमध्ये ठूलो ज्यान, लामो कपाल, ठूलो कद र बैग्ले रवाफ भएका व्यक्तिको रुपमा उनको छवि सधैं उच्च नै रह्यो ।

लामो समयदेखि प्रेममा रहेका हमालले मधु भट्टराईसँग २०७१ सालमा विवाह गरे । उनीहरुको भेट एउटा ब्युटी पेजेन्टमा भएको थियो । सो कार्यक्रममा राजेश हमाल निर्णायक थिए भने मधु उक्त कार्यक्रममा प्रतिस्पर्धाका लागि सहभागिता जनाएकी थिइन् ।

करिअरको शुरुवात

भारतको फेसन नेट म्यागजिनमा र नेपालको काठमाडौँमा र्‍याम्पमा हिँडेर ग्ल्यामरबाट अभिनेता राजेश हमालको करिअर शुरुवात भएको थियो । उनी २४ वर्षको हुँदा फिल्म ‘युगदेखि युगसम्म’ मा अभिनय गरेर रजतपटमा डेब्यू गरेका थिए । पहिलो फिल्म नै ‘हिट’ भएपछि उनले पछाडि फर्केर हेर्नु परेन ।

करिअरको शुरुवाती फिल्ममै ‘स्टार’ बनेका राजेश हमालले एक वर्षमा १६ वटासम्म फिल्ममा अभिनय गरेका थिए । कार्य व्यस्तताकै कारण उनले दिनको तीन सिफ्टमा काम गर्थे । निकै व्यस्त हुने भए पनि उनी तत्कालीन समयमै तीन लाख रुपैयाँसम्म पारिश्रमिक लिने गरेको समेत पाइन्छ ।

उनले हालसम्म करिब तीन सय वटा भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । फिल्मी क्षेत्रमा खडेरी लागेपनि करीब १४ वर्ष नेपाली सिनेमा जगतमा हमालले एकछत्र राज गरेका थिए । लामो समय अभिनयमा जीवन सुम्पेका उनले साना देखि ठूला सबैलाई समान व्यवहार गरेकै कारण सबैको मन मुटुमा बस्न सफल भएका छन् ।

तत्कालीन समयमा उनलाई अभिनय गराउनकै लागि भए पनि निर्माता तथा निर्देशकहरु फिल्म बनाउन तयार हुन्थे ।

कथागत तथा विषयगत रुपमा उनी अभिनित फिल्म हिट नभए पनि व्यावसायिक रुपमा भने राम्रो आम्दानी गर्ने चलचित्रका रुपमा पर्थे । अर्थात् उनले अभिनय गरेका अधिकांश फिल्महरु व्यावसायिक रुपमा सफल हुन्थे ।

अझ कतिपय त फिल्म चलाउनकै लागि भए पनि राजेश हमालको ठूलो टाउकोसहितको पोस्टर टाँसिन्थ्यो । सोही पोस्टरको आधारमा पनि फिल्म सुपरहिट हुन्थ्यो ।

सिनेमा यात्राको ४० वर्षको अवधिमा उनले धेरै फिल्ममा अभिनय गरे पनि चर्चा गर्ने खालका फिल्म भने त्यति धेरै छैनन् । तर पनि ‘युगदेखि युगसम्म’, ‘बसन्ती’, ‘अल्लारे’, ‘देवता’ लगायत उनलाई मन पर्ने फिल्म हो । उनले तत्कालीन समयमा करिश्मा मानन्धर, झरना थापा, रेखा थापालगायत अभिनेत्रीसँग मात्रै नभई अहिलेका नवकलाकारहरुसँग पनि उनी कम्मर हल्लाउँदै नाच्दै आएका छन् ।

चार वर्ष यता सिनेमामा निस्क्रिय

उनी लामो समय सिनेमा क्षेत्रमा एकछत्र राज गरे । तर आजभोलि फिल्मको अभिनयमा उनी निष्क्रियजस्तै छन् । सिनेमा क्षेत्रमा नभए पनि उनी म्युजिक भिडिओ, विज्ञापन, जनचेतनामूलक कार्यक्रममा अभिनय गर्दै आएका छन् । यति मात्र नभई उनी विभिन्न कार्यक्रममा उद्घाटन तथा सहभागी हुन पनि पुग्छन् ।

उनी विभिन्न टेलिभिजन कार्यक्रममा ‘होस्ट’को रुपमा देखा पर्दै आएका छन् । उनले सञ्चालन गरेको ‘को बन्छ करोडपति’ चर्चित कार्यक्रम मध्ये नै पर्छ । हालसालै मात्रै उनी ‘सफलताको कथा’ नामक टेलिभिजन कार्यक्रममा होस्टको रुपमा देखा परेका छन् ।

साथै, उनी विभिन्न कम्पनीको ब्राण्ड एम्बास्डरमा नियुक्त हुन्छन् । केही दिन अघि मात्रै उनलाई स्वदेशी एडेसिभ ब्रान्ड राठीकोलमा ब्रान्ड एम्बेस्डर बनाएको छ । राठीकोलका अध्यक्ष अरुणकुमार राठी र राजेश हमालबीच सोका लागि सम्झौता भएको हो । अभिनेता हमालले अब एक वर्षसम्म प्रचारात्मक सामग्रीमा सहकार्य गर्ने राठीकोलले जानकारी दिएको छ ।

उमेरभन्दा जवान

करीब ६० वर्ष पार गरिसकेका अभिनेता राजेश हमाल अहिले पनि २५ वर्षे वयस्क झैं देखिन्छ । ४० वर्ष चलचित्र क्षेत्रमा काम गरे पनि उनी आफ्नो उमेर २५ वर्ष रहेको बताउँदै आएका छन् । आफ्नो मनोविज्ञानलाई सक्रिय राख्नको लागि आफू २५ वर्षको भन्न उनी रुचाउँछन् ।

मानिसको जीवन शैली, खानपान, वातावरण तथा विभिन्न कारणले मान्छेको वास्तविक उमेरभन्दा फरक देखिने उनको बुझाइ छ । तर पनि मानिसले सधैँ आफ्नो वास्तविक उमेर बोक्दै हिँड्ने उनले एक कार्यक्रममा भनेका छन् ।

उनले सो कार्यक्रममा आफू ८ घण्टा मस्त सुत्ने बताएका छन् ।

‘म बिहान यतिखेर उतिखेर भन्ने भन्दा पनि ८ घन्टा चाहिँ मज्जाले सुत्छु । पहिला चाहिँ म सोच्थेँ, जति बजे सुत्न गए पनि बिहान चाहिँ ५ बजे नै उठ्नुपर्छ । तर, मानिसलाई पर्याप्त मात्रामा सुत्न एकदमै जरुरी छ । ८ घन्टा सुत्ने भनेको मोवाइलको ब्याट्री चार्ज गरेजस्तै हो ।’

८ घन्टा मस्त निन्द्रामा सुत्न सकेमा शरीरले पूर्ण रुपमा आराम लिने र फ्रेस हुने उनको भनाइ छ ।

जवान देखिनको लागि लामो समयदेखि चाउचाउ तथा पाकेटको खानेकुरा र चिनी नखाएको बताउँछन् । २५ वर्षको उमेरदेखि मद्यपान नगरेको उनी सुनाउँछन् । उनले १६ देखि २५ वर्षको उमेरमा मद्यपान गर्ने गरेको सुनाउँछन् । तर सोयता एकदम कमै मात्रामा मात्रै खाने गर्छन् । उनले भनेका छन्, ‘एक वर्षमा करीब दुई बोत्तल वियर पिउँछु होला ।’

महानायकको उपाधि

राजेश हमाललाई रजतपतका तत्कालीन सञ्चालन प्रकाश सुवेदीको नेतृत्वको टोलीले ‘महानायक’ को उपाधि दिएका थिए । उपाधि वितरणका लागि सुवेदीले विभिन्न मापदण्ड निर्धारण गरेका थिए । यसका साथै सर्वेक्षण पनि गरेका थिए । सोहीबाट हमाललाई छानेपछि सो उपाधि दिइएको हो ।

चलचित्र क्षेत्रलाई दिएको उचाई, बौद्धिकता लगायत विभिन्न कुरालाई मध्यनजर गरी उनलाई महानायक उपाधिका लागि छनोट गरिएको थियो । त्यसयता उनको नाममा ‘महानायक’ को ट्यागसमेत झुण्डिने गरेको छ ।

तर पनि उनलाई दिएको सो उपाधिप्रति समय समयमा बहस हुँदै आएको छ । केही कलाकारले त उनलाई दिएको उपाधिको आलोचना पनि गरेका छन् । त्यसमध्ये एक हुन्, दीपाश्री निरौला ।

उनले एक अन्तरवार्तामा भनेकी थिइन्, ‘(राजेश हमाल) महानायक हुनुहुन्छ र ? त्यो त तपाईंले बनाइदिनुभएको हो नि ।’ सो अन्तर्वार्तापछि निरौला लामो समय ट्रोल बनिन् । साथै उनले यस विषयमा माफी पनि मागेकी थिइन् । यद्यपि यही विषययलाई लिएर उनी अहिले पनि ट्रोल बनिरहन्छिन् ।

यता राजेश हमाल भने महानायकप्रतिको विवादलाई लिएर खासै प्रतिक्रिया दिएका छैनन् । आफूले एक समयमा गरेको कार्यमा सन्तुष्ट रहेको उनी बताउँछन् । कसैले गरेको कार्यमा प्रतिक्रिया गर्नु मानिसको स्वभाव नै रहेको उनले भन्दै आएका छन् ।

उनले एक कार्यक्रममा भनेका थिए, ‘महानायक भयो भन्दैमा कसैले प्रतिक्रिया वा कमेन्ट गर्न पाउँदैन भन्ने छैन । मलाई कसरी क्रिटिसिजम भयो भनेर कसरी भन्न सक्छु । अरुको दृष्टिकोण र स्वभाव हक हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?