दुई दशकदेखि हङकङमा बस्दै आएकी कवयित्री जुनू राना यतिबेला कविता सिर्जनाको कोसेली लिएर नेपाल आइपुगेकी छिन् । बाग्लुङकी उनी सन् २००३ देखि हङकङमै बसोबास गर्दै आएकी छिन् । नेपाली समाज र प्रवृत्तिलाई फुटकर कविता र लेख रचनाहरु मार्फत पोख्दै आएकी उनले अहिले ‘रातो नदी’ कवितासङ्ग्रह नै तयार गरेकी छिन् ।
उनको पहिलो कविता कृति शनिबार दिउँसो थापागाउँस्थित मण्डला थिएटरमा विमोचन हुँदैछ । उनै कवि जुनू रानासँग कवितासङ्ग्रह, सङ्ग्रहमा सङ्ग्रहित कविता, उनको काव्य यात्रा र अन्य सिर्जनायात्राबारे जोय नेपालकर्मी सुशीला तामाङले गरेको कुराकानीको सम्पादित अंश:
कविता सङ्ग्रहको नाम ‘रातो नदी’ भनेर राख्नुभएको छ । यसको प्रतिकात्मक अर्थ के हो ? यो नाम र तपाईंका कविता सिर्जनाहरुको अर्थ कसरी मेल खान्छन ?
यही नाममा सिम्बोलिक रुपमा धेरै अर्थहरु छन् । पितृसत्तासँग लड्ने एउटा विद्रोह पनि हुन्छ । अर्को महिलाहरुको प्राकृतिक मासिक श्राव पनि हो । यसलाई पनि कविता र यो नामले छुन्छ । कविताको मूल मर्म पनि यस्तै देखिन्छ । मासिक श्राव हाम्रा लागि एकदमै शक्तिको स्रोत र ऊर्जा हो भन्ने पनि अर्थ दिन्छ । ‘रातो नदी’ शीर्षकको कविता नै सङ्ग्रहभित्र छ ।
आफ्नै भूमिमा कवितासङ्गह बोकेर आउनुभएको छ । यहाँसम्म आइपुग्नुमा तपाईंको मुख्य ध्येय के छ ? सङ्ग्रहले कस्तो सन्देश छोडोस् भन्ने चाहनुभएको छ ?
देश विदेश जहाँ बसेपनि समाज र राज्यले निर्माण गरेको प्रक्रियामा हामी पनि जुध्नुपरिरहेको हुन्छ । महिला र उहाँहरुले भोग्नुपरेको सामाजिक अवस्था अझै कायम नै छ । हामी जनजातिमा मातृसत्ता र हाम्रो मुन्दुममा जे भएपनि आमाको नामबाट नागरिकता पाउन गाह्रै छ । म जहाँ बसेपनि म पनि आमा हुँ, मसँग पनि नेपाली नागरिकता छ । त्यसैले जहाँबाट भएपनि आम नेपाली महिलाहरुको आवाज बन्न सकुँ भन्ने मेरो उद्देश्य हो । कविता मार्फत नै आवाज बुलन्द गर्ने प्रयास गरेको छु ।
तपाईंको आफ्नै अनुभवमा देशभित्र भइरहेका विभिन्न उत्तारचढावहरुले देशबाहिर रहनेहरुको मनलाई कति छुने रहेछ ?
हामी देशबाहिर रहँदा पनि यहाँ भएका स–साना घटनाहरुले पनि हामीलाई छुन्छ । हामी भौगोलिक रुपमा मात्र देशबाहिर रहेका छौँ । भूगोलले सीमाना छुट्टाएर मात्र हामी विदेशमा छौँ । मूल जरो त हाम्रो यतै छ । हङ्कङमा म जहाँ बसिरहेकी छु, त्यहाँ पनि एउटा मिनी नेपाल छ । त्यहाँ पनि नेपाल भएपछि यहीकै सबै कुराहरु हुने नै भयो । यहीँ कै समाज, धर्म, चाडवाड जुनसुकै कुरामा पनि त्यहाँ यहीकै प्रभाव हुन्छ । त्यहाँ पनि महिलाका अवस्था र केही कुराहरु जोडिन्छन् । मेरो कविता सङ्गहमा यस्तै कुराहरु नै लेखिएका छन् ।
कविता मार्फत समाजलाई चित्रण गर्नुभएको छ । खासमा तपाईंका लागि कविता सिर्जना के हो ? यसलाई कसरी लिनुभएको छ ?
मेरो लागि कविताको स्तर धेरै ठूलो छ । धेरै विकृति, विसङ्गतिवादी र आफूलाई परेको अन्यायको विरुद्धमा बोल्न कविताले सहायता गर्छ । हामीले बोल्नै नसकिने कतिपय कुराहरु कवितामा आइरहेका हुन्छन् । अरुका लागि पनि कविताबाटै आवाज उठाउन सकिन्छ । त्यसैले अरु लेख, रचनाहरु लेखेपनि मेरो सबैभन्दा फोकस चाहिँ कवितातिरै छ ।
देशबाहिर रहनुको पीडा कविता सिर्जनामा पनि आएका होलान् नि ?
ती कुराहरु कतिपय सिर्जनामा आएका छन् । देश छोडेर जाँदा र आउँदा दुवै चोटी नोस्टाल्जिक हुन्छ । देशबाहिर रहनुको पीडा त कुनै रुपमा होलान् तर मेरो लागि यति मात्र नभएर साहित्य दर्शन, समाज, भूगोल सबै कुरा हो । यसले कतिपय अवस्थामा जिम्मेवार र अनुशासित हुन पनि सिकाएको छ ।
यो समयमा महिलाहरुको कलम अगाडि आउन कतिको जरुरी देख्नुहुन्छ ?
एकदमै जरुरी देख्छु । समाजमा महिलाले झेलिरहेको द्वन्द्वलाई बुझाउन र सिकाउन धेरै गाह्रो चीज हो । त्यसका लागि महिलाहरुको चेतनाको स्तर एकदम राम्रो र बलियो हुनुपर्छ । अर्को कुरा आर्थिक रुपमा पनि महिलाहरु अहिले आत्मनिर्भर हुन जरुरी छ । महिलाहरु आर्थिक रुपमा बलियो भयो मात्र उसले आफूले लेखिरहेको कुरालाई र कार्यलाई समाजमा ल्याउन सक्षम हुन्छ ।
सम्पूर्ण साहित्यकार र आम साहित्यप्रेमीहरुलाई तपाईंको सन्देश के छ ?
मैले दिन सक्ने कुरा यही कवितामा ल्याएकी छु । म सम्पूर्ण पाठकहरुलाई यही दिन सक्छु । म कवि भएको नाताले आफूले निभाउनुपर्ने जिम्मेवारी जहाँ बसेर पनि निभाइरहन्छु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया