काठमाडौँ– एउटी महिला गर्भवती हुँदा उनलाई कुनै कार्यालयमा काम गर्ने अवसर दिइँदैन । काम गरिरहेकै भएपनि उनको कार्यक्षमतामाथि नै प्रश्न चिन्ह खडा हुन्छ ।
त्यही महिला सुत्केरी भएर आमा बनेपछि गरिरहेको कामबाट हात धुनुपर्छ । पितृसत्ताको सिस्टममा चलेका यस्ता उदाहरणहरु खोज्न हामी धेरै पर जानै पर्दैन । तपाईं हामी काम गरिरहेको कार्यालयमै एकैछिन महिला कर्मचारी र पुरुष हाकिमहरुको प्रवृत्ति नियाल्नुस् त, त्यही नै छर्लङ्ग देखिन्छ ।
अझै पितृसत्तात्मक झुण्डले भनिरहेका छन्, ‘प्ले द सिस्टम ! सबै कुरा सिस्टममै चल्छ । कोही रोइकराइ गरेर हुन्छ ?’
यही कुराले छोएपछि रङ्गकर्मी आकाङ्क्षा कार्कीले अमेरिकन नाटककार थेरेसा रेबेकको ‘नाटक ह्लाट वी आर अप अगेन्स्ट’ लिएर नेपाली समाजको सिस्टम कसरी चलेको छ त भनेर नियालेकी छिन् ।
‘प्राइभेट इज पोलिटिकल’ नाटकमा कार्यस्थल र समाजका विभिन्न स्थानहरुमा महिलामाथि हुने यौनहिंसालाई केलाएकी उनले यसपटक भने मानसिक हिंसालाई जोड दिएकी छिन् ।
अधिकांश कार्यालयहरुमा पुरुषहरु नै उच्च ओहोदामा हुन्छन् । उनीहरुकै मातहतमा बसेर महिला कर्मचारीहरुले काम गर्नुपर्छ । त्यसरी काम गर्दा महिलाहरु सुन्दर र स्मार्ट हुनुपर्छ तर हाकिम भन्दा बढी चाहिँ होइन । हाकिमहरुलाई महिला कर्मचारी सुन्दर, सुशिल, नम्र र आज्ञाकारी भएको चाहिन्छ ।
चाहे त्यो सही होस् या गलत, हो मा हो मिलाउने, शिर झुकाएर अभिवादन गर्ने र प्रश्न नगर्ने महिला कर्मचारीहरु हाकिमको नजरमा पर्छन् । उनीहरुलाई तब मात्र कार्यथलोमा काम गर्ने वातावरण सहज बन्छ । यसको ठिक विपरीत भएमा उनीहरुको हाकिमको अगाडि अटेरी, असक्षम र अमर्यादित ठहरिन्छन् र गरिरहेको काम छोड्न बाध्य बनाउने गरिन्छ ।
हाकिमको लयमा नजाने महिला कर्मचारीहरुलाई धम्क्याउने, तर्साउने गरिँदै आएको देखिन्छ । कार्यथलोमा क्षमता अनुसारको जिम्मेवारी नदिएपछि उनीहरु मानसिक रुपमै विक्षिप्त हुन्छन् । यसमा न त हाकिम न त अन्य महिला सहकर्मीहरुको सहानुभूति मिल्छ ।
यसरी कार्यस्थलहरुमा कैयौं महिलाहरुले मानसिक हिंसा खेपेर कार्य गर्न बाध्य छन् । कतिले कार्यस्थलबाट हुने हिंसा सहन नसेकर काम नै छोडिरहेका पनि छन् । महिला र पुरुषबिच समानताको अगाडि कहाँ छ पितृसत्तामा सिस्टम ?
पितृसत्ताले जेलिएको सत्ताहरुमा महिलाका लागि अवसरहरु कहाँ छन् ? यिनै प्रश्नहरु नाटक ‘प्ले द सिस्टम’ले उठाउने जमर्को गरेको छ ।
टेकुस्थित कथाघेरा कौसी थिएटरमा असार ६ गतेदेखि नियमित मञ्चनमा आएको नाटकले मूलत : पितृसत्ताको प्रणालीले कार्यस्थलमा महिला र पुरुष अथवा महिला नै महिलाको विरोधीका रुपमा कसरी उभिरहेका छन् भन्ने पक्षलाई देखाइएको छ ।
जहाँ पितृसत्ताकै कारण पुरुषमात्र नभएर महिला–महिला बिचमा नै प्रतिस्पर्धा र विरोधी भावना जागृत भएका छन् । थेरिसाको नाटकलाई प्रियङ्करले नेपाली रुपान्तर गरी नेपाली परिवेश अनुसार स्टेजमा ल्याउन रङ्गकर्मी आकाङ्क्षाले निर्देशन गरेकी छिन् ।
अमेरिकन पितृसत्तामा हाबी रहेको लैङ्गिकवादले तत्कालीन समाजमा महिलाको अवस्था के छ भन्ने देखाउन थेरिसाले सन् १९९२ मा यो नाटक लेखेकी थिइन् । नाटक सिर्जना भएको तीन दशकभन्दा बढी समय बितेर अहिले नेपालसम्म आइपुगेको छ ।
आजपनि नाटक उत्तिकै समय सापेक्ष र सान्दर्भिक लाग्छ । आफू मातहतका कर्मचारीहरुले सधैं आफ्नै शैलीलाई शिरोधार्य गरोस् भन्ने हाकिमे प्रवृत्ति देखाउने शैलेस(इलम दीक्षित)हरु यही समाजमै छन् । आफ्नो जागीर जोगाउनकै लागि शैलेस जस्ता हाकिमको चाकरी गर्ने पंकज बस्याल(ऋषिकेश बस्याल), विश्वास(सुरज मल्ल) र चाहना(रोशनी स्याङ्बो) जस्ता पात्रहरुकै कारण नमिता शर्मा(रञ्जना भट्टराई)हरुले कार्यस्थलमै मानसिक हिंसा खेपिरहेका छन् ।
नमिता शर्मा, जो हक्की स्वभावकी छिन् । आफ्नो कार्यक्षमतामाथि उनलाई दृढ विश्वास छ । कार्यालयमा चाप्लुसी र हैकमवाद विरुद्धमा उनी छिन् । आफ्नो कार्यक्षमताले कार्यालयको भवन निर्माण सम्बन्धि प्रोजेक्टलाई माथि लैजाने उनको मुख्य ध्येय हुन्छ । उनको यही क्षमतालाई हेरेर कम्पनिका मालिक दुर्गा(जो मञ्चमा देखिँदैन)ले नमितालाई काममा नियुक्त गर्छन् ।
उनको यही क्षमता र कौशलता कम्पनिमा काम गरिरहेका पुराना कर्मचारीहरु शैलेस, पंकज, विश्वास र चाहनालाई सह्य हुँदैन । नमिता विरुद्ध चारैजना लागेर उनलाई कार्यालयमा कुनै पनि जिम्मेवारी बहन गर्न दिँदैनन् । कार्यालयमा नियुक्त भएको पाँच महिनासम्म पनि कुनै जिम्मेवारी नदिएपछि नमिताले चाहनासँग दुःखेसो पोख्छिन् ।
उनले पनि बेवास्ता गरेपछि हाकिम शैलेसलाई नै उनले मालिक दुर्गासम्म पुग्ने चेतावनी दिन्छिन् । त्यसपछि ललितपुर महल निर्माणको भवन नक्सा र निर्माण योजनालाई अगाडि बढाउन नमिताले पटक–पटक समूहमा कुरा राख्ने प्रयास गर्छिन्, तर उनको कुरालाई कसैले सुन्ने प्रयास सम्म पनि गर्दैनन् ।
आफ्ना हर प्रयासले चित्त बुझाउन खोज्दा पनि असफल भएपछि उनले चाहनामाथि नै रिस पोख्छिन् । चाहनाले उल्टै उनलाई आफ्नो स्थान लिन खोजेको आरोप लगाउँछिन् । तीन वर्षदेखि उक्त कम्पनिमा कार्यरत उनले नमितालाई आफू जस्तै धैर्य हुन र हाकिमप्रति बफादार हुन सुझाव दिन्छिन् ।
चाहना मात्र नभएर विश्वासले समेत नमितालाई उनको कार्यक्षमतालाई नभएर हाकिम शैलेसको प्रवृत्तिलाई खोट लगाउँछन् तर आफ्नो चलिरहेको कामको सिलसिलालाई उनीहरु बिगार्न चाहँदैनन् । अर्थात् उनीहरु नमितालाई समर्थन गरेर हाकिम विरुद्ध जान सक्दैनन् ।
यी सबै नाटकमा हेर्दै गर्दा पितृसत्तात्मक सोचले ग्रसित समाजकै यथार्थ दृश्यहरु मानसपटलमा घुम्छन् । आकाङ्क्षाले नेपाली समाजको पितृसत्ता प्रवृत्ति र प्रणालीलाई नाटक मार्फत निकै शसक्त रुपमा उदाङ्गो पारिदिएकी छिन् । लैङ्गिक समानताका लागि ऐन कानून र आरक्षणकै व्यवस्था भएपनि महिलाहरु अझै असुरक्षित छन् ।
कार्यस्थलमा भएका हिंसाका घटनाहरु बाहिर आइ नै रहेका छन् । महिलाहरु कार्य क्षमता भएर पनि कार्यस्थलहरुमा आफ्नो क्षमता प्रदर्शन गर्नबाट किन बञ्चित भइरहेका छन् ? नेतृत्व तहमा सधैं पुरुषहरु मात्र किन ?
महिलाका क्षमता नै पितृसत्ताका लागि किन विरोधी साबित हुन्छन् ? नाटकले पितृसत्तामाथि यी गम्भीर प्रश्नहरु उठाएको छ ।
कार्यस्थलको झलक देखाउने मञ्च र कर्मचारी शैलीको प्रवृत्ति देखाउन सबै कलाकाहरुको उत्तिकै शसक्त अभिनय देख्न सकिन्छ । कार्यालयमा कुनै पनि जिम्मेवारी नदिँदा नमिता पात्रमा हुने छटपट्टी, नैराश्यता र आवेगलाई कलाकार रञ्जनाले निकै दमदार रुपमा देखाएकी छिन् ।
त्यस्तै, हाकिम शैलेसलाई समर्थन गर्न चाहनाले नमितालाई गरेको बेवास्ता, मिटिङ चल्दै गर्दा घरिघरी ओठमा लिप ग्लस लगाउँदै गरेकी कलाकार रोशनीले आम समाजले चाहेको महिलाको चरित्रलाई हुबहु आफ्नो भूमिकामा उतारेकी छिन् ।
नाटकमा प्रत्यक्षभन्दा पनि रेकर्ड गरिएको साङ्गीतिक धुन सुन्न सकिन्छ । नमिताको मानसिक अवस्था, उनले भोगाइलाई प्रतिबिम्वित गर्ने सङ्गीत धुन र प्रकाश परिचालनमा केही खड्किएको नाटकमा देखिन्छ । अन्य नाटकमा जसरी द्वन्द्वात्मक परिस्थितिमा देखिने प्रकाश परिचालन नाटकमा प्रयोग गरिएको छैन ।
यद्यपि कलाकारहरुले पात्रको मनोदशा अनुसार गरेको अभिनयले त्यसलाई पूर्ति गरिदिएका छन् । रङ्गमञ्चमार्फत नै पितृसत्ता र लैङ्गिकताको विषय बोलिरहने आकाङ्क्षा यस नाटकबाट पनि महिलाका पक्षमा बुलन्द रुपमा आवाज उठाउन सफल देखिएकी छिन् ।
असार ३१ गतेसम्म मञ्चन हुने नाटकमा सेट डिजाइनमा घनश्याम श्रेष्ठ, प्रकाश डिजाइनमा इँगी होपो कोइँच सुनुवार, सङ्गीत तथा ध्वनी डिजाइनमा नरेश गजुरेल र स्टेज निर्माण निरञ्जन डोटेलले गरेका छन् ।
मञ्चमा
इलम दीक्षित, रञ्जना भट्टराई, ऋषिकेश बस्याल, रोशनी स्याङ्बो र सुरज मल्ल ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया