काठमाडौँ– केही दिनअघि कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको र युट्युबमा समेत अपलोड गरिएको कार्यक्रम ‘इट्स माइ शो’ को विवादित प्रस्तुतिका विषयमा नेपाल कलाकार संघले पनि आपत्ति जनाएको छ ।
संघले एक विज्ञप्ति जारी गर्दै स्वस्तिमा खड्का र साम्राज्ञी शाहले अमर्यादित, अशोभनीय, गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको बताएको हो ।
ओसिन सिटौलाले सञ्चालन गरेको उक्त कार्यक्रम केही दिनअघि कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको थियो । यो समाचार तयार पार्दासम्म उक्त विवादित कार्यक्रम अझैपनि युट्युबमा भेटिन्छ ।
कार्यक्रममा सञ्चालिका ओसिन सिटौलाले सोधेको प्रश्नमा स्वस्तिमा खड्का र साम्राज्ञी शाहले अमर्यादित जवाफ दिएका थिए र बौद्धिक नायिका भनिने गरिएकी स्वस्तिमाले उक्त कार्यक्रममा जसिता गुरुङको अनमोल केसी र धिरज मगरसँग प्रेमसम्बन्ध रहेको बताएकी थिइन् भने त्यसमा साम्राज्ञीले प्रदीप खड्काको नामसमेत थपेकी थिइन् ।
ती बाहेक उनीहरूले अरु कलाकारको व्यक्तिगत जीवनका बारेमा र प्रेम सम्बन्धका बारेमा भनेका थिए ।
उक्त कार्यक्रमको सस्तो प्रचारवाजीका लागि स्टन्टबाजी गरिएको भन्दै सामाजिक सञ्जालमा समेत व्यापक विरोध भएको छ । ओसिनले उक्त कार्यक्रममा ‘सेक्स कि खाना’ भनेर सोधेकी थिइन् भने प्रश्नको उत्तर दिन नसके स्वस्तिमा र साम्राज्ञीले कपडा खोल्नुपर्ने शर्त राखेकी थिइन् ।
यसअघि नायिका जसिता गुरुङले सामाजिक सञ्जालमार्फत आपत्ति जनाइसकेकी छिन् भने अनमोल केसीले अनादर गर्नेलाई अझै बढी आदर गर्ने भन्दै स्टाटस लेखेका थिए ।
कार्यक्रम विवादित बनेपछि स्वस्तिमा र साम्राज्ञीले सामाजिक सञ्जालमार्फत माफी मागिसकेका छन् भने अन्य कलाकारले पनि यसलाई ‘आपत्तिजनक’ भएको प्रतिक्रिया दिएका छन् ।
यसैबीच कलाकार संघले विज्ञप्तिमार्फत उक्त कार्यक्रमले नेपाली चलचित्र क्षेत्र, कलाकारिता र सामाजिक दायित्वमा आघात पुगेको ठहर गरेको हो ।
मोहन निरौलाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो स्वतन्त्रता र अधिकारको प्रयोग गर्दा अरुको मान मर्दन गर्नुहुँदैन भन्ने सामान्य मान्यतालाई पनि उक्त अभिव्यक्तिले लत्याएको छ ।’
साथै कलाकार संघले संघले यसबारेमा विवादित कलाकारलाई सचेत गराएको पनि जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया