काठमाडौँ– डिजिटल प्रविधिको विकाससँगै मिडियाहरुले प्रिन्ट भर्जनबाट अनलाइनतिर छलाङ मारे । जसरी प्रिन्ट मिडियाहरू खुम्चिँदै गए, त्यसरी नै पत्रपत्रिकाहरु तथा म्यागजिनहरुमा छापिने कार्टुन कलाकृतिले पनि कम स्थान पाउँदै गएका छन् ।
अर्कातिर प्रविधिको विकासले कार्टुन बनाउनका लागि विभिन्न एआई टुलको प्रयोग हुन थालेपछि पनि वास्तविक सर्जकहरू ओझेलमा पर्दै गइरहेका छन् ।
एक त प्रिन्ट मिडिया खुम्चिँदै जानु अर्कोतिर अनलाइन मिडियाहरुले स्थान नदिँदा कार्टुन कला नै लोपोन्मूख अवस्थामा पुग्ने हो कि भन्ने चिन्ता अहिले समग्र कार्टुन क्षेत्रका सर्जकहरुलाई छ । प्रिन्ट र अनलाइन दुवै माध्यमहरुमा स्थान नपाएपछि अहिले कार्टुनिस्टहरुले सामाजिक सञ्जालमै राखेर आफ्ना सिर्जनालाई कलाप्रेमीहरु माझ पुर्याइरहेका छन् ।
पुराना स्थापितहरुले केही मिडियामा रोजगारीकै रुपमा स्थान पाएका छन् । तर अधिकांश युवा पुस्ताका कार्टुनिस्टहरुलाई आफ्नो कार्टुन कला बाहिर ल्याउन र यसैबाट जीविकोपार्जन गर्न धौ धौ नै छ । यसले गर्दा भोलिको दिनमा कार्टुन कला कसरी अगाडि बढ्ला र यसको साखलाई कसरी बचाउने भन्ने कुरा नै चिन्ताजनक रुपमा रहेको कार्टुनिस्ट तथा कार्टुनिस्ट क्लबका निवर्तमान अध्यक्ष अविन श्रेष्ठ सुनाउँछन् ।
उनका अनुसार कार्टुन कला लोपोन्मूख जस्तै हुन थालेको छ । प्रिन्ट हुँदै अनलाइन माध्यममा फड्को मारेका मिडियाकर्मीहरुले यसलाई प्रिन्टमै छोडेको उनी दुःखेसो गर्छन् । कार्टुनिस्टहरुले आफ्नो सिर्जना सार्वजनिक गर्न सामाजिक सञ्जालमै मात्र सीमित हुनुपर्ने अहिलेको अवस्थालाई उनी विडम्बनाका रुपमा लिन्छन् ।
अहिले प्रिन्ट मिडियाको आकार र स्वरुप साँघुरिँदै जाँदा पत्रपत्रिकाहरु तथा म्यागाजिनहरुमा समेत कार्टुन कला न्यून मात्रामा देखिन्छन् । कार्टुन कलाले सामाजिक, राजनीतिक, आर्थिक, धार्मिक जस्ता विषयमा भइरहेका विकृति, विसङ्गतिहरुलाई कलामार्फत नै चोटिलो ढङ्गले प्रहार गरी सम्बन्धित निकायलाई सचेत र जवाफदेही बनाउँदै आएको देखिन्छ ।
हाँस्य रससँगै चोटिलो, पेचिलो र सटिक ढङ्गमा गहन रुपमा व्यङ्ग्य गर्ने तागत कार्टुनकलाले बोकेको हुन्छ । यद्यपि अहिलेको अवस्थाले कार्टुनकला सिर्जना नै कतातिर जान्छ भन्ने गम्भीर प्रश्न उठेको उनी सुनाउँछन् ।
कट्टर जहाँनिया राणा शासनको समयमा समेत कार्टुन कलाको सिर्जना र यसको जबर्जस्त प्रभाव परेको इतिहास देखिन्छ । वि.सं. १९९७ सालमा राणा सरकार विरुद्धमा कार्टुन बनाएकै कारण कलाकार चन्द्रमानसिंह मास्केलाई तत्कालीन राणा सरकारले सर्वस्व हरणसहित १८ वर्षको कठोर जेलको सजाय सुनाएको थियो । पछि पञ्चायत कालमा समेत कलाकारहरुले खुलेरै कार्टुन सिर्जनाको वातावरण पाएका थिएनन् । र पनि कलाकारहरुले कार्टुन सिर्जनालाई निरन्तरता दिइराखे । जतिबेला कला प्रदर्शनी देखि सभा सम्मेलनमा समेत राजाको स्वीकृति चाहिन्थ्यो ।
२० को दशकदेखि नै दुर्गा बराल (वात्स्यायन) जस्ता कार्टुनिस्टले राजनीतिक विकृति र विसङ्गतिका विषयमा व्यङ्ग्यात्मक रुपमा कार्टुन कलाहरु सिर्जनामा निरन्तरता दिए । २०४५/०४६ पछि भने रवीन सायमी, राजेश मानन्धर जस्ता जस्ता कार्टुनिस्टहरु उदाए ।
वि.सं. २०४६ को राजनीतिक परिवर्तनपछि यसले अझै स्वतन्त्र रुपमा अगाडि बढ्ने बाटो समायो । २०६२/०६३ पछि अझै यसले फराकिलो बाटो बनायो । फलतः २०४६ देखि २०६२/०६३ अवधिमा अबिन लगायत, वासु क्षितिज, रवीन्द्र मानन्धर, दीपक गौतम, केशवराज खनाल लगायतका कार्टुनिस्टहरुले आफ्नो बलियो उपस्थिति देखाए । अहिले मिडियामा रवि मिश्र, अनुप तमू गुरुङ लगायतका कार्टुनिस्टहरुकाे बलियाे उपस्थिति देखिन्छ ।
अब आउने पुस्ताले यो विरासतलाई कायम राख्ला कि नराख्ला भन्ने चिन्ता कार्टुनिस्टहरुलाई छ । ‘नयाँ पुस्तालाई अवसर दिने ठाउँ नै छैन । यसलाई पेसाकै रुपमा लैजाने अहिले स्थिति छैन । सोसल मिडियामा राख्दा पनि धेरैले गाली नै खाइरहेका छन् । भर्खरै आउने युवाहरुलाई गाह्रो नै छ,’ अविन भन्छन् ।
मिडियामा कार्टुन कला सिर्जना नै गरिरहेका कार्टुनिस्ट रवीन्द्र मानन्धरको बुझाइमा अहिले आर्थिक कारणले नै अनलाइन मिडियाहरुका कार्टुन कलाले स्थान पाइरहेको छैन । आर्थिक अभावसँगै कार्टुनिस्टहरुलाई दिने पारिश्रमिक नभएपछि अधिकांश अनलाइन मिडियाहरुले अहिले कार्टुन भन्दा पनि इलुस्ट्रेसनलाई बढी प्राथकितामा राखिरहेको उनको अनुभव छ ।
उनी भन्छन्, ‘कार्टुन कला सिर्जनामा समय र पैसा पनि खर्च हुन्छ । अहिले अनलाइन मिडियाहरुले धेरै जसो फोटोको ठाउँमा भ्युजका लागि त्यही इलुस्ट्रेसनहरु नै प्रयोग गरिरहेका छन् ।’
अहिले प्रिन्ट मिडियाका स्थापित सम्पादकहरु नै अनलाइन मिडियामा आवद्ध छन् । कार्टुनकलाप्रति उनीहरुको बुझाइ कम भएर यसले स्थान नपाएको हो कि भन्ने आम मानिसको बुझाइ देखिन्छ । यसमा भने अविनको असहमति छ । प्रिन्टमा कलाको भावलाई बुझ्नेहरु नै अनलाइन माध्यममा आवद्ध रहेकाले कार्टुन कला नै नबुझेको भनेर भन्न नमिल्ने उनको भनाइ छ ।
उनलाई लाग्छ, अनलाइन मिडिया र कार्टुनिस्टहरुबिच नै यसबारे गम्भीर रुपमा छलफल हुनुपर्छ । हिम्मत गरेरै यसमा अबका पुस्ताहरु नलाग्ने हो भने कार्टुन कला लोप नै हुने सङ्केततिर गएको उनी सुनाउँछन् ।
अनलाइन खबरका प्रधान सम्पादक शिव गाउँलेलाई पनि कार्टुनकला प्रिन्ट मिडियातिरै छोडियो कि भन्ने भान भएको छ । डिजिटल प्रविधिले जति फड्को मार्यो, त्यति नै सबै समाचार सामग्री मेहनतविनै छिटो चाहिने प्रवृत्तिले अनलाइन माध्यममा कार्टुन कलाको प्राथमिकता त्यति नपरेको हो कि भन्ने उनलाई लाग्छ । मिडियाको आर्थिक अवस्थाले पनि यसमा धेरथोर प्रभाव पारेको बाह्रखरी अनलाइनका प्रधानसम्पादक प्रतीक प्रधान बताउँछन् ।
तथापि उनी यही एउटा कारणलाई मात्र मान्न तयार छैनन् । जसरी मिडियाहरु डिजिटल फर्ममा आए, त्यसरी कार्टुनिस्टहरु पनि परिमार्जित भएर आउनुपर्ने उनको बुझाइ छ ।
उनी भन्छन्, ‘हिजोको पत्रिकामा हुने प्लेन कार्टुनहरु डिजिटल फर्ममा आउँदा केही चेन्ज त हुनैपर्छ । मुभिङ र एनिमेटेड कार्टुनहरु नै अबका डिजिटल मिडियालाई चाहिन्छ । जुन कुरा हामीले प्रयोगमा ल्याएका पनि छौं ।’ कार्टुनिस्टहरु परिमार्जित भएर आएमा अनलाइन मिडियामा पनि स्थान जमाउन सक्ने उनको ठम्याइँ छ ।
कार्टुनकला सिर्जनामा प्रतिलिपि अधिकारबारे त्यति धेरै बहसहरु भएका छैनन् । यसले गर्दा पनि कार्टुनिस्टहरुलाई अलि कठिन भएको कार्टुनिस्ट क्लबका महासचिव समेत रहेका रवीन्द्रको ठहर छ । उनी आफैंले सिर्जना गरेका कतिपय कार्टुन र इलुस्ट्रेसनहरु जथाभावी रुपमा अनलाइन मिडियाहरुले अनुमति बिना नै प्रयोग गरिरहेका छन् ।
उनका अनुसार कार्टुनको हालको अवस्थामाथि बहस गर्न कार्टुनिस्ट क्लब र अनलाइन मिडियाका सम्पादकहरुबीच अन्तक्र्रियात्मक कार्यक्रमका लागि क्लबले योजना बनाइरहेको छ । कार्टुनकलाको साख बचाउन र युवा पुस्तालाई यसतर्फ आकर्षित गर्न पनि तत्काल सोच्नुपर्ने अवस्था आएको उनी सुनाउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया