काठमाडौँ– कान्तिपुर टेलिभिजनको एक कार्यक्रमलाई लिएर यतिबेला सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ ।
केही दिनअघि प्रसारित कार्यक्रम ‘इट्स माइ शो’ मा कार्यक्रम होस्ट ओसिन सिटौलाले कलाकारद्वय स्वस्तिमा खड्का र साम्राज्ञी शाहसँग कुराकानी गरेको देखिन्छ । पहिले सुरजसिंह ठकुरीले चलाउँदै आएको यो कार्यक्रम ओसिनले चलाउन थालेलगत्तै विवादमा तानिएको हो ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले यो शोलाई लिएर विरोध जनाएका छन् भने नायिका जसिता गुरूङ र अनमोल केसी लगायतका कलाकारले समेत यसबारेमा टिप्पणी गरेका छन् ।
कार्यक्रममा अरुको व्यक्तिगत जीवनलाई सार्वजनिक गरिएको र निकै गिरेर अपाच्य शब्दहरू प्रयोग गरिएको भन्दै विरोध भएको हो । कार्यक्रम प्रस्तोता ओसिनले दुवै अतिथिलाई प्रश्न सोध्ने बेलामा ‘सेक्स कि खाना?’ भनेर सोधेको विषयमा पनि विरोध भएको छ । कार्यक्रम चलाउन यतिसम्म गरेको भन्दै सामाजिक सञ्जाल रङ्गिएको हो ।
बौद्धिक अभिनेत्री मानिने स्वस्तिमा खड्काले यो शोको ‘र्यापिड फायर’ सेसनमा सोधिएका प्रश्नको उत्तर दिने क्रममा अलिकति पनि विचार नपुर्याउँदा विवादमा तानिएकी हुन् । यस्तै अर्की कलाकार साम्राज्ञीको प्रस्तुतिलाई लिएर पनि विवाद सिर्जना भएको छ ।
कार्यक्रमको बजर राउण्डमा ‘धिरज मगरसँग पहिला डेट गरेको र अहिले अनमोल केसीसँग डेट गरिरहेकी अभिनेत्री को हुन् ? भन्ने होस्टको प्रश्नमा स्वस्तिमाले जसिताको नाम लिएकी थिइन् । साम्राज्ञीले त्यहीमाथि प्रदीप, धिरज अहिले अनमोल भनेर थपिन् ।
त्यसपछि तीनै जना मज्जाले भद्दा हाँसो हाँसेको भिडियोमा देख्न सकिन्छ ।
महिलाले महिलाको खुट्टा तानेको भन्दै जसिताले आपत्ति जनाएपछि स्वस्तिमा र साम्राज्ञीले माफी मागेका छन् ।
जसिताले आफ्नो निजी जीवनबारे राष्ट्रिय टेलिभिजनमै अभिव्यक्ति दिएकोप्रति असन्तुष्टि जनाउँदै सोमबार नै सामाजिक सञ्जालमा इन्ट्राग्राममा लेखेकी थिइन् । उनले दुवैलाई प्रश्न गरेकी छिन्, ‘के हामी साँच्चै महिलाले अर्का महिलालाई तल पार्ने विरुद्धमा छौं ? महिला भएर समाजका लागि कस्तो उदाहरण बसाल्दै हुनुहुन्छ ? कसैको व्यक्तिगत जीवनलाई सार्वजनिक रूपमा बदनाम गर्ने र चर्चा गर्ने कारण के हो ?’
उक्त अन्तर्वार्ता हेरेपछि आफू निकै दुःखी भएको उनले उल्लेख गरेकी छिन् । दुवै अभिनेत्री र होस्टलाई उच्च सम्मान र प्रशंसामा गरेको धारणा राख्दै उनले त्यस्ता कार्यक्रमले अरुको जीवन प्रभावित हुनुका साथै परिवारमा समेत प्रभाव पार्ने बताएकी छन् । जसिताको शेयर गरेको धारणामा अनमोल केसीले पनि ‘रिलको नभएर रियल क्यारेक्टर’लाई जज गर्नुपर्ने तर्क गरेका छन् ।
आजसम्म अनमोलले कसैसँग पनि सार्वजनिक रूपमा आफ्नो प्रेमिका भएको खुलासा गरेका छैनन् । तर, टेलिभिजन कार्यक्रममा जसितालाई तीन जना अभिनेतासँग जोडेपछि सर्वत्र विरोत्र भएको हो ।
स्वस्तिमा र साम्राज्ञी दुवैले कार्यक्रमको दौरानमा दिएको अभिव्यक्तिबारे जसिताको स्ट्याटसमै कमेन्ट गरेर माफी मागेपनि ‘कलाकारको स्तर’ भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरिएको छ ।
यता कार्यक्रम सञ्चालनमा पनि निकै तल्लो स्तरको शैली अपनाएको र कार्यक्रममा ‘नाङ्गिनुपर्ने’ कार्यक्रम प्रस्तोताको शर्तको विषयलाई लिएर पनि विरोध भइरहेको छ । प्रस्तोताले प्रश्नको उत्तर दिन नसके कपडा खोल्नुपर्ने शर्त राखेकी थिइन् भने साम्राज्ञी र स्वस्तिमाले आफूले ‘वान पिस’ लगाएको भन्दै रमाइलो गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया