प्रोस्टेटको समस्याले पुरुषहरु पीडित भएको पाइन्छ । प्रोस्टेट एक मुत्रनलीसँग सम्बन्धि रोग छ जुन पुरुषहरुमा देखिने गर्दछ । उमेर बढ्दै जाँदा अरु ग्रन्थिझैँ यो पनि बढ्न थाल्छ ।
यो अस्वभाविक रुपमा बढ्न थालेमा मुत्राशयमा समस्या आउन सक्छ । धेरैलाई यसबारेमा त्यति जानकारी भएको पनि पाइँदैन । खासमा प्रोस्टेट के हो, यो किन हुन्छ, लगायतका विषयमा युरोलोजिष्ट डा. पवन चालिसेसँग सुस्मिता फुयाँलले गरेको कुराकानी:
प्रोस्टेट के हो ?
प्रोस्टेट पुरुषको एक प्रजनन् अङ्ग हो । पुरुषहरुमा मात्र हुने ग्रन्थि पनि हो, प्रोस्टेट । यसलाई पुरुष ग्रन्थि पनि भनिन्छ । यो ग्रन्थि पिसाब थैलीको मुनि र मुत्रनलीको वरपर हुन्छ । उमेर बढ्दै जाँदा अरु ग्रन्थि झंै यो पनि बढ्न थाल्छ । तर, यो अस्वभाविक रुपमा बढ्न थालेमा मुत्राशयको समस्या आउन सक्छ र यहि पक्रिया नै प्रोस्टेट हो । प्रोस्टेट ग्रन्थिले एक किसिमको तरल पदार्थ उत्पादन गर्छ । खासगरी यसले शुक्रकिटलाई, वीर्यलाई चाहिने पोषण तत्व उत्पादन गर्छ ।
यो रोग लाग्ने प्रमुख कारणहरु के–के हुन् ?
यस्तो समस्या हुनुको कारण भनेकै बुढेशकालमा पुरुषहरुको हर्मोनमा गढबढी हुन्छ । यसको आकार बढ्दै गएपछि पिसाबनलीको बाटो अवरोध गरिदिन्छ । यसकारण प्रोस्टेटको समस्या हुन्छ ।
कुन उमेर समूहका व्यक्तिहरुलाई यो समस्याले सताउने गर्छ ?
यो रोग विशेषगरी वृद्व अवस्था अर्थात् पाको उमेरमा लाग्ने रोग हो । उमेर बढ्दै जाँदा यो रोग लाग्ने सम्भावना अधिक हुन्छ । तर युवाअवस्थामा पनि यो समस्या हुँदै नहुने भन्ने चाहिँ होइन ।
यसमा के–कस्ता लक्षणहरु देखा पर्छन् ?
प्रोस्टेट ग्रन्थीको वृद्धिसँगै पिसाबमा अवरोध र विभिन्न लक्षण देखापर्ने गर्छ । पिसाबको धारा कमजोर हुनु, पिसाब फेर्न बल लगाउनुपर्ने, पिसाब फेर्दा ढिलो पिसाब आउनु, पिसाब फेर्न शुरु गर्न गाह्रो हुनु, पिसाब पोल्नु, दुख्नु र पिसाबमा रगत देखिनु, पिसाब चुहिनु, थोपाथोपा झर्नु र पिसाब खुल्ने, रोकिने क्रम पटक–पटक हुनु, पिसाब फेरिसकेपछि पनि पिसाब थैलीमा पिसाब रहेको जस्तो भारी महसूस हुनु, धेरैपटक पिसाब लाग्नु, आकस्मिक रूपमा पिसाब लाग्नु र केही क्षण पनि रोक्न नसक्नु, तल्लो पेट दुख्नु, रातो पिसाब आउनु, मूत्रनलीमा पीडा हुनु, पिसाब रोकिने जस्ता लक्षणहरु देखिन सक्छन् ।
कसरी सतर्कता अपनाउने ?
सर्तकता भन्नाले यो रोग उमेर बढ्दै जाँदा निम्तने समस्या हो । यसकारण हामीले भनेका लक्षणहरु देखापर्ना साथ चिकित्सकको परमार्श लिनु औषधी उपचार गराउनु र नियमित औषधीको सेवन गर्नु नै सबैभन्दा उत्तम हो ।
यसको उपचार विधि के–कस्तो छ ?
पहिलो कुरा त पिसाबकै समस्या प्रोस्टेटकै कारणले हो भन्ने कुरा पत्ता लाग्नुप¥यो । यदि हो भने यसको पहिलो उपचार विधि भनेको औषधि उपचार नै हो । यसले पिसाबलाई सहज बनाउँछ । पिसाबले पनि भएन भने अप्रेशन गर्न सकिन्छ । अहिले अप्रेशन पनि चिरेर गर्नु पर्दैन । दुर्विनको पाताले यो ग्रन्थीलाई खुुर्केर पिसाबको बाटो बनाउन सकिन्छ ।
यसका बिरामीहरुले कस्तो खानपान र जीवनशैली अपनाउनुपर्छ ?
यो खानपानसँग सम्बन्धीत रोग होइन । तर हामीले हरियो हर्बल कुराहरुको सेवन गर्नसक्छौं । व्यायामलाई हामीले प्राथमिकतामा राख्न सकिन्छ । महत्वपूर्ण कुरा त चिकित्सकको सल्लाहमा लक्षण अनुसार उपचार, औषधिको प्रयोग नै जरुरी छ ।
के–कस्ता जोखिम र जटिलताहरु निम्तिन सक्छ ?
पिसाबको समस्या हुने बित्तिकै प्रोस्टेट ग्रन्थिको समस्या हो भनेर किटान गर्न नसक्दा समस्या बढ्दै जान्छ । प्रोस्टेट वृद्धिलाई समयमै उपचार नगरेमा पिसाब रोकिने, पिसाब निखरिन नसक्दा संक्रमण हुने, पत्थरी हुने, पिसाब मृगौलामा पुग्ने र सुनिने, पिसाबमा रगत मिसिने, मृगौलामा पानी जम्ने, मूत्रथैली सुन्निने, मूत्रथैली बिग्रने समस्या उत्पन्न हुन्छन् । यसकारण समयमै रोगको पहिचान गर्न आवश्यक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया