भक्तपुर– पत्रकार समाज नेपालले वरिष्ठ इन्जिनियर राजदास श्रेष्ठको आत्मकथा ‘सक्वका राजदास’ पुस्तक शुक्रबार सार्वजनिक गरेको छ ।
उक्त पुस्तकको सार्वजनिकीकरण गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ(रोहित)ले समाजवादी साहित्यको निरन्तर अध्ययनले मात्र देश र जनताको सेवा हुने बताए । उनले देशको सांस्कृतिक स्तर माथि उकास्न साहित्यको भूमिका हुने बताउँदै स्व. राजदास श्रेष्ठको आत्मकथाबाट रुसी जनताको सामाजिक, आर्थिक, राजनीतिक एवम् सांस्कृतिक स्तरबारे स्पष्ट भएको बताऐ ।
मित्रकुञ्ज नेपालका सचिव इन्जिनियर एवम् लेखक रामविन्दु श्रेष्ठले स्व.राजदासका आत्मकथाबारे समीक्षा गर्दै उहाँ अन्तरराष्ट्रिय विचार अवलम्बन भएको बताए । स्व. राजदासले नेपालमा चुनढुंगाबाट सिटामोल र श्रृंगारका सामान बनाउन सक्ने तर सरकारले भारतलाई सस्तो मूल्यमा बेचिरहेको बरोबर जानकारी दिने गरेको जनकवी एवम् नेपाल भाषा साहित्य तःमुंज्याका सल्लाहकार चन्द्र बहादुर उलकले बताउँछन् । स्व राजदास देशभक्ती, जातीय स्वाभिमानी, वैचारिक आस्थामा तत्पर र माक्र्सवादी दृष्टिकोणबाट प्रभावित व्यक्ति भएको उनको भनाइ छ ।
स्रस्ता समाज नेपालका अध्यक्ष एवम् भक्तपुर मासिक पत्रिकाका सम्पादक लक्ष्मणराज जोशीले वैज्ञानिक, इन्जिनियर, प्राविधिक र साहित्यकारको रुपमा परिचित स्व. राजदासलाई मूर्खहरुको सरकारले चिन्न नसकेको औंल्याए ।
आयोजक समितिका अध्यक्ष अनुराधा थापामगरको सभापतित्वमा भएको उक्त कार्यक्रममा पुस्तकको खण्ड १ को ‘जीवनयात्रा’का विषयमा सुरेश परियारले, खण्ड २ को ‘त्यो रेलयात्रा’बारे सुशिला कर्माचार्यले खण्ड ३ को ‘कला, साहित्य र राजनीति’ विषयमा उद्धव सुजखुले र खण्ड ४ को ‘नेपाली प्रकृतिमा हेलिँदा’का विषयमा रजनी जोशीले परिचर्चा गरेका थिए ।
प्रथम संस्करणका रुपमा प्रकाशित ३ सय पृष्ठको उक्त पुस्तक मूल्य ३ सय ५० रुपैयाँ निर्धारण गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया