मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बालेनसँगै फेरिएको काठमाडौँको मुहार

काठमाडौँ– र्‍यापर हुँदै राजनीतिमा आएका बालेन्द्र साह (बालेन) पछिल्ला केही वर्षयता सबैभन्दा बढी चर्चामा आइरहने व्यक्ति हुन् ।

स्वभाविक रुपमा काठमाडौँ महानगरपालिकाका मेयरको अरुको तुलनामा बढी चर्चा हुने गरेपनि बालेनको उदयपछि उनको देशभर नै चर्चा हुने गरेको छ । त्यसो त यसअघि पनि काठमाडौँका मेयरको चर्चा नै नहुने भन्ने चाहिँ होइन ।

तर, वि.सं. २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार उठेका बालेनले एकाएक जीत हासिल गरेपछि उनको चर्चा ‘मेयर’ का रूपमा व्यापक चुलिएको छ ।

काठमाडौँलाई फराकिलो र सांस्कृतिक शहर बनाउनुपर्छ भन्ने अडान लिएका बालेनलाई कहिलेकाहीँ स्थानीय र केन्द्रीय सरकारबाटै अवरोध हुने गरेको छ । तर, उनले ती अवरोधलाई चिरफार गर्दै आफ्नो योजनाअनुसार काठमाडौँलाई अझ सुन्दर बनाउन लागिपरेका छन् ।

मेयर भएको दुई वर्षसम्ममा बालेनले यति धेरै चर्चा बटुलेका छन् कि, बालेनले नकारात्मक कुरा गर्दा पनि उनका प्रशंसकले बालेनको समर्थन गरिरहेका हुन्छन् ।

काठमाडौँ शहरलाई कतिपय उनका समर्थकले ‘बालेन सिटी’ समेत भन्न थालेका छन् भने अन्य जिल्लाबाट आउने नेपालीले काठमाडौँको विकासले बालेनको एकल प्रयासले भएको भन्दै तारिफ गर्ने गरेका छन् ,

काठमाडौँ महानगरपालिकाकाको नेतृत्वमा रहेका उनी कहिले संघीय सरकारसँगको भिडन्त त कहिले आफ्नै अभिव्यक्तिले समेत सधै ‘लाइमटाइट’मा रहन्छन् । हुन पनि उनको उदयलाई पुराना र परम्परागत राजनीतिक शक्ति र त्यसका नेताहरुमाथिको प्रश्नका रुपमा हेरिन्छ भने उनका कामले स्थानीय तहको प्रमुख कति बलियो हुँदोरहेछ भन्ने समेत उदाहरण प्रस्तुत गरेको छ ।

काठमाडौँ महानगरपालिकाको मेयरमा बालेन आइसकेपछि उनले महानगर प्रहरीलाई पनि थप जिम्मेवारी दिएका छन् । बालेनभन्दा पहिले महानगर प्रहरीलाई धेरैले फोहोर संकलन गर्ने स्वयंसेवकका रूपमा मात्र चिन्ने गरेका थिए ।

लामो समय एमालेको गढ रहेको काठमाडौँ महानगरमा दोस्रो स्थानीय तहको चुनावबाट उदाएका स्वतन्त्र उम्मेद्वार बालेन नेपाली काँग्रेसकी उम्मेद्वार सृजना श्रेष्ठलाई २३ हजार ४२६ मतान्तरले पछि पार्दै निर्वाचित भए । उनको जीततलाई युवाले चाहेको अबको नयाँ राजनीतिक कोर्सका रुपमा व्याख्या गरिएको छ ।

त्यसअघि एमालेका विद्यासुन्दर शाक्य काठमाडौँका मेयर थिए । संघीय राजधानी रहेको स्थानीय तह भएपनि विद्यासुन्दरको पाँच वर्षे कार्यकालमा केही उपलब्धीमूलक रहेपनि खासै उत्साहजनक भने नरहेको काठमाडौँका कतिपय स्थानीयहरु बताउँछन् ।

विपक्षी दलका नेतासँगै सर्वसाधारण जनता पनि उनको कार्यकालप्रति उत्साहित थिएनन् ।

निर्वाचनको समयमा गरेका प्रतिबद्धताहरु उनको कार्यकालको अन्तिमसम्म पनि कागजमै सीमित भएका थिए । उनको कार्यकालका अधिकांश प्रतिबद्धता कागजमै मात्रै सीमित भएकाले पनि उनीसँगै राजनीतिक दलसँग स्थानीय आक्रोशित बनेका थिए । जसको लाभ बालेनलाई मिल्यो ।

महानगरपालिकामा बालेन निर्वाचित भएसँगै युवादेखि पाका उमेरका जनताहरुमा धेरै आशा र भरोसा थियो । जनताको आशा र भरोसालाई टिकाउनका लागि पनि उनी शुरुदेखि नै काममा लागि परे । काठमाडौँ महानगरपालिकाको स्वरुपमा कही हदमा भएपनि परिवर्तन गर्न उनी सफल भए ।

उनी निर्वाचित भए यता काठमाडौँ महानगरको मुहारमा आएको परिर्वतनलाई काठमाडौँबासीले पनि स्वीकार गरिरहेका छन् । महानगरपालिकाको फोहर व्यवस्थापन, फुटपाथ निर्माण, होडिङ बोर्ड, अव्यवस्थित तारको व्यवस्थापन, फुटपाथ अतिक्रमण, सम्पदा निर्माण, सार्वजनिक जग्गा अतिक्रमण, बिरुवा रोप्ने लगायतका विभिन्न क्षेत्रमा उनले परिवर्तन गरेका छन् । अब मेयर बालेनले काठमाडौंमा गरेका केही परिवर्तनहरुबारे चर्चा गरौँ ।

फोहोर व्यवस्थापन

लामो समयदेखि फोहर व्यवस्थापन गर्नु काठमाडौँ महानगरका लागि टाउको दुखाइको विषय थियो । महानगरपालिका क्षेत्रभित्रका आकाशे पुलदेखि सडकको पेटी, चोकदेखि गल्लीसम्म फोहोरको थुप्रो हुन्थ्यो ।

पैदल वा सवारी साधनमा यात्रा गर्ने व्यक्ति नाक थुन्न हत्त न पत्त मास्क वा रुमालको प्रयोग गरिहाल्थे । तर अहिले भने यो बाध्यताको अन्त्य भएको छ । अहिले महानगर क्षेत्रभित्र मुस्किलैले मात्रै फोहोर भेटाउन सकिन्छ ।

फोहर व्यवस्थापनलाई चुनावी एजेण्डा नै बनाएका बालेनले बञ्चरे डाँडाको डम्पिङ क्षेत्रमा गएर आवश्यक अनुसन्धानसमेत गरे । सोही अनुरुप महानगरपालिकामा भएको कर्मचारीको प्रयोग गरी फोहर उठाउने कार्यान्वयनमा ल्याए ।

समय समयमा फोहोर व्यवस्थापनका लागि बालेन नेतृत्वको स्थानीय सरकारले विभिन्न समस्या भोग्दै आएपनि अहिले विगतको जस्तै थुप्रेको फोहोरको डङ्गुर देख्नु परेको छैन भने कसैले विरोध गरिहाले पनि उनी तत्काल एक्सनमा उत्रिने गरेका छन् ।

अव्यवस्थित पार्किङको व्यवस्थापन

काठमाडौँ महानगरपालिका अधिकांश नेपालीको व्यापार र किनमेलको गन्तव्य पनि हो । रोजगारी तथा सुनौलो भविष्यको लागि महानगरपालिका क्षेत्र नै पहिलो रोजाइमा पर्छ । त्यसैले पनि काठमाडौँ महानगरको बसोबास मात्रै नभइ सवारी चाप पनि बाक्लो छ ।

नगर प्रमुखमा बालेन आउनुअघि सडक किनारा तथा फुटपाथ क्षेत्रमा मनपरी सवारी पार्किङ हुने गर्थ्यो । पार्किङलाई केही व्यक्तिले व्यवसायको रुपमा पनि जोडेर काम गर्दै आएका थिए । काठमाडौँ महानगरका पूर्वमेयर विद्यासुन्दर श्रेष्ठले व्यवसायीको मिलोमतोमा पार्किङलाई व्यवसायिक रुपमा सञ्चालन गर्न अनुमति दिएको आरोप लागेको थियो । जसले गर्दा फुटपाथ र काडमाडौँको शहर थप अव्यवस्थित बनेको थियो ।

तर, बालेन अव्यवस्थित रुपमा चल्दै आएको पार्किङलाई हटाउन लागि परे  । अव्यवस्थित पार्किङ हटाउने क्रममा व्यवसायीहरुले उनीविरुद्ध विरोध पनि गरे । केहीले आन्दोलन पनि गरे । तर पनि उनी पछि हटेनन् । अव्यवस्थित पार्किङलाई हटाउँदै व्यवस्थित पार्किङको व्यवस्था गरे ।

शुरुमा निजी क्षेत्रद्वारा सञ्चालित व्यवसाय तथा घरमा अण्डरग्राउण्डमा पार्किङ गर्न व्यवस्था मिलाए । सोही अनुरुप महानगर क्षेत्रका अधिकांश निजी भवनको अण्डरग्राउण्डमा पार्किङको व्यवस्थापन भएको छ । यसले सडकलाई केही हदसम्म खाली र सुन्दर बनाएको छ ।

व्यवस्थित फुटपाथ

पहिले काठमाडौँ क्षेत्रका फुटपाथ अव्यवस्थित थिए । पैदल यात्रीका लागि बनाइएका फुटपाथमा सडक व्यापारीहरु व्यवसाय सञ्चालन गरेर बसिरहेका हुन्थे । फुटपाथ यात्रीहरु जोखिम मोलेर बाध्य भई सडकको किनारा प्रयोग गर्न बाध्य थिए । तर, ती व्यवसायमाथि नगरप्रमुख बालेन कठोर रुपमा प्रस्तुत भए । महानगर प्रहरी तथा कर्मचारीले बल प्रयोग गरी फुटपाथ व्यवसायीलाई हटाए ।

कतिपयले फुटपाथबाट नै परिवारलाई धान्दै आएका थिए । फुटपाथमा व्यवसाय सञ्चालन गर्दै आएका व्यक्तिले महानगरको कार्यालय क्षेत्रमै गएरै आन्दोलन गरे । तर, पनि उनी पछि हटेनन् र फुटपाथ व्यवसायलाई व्यवस्थापन गर्न सफल भए ।

फुटपाथ निर्माण

महानगरपालिका क्षेत्रका फुटपाथ साघुँरो भएसँगै हिँड्न अप्ठयारो थियो । पैदल यात्रीलाई लक्षित गरी महानगरपालिकाले फुटपाथमा बिछ्याएको पुरानो ढुङ्गा तथा इट्टा उप्काएर नयाँ बिछ्याएको छ । यसले काठमाडौँ शहरलाई सुन्दरसँगै पैदलयात्रीलाई हिँड्न समेत सहज भएको छ ।

अतिक्रमित संरचना हटाइयो

महानगरपालिका क्षेत्रमा ठूला–ठूला व्यवसायीले सार्वजनिक जग्गा तथा सडक मिचेर भवन निर्माण गरेका थिए । सार्वजनिक जग्गा संरक्षण र अतिक्रमित संरचना हटाउनु महानगरको लागि चुनौती नै थियो । तर पनि महानगरपालिकाले अतिक्रमित संरचना हटाउनका लागि सूचना नै जारी गरेको थियो । र, कतिपय स्थानमा जग्गाधनीले अतिक्रमित संरचना हटाउनका लागि तयार नहुँदा महानगरपालिकाले डोजर नै चलाउन बाध्य भएको थियो । कतिपय स्थितिमा भने अदालतको आदेशपछि बालेन मौन हुनुपर्ने अवस्था आइपर्‍यो ।

अव्यवस्थित तारको व्यवस्थापन

केही समय पहिले काठमाडौँ महानगरपालिका क्षेत्रको पोलहरुमा अव्यवस्थित तारहरु देखिन्थे । इन्टरनेट सेवाप्रदायक कम्पनीले महानगर क्षेत्रभित्रका पोलहरुमा जथाभावी तारहरु झुण्डाएर राखेका थिए । तर बालेनले त्यस्ता तारको व्यवस्थापन गर्न निर्देशन दिए ।

लामो समयदेखि शहरलाई कुरुप बनाउँदै आएको अवव्यस्थित तारको व्यवस्थापन गर्न बालेन लागि परे । सोही अनुरुप पोलमा तार झुण्ड्याउने कम्पनीहरुले आ–आफ्नो तार व्यवस्थापन गर्न थाले । अधिकांश क्षेत्रमा हाल तार व्यवस्थापनको कार्य सम्पन्न भइसकेको छ ।

होडिङ बोर्ड

काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका घरहरुमा झुण्डाएको होडिङ बोर्डले शहरको मात्रै नभई भवनको स्वरुप नै बिगारेको थियो । मापदण्ड विपरीतको होडिङ बोर्ड सबै घरमा राखिएका थिए । महानगरपालिकाले सो बोर्ड हटाउनको लागि व्यवसायीहरुलाई अनुरोध समेत गरेको थियो । महानगरपालिकाले नगरप्रहरीको प्रयोग गरी बोर्ड हटाउन लगाएको छ । यसले शहरको सुन्दरतासँगै घरको स्वरुप त फेरेको छ नै, व्यवस्थित होडिङ बोर्डलाई करको दायरामा ल्याएर महानगरले आम्दानी पनि गर्दै आएको छ ।

फायर हाइड्रेन्ट जडान

काठमाडौँ महानगरपालिकामा आगलागीको जोखिम धेरै थियो । त्यसबाहेक केही गरी आगलागी भइहाले पनि महानगर क्षेत्रमा रहेका साँघुरा गल्लीका कारण आगलागी भएका ठाउँमा दमकल पुग्न समस्या थियो । महानगरले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटबाट अधिकांश क्षेत्रमा आगलागी नियन्त्रण गर्नका लागि फायर हाइड्रेन्ट निर्माण गर्न थालेको छ ।

यो काम महानगरपालिकाले अभियानकै रुपमा सञ्चालन गर्दै आएको छ । यसले आगामी दिनमा आगलागीबाट हुने क्षतिलाई कम गर्न सक्ने अपेक्षा गरिएको छ ।

पुरातात्विक सम्पदाको निर्माण

काठमाडौँ विश्वकै सबैभन्दा पुराना शहरमध्ये एक हो । यहाँ प्राचिन संरचनाहरु जताततै देख्न सकिन्छ । यसअघि वास्तै नगरिएका सम्पदालाई समेत बालेन नेतृत्वको स्थानीय सरकारले मर्मत, जीर्णोद्दार गर्न थालेको छ । महानगरपालिकाले बानेश्वरमा दुई वटा मौलिक शैलीमा फल्चा निर्माण गरेको छ । जबकि यी क्षेत्रमा यसभन्दा अघि कुनै पनि पाटी बनाइएको थिएन । यसैगरी महानगरले नक्सालमा रहेको ४० वर्ष पुरानो गहिटीको पनि पुननिर्माण गरेको छ ।

भित्तेचित्र

कुनै समय काठमाडौँका भित्तामा अनेकखाले विज्ञापन, ग्राफिटी र जथाभावी पोतेर फोहर भएको देख्न सकिन्थ्यो । यसले भित्ताको स्वरुप मात्रै नभइ शहरको सौन्दर्यीकरणमा नै असर पारेको थियो । तर काठमाडौँ महानगरपालिकाले अहिले शहरी सौन्दर्यीकरणको लागि कलात्मक तथा सांस्कृतिक, सम्पदा झल्कने चित्रहरु कोरेको छ । यसले शहरी सौन्दर्यीकरणसँगै भित्तालाई पनि आकर्षक पनि बनाएको छ ।

यीबाहेक बालेनको अन्य कामको समेत तारिफ हुने गरेको छ । काठमाडौँ उपत्यकाका विद्यालयमा विद्यार्थीलाई छात्रावृत्ति उपलब्ध गराउनेदेखि काठमाडौँका विभिन्न स्थानमा फूल रोपेका कारण उनको तारिफ हुने गरेको छ । यद्यपि कहिलेकाहीँ बालेनले दिने आक्रामक अभिव्यक्ति र टिप्पणीले उनले विरोधको सामना पनि गर्नुपरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?