मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पुटिन-किमको मित्रता, पालै पालो लक्जरी कार चलाएको तस्वीर भाइरल

काठमाडौँ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली शासक किम जोङ उनका भिडियो र तस्वीर अहिले सामाजिक सञ्जाल र मिडियामा भाइरल भइरहेका छन् ।

हालै पुटिनले उत्तर कोरियामा गरेको भ्रमणका अवसरमा आफै गाडी चलाएको भिडियो र तस्वीर भाइरल भएका हुन् । पुटिन र किमले यस भ्रमणका क्रममा पालै पालो गाडी चलाएको तस्वीरमा देख्न सकिन्छ । 

पुटिनले गाडी चलाउँदा किम नजिकैको अगाडिको सिटमा बसेर कुरा गरिरहेको देख्न सकिन्छ भने किमले गाडी चलाउँदा पुटिन अगाडिको सिटमा बसेको र दुवै जना हाँस्दै कुरा गरिरहेको देख्न सकिन्छ ।

रिपोर्टका अनुसार पुटिनले किमलाई अर्स लिमोसिन लक्जरी कार उपहार दिएका थिए । यस भ्रमणका क्रममा पनि पुटिनले किमलाई एउटा स्किभर र चिया सेट पनि उपहार दिएको बताइएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षपछि बुधबार बिहान उत्तर कोरियाको भ्रमण गरेका हुन् । यस भ्रमणमा किम आफैले विमानस्थल पुगेर पुटिनको स्वागत गरेका थिए । पुटिनसँग १० रुसी मन्त्री र अधिकारीहरूको प्रतिनिधिमण्डल उपस्थित थियो । जसमा परराष्ट्र मन्त्री सर्गेई लाभरोभ र रक्षामन्त्री एन्ड्रे बेलोसोभ सामेल थिए ।

रुसी राष्ट्रपतिको स्वागतका लागि विमानस्थलमा रातो कार्पेट बिछ्याइएको थियो र उनको भव्य स्वागत गरिएको थियो । पुटिनलाई राजधानी प्योङयाङको सिटी स्क्वायरमा औपचारिक स्वागत गरिएको थियो । चोकलाई रंगीन बेलुनले सजाइएको थियो ।

पुटिनको गाडी हेर्न हजारौँ मानिस सडकमा भेला भएका थिए । उनीहरुको हातमा रुस र उत्तर कोरियाको झण्डा थियो । यसबाहेक केही भवनमा पुटिन र किम जोङका ठूला पोस्टर पनि टाँसिएका छन् । 

पुटिनलाई सहरको चोकमा स्वागत गर्न मिलिटरी ब्याण्डले दुवै देशको राष्ट्रिय गान बजाएको थियो । यस क्रममा त्यहाँ जम्मा भएका बालबालिकाको हातमा रंगीन फूलहरु पनि राखिएको थियो । कार्यक्रममा किम जोङकी बहिनी किम यो जोङ पनि त्यहाँ उपस्थित थिइन् ।

यस भ्रमणका क्रममा पुटिनले नयाँ आधारभूत दस्तावेज पनि घोषणा गरे, जसले दुई देशबीचको सम्बन्धको जग बनाउने विश्लेषण गरिएको छ । 

पुटिनले गत वर्ष किम जोङको रुस भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ भएको बताए । अब यो साझेदारीलाई अगाडि बढाउन नयाँ आधारभूत दस्तावेज बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?