काठमाडौँ– एकजना महिला चर्खामा धागो कातिरहेकी छिन् । छेउमै अर्की महिला चर्खाबाट कातिएको धागोलाई बेरिरहेकी छिन् । त्यही छेउछाउमा ओखलमा चिउरा कुटिरहेकी अर्की महिला छिन् ।
त्यस्तै माहोलमा एक जना पुरुष भने काठको मुढामा कलाको स्वरुप दिइरहेका छन् । लाजिम्पाटस्थित ताक्पा ग्यालरीमा देखिएको उक्त दृश्य केवल कलाको फर्ममा मात्र थियो ।
जुन दृश्यलाई काष्ठकलाको फर्ममा काष्ठ कलाकार सुरज शिल्पकारले ग्यालरीको प्रदर्शनीसम्म ल्याइपुर्याएका थिए ।
भक्तपुर, पाटन तथा काठमाडौँका यस्ता दृश्यहरु अब नयाँ पुस्ताकाहरुका लागि इतिहासकै रुपमा मात्र रहने अवस्था बनिसकेको छ । परम्परागत र मौलिकतासँग जोडिएका उपत्यकाका नेवारी समुदायका यी गतिविधिहरु लोपोन्मूख अवस्थामा छन् ।
यी सबै दृश्यहरु हेर्नलाई अहिलेका पुस्ताले कि कुनै विशेष महोत्सव नै कुर्नुपर्छ, कि त यस्ता कलाहरु मार्फत नै हेर्न पाउँछन् ।
कलाकार सुरजको पूख्र्यौली थलो भक्तपुर खौमामा हो । भक्तपुरमै पनि उनले बाल्यकालमा देखेका कैयौं दृश्यहरु अहिले देखेका छैनन् । कुनै चाडपर्व, उत्सव वा भोज शुरु हुनुभन्दा केही दिन अगाडि देखि नै सुनिने ओखल र ढिकीको धुन अचेल उनको बस्तीमा सुनिदैन ।
घरको आँगन, चोक र देवलहरुमा चर्खा चलाएर बस्ने हजुरआमा, आमाहरुका सीपलाई अहिले अत्याधुनिक मेसिनहरुले विस्थापित गरिदियो । ती पुराना चर्खाहरु घरको कुनै स्टोरमा कोचिएका छन् । बाँकी भनेको उनले देख्दै आएको काष्ठकलाको काम मात्र भक्तपुरका केही स्थानहरुमा मात्र चलिरहेको छ ।
यी मौलिक तथा परम्परागत कुराहरु उनको आँखै अगाडि हराउँदै गए । यसरी नै हराउँदै गएमा भोलि आउने नयाँ पुस्ताले हाम्रो आफ्नै भनिएका यी मौलिक चीजहरुलाई कसरी चिन्ने भन्ने कुराले मनमा पिरोलिएपछि कलाको फर्ममा उतारिएको उनले जोय नेपालसँगको कुराकानीमा सुनाए ।
‘म सानो हुँदा भोजका लागि चिउरा कुट्ने, चर्खामा धागो काट्ने, कपडा बुन्ने कामहरु देख्थेँ,’ उनले भने, ‘अहिले त सबै कुरा बजारबाट आउँछ । कपडा बुन्नेदेखि सबै काम मेसिनबाट नै भयो । पहिलाको सबै सम्झँदा एकदमै नोस्टाल्जिक बनाउँछ । आर्टमै भएपनि यसरी प्रिजर्भ गरौं भन्ने नै मेरो उद्देश्य हो ।’
पूख्र्यौली पेशा नै काष्ठकला भएकाले उनको बाल्यकाल काठ र काष्ठकला बनाउने ज्याबल, मुङ्ग्रोहरुसँगै खेलेर बित्यो । बुवा राजकुमार र हजुरबुवा हेरालालले पनि यही काष्ठकलाकै काम गरे । उनले पनि पुर्ख्यौली त्यही सीपलाई अगाडि बढाएका छन् ।
काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत उनी विगत एक दशकभन्दा लामो समयदेखि काष्ठकला सिर्जनामै छन् । यसै मार्फत मौलिक र परम्परागत पक्षलाई संरक्षण र संवद्र्धन गरी लैजाने सोच उनले बनाएका छन् । एक त मौलिक कुराहरुलाई दस्तावेजीकरण गर्न कठिन हुनु अर्कोतिर प्रविधिलाई समेत आत्मसात गरेर अगाडि बढ्नुपर्ने भएकाले उनी जस्ता युवा पुस्तालाई अझै गाह्रो परिस्थिति आएको उनको भनाइ छ ।
‘पुराना कुरालाई खोज्दै प्रिजर्भ गर्न धेरै गाह्रो छ । पुरानो कुरासँगै टेक्नोलोजीलाई पनि अगाडि बढाउनै पर्यो । हामी चाहिँ अहिले यही बिचमा छौं । यो दुवैलाई ब्यालेन्स मिलाएर जान अलि गाह्रै छ,’ उनले भने ।
यी दुवै पक्षमा आफू निकै सजक भएर अगाडि बढेको उनले सुनाए । सबैभन्दा बढी सचेत चाहिँ उनी मौलिक पक्षमा छन् । आफूले देखेका कुराहरु जसरी ओझेल पर्दै गए, त्यसरी नै अब आउने पुस्ताबाट पूर्ण रुपमा ओझेल नै परोस् भन्ने उनी चाहँदैनन् ।
आफूले सिर्जना गरेका कलाकृतिहरुमा भएपनि आउने पुस्ताहरुले आफ्नो मौलिक तथा परम्परागत संस्कार, संस्कृति र रहनसहन हेर्न पाओस् भनेर उनी लागिपरेका छन् ।
ग्यालरीमा शनिवारदेखि ‘अनफोल्डिङ द सिटी’ शीर्षकमा शुरु भएको प्रदर्शनीमा कलाकारहरुले शहरको मौलिक अस्तित्वलाई चित्र, मूर्ति, प्रतिस्थापन जस्ता कलाकृतिहरुमा देखाउने जमर्को गरेका छन् । जसमा संस्कृति तथा परम्परागत पक्षको ज्ञान, सौन्दर्य र मौलिकतालाई नै जोड दिइएको छ ।
जुन मानिसका स्मरणहरुसँग जोडिएका मौलिक पहिचान र अस्तित्वको खोजी पनि हो ।
असार २३ गतेसम्म जारी रहने प्रदर्शनीको क्युरेसन सन्जिव महर्जनले गरेका हुन् । प्रदर्शनीमा कलाकारहरु सम्राट जोशी, सुमना शाक्य, प्रतिमा थकाली, सविता ज्ञवाली, सगुन थापा, एश्वर्य शाक्य, अंशद सुनुवार, आभास नेमकुल, धिरज मानन्धर र ओनासिमोस थुलुङ राई सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया