काठमाडौँ– बाग्लुङ जिल्लामा पर्ने ढोरपाटन शिकार आरक्ष नेपालको एक मात्र शिकार आरक्ष हो । यहाँ आन्तरिक पर्यटकहरू घुम्नका लागि बाह्रै मास पुग्छन् ।
बाह्यै पर्यटकका लागि पनि यो आरक्ष क्षेत्र विशेष किन छ भने यहाँ निश्चित रकम तिरेपछि शिकार खेल्न पाइन्छ ।
धौलागिरी हिमशृङ्लाभित्र पर्ने ढोरपाटन क्षेत्र समुन्द्री सतहबाट दुई हजार आठ सय ५० मिटरदेखि पाँच हजार ५ सय मिटर उचाइमा रहेको छ ।
पहाडी बाटोको रमाइलो यात्रा, खोला तथा वनजङ्गल छिचोल्दै पुगिने ढोरपाटन आकर्षक पर्यटकीय गन्तव्य हो । खासगरी असोजदेखि मङ्सिर र फागुनदेखि वैशाखका बीचमा शिकार खेल्नका लागि र हिउँदमा हिउँ खेल्न र बर्खामा गर्मी छल्नका लागि ढोरपाटन जान सकिन्छ ।
वि.सं २०४० मा स्थापना भई २०४४ मात्र शिकार आरक्षको रुपमा सरकारी मान्यता प्राप्त गरेको ढोरपाटन क्षेत्र साहसी पर्यटक र प्राकृतिक सौन्दर्यको हिसाबले पनि निकै चर्चित छ ।
ढोरपाटन क्षेत्रलाई धार्मिक र पर्यटकीय गन्तव्यका रुपमा समेत लिन सकिन्छ । ढोरबराह मन्दिर, उत्तरगङ्गा, रुद्र ताल, छेन्टुङ गुम्बा यहाँका मुख्य धार्मिक पर्यटकीय स्थलहरु हुन् । यस्तै, सुन्दर उपत्यका, उपत्यकाको बीचमा बग्ने उत्तरगङ्गा खोला, ढोरपाटनमा फुल्ने थरीथरीका फूल/बुकी र यहाँका प्राकृतिक तथा रमणीय बस्ती समेत हेर्न सकिन्छ ।
ढोरपाटन क्षेत्रमा घोडाचढीका साथै मुख्य पाटन, पुरानो हवाई मैदान, उत्तरगङ्गा, स्यालपाखे, नवी र तिब्बती शरणार्थी क्याम्पको भ्रमण पनि गर्न सकिन्छ ।
ढोरपाटनको उत्तरतर्फको गर्पु डाँडाबाट कास्की, म्याग्दी, बागलुङ, गुल्मी, पाल्पा, रुकुम आदि जिल्लाका धेरै भू–भाग देख्न सकिन्छ । त्यसैगरी उत्तरतर्फका हिमाल, चुरेन, हिमचुली, गुर्जा हिमाल, सिस्ने हिमाल, धौलागिरी हिमाल, माछापुच्छ्रे, निलगिरी, अन्नपूर्ण हिमाल पनि यहाँबाट देख्न सकिन्छ । यस्तै, विश्वकर्मा, मगर, नौथर, छन्त्याल समुदायको जीवनशैली तथा साँस्कृतिक गतिविधि पनि ढोरपाटनमा देख्न सकिन्छ ।
ढोरपाटन क्षेत्र पुग्दै गर्दा बागलुङमा पर्ने बाग्लुङ कालिका, शालिग्राम संग्रहालय सर्वसिद्धिधाम, पन्चकोट, गाजाको दह, रिघाताल, गाइघाट झरना, घुम्टेको लेक, गलकोट दरबार र हाँडिकोटको अवलोकन समेत गर्न सकिन्छ । खामबस्ती भाषा, सँस्कृतिको अध्ययन अनुसन्धान गर्न खामभाषा बोल्ने बस्तीहरुको क्षेत्र पर्यटकहरुका लागि पनि यो क्षेत्र महत्वपूर्ण मानिन्छ ।
यसरी पुग्न सकिन्छ ढोरपाटन क्षेत्र
रुकुम पूर्व, म्याग्दी र बागलुङ गरी तीन जिल्लामा पर्ने ढोरपाटन आरक्ष जानका लागि मध्यपहाडी लोकमार्ग पछ्याउँदै पोखराबाट बुर्तिबाङसम्म सडक यात्रा गर्नुपर्छ । त्यसपछि बुर्तिबाङबाट बोबाङ हुँदै करीब ३६ किलोमिटर सडकको यात्रा गरेपछि ढोरपाटन उपत्यका पुग्न सकिन्छ ।
ढोरपाटन पुगेपछि गुर्जाघाट, जलजला तथा बुकीजस्ता पर्यटकीय तथा सांस्कृतिक महत्वका क्षेत्रहरु भ्रमण गर्न सकिन्छ । ढोरपाटन पुगेपछि जलजला पुग्नका लागि भने थप २२ किलोमिटरको कच्ची सडक पार गर्नुपर्छ । जलजलाबाट बुकी पुग्न भने करीब एक दिनको पैदल यात्रा गर्नुपर्छ ।
शिकारका लागि आकर्षणको केन्द्र
ढोरपाटन उपत्यकालाई पर्यटनप्रेमीले सानो स्वीजरल्यान्डको उपनाम दिने गर्छन् । शिकारका लागि प्रख्यात मानिने यस ढोरपाटन आरक्षमा सिकार समेत खेल्न पाइन्छ । जसका लागि भने अनुमतिपत्र प्राप्त सिकारीले नौ नाउर र ११ झारलको सिकार गर्न पाउने प्रवधान रहेको छ । तर आरक्षमा रहेका हिउँचितुवा, घोरल, हिमाली कालो भालु, मृग र लङ्गुरे बाँदरलगायत लोपोन्मुख वन्यजन्तुको शिकार गर्न भने निषेध गरिएको छ ।
ढोरपाटन शिकार आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् । दूर्लभ एवं संरक्षित पंक्षीको सूचीमा परेका डाँफे, मुनाल, चिरसहित एक सय ६४ प्रजातिका चरा पनि यो क्षेत्रमा पाइन्छन् ।
बढ्दै पर्यटक र राजस्व
ढोरपाटन आरक्षमा घुम्न जाने विदेशी र स्वदेशी दुवैको सङ्ख्यामा क्रमशः वृद्धि भइरहेको छ । ढोरपाटन प्रवेशस्थलमा बाह्य तथा आन्तरिक पर्यटकले निश्चित प्रवेश शुल्क तिर्नुपर्ने हुन्छ । ढोरपाटन सिकार आरक्ष पुग्ने भए पनि सडकको पहुँच, होटल सुविधा तथा प्रचारप्रसार हुन थालेपछि आन्तरिक पर्यटकको रोजाइमा समेत यो क्षेत्र पर्ने गरेको छ ।
जसका कारण राजश्वमा समेत वृद्धि भइरहेको छ । देशकै एकमात्र सिकार आरक्ष रहेको ढोरपाटन क्षेत्रको विकासमा सरकारी, गैरसरकारी र स्थानीयस्तरबाट समेत सक्रियता बढेको छ ।
भौगोलिक, जैविक विविधता, बहुलसंस्कृति, प्राकृतिक सौन्दर्यता, भू–उपयोगिता, हावापानी, वन तथा वनस्पति, धार्मिक तथा पर्यटकीय स्थलले भरिपूर्ण ढोरपाटन क्षेत्रको भ्रमण एक उत्कृष्ट गन्तव्य हो ।
तस्वीरहरू: अर्घेलो थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया