मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

संस्कृति

गाउँबस्तीको झल्को दिने लोकलयको धुन

काठमाडौँ– टाउकोमा सेतो कपडा, त्यसैमा केही रातो अबिर छरी लामो हुने गरी बाँधेर लोक गायक रामकुमार नेपाली स्टेजमा देखा परे ।

उनले सेतै लामो जामा लगाएका थिए । नेपालीको समूह खासमा ‘दर्जी’ लोकभाका गाउन स्टेजमा उपस्थित भएका थिए । ‘दर्जी’ लोकभामै उनको समूहले दुलाहादुलहीलाई आशिष दिए, दुलाहाका सम्पूर्ण घरपरिवारको गुनगान गाउँदै दुलहीको रुपको प्रशंसा समेत गरे ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, लोक सङ्गीत विभागद्वारा आयोजित ‘राष्ट्रिय लोक गीत प्रस्तुति–२०८१’ अन्तर्गत जमलस्थित राष्ट्रिय  नाचघरमा शुक्रवार गाउँघरलाई नै बिर्साउने लोकलयको धुन र परिवेश देखिएको थियो । मौलिक पहिरन, मौलिक नै बाजामा लोक सर्जकहरुले गाउँबस्तीको झल्को मेटाउने काम गरे । 

नेपालीको समूह मौलिक ‘दर्जी’ लोकभाका लिएर सोही कार्यक्रममा सहभागी भएका थिए । बागमती प्रदेशलाई प्रतिनिधित्व गर्दै नेपालीको समूहले लोकभाका प्रस्तुत गरे । नेपालीका अनुसार ‘दर्जी’ लोकभाका रामेछाप जिल्लामा बढी प्रचलित छ ।

उनका अनुसार यसलाई ‘दमाई गीत’ भनेर पनि चिनिन्छ । बिहे घरमा सात वा नौजना दमाईहरुलाई विवाहको भोलिपल्ट बिदाइ गर्ने समयमा नै यो भाका गाउने गरिन्छ । बाजा बजाउने दमाईका नाइकेले बेहुलाबेहुली, घरपरिवार, घरगाउँले राखेर शुभआशिष दिँदै यो गीत गाउने गरिन्छ ।

गायक नेपालीले पनि दुई दशकभन्दा बढी समयदेखि यो गीत गाउँदै आएका छन् । उनको समूहको प्रस्तुतिमा आम दर्शकहरुले खुलेरै साथ दिए । त्यस्तै, अमर रोक्का, रुचा पुन मगर लगायतको टोलीले लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै रुकुम रोल्पामा प्रचलित ‘साहिँली भाका’ प्रस्तुत गर्दा दर्शक नै मन्त्रमुग्ध भए ।

मौलिक पहिरन, कम्मरमा मादल र हातमा सुर्पा बोकेका कलाकारको प्रस्तुतिले माहोलमा निकै रौनक थपिएको थियो ।

कार्यक्रममा नेपालका सातवटै प्रदेशबाट प्रतिनिधित्व गर्दै लोक गीत प्रस्तुत गर्न लोक कलाकारहरु सहभागी भएका थिए । कार्यक्रममा कलाकारहरुले दशवटा लोक गीतको प्रस्तुति दिए ।

नेपालमा लोक सङ्गीतमा मौलिक विकृति भित्रियो भनेर ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’ले लोक सर्जकहरुलाई निलम्बनदेखि कारबाहीको चेतना दिइरहेको समयमा आम दर्शकहरुलाई लोक गीतका भाका र परिवेशले निकै राहत दिइरहेको भान माहोलले दिइरहेको थियो ।

प्रतिष्ठानको धारणाप्रति स्वयं लोक गीत क्षेत्रका सर्जकहरु नै पक्ष र विपक्षमा बाँडिरहेको यही समयमा प्रतिष्ठानले उदाहरणीय काम गरेको सहभागीहरुले समेत प्रशंसा गरे ।

कार्यक्रममा कोशी प्रदेशबाट मुना ठटालले लिम्बु समुदायको ‘केलाङ भाका’ प्रस्तुत गरिन् भने निरता नेवाङले ‘पालम भाका’को लोक गीत प्रस्तुत गरिन् । त्यस्तै, मधेश प्रदेशबाट हरिशंकर चौधरीले मैथिली भाषामा लोक गीत सुनाए ।

कलाकार कृष्ण रेउलेले ‘मयालाई’ भाकामा कर्णाली प्रदेशको लोक गीत र यसै प्रदेशमा बढी प्रचलित ‘यानिमाया’ भाकालाई कलाकार धनराज चुनाराले प्रस्तुत गरे । वरिष्ठ गायक खड्ग गबुर्जा तथा प्रतिमा विश्वकर्माले गण्डकी प्रदेशमा प्रचलित ‘कौरा भाका’को प्रस्तुति समेत दिए । सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै कलाकार राजाराम भाटले ठाडी भाका तथा दिपा रोकाया र रुपक परियारले देउडा भाका प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहभागी गायिकाद्वय राधिका हमाल र शीला आलेले लोक दोहीरी प्रस्तुत गरी माहोलमा अझै रौनकता थपे ।

नेपाली लोक गीतमा हरेक समुदायका कथा व्यथालाई समेटिने बताउँदै कार्यक्रमा सहभागी प्रतिनिधि सभा उपसभामुख इन्दिरा रानाले लोक कला संस्कृतिको संरक्षण र संवद्र्धनका लागि आफ्नो ठाउँबाट पहल गर्ने बताइन् ।

प्रतिष्ठानका उपकुलपति शम्भु राईले लोक सङ्गीतमा मान्छेको रहनसहन र जीवनपद्धति हुने बताए । नेपाली कला जर्गेनाका लागि एक–अर्काको अस्तित्व स्वीकार्नुपर्ने धारणा राख्दै उनले पूर्वका पालम गाउने कलाकारले पश्चिमको देउडा, पश्चिमका ठाडी भाका गाउने कलाकारले पूर्वको धान नाच नाच्नुपर्ने, मधेशले हिमालका गीत र हिमालले मधेशको गीत गाउनुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?