मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

के हो प्यानिक अट्याक ? कसरी जोगिने ?

मानव शरीरमा विभिन्न खालका समस्याहरू आउने गर्छन् । यसमध्येको एक समस्या हो, प्यानिक अट्याक । यो पनि डिप्रेशन, एन्जाइटी जस्तै एक प्रकारको मनोरोग हो । तर हामी डिप्रेशन, एन्जाइटी सरह यो समस्याका विषयमा त्यति धेरै जानकार छैनौँ ।

आजकल बिग्रँदै गएको जीवनशैली र बढ्दो कामको बोझका कारण मानिसहरु धेरै समस्याको शिकार भइरहेका छन् । जीवनशैली परिवर्तनले हाम्रो शारीरिक स्वास्थ्य मात्र होइन, मानसिक स्वास्थ्यमा पनि असर गरेको छ ।

यसकारण प्यानिक अट्याक एक यस्तो समस्या हो, जसले आजकल धेरै मानिसहरूलाई सताइरहेको छ । हामी वरपरका धेरै व्यक्तिहरू वा हामी आफैं यो समस्याको सिकार हुन सक्छौं । यस्तो अवस्थामा हामीले यसको सामना गर्ने सही तरिकाहरू जान्न अति आवश्यक देखिन्छ ।

यदि तपाईं वा तपाईंको वरपर कोही प्यानिक अट्याकको खतरामा छन् भने तपाईं यससम्बन्धी सुझावहरूको मद्दतले उनीहरुलाई यस अवस्थाबाट बाहिर ल्याउन सक्नुहुन्छ ।

खासमा प्यानिक अट्याक के हो, कस्तो अवस्थालाई मान्ने, यसका लक्षण र समाधानका उपायहरु केके छन् भन्ने प्यानिक अट्याककै सन्दर्भमा मनोचिकित्सक डा. अनन्त अधिकारीसँग जो नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानीको सम्पादित अंश:

प्यानिक अट्याक कस्तो स्वास्थ्य समस्या हो ?

प्यानिक अट्याक एक मनोरोग नै हो । यो एन्जाइटीको सब टाइटल इस्यु हो  । प्यानिक अट्याक एक प्रकारको एन्जाइटी डिसअर्डर हो । जसमा मान्छे सामान्य नै देखिन्छ तर अचानक डर र चरम चिन्ताको अनुभव गर्दछ । 

प्यानिक अट्याकहरू सामान्यतया केही मिनेटको लागि रहन्छ, तर कहिलेकाहीँ लामो समयसम्म रहन सक्छ । यो अचानक अनियन्त्रित छ र एक व्यक्ति डरलाग्दो एवं नियन्त्रण बाहिर महसुस गर्न सक्छ ।

सास फेर्नै गाह्रो हुने र सास अड्केला जस्तै महसूस हुन्छ । प्यानिक अट्याकको कारण ज्यानै समेत जान सक्छ । यो एक डरलाग्दो समस्या हो । प्यानिक अट्याक कुनै पनि स्थितिमा आउन सक्छ । जस्तैः सुतेको, आराम गरिरहेको समयमा, ड्राइभिङ गर्दा, घुम्न गएको समयमा अथवा अफिसमा काम गरिरहेको समयमा हुन सक्छ ।

यस्तो समस्या के कारणले हुन्छ ?

मानसिक स्वास्थ्यका समस्याहरु ठ्याक्कै यहि कारणले हुन्छ भन्ने त छैन । धेरै कारणले यस्तो समस्या आउँछ । केही जैविक कारणले हुन्छन् । आणुवांशिक कारण जस्तैः परिवारमा अन्य सदस्यहरुलाई छ । रिस कन्ट्रोल गर्ने क्षमता एकदमै कम छ, मद्यपान, धुम्रपान गर्नुहुन्छ र वातावरणीय प्रभावले पनि यस्तो हुन्छ ।

मनोवैज्ञानिक तथा सामाजिक कारणले पनि हुन्छ, तर जोखिम भने कम हुन्छ ।  कुनै पनि व्यक्ति प्यानिक डिसअर्डर सिकार हुनुको पछाडि धेरै कारण हुन्छन् ।

डिप्रेसन, पुरानो घटना, चिन्ता र कतिपय मानिसहरु ठूला परिवर्तनका कारण प्यानिक डिसअर्डर सिकार पनि हुन्छन् । दुई व्यक्तिको सम्बन्धमा आकस्मिक दरार, जीवनसाथीबाट धोका वा व्यापार साझेदारको विश्वासघात, सम्बन्धविच्छेद वा हृदय विदारक, स्थान परिवर्तन आदि पनि यसको कारक हुनसक्छ  ।

यसका लक्षणहरु के–कस्ता हुन्छन् ?

बिरामीलाई असहज महसूस हुन्छ, मुटु ढुकढुक हुने, श्वासप्रश्वासमा समस्या हुन्छ । मुटुको धड्कन बढ्ने, सास फेर्न गाह्रो हुने र घाँटीमा केही अड्किए जस्तो हुने, कुनै कुराको डर आफूमा हावी हुनु, छाती दुख्नु र छटपट हुनु, टाउको दुख्नु, रिङ्गटा लाग्नु र बेहोस नै भएको महसूस हुने जस्ता लक्षणहरु देखा पर्दछन् ।

समयमै पहिचान नभए के–कस्ता जोखिम र जटिलता निम्तिन सक्छन् ?

उपचार पाएको खण्डमा यो पूर्ण रुपमा निको हुने रोग हो । यो प्राणघातक रोग होइन । तर निकै सकस हुन्छ । यदि तपाईंले प्यानिक अट्याकका लक्षणहरू महसूस गर्नुभएको छ भने छिटो डाक्टरलाई भेट्नुपर्छ । प्यानिक अट्याक आफैं व्यवस्थापन गर्न गाह्रो हुन्छ र उपचार बिना यो समस्या झन् बढ्न सक्छ ।

प्यानिक अट्याकका लक्षण हृदयघात जस्ता अन्य गम्भीर स्वास्थ्य समस्याका लक्षणहरूसँग पनि मिल्दोजुल्दो हुन सक्छन् । त्यसैले त्यस्ता लक्षणहरू के कारणले भइरहेको छ भन्ने थाहा छैन भने सकेसम्म छिटो डाक्टरलाई भेट्नुपर्छ । प्यानिक अट्याकले जीवनको लगभग हरेक क्षेत्रलाई असर गर्न सक्छ । प्यानिक अट्याक धेरै हुन थालेपछि मान्छे डराएर निरन्तर डरको स्थितिमा बस्छ । जसले उसको दैनिक जीवनमा चौतर्फी असर गर्छ ।

यसको उपचार र रोकथाम कसरी गर्ने ?

मुख्यकुरा भनेको अन्य रोगहरुका कारण पनि यस्ता समस्याहरु आएको हो की भनेर बुझ्नुपर्छ । कहिलेकाहीँ प्यानिक अट्याक दुर्घटना, निराशा, हैरानी, उत्तेजना र हारेको महसूस गर्नाले पनि हुने गर्छ ।

यस्तो अवस्थामा आफ्नो ध्यान ती कुराहरुबाट हटाउने प्रयास गर्नुपर्छ । डायबिटिजको रोगीले आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ, समयमा खानपान गर्नुपर्छ, धेरै समय भोकै रहनाले सुगरको स्तर कम हुन्छ । जसको कारण प्यानिक अट्याकका खतरा बढ्न सक्छ ।

ब्लड प्रेशर र मुटुको रोगीलाई छटपट हुनासाथ मुटुको धड्कन तीव्र गतिमा बढ्न थाल्छ, पसिना आउने, रिङ्गटा लाग्ने जस्ता कुराहरु प्यानिक अट्याकका लक्षणहरु हुन् । पीडितको वरपरका व्यक्तिले पनि यी लक्षणहरुलाई ध्यान दिनुपर्छ ।

यदि तपाईंको परिवारको सदस्य अथवा साथीभाइ यस अट्याकबाट पीडित छ भने उसँग धैर्यताका साथ प्रस्तुत हुनुपर्छ । उसलाई कराउने अथवा गाली गर्नु हुँदैन । उसको तनावको स्तरलाई बुझ्नुपर्छ ।

यसको उपचारमा थेरापी दिइन्छ, जसमा बिरामीलाई राम्रो वातावरणमा राखिन्छ । यहाँ उसलाई आफ्नो दिमाग नियन्त्रण गर्न मद्दत गरिएको छ । थेरापीको सहायताले पीडितको विचार परिवर्तन गर्ने प्रयास गरिन्छ ।

उनीहरुको सिर्जित संसारबाट बाहिर निस्केर वास्तविक संसारमा बाँच्ने प्रयास गरिन्छ । यस्ता बिरामीलाई विशेष गरी दुई प्रकारका थेरापी दिइन्छ । यसमा पीडितलाई एन्टी डिप्रेशन औषधी दिइन्छ । यी औषधीहरूले पीडितको स्वभावलाई असर गर्छ र तिनीहरूलाई शान्त राख्न मद्दत गर्दछ । औषधीको मद्दतले पीडितले तनाव मुक्त महसूस गर्छ ।

प्यानिक डिसअर्डरबाट बच्न एक्लै नबस्ने, मानिसहरूसँग घुलमिल भइरहने, शान्त रहन प्रयास गर्ने, सधैँ औषधी साथमा राख्ने गर्नुपर्छ । त्यस्तै तनाव भएको बेला केही समय हिँड्ने वा व्यायाम गर्ने गर्नुपर्छ । साथै आफैंलाई गम्भीर परिस्थितिबाट टाढा राख्न प्रयास गर्नु नै उत्तम हुन्छ । खुसी र शान्त रहने गर्दा पनि प्यानिक अट्याकको भय हुँदैन । त्यस्तै आफ्नो आत्मविश्वास बढाउने, यदि घरमा प्यानिक डिसअर्डर बिरामी भए, उनीसँग मायाले कुरा गर्ने गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?