अहिलेको पछिल्लो पुस्तामा जिम जाने ट्रेन्ड नै बनेको छ । जिम गइएन भने फिट भइँदैन भन्ने अवधारणा बसेको छ ।
त्यसमाथि अहिलेका अभिभावकहरुले बच्चालाई जन्मेदेखि नै जङ्क फुड खुवाउन थाल्दछन् । बच्चाहरु हुर्कँदै जाँदा घरको खाना भन्दा बाहिर क्याफे, रेष्टुरेन्टका मसालेदार खाना खान रुचाउँछन् ।
यसकारण पनि मोटोपना बढिरहेको देखिन्छ । यसले गर्दा जिम जाने व्यक्तिहरुको बाहुल्यता निकै बढिरहेको छ । मोटोपना घटाउन मात्रै जिम जाने हुँदैनन् ज्यान नलागेका, निकै दुब्ला मानिसहरु पनि वजन बढाउन जिम जाने गर्दछन् ।
वास्तवमै भन्नुपर्दा अहिले आएर जिम जाने प्रवृत्ति देखासिकी जस्तै बनेको छ । समग्रमा हेर्दा कोही बुझेर जाने छन् भने कोही अरुले भनेको सुनेर जानेहरु पनि छन् ।
कोही टाइम पास अर्थात् ‘गइ दिम न त, के परिवर्तन हुँदोरहेछ’ भनेर जानेहरु पनि छन् । यसकारण सबैमा जिम जानुभन्दा अघि केही खाएर जाने अथवा नखाइ जाने, जिम गएर आएपछि के खाने, जिम जोइन गरेर दैनिक रुपमा नगए अथवा २–४ महिना गएर छोड्यो भने के–कस्तो असर र परिवर्तन आउँछ भन्ने सन्दर्भमा अनविज्ञ छन् ।
यस्तै जिम जाने मानिसहरु र यो सम्बन्धमा बुझ्न चाहने व्यक्तिहरुको कौतुहलता मेटाउन क्लिनिकल डाइटिसियन अनुश्री आचार्यसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:
जिम जाने उमेर हद हुन्छ कि हुँदैन ? जुन उमेर समूहका व्यक्तिहरु पनि यसमा सामेल हुँदा फरक पर्दैन र ?
सामान्यतया १८ वर्ष पार भएका एडल्ट व्यक्तिहरुले जिम जोइन गर्नु राम्रो हो । अर्को कुरा भनेको तपार्इंको शरीर र शारीरिक बनावट वा स्वास्थ्य समस्यामा पनि यो कुरा भर पर्छ । यदि तपाईं दीर्घरोगी हुनुहुन्छ, केहीको भर्खर शल्यक्रिया गरिएको छ भने जिम गएर कसरत गर्नुहुँदैन ।
यस्ता बिरामीहरु कसरत गर्दागर्दै हर्टअट्याक भएर मिर्गौला सुन्निएर ज्यान गएको हामीले आँखै अघि देखेका छौं । जिमखाना गएर भारी तौल भएका जिम साधनहरु उठाउनुपर्ने हुन्छ । जसका लागि १८ वर्ष मुनिका बालबालिकाहरुले सक्दैनन् ।
समय छुट्याउन सक्ने मान्छेहरु जिम नै जानुपर्छ भन्ने छैन घरमै स्पोर्टसहरुमा सामेल भएर दैनिक एक घण्टा व्यायाम गरेर पनि तौल घटाउन बढाउन सकिन्छ । अर्को भनेको जिममा पहिले नै पैसा तिर्नुपर्छ । पैसा तिरिसकेपछि दैनिक रुपमा गइन्छ या व्यायाम गर्ने राम्रो बानी बस्छ ।
कस्ता मानिसहरुले जिम जाँदा राम्रो हुन्छ ?
रहर वा अरुका लागि वा कसैले भनिदिएर जिम जाने नगर्नुहोला । आफ्नो लागि हो, म मेरो लागि आफैंले सोचेर गइरहेको छु भन्ने सोच राखेर मात्रै जिम जानु राम्रो हुन्छ । ट्रेन्ड छ, लाइफस्टाइल देखिन्छ भनेर समय खेर नफाल्नुहोला । अरुले भनेको सुनेर लहैलहैमा लागेर जिम जानेहरुले जाँदाजाँदै बिचमै छोडेर बस्ने हुन्छन् ।
आफ्नो लागि सोचेर जानेहरु भने एकिकृत भएर रेगुलर बेसमा जाने हुन्छन् । अर्को भनेको आफूले आफ्नो स्वास्थ्यको चिन्ता लिएर म घरमा बसेर समय दिन भ्याउँदिन, घरमा जिम सामग्री छैन, कुनै स्पोर्टसमा पनि सहभागी नहुने मानिसहरु नै जिम जाने हो । तर मेडिकल जाँचमा खराबी देखिएका, भर्खर शल्यक्रिया गरेका मानिसहरु भने सजग रहनुपर्छ ।
खासमा जिम के का लागि गर्ने हो ?
खासमा हाम्रो समाजमा यस सम्बन्धी निकै गलत बुझाइ छ । वास्तवमा तौल घटाउने भन्ने बित्तिकै मसल्स घटाउने होइन फ्याट घटाउने हो । शरीरमा भएको नकारात्मक असर देखाउने फ्याट घटाएको राम्रो हो । तर जिममा के हुन्छ भने हेभी कसरत गर्दा राम्रो फ्याट पनि जान्छ ।
कति जनाको मसल्स पनि घट्ने हुन्छ । मानिसहरु जिम जोइन गरेपछि एकैपटक एक सय केजी तौल भएको मान्छे ७०/६० मा पुग्न चाहन्छन् । यसले गर्दा स्किन पुरै लुज हुने समस्या हुन्छ । यसरी तौल घटाउन पनि हुँदैन ।
तौल बढाउन जानेहरुलाई पनि जिमले निकै सहयोग गर्छ । जस्तै, कसैलाई भोक नलाग्ने समस्या हुन्छ । व्यायाम गर्ने बानी भएपछि फ्रेसनेस आउँछ र खाना रुच्ने, खाइरहन मन लाग्ने पनि हुन्छ ।
यस्तो गर्दा वजन बढ्ने हुन्छ । केही व्यायामहरुले शरीरको मेटाबोलिजम पनि बढाउँछ । शरीरको पोस्चर पनि आकर्षक र स्फुर्त बनाउँछ ।
यसका अन्य फाइदा पनि छन् । जिम गर्दा शरीरको तौल घट्छ भने स्वस्थसमेत भइन्छ । त्यस्तै आनन्दको अनुभूति हुनुका साथै आत्मविश्वास पनि बढ्छ । निद्रा लाग्छ । जिम गर्दा कुलत नियन्त्रण पनि हुन्छ । त्यस्तै यौन शक्ति बढाउनुका साथै शारीरिक शक्ति पनि बढाउँछ ।
शुरुवाती दिनमा कडा दुखाइ हुने भएकाले एकैपटक कडा व्यायाम गर्नु हुँदैन । यसलाई बिस्तारै अगाडि बढाउँदै लैजानुपर्छ । अझ कतिपयलाई त सकस हुने, सास फेर्नै गाह्रो हुन्छ, यस्तै हृदयघात हुने, मुटु–मृगौलामा समस्या हुने गर्छ ।
कतिपयले जिम जानुभन्दा अगाडि नै खाएर जानुहुन्छ कतिपयले जिम गएर आएपछि मात्रै खानुपर्छ अन्यथा पेट लाग्छ पनि भन्नुहुन्छ, के यो सही हो ?
जिम जानुभन्दा अगाडि खानेकुरा खाने की नखाने भन्नेकुरा व्यक्ति विशेषमा पनि भर पर्छ । कसैलाई ग्यासट्राइटिसको समस्या हुन्छ, उहाँहरुले हल्का खाएर जानुपर्छ । शरीर तन्दुरुस्त र स्वस्थ छ भने कोही जिम गएर आएपछि भोक लाग्छ भनेर आएर मात्रै खाने गर्नुपर्छ । यसकारण जिम जाने मान्छेको जीवनशैली कस्तो छ भन्ने कुरा मुख्य कुरा हुन्छ ।
जिममा इनस्ट्रक्टर पनि हुनुहुन्छ उहाँहरुले कति क्यालोरी खाने भनेर मापन गर्नुहुन्छ । जिम ट्रेनरले यस्तो–यस्तो खानेकुराहरु खानुहोस् भनेर त बताइ दिनुहुन्छ तर कहिले खाने कति मात्रामा खाने भनेर सम्पूर्ण जानकारी गराउनुहुन्न यसकारण जिम जानु १५ मिनेटअघि केही थोरै मात्रामा खानु राम्रो हो । यद्यपि धेरै चाहिँ होइन ।
जस्तो कि, चिया र बिस्कुट, फल वा जुस । खाली पेट वेट ट्रेनिङ गर्दा सोचेजस्तो नतिजा हासिल नहुन सक्छ । कमजोरीपन महसूस हुनसक्छ । हाम्रो के अवधारणा छ भने, व्यायाम खाली पेट गर्नुपर्छ । यो नियम योग एवं प्राणयामका लागि हो । जिममा वर्कआउटका लागि पर्याप्त इनर्जी हुनु आवश्यक छ । खाली पेट जिम गर्दा एसिडिटी बढ्न सक्छ ।
जिम गएर फर्केपछि के गर्ने ?
पसिना भएको शरीर फ्रेस बनाउन नुहाउने । सबैभन्दा राम्रो खानेकुरा उमारेका गेडागुडी र अन्डा हुन्छ । यसका साथै सागपात र फलफूल खानु पनि लाभदायक हुन्छ । व्यायाम गर्दा तन्किएका मांशपेसी र तन्तुहरूको मर्मत गर्न, पसिनाबाट बाहिर निस्किएको तरल पदार्थलाई पुनःप्राप्त गर्न जिमबाट आएको आधा घण्टापछि र २ घण्टाभित्रमा केही खाइहाल्नुपर्दछ ।
फेरि कार्बोहाइड्रेट खानुपर्छ । जसले शरीरबाट गुमेको ऊर्जालाई फिर्ता ल्याउँछ । धनियाँ नछुटाउनुहोस्, यसले शरीरभित्रका प्रणालीहरूमा जम्मा भएका विषाक्तहरूलाई सफा गर्दछ भने प्रोटिनको लागि ब्रोकाउली र माछा खानु उत्तम हुन्छ । त्यस्तै रसिलो फलफूल र दही खानु पनि ठीक हुन्छ ।
गुड फ्याट बढिरहेको छ र ब्याड फ्याट घटिरहेको छ भने त्यो राम्रो हो । तर खाएर जाँदैमा पेट बढ्ने, तौल बढ्ने भन्ने हुँदैन ।
धेरैजसोले अरु गएको देखेर रहरमै मात्रै जिम जाने गर्छन् र बीचमै छोटो समयमा नै जान छोड्ने वा रेगुलर नजाने गर्छन्, यसले कस्तो असर पार्छ ?
तपाईंले जिम जोइन गर्नुभयो भने त्यही अनुसारको डाइट सप्लिमेन्ट सेवन गर्न थाल्नुहुन्छ र बानी नै पर्छ । तर यदि बीचमा जिम जाने छाड्ने, फेरि केही समयपछि जाने गर्न थाल्नुभयो भने तपाईंको कसरत गर्ने बानी हट्छ । तर खाने डाइटमा भने तपाईं बानी परिसकेको हुन्छ । यसकारण कसरत छैन डाइट भने उही मात्रामा खाँदा ज्यान झन लाग्ने समस्या हुन्छ ।
पेट घटाउन भातको सट्टा रोटी खाने प्रचलन छ । के रोटीको सेवनले शरीर सन्तुलित गराउँछ ?
यो एक भ्रम मात्रै हो । भातको सट्टा रोटी खाएर पेट घट्ने भन्ने हुँदैन । खासमा मेडिकल अभ्यास के छ भने हामी साँझ बिहान खाना खान बानी परेका मानिसहरुलाई भातको सट्टामा रिप्लेस गरेर रोटी खाइयो भने खानाको तुलनामा कम खाइन्छ र तौल घटाउन सहायक हुन्छ, यसकारण यस्तो भनिएको हो । अरु सत्यता केही छैन ।
जिम जाने व्यक्तिहरुले खान नहुने र गर्न नहुने कामहरु के–के हुन् ?
त्यस्तो खान नहुने भन्ने त केही हुँदैन । मुख्यगरी कार्बोहाईड्रेट कम गर्ने, मसालेदार चिल्लो, पिरो खाना कम खाने, बाहिरको जंक फुडको सेवन बन्द गर्ने । सकेसम्म आफ्नै भान्साको अर्गानिक खाना मात्रै खाने, लामो समयसम्म भोको नबस्ने, थोरै–थोरै मात्रामा खाइरहने गर्नुपर्दछ ।
आम मानिसहरु आफ्नो समयअनुकुल कोही बिहान र कोही कार्यालय समयपछि जिम जान्छन्, कुन समयमा जिम जानु उपयुक्त हो ?
सबैको इच्छा चाहना फरक–फरक हुन्छ । कसैलाई बिहानै ५ बजे उठि शरीर तताएर दिनभरीको लागि फूर्तिलो हुन मन लाग्छ भने कसैलाई साँझ नभएसम्म पसिना बगाउन मन लाग्दैन । बिहानमा व्यायाम गर्नु सबैभन्दा उचित हुन्छ ।
बिहानै व्यायाम गर्दा फे्रस भइन्छ । दिनभर शरीर स्फुर्त रहन्छ । बिहान शरीरले, दिमाखले चाँडै एडप्ट गर्न सक्ने र शरीरको मेकानिजम चाँडै डेभलप गर्न सक्ने समय भनेको बिहान नै हो । तपाईँ एकदमै व्यस्त हुनुहुन्छ, सेड्युल प्याक छ भने अन्य समयमा गर्दा पनि भयो । तर बिहानको व्यायाम जति प्रभावकारी अन्य समयको हुँदैन ।
अहिले प्रायजसो पुरुषहरु पेट लाग्ने समस्याले ग्रसित हुनुहुन्छ यो समस्याको लागि कस्तो सुझाव दिनुहुन्छ ?
मुख्यकुरा भनेको कार्बोहाईड्रेट कम गनुपर्यो । अर्को भनेको लामो समय भोकै बसेर पछि एकैपटक धेरै खाने बानी छ जुन बिल्कुल गलत हो । बरु थोरै–थोरै मात्रामा खाइरहने गर्नुपर्छ । सरकारी कार्यालयमा काम गर्न, दिनभर एकैठाउँ बसेर काम गर्ने मानिसहरुमा विशेषत यो समस्या देखिन्छ । यसकारण दैनिक रुपमा धेरथोर मात्रामा पैदल हिँड्ने गर्नुपर्छ ।
खाना खानासाथ सुत्नु हुँदैन । सबै खानेकुरा खानुहोस् तर क्वान्टिटी भने घटाउनुपर्छ । पेटमा जमेको बोसो कम गर्नका लागि कागती पानी एक उत्कृष्ट विकल्प हो । यदि बिहान मनतातो पानीमा कागती मिसाएर पिउने हो भने निकै फाइदा पुग्छ । यसरी नै बिहान कागती पानी सेवन गर्दा मोटाबोलिज्म त ठिक हुन्छ नै, पेटमा जमेको बोसो पनि कम हुन्छ ।
यदि तपाईं पेटमा जमेको बोसो घटाउन चाहनुहुन्छ भने गुलियो एवं मिठाइबाट टाढा रहनुहोस् । गुलियो पदार्थले पेटमा अतिरिक्त बोसो जमाउँछ । बिहान उठेपछि नियमित रुपमा दुई र तीन केस्रा लसुन चपाउनुपर्छ । त्यसपछि कागती पानी पिउनुपर्छ । यो निकै प्रभावकारी उपाय हो, पेटको बोसो घटाउने । यसले तौल त घटाउँछ नै, शरीरको रक्त प्रवाह पनि सुचारु गर्छ ।
यस्तै खानामा साग र सलादको मात्रा अत्यधिक हुनुपर्छ । सकेसम्म उसिनेको खानेकुरा सेवन गरांै । साग सब्जी उसिनेर सेवन गरौं । खाना खानसाथ सुत्ने वा दिउँसो सुत्ने गर्दै नगरौं । सकेसम्म राती अबेरसम्म नबसौं । राति छिटै सुत्ने र बिहान चाँडै उठ्ने बानी गरौँ । यसो गर्नाले तपाईंको समस्या हट्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया