काठमाडौँ– ‘कुमारीले राष्ट्रको रक्षा गर्नुपर्छ भन्छन् । तर, तमाम कुमारीहरुको रक्षा कसले गर्छ ? जुन घरमा नारीको सम्मान हुँदैन, त्यो घर नै हुँदैन भन्ने कुरा शास्त्रमै लेखिएको छ ।
आफ्नै भाइ, बन्धु यी तमामबाट कुमारीहरु कतिन्जेल तर्सिरहने ? पितृसत्ताको भारी कतिन्जेल बोक्ने ?’
समकालीन समाजलाई यी गम्भीर प्रश्नहरु राखेर नाटक ‘अग्निचक्षु’ले आम दर्शकलाई नै सोचमग्न बनाउँदै नारी शक्तिको महिमा बताउँछ र नाटकलाई बिट मार्नतिर लाग्छ ।
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा साइलेन्ट एक्टको प्रस्तुतिमा जेठ १६ गतेदेखि मञ्चनरत नाटकमा विशेषत कुमारीको दर्शन, महिमासँग नारी शक्तिलाई जोडिएको छ । नेपालमण्डलभित्र जीवित देवीकी रुपमा पुजिने कुमारी देवीको आफ्नै महिमा छन् ।
मानवका रुपमा कुमारीको नीजि जीवन, सुख र स्वतन्त्रता, अर्कातिर देवीको रुपमा सिङ्गो राष्ट्र सुरक्षाको जिम्मेवारी सम्हाल्नुपर्ने दायित्व छ ।
‘कुमारी’को स्थानबाट बाहिरिएपछि सामान्य महिलाकै स्तरमा आउँदा उनको मानसिक, सामाजिक अवस्थामा कस्तो प्रभाव पर्छ भन्ने बहस यदाकदा भइ नै रहेका छन् ।
‘कुमारीदेवी’बाट हटेपछि आउने उत्तारचढावहरु अनि त्यसलाई आम महिलाहरुकै दर्जामा रहेर शक्तिमा बदल्नुपर्ने भाव नाटकले समेटेको छ । कुमारीलाई सिर्जना, मातृत्व र ममताको प्रतीकका रुपमा लिँदै आम महिलाको महिमासँग तुलना गरिएको छ ।
नेपालमण्डलभित्रको धार्मिक, सांस्कृतिक महिमालाई जोड्दै समकालीन समय र मुद्दालाई नाटकले जोड्न खोजेको छ ।
नाटकमा मुख्य पात्र पूर्वकुमारी अष्टलक्ष्मी छिन् । समाजशास्त्र अध्ययन गरेकी उनकी साथी बाला शोधकार्यका लागि ‘कुमारी’कै विषयमा अनुसन्धानमा लागेकी छिन् ।
उनको अध्ययन तथा अनुसन्धानकै क्रममा सोधिखोजी गर्दा कुमारी हुँदै आम महिला शक्तिको विषय जोडिन्छन् । अष्टलक्ष्मी कुमारी घरबाट निस्केपछि मानसिक रुपमा एक्ली र विक्षिप्त बनेकी छिन् ।
आमा बितिसकेकी घरमा बुवासँग पनि उनको सामिप्यता छैन । आम युवायुवतीकै शैलीमा उनीमाथि बासु, सुलभ लगायतका युवकहरु पछि लागेका छन् । यद्यपि उनी सामान्य जीवनमा फर्कन सकेकी छैनन् ।
उनी अलमलिएको समयमा नै बाला, कुमारी घरकी ‘मा’ ले उनलाई नारी शक्ति, सौन्दर्य र महिमाको कथा सुनाएर अगाडि बढ्न उत्प्रेरणा दिन्छन् ।
आफ्नै प्रेमीको हत्या गरी नेपाल मण्डल जोगाउन आफ्नो स्वार्थ त्याग गरेकी मैजुलानीको वीराङ्गना, कान्तिपुरका राजा जयप्रकाश मल्लले तुलजा देवीसँग खेलेको पासा खेल, उनको कुदृष्टिकै कारण देवीको प्रत्यक्ष दर्शन नहुनु, राजाको पश्चातापपछि नेवारी जातिमा बालिकाको रुपमा जन्म लिने देवीको प्रतिज्ञा, देवीकै प्रतीककै रुपमा राजाले वसन्तपुरमा कुमारी घर नै बनाएर राजकीय सम्मानका साथ कुमारी राख्ने चलन ल्याएको जस्ता कुमारी गाथालाई नाटकमा प्रस्तुत गरिएको छ ।
कुमारी सिर्जना, मातृत्व र ममताको प्रतीक मान्दै जसरी अन्य महिलाका शक्तिसँग तुलना गरिएको छ, त्यसरी नाटकमा अष्टलक्ष्मी पात्रका माध्यममा पूर्व कुमारीका रुपमा उनलाई खडा गरिएको छ ।
एकातिर धार्मिक र सांस्कृतिक जीवन्त पाटो । अर्कातिर समकालीन समयसँग जोड्ने साहस नाटकका लेखक चन्द्रप्रसाद पाण्डेयले गरेका छन् । त्यही उनको साहसलाई रङ्गमञ्चको दृश्यमा उतार्ने अर्को कठिन यात्रा निर्देशक झकेन बिसीको गरेका छन् ।
कुमारीको विषय, धार्मिक तथा सांस्कृतिक पक्षलाई नाटकले बलियो रुपमा उठान गरेको छ । जैसिदेवल, वसन्तपुर वरिपरिको परिवेश, नाटक अवधिभरी प्रयुक्त नेवारी लयका प्रत्यक्ष धुनहरुले नाटकलाई अझै कसिलो बनाएको छ ।
खासमा कुमारी देवीको पाटोमा देखाइएका नाटकका दृश्यहरुलाई प्रत्यक्ष सङ्गीतले निकै सशक्त ढंगले उठान गरेको छ । अष्टलक्ष्मीको मानसिक द्वन्द्वदेखि उनको यौवनको भावमा प्रयुक्त प्रकाशले गहन अर्थ राख्छ । देवीको छवि होस् या मैजु र प्रेमी चन्दासुरको वियोगान्त समयमा प्रयुक्त प्रकाश र पृष्ठभूमिले आम दर्शकमा भावुकता पैदा गर्छ ।
नेपालमण्डलको आस्था तथा प्रचलित मौलिक पक्षलाई समकालीनसँग जोड्दा बीचमा नाटकको गतिमा केही धीमा आउँछ । यद्यपि मौलिक सङ्गीत, नृत्य तथा मञ्चको संरचनाभित्र अन्तिम समयतिर दर्शकको मनलाई अड्याउन नाटक सफल भएको छ ।
कुमारीलाई आम समयसँग तुलना गर्दा ‘कुमारी राख्ने प्रथाले बालिकाहरु पछि समाजसँग घुलमिल हुन गाह्रो हुन्छ, राष्ट्रिय स्तरबाट सम्मानपूर्वक बाँचेको जीवन एकैचोटी आम मानिसको स्तरमा आउँदा उनले के–कस्ता भोगाइहरु भोग्छिन्, भन्ने कुरालाई नाटकले प्रत्यक्ष भन्ने आँट भने गरेको छैन ।
अष्टलक्ष्मी घरमा आमा नभएकै कारण, खराब नियत भएका सुलभ जस्ता प्रेमीले गर्दा विचलित भइन् भन्ने पाटोलाई बढी प्राथमिकतामा राखेर उठान गरिएको छ । अष्टलक्ष्मीको मानसिक पाटोलाई उनको मौनतामा खराब समाजसँग जोडिनुभन्दा अब उनले चाल्नुपर्ने कदमहरुलाई अन्तिम दृश्यतिर नै जोडिएको छ ।
‘समाजसँग भाग्नु भनेको समस्याको समाधान होइन, घरको शोभा हो, धर्ती माता मात्र होइनौं । तिमीहरु त अहिलेको जमानाको शक्ति हौं ।’ महिलालाई कतै घरको शोभा, कतै शक्ति भनेर परिभाषित गरिएका सम्वादहरुमा भने दर्शक नै द्विविधामा पर्न सक्छन् ।
तथापि कुमारी देवीसँग समकालीन महिलाहरुको अवस्थालाई तुलानात्मक रुपमा सन्तुलन मिलाउन लेखक र निर्देशक दुवैले भरपुर जमर्को गरेका छन् । कलाकारहरुले समेत अभिनयमा त्यतिकै प्रयास गरेका छन् ।
जेठ ३२ गतेसम्म मञ्चन हुने नाटकमा मञ्च तथा प्रकाश परिकल्पना निर्देशक बिसीले गरेका छन् भने सङ्गीत परिकल्पना तथा संयोजन अनुप तिमिल्सिनाको रहेको छ । नाटकको कोरियोग्राफी भने जेडी तमूले गरेका हुन् ।
मञ्चमा
कलाकारहरु:
मञ्जु श्रेष्ठ, सङ्गीता उराँव, हेना नगरकोटी, कृष्णभक्त महर्जन, सविन कट्टेल, श्रीशेष श्रेष्ठ, धिरज थापामगर, शान्ता प्रजापति, राजेन्द्र डङ्गोल, एअरिका चौलागाईं (बालकलाकार)
पत्यक्ष सङ्गीतमा
अनुप तिमिल्सिना, पूजा विश्वकर्मा, इन्द्रमान महर्जन, प्रतीक प्रजापति, ब्रोसिन ब्रोज महर्जन
प्रकाश परिचालन/मञ्च सामग्री/मञ्च प्रवन्ध: हिमाल भुजेल
मञ्च निर्माण: हिमाल भुजेल, निराजन डोटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया