काठमाडौँं– आज शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘लण्डन टु पेरिस’को बिहीबार साँझ काठमाडौँमा ग्राण्ड प्रिमियर गरिएको छ । प्रिमियर पछि फिल्मकर्मीले फिल्मको कथावस्तु मन पराएको प्रतिक्रिया दिएका छन् ।
निर्देशक शोभित बस्नेतले ठूलो बजेटमा विदेशमा पनि राम्रो नेपाली फिल्म बनाउन सकिन्छ भन्ने उदाहरण ‘लण्डन टु पेरिस’ले दिएको बताए । ‘विदेशमा बसेर पनि त्यहाँका नेपालीको नेपालप्रति लगाव छ भन्ने कुरा फिल्मले देखाएको छ’, उनले भने, ‘मलाई फिल्म राम्रो लाग्यो ।
विदेशी भूमिमा बनाइएका धेरै नेपाली फिल्म चल्न सकेका छैनन् । तर यो फिल्मले राम्रो चल्ने सम्भावना देखाएको छ ।’
फिल्मका लेखक प्रदीप भारद्वाजले लेखकका रूपमा लेखेका कुरा प्राविधिक रूपमा केही तलमाथि भए पनि फिल्म राम्रो बनेको बताए । ‘फिल्म हेरिरहँदा यस्तो अथवा उस्तो हुनुपर्ने भन्ने कुरा आइहाल्छ । तर यो फिल्म विदेशमा भएर सफल जीवन बिताइरहेका नेपालीको कथा भएकाले सबैलाई छुन्छ भन्नेमा विश्वस्त छु’, उनले भने ।
निर्देशक घनश्याम लामिछानेले एउटा राम्रो प्रेमकथालाई फिल्ममा आफूले भनेको बताए । उनले फिल्म विदेशमा खिचिए पनि त्यो नेपालीकै कथा भएको बताए । यो फिल्मबाट अभिनेताका रूपमा डेब्यू गरेका निश्चल खड्काले सानैदेखि आफूलाई हिरोका रूपमा पर्दामा हेर्न चाहेको कुरा अहिले आएर पुरा भएको बताए । ‘आफूलाई पर्दामा देख्दा भावुक पनि भएँ । फिल्म हेर्नुहुनेले राम्रो भनी प्रतिक्रिया दिइरहनुभएको छ’, उनले भने ।
फिल्मका अर्का अभिनेता कवीर खड्काले आफूले कलाकार भन्दा पनि दर्शकका रूपमा फिल्म हेरेकाले ‘इन्जोय’ गरेको बताए । ‘गौरव, अपिल, दीपा जस्ता जुन क्यारेक्टर छन्, उनीहरू पूर्ण रूपमा चरित्रमा भिजेका छन् । मैले आफूले गर्न सक्ने सबै काम गरेको छु’, उनले भने ।
फिल्मकी ‘डेब्यू’ अभिनेत्री गरिमा शर्माले सानो पर्दामा दर्शकको माया पाए जसरी ठूलो पर्दामा पनि त्यसरी नै माया पाउने आशा व्यक्त गरिन् । ‘आफूले दिन सक्ने शतप्रतिशत काम दिने प्रयास गरेको छु । नयाँ छु, सिक्दै जानेछु, आगामी दिनमा अझ सुधार्ने प्रयास गर्नेछु’, उनले भनिन् ।
यो चलचित्रले नेपाली डायस्पोराको कथा भन्छ । चलचित्रमा साम्राज्ञी आरएल शाह, निश्चल खड्का, कविर खड्कालगायत कलाकार मुख्य भूमिकामा छन् ।
फिल्मको पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन भने अमित बस्नेतको निर्माण रहेको चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माता छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया