काठमाडौँ– अमेरिका र वेस्ट इण्डिजमा जारी टी २० विश्वकपमा हालसम्म १० खेल भएका छन् । जुन २ बाट शुरु भएको प्रतियोगितामा १० खेल सम्पन्न भइसक्दा नेपालले एकमात्र खेल खेलेको छ ।
गत जुन ४ मा भएको खेलमा नेदरल्याण्ड्ससँग नेपाल ६ विकेटले पराजित भएको थियो । समूह डीमा रहेको नेपाल समूहको तेस्रो स्थानमा रहेको छ । नेपाल रहेको समूह डीको शीर्ष स्थानमा दक्षिण अफ्रिका रहेको छ । दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो ।
समूहको दोस्रो स्थानमा नेदरल्याण्ड्स छ । समान एक खेलबाट दुई अंक भएपनि रन रेटका आधारमा दक्षिण अफ्रिका अघि रहेको हो । दक्षिण अफ्रिकासँग पराजित भएको श्रीलंका समूहको चौथो स्थानमा रहेको छ । समूहमा रहेको अर्को टिम बंगलादेशले हालसम्म एउटा पनि खेल खेल्न पाएको छैन ।
बंगलादेशजस्तै पाकिस्तान र न्युजिल्याण्डले पनि हालसम्म कुनै खेल खेलेका छैनन् । पाकिस्तानले आज अमेरिकासँग खेलेर विश्वकपको शुरुवात गर्दैछ भने न्युजिल्याण्डको खेल जुन ८ का दिन हुने तालिका छ । २० मध्ये तीन टिमले हालसम्म एउटा पनि खेल नखेल्दा तीन टिमले २ वटा खेल खेलेका छन् ।
बाँकी १४ टिमले समान एक खेल खेलेका छन् । दुई वटा खेल खेल्ने टिममा ओमान, पपुवा न्युगिनी र युगाण्डा छन् ।
प्रतियोगितामा दुई खेल खेलेको ओमनले दुवै खेलमा पराजय व्यहोरेको छ । समूह बीमा रहेको ओमनले आफ्नो पहिलो खेलमा नामिबिया र दोस्रोमा अस्ट्रेलियासँग हार व्यहोरेको हो ।
नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गरेको हो । अस्ट्रेलियासँग भने ओमान ३९ रनले पराजित भएको हो ।
त्यसैगरी, समूह सीमा रहेको पपुवा न्युगिनीले पनि दुबै खेलमा पराजय बेहोरेको छ । पपुवा न्युगिनीले पहिलो खेलमा वेस्ट इण्डिजसँग ५ विकेटको हार खेप्यो । आफ्नो दोस्रो खेलमा पपुवा न्युगिनी युगाण्डासँग ३ विकेटले पराजित भयो । पपुवा न्युगिनीलाई हराएको युगाण्डा आफ्नो पहिलो खेलमा भने अफगानिस्तानसँग १ सय २५ रनको विशाल अन्तरले पराजित भएको थियो ।
प्रतियोगिताको समूह एमा रहेका भारत र अमेरिकाले हालसम्म आ–आफ्नो खेलमा जित दर्ता गराएका छन् । भारतले आयरल्याण्डलाई ८ विकेट र अमेरिकाले क्यानाडालाई ७ विकेटले पराजित गरेका हुन् । यो समूहको शीर्ष स्थानमा भारत रहेको छ भने दोस्रोमा अमेरिका छ ।
दुवै टिमको समान एक खेलबाट दुई अंक भएपनि रन रेटका आधारमा भारतले अमेरिकालाई उछिनेको हो । त्यसपछि तेस्रो र चौथामा क्रमशः क्यानडा र आयरल्याण्ड छन् । यो समूहमा रहेको पाकिस्तानले अझै खेल खेल्न बाँकी छ ।
त्यसैगरी, नामिबिया, ओमन र अस्ट्रेलियासँगै समूह बीमा रहेका इङ्ग्ल्याण्ड र स्कटल्याण्डबीचको खेल भने वर्षाका कारण रद्द हुन पुगेको थियो । यो समूहको शीर्ष स्थानमा अस्ट्रेलिया र दोस्रोमा नामिबिया छन् ।
समान १ खेलबाट २ अंक जोडेपनि रन रेटका आधारमा अस्ट्रेलिया अगाडि रहेको हो । त्यसपछि इङ्ग्ल्याण्ड र स्कटल्याण्ड छन् । उनीहरुको समान एक अंक छ । दुवै खेलमा पराजित ओमन अंकविहीन हुँदै समूहको पुछारमा रहेको छ ।
समान २ अंक भएपनि रन रेटका आधारमा समूह सीको शीर्ष स्थानमा अफगानिस्तान, दोस्रोमा वेस्ट इण्डिज, तेस्रोमा युगाण्डा छन् । समूहको तेस्रो स्थानमा रहेको पपुवा न्युगिनी अंकविहीन छ भने यसै समूहमा रहेको न्युजिल्याण्डले अझै खेल्न पाएको छैन ।
यस प्रतियोगिताको हरेक समूहका शीर्ष २ टोली सुपर ८ मा जाने प्रावधान छ । सुपर ८ का टोलीलाई समूह १ र समूह २ गरी दुई वटा समूहमा विभाजन गरिएको छ । सुपर ८ मा हरेक समूहको शीर्ष दुई टोली सेमीफाइनल प्रवेश गर्नेछन् । सेमीफाइनलका विजेताबीच फाइनल खेल हुनेछ । यस विश्वकपको फाइनल २९ जुनमा हुने तय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया