मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतीय लोकसभा चुनाव: हेमा मालिनीदेखि कङ्गनासम्म निर्वाचित, को-कसले हारे ?

काठमाडौँ – भारतीय लोकसभा निर्वाचन–२०२४ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । 

कुल ५४३ सिटमा भएको निर्वाचनमा परिणाम सार्वजनिक भएसँगै विभिन्न कोणबाट चर्चा परिचर्चा जारी छ । जहाँ कयौँ दिग्गज कलाकार समेत यो चोटि चुनावी मैदानमा उत्रिएका थिए । चुनावी मैदानमा रहेका कलाकारमध्ये कसको अवस्था के रह्यो त ?

मनोज तिवारी 

देशको राजधानी दिल्लीबाट भारतीय जनता पार्टीका प्रत्याशी मनोज तिवारीले जित हासिल गरेका छन् । उनले काँग्रेसका उम्मेदवार कन्हैया कुमारलाई १ लाख ३८ हजार ७ सय ७८ मतान्तरले पराजित गरेका हुन् । तिवारीले कुल ८ लाख २४ हजार ४ सय ५१ मत पाएका छन् । कन्हैया कुमार आफ्नो भाषणका कारण चर्चामा रहने व्यक्ति हुन् । 

कगंना रनौत

अभिनेत्री कंगना रनौतले आफ्नो पहिलो चुनावी भिडन्तमै बाजी मारेकी छिन् । हिमान्चल प्रदेशको मण्डीबाट उम्मेदवार रहेकी उनले ५ लाख ३७ हजार २२ मत पाइन । उनले काँग्रेसका प्रत्याशी विक्रमादित्य सिंहलाई ७४ हजार ७ सय ५५ मतले जितेकी हुन् । 

मथुराबाट हेमा मालिनीको ह्याट्रिक

बलिउडकी ड्रिम गर्ल हेमा मालिनीले उत्तर प्रदेशको मथुराबाट ह्याट्रिक गरेकी छिन् । उनी सो क्षेत्रबाट यो सहित लगातार तेस्रो पटक सांसद बनेकी हुन् । उनले ५ लाख १० हजार ६४ मत प्राप्त गर्दा काँग्रेसका मुकेश धनगर पराजित भएका छन् । 

रामले मारे तीर 

भाजपाका प्रत्याशी अरुण गोविलले मेरठबाट चुनाव जितेका छन । रामानन्द सागरको रामायणमा रामको चरित्र गरेर चर्चित उनले समाजवादी पार्टीका नेता सुनीता वर्मालाई १० हजार ५ सय ८५ मतान्तरले पराजित गरेका हुन् । उनले कुल ५ लाख ४६ हजार ४ सय ६९ मत पाएका छन् । 

सीएम योगीको गढबाट रवि किशनको जित

अभिनेता तथा भाजपाका प्रत्याशी रवि किशनले फेरि एक पटक बाजी मारेका छन् । उनले मुख्यमन्त्री योगी आदित्यनाथको क्षेत्र गोरखपुरबाट विजय हासिल गर्दा कुल ४ लाख ८२ हजार ३ सय ८ मत पाएका छन् । उनले समाजवादीका उम्मेदवार काजल निषादलाई १ लाख ३ हजार ५ सय २६ मतान्तरले पराजित गरेका हुन् । 

शत्रुघ्न सिंह

बलिउड अभिनेता शत्रुघ्न सिंहले पश्चिम बङ्गालको आसनसोल सिटबाट जित हासिल गरेका छन् । अल ईण्डिया तृणमुल काँग्रेसका उम्मेदवार सिंहले भाजपाका सुरेन्द्रजीत सिंहलाई पराजित गरेका हुन । उनीहरूको मतान्तर ५९ हजार ५ सय ६४ छ । 

ठूलो मतान्तरसहित राज बब्बरको हार

अभिनेता राज बब्बर ठूलो मतान्तरसहित पराजित बनेका छन् । उनी हरियाणाबाट चुनावी मैदानमा थिए । काँग्रेसका उम्मेदवार बब्बरलाई भाजपाका प्रत्याशी राव ईन्द्रजित सिंहले ८ लाख ८ हजार ३ सय ३६ को फराकिलो मतान्तरले पराजित गरेका हुन् । 

सानो मतान्तरले हारे पवन सिंह

भोजपुरी गायक पवन सिंह झिनो मतान्तरले हारेका छन् । उनी स्वतन्त्र रुपमा विहारको काराकाटबाट प्रत्याशी थिए भने भाजपाले उनलाई पश्चिम बङ्गालको आसनसोलबाट लड्न प्रस्ताव गरेको थियो । तर यसलाई अस्वीकार गरेका उनलाई काराकाटबाट भारतीय कम्युनिस्ट पार्टीका उम्मेदवार राजाराम सिंहले पराजित गरेका हुन् । 

निरहुआले पनि हारे 

उत्तरप्रदेशको आजमगढबाट उम्मेदवार बनेका भोजपुरी सिनेमाका सुपरस्टार दिनेशलाल यादव उर्फ निरहुआ पनि पराजित बनेका छन् । उनलाई समाजवादी पार्टीका धर्मेन्द्र यादवले हराएका हुन् । धर्मेन्द्रले ५ लाख ८ हजार ३ सय ३९ मत पाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?