काठमाडौँ– आदिवासी जनजाति चलचित्र महासङ्घको आयोजनामा जेठ २३ देखि २५ गतेसम्म ‘चौथो आदिवासी जनजाति चलचित्र महोत्सव–२०८१’ हुने भएको छ । प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा हुने महोत्सवमा फिचर, सर्ट फिल्म र डकुमेन्ट्रीसहित नौ वटा चलचित्र प्रदर्शन हुनेछन् ।
महासङ्घले महोत्सव मार्फत आदिवासी जनजाति चलचित्र प्रवर्धनसँगै आदिवासी जनजातिका मौलिक कला, संस्कृति, भाषा, धर्म, परम्परा र लोक प्रथाको दस्तावेजीकरण एवं संरक्षण र प्रवर्धन गरी पर्यटन विकासमा टेवा पुर्याउने लक्ष्य राखेको छ ।
महासङ्घले गर्दै आएको आदिवासी जनजाति चलचित्र महोत्सवको उद्देश्य, आदिवासी जनजाति चलचित्रको अवस्था, चलचित्रकर्मीहरु र महासङ्घले गर्दै आएको गतिविधि र यसमा देखिएका चुनौतीहरु तथा अगाडि बढ्न चाल्नुपर्ने कदमहरु के–के छन्’ भन्ने सेरोफेरोमा रहेर महासङ्घका अध्यक्ष पूर्खाजित राईसँग जोय नेपालका लागि सुशीला तामाङले गरेको कुराकानीको सम्पादित अंश:
आदिवासी जनजाति चलचित्र महोत्सव चौथो संस्करणसम्म आइपुग्दा यसमा कतिको परिमार्जन भएको छ ?
यसमा परिमार्जनकै कुरा गर्दा थोरै मात्र भएको छ । यो संस्करणमा चाहिँ हामीले नर्वेको इन्टरनेशनल फिल्मलाई विशेष रुपमा स्क्रिनिङ गर्दैछौं । साथै स्टलहरुमा थोरै परिमार्जन गरेका छौं । इण्डिजिनियस प्रस्तुति र अवार्डहरुमा समेत हामीले थपेर परिमार्जित गरेका छौं ।
आदिवासी जनजाति चलचित्र महासङ्घले स्थापना कालदेखि नै मातृभाषी चलचित्र क्षेत्रको विस्तार र प्रवद्र्धनको उद्देश्य लिएर अगाडि बढेको पाइन्छ । यहाँसम्म आइपुग्दा ती उद्देश्यहरुसम्म पुग्न सकिएको छ कि छैन ?
आदिवासी जनजाति चलचित्रको अहिलेको अवस्था र महोत्सवको चौथो संस्करणसम्म आइपुग्दा केही उद्देश्यहरु पूरा भएका छन्, तर सोचेको जस्तो अझै भएको छैन । पहिला हामीले अन्तर्राष्ट्रिय चलचित्रलाई हामी कहाँ ल्याउने र हाम्रो चलचित्रहरु अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने उद्देश्य राखेका थियौं ।
अन्तर्राष्ट्रिय बजार खोज्ने कुरालाई यसपटकदेखि हामीले शुरु गरेका छौं । आगामी दिनमा यसले हाम्रो उद्देश्यसम्म पुग्ने हामीले देखेका छौं ।
भाषाभाषीका फिल्महरुको सङ्ख्या बढी नै रहेको देखिन्छ । आदिवासी कथालाई समेटिएका नेपाली भाषाका फिल्म समेत बन्ने क्रम बढेको छ । तर महोत्सवमा सङ्ख्यात्मक रुपमा हेर्दा थोरै फिल्म देखिन्छ । यस्तो किन भइरहेको छ ?
यसमा हाम्रो थोरै प्राविधिक समस्या पनि छ । मातृभाषी फिल्मको फेस्टिभल गर्ने हाम्रो मात्र संस्था हो । हामीले नितान्त मातृभाषामा बनेका चलचित्रहरुलाई मात्र समावेश गर्छौं । आदिवासी कथामा बनेका थुप्रै चलचित्रहरु आएपनि त्यसमा ६० प्रतिशत मातृभाषा नै हुनुपर्छ भन्ने मान्यतालाई राख्दा सङ्ख्यात्मक रुपमा थोरै देखिएको हो । कुनै संस्थामा चलचित्र निर्माणको क्रम रोकिएको छ भने केही निर्माण हुँदै छन् । त्यसलाई हामीले समावेश गर्न सकेनौं । अर्को कुरा यो वर्ष हामीले एउटा संस्थाबाट एउटै मात्र चलचित्र मागेका थियौं । त्यो हिसाबमा पनि थोरै देखिएको हो । तर सङ्ख्यात्मक हिसाबमा थोरै देखियो भन्दैमा सबैमा कम भन्दा पनि गुणस्तरमा केही सुधार आउँछ र चलचित्र निर्माणकर्मीहरुको शैलीमा केही परिवर्तन आउला कि भन्ने हामीले विश्वास लिएका छौं ।
तपाईंकै अनुभवमा अहिले आदिवासी चलचित्रहरुमा फिचर, सर्ट र डकुमेन्ट्रीमध्ये कुन विधामा बढी फिल्महरु बनिरहेका छन् ?
अहिले हाम्रोमा हेर्दा फिचर फिल्म र डकुमेन्ट्रीहरुमा अलिकति अगाडि बढेको देखिन्छ । सर्ट फिल्महरु अलि कमै बनिरहेका छन् ।
आदिवासी चलचित्रहरुमा हाम्रा भनिएका मौलिक कथाहरु कति आइरहेका छन् ?
हाम्रा भनिएका कथाहरु त्यति आइसकेको छैन । एकदमै थोरै आएका छन् । अर्काे वर्ष या केही समयपछि हाम्रा भनिएका कथाहरु निकै आउँछन् भन्ने आशा छ । हामीले अघिल्लो वर्ष सात दिन स्क्रिप्ट राइटिङ वर्कशव गरेका थियौं । त्यसमा हामीले नितान्त हाम्रा कथाहरु भन्ने शैली मात्र सिकाएका छौं ।
उहाँहरुले नै हाम्रा कथाहरु लेख्दै हुनुहुन्छ । यो महोत्सव सकिएपछि फेरि हामी त्यही स्क्रिप्टहरुमाथि छलफल र ट्रेण्डिङ गराउँछौं । त्यसबाट निस्केका निचोडहरुलाई नै हामी चलचित्र निर्माणमा फोकस र प्रेरित गर्छौं । आगामी दिनमा हाम्रा कथाहरु बजारमा आउँछन् भन्ने कुरामा म विश्वस्त छु ।
आगामी दिन भन्नाले आदिवासी समुदायका आफ्ना भनिएका कथाहरु आउन अझै कति समय कुर्नुपर्ला ?
अब धेरै वर्ष कुर्नुपर्दैन । दुई देखि तीन वर्ष मात्र कुर्नुपर्छ । यो बीचमा हाम्रा कथाहरु बोकेका हाम्रै चलचित्रहरु र हाम्रा भन्ने शैलीहरु परिवर्तन भएर आउनेछन् ।
मातृ भाषाभाषीका चलचित्रहरु निर्माणको लामो समय भए पनि अझै गुणात्मक सिनेमा बनेनन् भन्ने गुनासाहरु सुनिन्छन् । यस्तो हुनुमा यसमा खास कुन पक्षमा बढी समस्या देखिन्छ ?
हामीले अहिलेसम्म व्यावसायिक रुपमा चलचित्र निर्माण गरेका छैनौं । समुदाय केन्द्रीत भएर चलचित्र बनाएर हामीले प्रदर्शन गरिरहेका छौं । पहिलो कुरा त व्यावसायिक रुपमा अगाडि आउन हामीलाई पैसाकै कुरा आउँछ । ती कुराहरुले गर्दा हामीसँग गुणस्तर मानिएका थोरै चलचित्रहरु बनेका छन् । ती चलचित्रहरु भने बजारमा आएका छैनन् ।
त्यसमा खर्चकै कारण बजारीकरण भएको छैन । गुणस्तरमा कमै भएको छ, भनेर ठ्याक्कै भन्न मिल्दैन । व्यावसायिक रुपमा गएका चलचित्रहरुमा पनि खासै गुणस्तर देखिएको छैन । त्यसकारण हाम्रा पनि केही राम्रा चलचित्र बनेका छन्, त्यसलाई बजारमा ल्याउन हामीले व्यावसायिकरण गर्न नसकिएको चाहिँ भन्न मिल्छ ।
अझै पनि मातृ भाषाभाषीका फिल्महरु ‘च्यारिटी सो’ मै सीमित हुनुपर्ने अवस्था छ । यसबाट चाहिँ कहिले माथि उठ्न सकिएला ?
हामी माथि उठ्नलाई हामीले अघिल्लो वर्षदेखि अभियान चालेका छौं । यो अभियानमा फिल्मकर्मीहरु हुनुहुन्छ । उहाँहरुले बनाउनुभएको चलचित्र प्रत्येक समुदायभन्दा बाहिर जानुपर्छ भनेर हामीले अभियान चालिरहेका छौं । त्यो हिसाबमा अबको दुई/तीन वर्षमा यहाँबाट बाहिर निस्कन्छौं होला । यसमा समय चाहिँ अलिकति लाग्न सक्छ । किनभने हामीलाई समुदायभित्र नै बस्न बानी परिसकेको छ । यसमा चलचित्र हेर्ने दर्शकमा समेत परिर्वतन ल्याउनु छ । कतिपय समुदायमा च्यारिटी ‘सो’ गर्दा पनि खाजा दिएर गर्नुपर्ने अवस्था छ ।
आदिवासी चलचित्र क्षेत्रको अलावा स्वयम् चलचित्रकर्मीहरुमा पनि समस्या र कमजोरी होलान् नि ?
हामी फिल्मकर्मीहरुमा पनि स्वयम् एकमुष्ट लगानी गर्ने वातावरण छैन । समुदायभन्दा बाहिर आउनका लागि हामीले प्रमोशन गर्न सकेका छैनौं । यसकारण पनि हाम्रोमा समस्याहरु छन् । अर्कोतिर हाम्रोमा कति फिल्मकर्मीहरु चलचित्र नबुझिकनै निर्माणमा आउनुभएको छ । कतिपय त विदेशमा बसेर चलचित्रमा लगानी गरिरहनुभएको छ । नेपालमा चलचित्र कसरी चल्छ र निर्माण हुन्छ भनेर उहाँहरुलाई थाहा छैन । अहिलेसम्म पैसा लगानी गर्नेहरु नै निर्देशक, निर्माता, अभिनेता बन्ने टे«ण्ड छ । यसको ६० प्रतिशत प्रभाव भाषाभाषीका चलचित्रहरुमा छ ।
भाषाभाषीका चलचित्रकर्मीहरुले यस्ता प्रवृत्तिलाई अब सुधार्नुपर्छ कि पर्दैन ?
यो अवस्थामा हामी सुध्रनुपर्छ । प्रत्येक चलचित्र निर्माण गर्ने संस्थाहरुमा यही कुरा हामीले सर्कुलेसन गरेका छौं । निर्देशन, अभिनय, निर्माण छुट्टै हो भनेर हामीले कार्यशाला, प्रशिक्षण दिएर चलचित्र निर्माणमा प्रोत्साहन दिने योजना बनाएका छौं । यसका लागि केही वर्ष लाग्न सक्छ ।
मातृ भाषाभाषीका चलचित्रहरु निर्माणमा चलचित्र सेन्सर नीतिहरुले कतिको प्रभाव पारेको छ ?
यो नीति र सेन्सरहरुले हामीलाई प्रभाव पारेको छ । सेन्सर बोर्डका कुराहरुमा समेत हामीले कुरा उठाइरहेका छौं । जस्तै आदिवासीहरुले जाँड, रक्सी खाने कुराहरु, परम्परागत पक्षहरुमा नेपालको कानूनहरु लादिँदा हाम्रो चलचित्र निर्माणमा प्रभाव पारेको छ । त्यसका लागि हामी निरन्तर सङ्घर्षमै छौं ।
अहिलेको सेन्सर नीतिमा पनि हामीले कुरा उठाएका थियौं । आगामी दिनका लागि हामीले छुट्टै सेन्सर बोर्डको कुरा राखेका छौं । अर्को कुरा आदिवासी चलचित्र सेन्सर नै हुनुपर्दैन भन्ने कुरा पनि हामीले उठाइरहेका छौं । यदि हुन्छ भने समुदायले गर्नुपर्छ ।
यसका लागि समुदायलाई पूर्ण अधिकार दिनुपर्छ भनेर भनिरहेका छौं । नेपाल सरकारको नीतिहरुमा हाम्रो थुप्रै असन्तुष्टिहरु छन् । जुन कुराले हाम्रो चलचित्र निर्माणलाई वञ्चित गरिरहेको छ ।
महोत्सवकै सन्दर्भमा सम्पूर्ण चलचित्रकर्मी र चलचित्रप्रेमीहरुलाई तपाईंको आह्वान के छ ?
महोत्सव मातृभाषी चलचित्रलाई माया गर्ने र निर्माण गर्नेहरुको जमघट हुने थलो पनि हो । देशभरीका मातृभाषी चलचित्रकर्मीहरुलाई महोत्सवमा आउन आग्रह गर्छु । जहाँ सबैजना भेट्ने अवसर समेत हुन्छ । मातृभाषा चलचित्र निर्माणमा लागिरहनुभएका सम्पूर्ण चलचित्रकर्मीहरुलाई पनि मेरो शुभकामना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया