काठमाडौँ– यो सत्य कथाबाट प्रेरित काम हो । यो कथा बाजेको दिदीभेनाको कथा हो र उनीजस्तै थुप्रै लाहुरे र तिनका परिवारहरुको नसुनिएका कथाहरु हुन् ।
बाजेको दिदीको कथा– नानी गुरुङ
बाजेको भेनाको नाम– कामी गुरुङ(गुरुङ जातिमा कामी, सार्की नाम राख्ने प्रचलन छ । (नानी र कामी मेरो पनि बजैबाजे)
वर्षौं अगाडिको कुरा हो, नानी र कामीको बिहे भएको पनि भर्खर ५/६ महिना हुँदै थियो । पहिलो सन्तान नानीको कोखमा हुर्कन शुरु हुँदै थियो । त्यही समयमा दोस्रो विश्व युद्ध चलिरहेको थियो ।
विश्वभर युद्ध लड्ने युवाहरुको एकदमै खाँचो थियो । यही खाँचो पूरा गर्न ब्रिटिस इन्डियाले नेपालको गाउँ–गाउँमा, घरघरमा सोझा युवाहरुलाई लोभ देखाउँदै भर्ति गराउन गल्लाहरु लगाए । त्यही गल्लाको मिठो लोभमा गाउँका ठिटाहरुसँगै कामी बाजे पनि पर्नुभयो ।
भोलिपल्ट बिहानको मिरमिरे नहुँदै ठिटाहरु गाउँ छाडेर भागे र उनीहरुलाई रोक्न श्रीमतीहरु, आमाहरु, दिदीबहिनीहरु सासले भ्याएसम्म पछिपछि दौडिए तर रोक्नै सकेनन् । (त्यो भर्ति हुनु भनेको मृत्यु रोज्नु बराबर थियो ।)
नभन्दै केही महिनापछि एकदिन एउटा नराम्रो समाचार आयो । कामीले लडाइँमा वीरगति प्राप्त गर्यो । एउटा आमाले आफूलाई भन्दा माया गर्ने सन्तान गुमायो, श्रीमतीको सिन्दुर पुछियो, पेटमा रहेको बच्चाको बाबाको हत्या भयो ।
कसैको मृत्युको चिठी रातो धागोले बेरेर आउँदा त्यो चिठी गोलीभन्दा कम थिएन । युद्धबाट आएको गोलीरुपी चिठीबाट छेदविच्छेद भएको नानी कतिपटक मरि होलिन्, कति पटक ढलिन् होली ।
युद्ध अरुको, दुश्मन अरुको रगत र आँसु नानीको । रगतको मूल्य कति ? आँसुको मूल्य कति ? नानीलाई थाहा थियो ।
बिस्तारै, समय बित्दै गयो । नानीको छोराका बच्चा बच्चीहरु भए । केही मात्रामा खुसीहरु पनि आएजस्तै भए ।
नानी मेरो पनि बजै भएकोले गाउँ जाँदा उनीसँगै दशैंमा टिका लगाउँथेँ । (म सानै छँदा मेरो दाजुको मृत्युले मेरो आमा एकदमै डराउनु भएको थियो । त्यसबेला बाबा विदेशमा हुनुहन्थ्यो । आमालाई सहायता दिन बजै (नानी) दुई वर्ष हामीसँगै बस्नुभएको थियो । त्यसैले पनि बजैसँग हामी एकदम नजिक थियौं ।)
बिस्तारै अब नानी पनि निकै बुढी भइसकेकी थिइन् । ९५/९६ वर्ष काटिसकेकी थिइन् । उनको शरीरसँगै मस्तिष्क पनि कमजोर हुँदै थियो । सुनिन्थ्यो उनी पागल जस्तै भएकी थिइन् रे । एकदिन दशैंको बेलामा म घरमा पुगेँ । नभन्दै उनी पागल जस्तै गरी बर्बराउँदै आफ्नो छोरोसँग जिद्दी गर्दै भनिन्, ‘तेरो बाउ काठमाडौँमा छ ।
त्यसले कान्छी बुढी लिएर बसेको छ, त्यही भएर घर नहाएको हो । त्यसलाई समातेर ल्याउनुपर्छ, हिँड काठमाडौँ हिँड ।’
नानीको कुरा मेरो मस्तिष्कमा घुमिरह्यो, उनलाई बुझ्न खोजी रह्यो । उनी पागल भएकी थिइनन् । जीवनको अन्तिम क्षणसम्म एकपटक श्रीमान् भेट्ने हर सम्भव आश र कोसिस गरेकी थिइन् । त्यसैले होला उनले फेरि बिहे गरिनन् ।
उनले मलाई दशैंको टिका लगाइदिँदै भनिन्, ‘लाहुरे भएस्, जम्दार, सुबेदार बनेस्, ठूलो मान्छे बनेर आमा बाबालाई पालेस्, अर्काे वर्ष मेरो हातबाट फेरि टिका लगाउन पाएस्’, बजैको अन्तिम आशिर्वाद थियो ।
श्रीमान् नभएको अपूरो परिवारमा शारीरिक, मानसिक र सामाजिक असर कस्तो हुन्छ भन्ने प्रमाण अझै पनि नानीको घरमा देख्न सकिन्छ ।
त्यो पिछडिएको गाउँ छाडेर सबै शहर पसिसके, सबैको घर भत्किसके तर नानीको एक्लो घरमा नानीको छोरा र तिनका सन्तान अझै एक्लै छन् ।
यहाँ मैले मेरा काममा चिठीको खामलाई रातो धागोले बाँधेर खामभित्र गोली राखेको छु र यसको शीर्षक ‘युद्धबाट आएका गोलीहरु’ राखेको छु । रातो धागोले बाँधेर आएको चिठीले कुनै लाहुरेको मत्यु भएको छ भन्ने बुझिन्छ ।
चिठीको खामभित्र राखेको गोलीले चिठीमा लेखिएको मृत्युको शब्दहरु र गोली उस्तै हुन्छ भन्ने तुलना गरेको छु । कुनै व्यक्तिको मृत्युले उसको परिवारलाई मानसिक रुपमा कति असर गर्छ भन्ने कुरा गोली लाग्दा जस्तै दुख्छ, गोली लाग्दा मरेजस्तै मर्छ भन्ने तुलना गरेर न्याय दिने कोसिस गरेको छु ।
आज पनि नानीका जस्तै कथाहरु दोहोरिएका छन् । देशको फोहोरी राजनीति र भष्टाचारको मारमा देशका सबैभन्दा स्वस्थ र दक्ष युवाहरु विदेशमा बेचिएका छन् ।
अरुको देश बनाउँदा–बनाउँदै, लड्दा–लड्दै मरेका छन् । नानीको जस्तै कथाहरु अझै कति बन्दै छन् ।
(नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानस्थित राष्ट्रिय ललितकला प्रदर्शनीमा हाल प्रदर्शनरत ‘युद्धबाट आएका गोलीहरु’ शीर्षकमा राखिएको आफ्नो प्रतिस्थापन कलाबारे लमजुङका कलाकार झविन्द्र गुरुङले प्रस्तुत गरेको विवरण । उक्त कला ‘प्रादेशिक कला प्रदर्शनी’ अन्तर्गत गण्डकी प्रदेशको पोखरा आर्ट ग्यालरीमा गत फागुनमा समेत प्रदर्शन गरिएको थियो । जुन कलाले विगतको लाहुरे संस्कृति, त्यतिबेलाको युद्धले ल्याएको पारिवारिक विचलन र अहिलेसम्म पनि परिवर्तित स्वरुपमा विदेशिनुपर्ने विडम्बनालाई चित्रण गरेको छ । गुरुङ विगत दुई दशकदेखि समकालीन कला सिर्जनाका क्षेत्रमा छन् । हाल उनी पोखरामा रहेर कला सिर्जना गरिरहेका छन् ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया