मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सम्पदा

पोखरी नै पोखरीको शहर भक्तपुर

भक्तपुर– दैनिक कार्यबाट आजित भएकी पार्वती साउद मुड फे्रस बनाउन भक्तपुरको न्हू पुख (रानी पोखरी) मा पुगिन् । पोखरीको डिलमा पुग्ने बित्तिकै उनी एकपटक टक्क भएर उभिन र वरिपरी नियालेर हेरिन् ।

पहिलो पटक रानी पोखरीमा पुगेकी साउदलाई त्यहाँको दृश्य नौलो मात्रै लागेन  । एकदम सुन्दर पनि लाग्यो । लामो समयदेखि भक्तपुरमै बसेकी उनी सो पोखरीबारे जानकार थिइनन् । कार्यालयमा सँगै काम गरेको सहकर्मीले पोखरीबारे जानकारी दिएपछि अवलोकन गर्न गएको उनी सुनाउँछिन् ।

उनी भन्छिन्, ‘करिब एक दशक भक्तपुरमा बसेँ । तर पोखरीबारे कुनै जानकारी नै थिएन । अफिसमा मिसले भने पछि उहाँसँगै घुम्न आएकी हुँ । पोखरी नयाँ र सुन्दर लाग्यो ।’

पोखरीमा छाडिएका रङ्गीचङ्गी माछाले उनको मन नै लोभ्याएको उनले सुनाइन् । करिब १५ मिनेटको बसाइँमा तनाव समेत अन्त्य भएको महसूस उनले गरिन् ।

‘थोरै समय मात्रै बस्दा पनि मनमा आनन्द आयो । झन यहाँको माछा नाचेको देखेपछि त एकदम खुसी लाग्यो,’ उनले सुनाइन् ।

अब बिदाको बेलामा छोरालाई पनि पोखरीमा ल्याएर घुमाउने उनको सोच छ । ‘छोरालाई यहाँ ल्याए पनि एकदम मख्ख हुनेछ,’ उनले अनुमान लगाउँदै भनिन् ।

उनीमात्रै होइन भक्तपुरकै अमृत थुयाजु मुड फ्रेस बनाउनका लागि पोखरीमा पुग्ने गर्छन् । पोखरीमा भरिएको पानी र माछाको चलबलले आँखालाई आनन्द हुनुका साथै दिमागमा पनि शान्ति मिल्ने उनको भनाइ छ ।

सरकारी कार्यालयका कार्यरत उनी घर जानुभन्दा पहिले पोखरीमा केही बेर बसेर जाने गरेको बताउँछन् ।

उनी भन्छन्, ‘पोखरीमा नगएको दिन केही गुमाएको जस्तो अनुभव हुन्छ । घरमा बसेर दिक्क लाग्दा पनि केही बेरको लागि भए पनि आउने गर्छु ।’

चाँगुनारायण नगरपालिकामा घर भएका उनी अधिकांश समय कमलविनायकमा रहेको कमल पोखरी जाने गरेको उनको भनाइ छ । नगरपालिका क्षेत्रमा पोखरी धेरै भएकाले आफूहरुलाई सहज भएको उनको भनाइ छ ।

उसो त भक्तपुरलाई पोखरी नै पोखरीको शहरको रुपमा चिनिन्छ । यहाँको अधिकांश चोक र गल्लीमा पोखरी नभेटिने ठाउँ मुस्किलैले भेटिन्छ । तर पनि यहाँको ‘भाजु पुखु’ र ‘रानी पोखरी’ पछिल्लो समय नौलो मात्रै होइन विशेष पनि छ । किनकि भक्तपुर नगरपालिकाले यी पोखरीहरुलाई आफ्नै पहलमा केही समय अघि मात्रै पुनर्निर्माण सम्पन्न गरी मौलिक शैलीमा फर्काएको हो ।

पछिल्लो समय भक्तपुर नगरपालिकाले पराम्परागत शैलीले भाजु पुखु र रानी पोखरी बनाएको उनले सुनाए । रानी पोखरी लामो समयदेखि भए पनि केही वर्ष अघिदेखि मात्रै सर्वसाधारणको लागि खुल्ला गरेको उनले सुनाए ।

भक्तपुर नगरपालिका वडा नम्बर १ को सल्लाघारीमा रहेको सो पोखरी केही वर्षअघि मात्रै पुनर्निर्माण गरेको हो । लामो समय सैनिकको कब्जामा रहेको सो पोखरीको पुनर्निर्माण सकिएसँगै घुम्न जानको संख्या पनि बढ्दो छ ।

अझ सार्वजनिक विदा तथा साँझपख पोखरीमा मान्छेहरुको घुइँचो नै लाग्ने गरेको स्थानीय बताउँछन् ।

सो पोखरी काठमाडौँको रानी पोखरीभन्दा ४२ वर्ष पहिले नै निर्माण भएको स्थानीय रामलाल श्रेष्ठ बताउँछन् ।  पोखरीमा भेटिएको शिलालेख अनुसार विसं. १६८७ मा भक्तपुरका मल्ल राजा जगज्योतिले पोखरी बनाउन लगाएका थिए ।

पोखरीको बीचमा नागको मूर्ति र ढुंगाका चार खम्बा ठड्याएर शिवलिङ्ग स्थापना गरेको शिलालेखमा उल्लेख गरिएको छ । उता काठमाडौँको रानीपोखरी प्रताप मल्लल विसं १७२७ मा बनाउन लगाएको इतिहासविद्हरु बताउँछन् ।

रानीपोखरीको दक्षिणपट्टि रहेको ह्वाङह्वाङ पाटीमा रहेको शिलालेख अनुसार रानीपोखरीको नामाकरण पुष्करणी भनी उल्लेख गरिएको छ । 

यसरी भएको थियो पोखरीको पुननिर्माण

२०२१ सालको नापीमा पोखरी र वरपरको चउर सार्वजनिक स्थल रहेको सो क्षेत्रलाई  स्थानीयले सानो टुँडिखेल रुपमा चिन्ने गरेका थिए ।  सो क्षेत्रमा रहेको करिब ५ सय रोपनी जग्गा नेपाली सेनाले नियन्त्रणमा लिएर  सैनिक आवासीय महाविद्यालय, खेल मैदान र स्कुलका भवन बनेका थिए ।

लामो समयदेखि नै स्थानीय भोगचलन गर्दै आएको जग्गा सेनाको कब्जामा पुगेपछि ऐतिहासिक रानीपोखरी र स्थानीय कुलदेवता (दिगु द्यः) पनि सर्वसाधारणको पहुँचबाट टाढा थिए । प्रत्येक वर्ष देवाली पूजामा सेनाको अनुमति लिएर मात्र स्थानीय त्यहाँ पस्न पाउँथे । सेनाको नियन्त्रणमा पुगेपछि रानीपोखरी संरक्षण अभावमा जीर्ण बनेको थियो ।

पहिलो स्थानीय तहको चुनावपछि २०७५ चैत्रमा भक्तपुर नगरपालिकाका नगरप्रमुख प्रजापतिले तत्कालीन रक्षामन्त्री र प्रधानसेनापतिलाई भेटेर न्हू पुखू र त्यस वरपरको जग्गा सार्वजनिक प्रयोगका निम्ति खुला गर्न आग्रह गरेका थिए ।

प्रजापतिले उक्त समस्या तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापालाई सुनाए । पोखरी जीर्णोद्वार गर्ने र आपसी साझेदारीमा सधैँका लागि खुला गराउने प्रस्ताव अघि सारेसँगै २ जेठ ०७६ मा पोखरी खुला गर्न सेनाबाट स्वीकृति मिलेको थियो ।

पुनर्निर्माण कार्यसकिएसँगै २०७८ फागुनमा पोखरीको उद्घाटन गरेको थियो ।

नेपाली सेनासँग नगरपालिकाले सेनासँग स्वीकृति पाएर पोखरी जीर्णोद्वार शुरु गरेका थिए ।  पोखरीलाई सफा गरी वर्षायाममा पानीको भरिएर आफ्नो स्वरुपमा देखिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले उपभोक्ता समिति गठन गरी मौलिक शैलीमा पोखरीको पुनर्निर्माणको कार्य शुरु गरेको थियो । पोखरीमा पर्खाल, पेटी, बाटो, डबलीलगायत संरचना मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको संस्कृतविद् ओम धौभडेँल बताउँछन् ।

बीचमा नागको खाँबो राखिएको सो पोखरीको क्षेत्रफल १२ रोपनी ५ आना २ पैसा छ ।

आफ्नै स्वरुपमा फर्किएको भाजु पुखु

भक्तपुर नगरपालिकाको वडा नम्बर १ मै रहेको भाजु पोखरीले पनि आफ्नै स्वरुपमा फर्किएको छ । आठ सय वर्ष पुरानो भाजु पुखू काठमाडौँको रानीपोखरीभन्दा ४०० वर्ष पुरानो रहेको इतिहासविद् बताउँछन् ।

लामो समयसम्म जीर्ण अवस्थामा रहेको सो पोखरी  नगरपालिकाको कूल रु एक करोड ८७ लाख ३५ हजार ६ सय ३४ को लागतमा पुनर्निर्माण सम्पन्न भएको हो । पोखरीको पुनर्निर्माण सकिएसँगै गत फागुन २६ गते नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले उद्घाटन गरेका थिए ।

इतिहासविद् डा पुरुषेत्तम लोचन श्रेष्ठले भक्तपुरेन्समा उल्लेख गरेनुसार लिच्छविकालको अन्त्य तिर भाजु पुखुको निर्माण भएको थियो । काठमाडौको रानी पुखु बनाउन करीब ३४८ वर्ष पहिले भाजु पुखुबाट प्रेरणा पाएर विसं १७२७ मा रानी पोखरीको निर्माण गरेको थियो ।

योे पोखरी भन्दा करिब ५ सय वर्ष पहिले भक्तपुरमा भाजु पोखरीको निर्माण भएको थियो । यस पोखरीको बिचमा पहिले पनि शिखर शैलीको मन्दिर अवस्थित रहेको थियो । वि.सं. १७३७ (सन १६८१) को भुकम्पले भत्किएको उक्त मन्दिर एक वर्षपछि राजा जितामित्र मल्लले पुर्णरुपमा भत्काउन लगाएका थिए ।

‘वास्तु र शैलीको आधारमा काठमाडौँको रानी पोखरी र यस भाजु पुखुमा निकै समानता रहेको छ । हाल वि.सं. २०५० सालबाट भक्तपुर नगरपालिकाले पुनस् उक्त मन्दिरको निर्माण तथा पोखरीको जीर्णोद्वार गर्दै आएको छ । यस मन्दिर भित्र भगवान् जलेश्वरको मुर्ति पनि राखेको छ,’ उनले भक्तपुरेन्समा उल्लेख गराएका छन् ।

पोखरी आफ्नै शैलीमा फर्किएसँगै स्थानीय पनि खुसी छन् । लामो समयसम्म जिर्णोद्धारको पर्खाइमा रहेको सो पोखरी चौरको रुपमा परिणत भएको स्थानीय कृष्ण प्रजापति बताउँछन् । पोखरीमा चौर भएकाले बच्चाहरुको लागि खेल मैदान, कृषकले विस्कुन सुकाउने र केहीले डम्पिङ साइडको रुपमा प्रयोग गर्दै आएको उनले स्मरण गरे ।

तर भक्तपुरले पुनर्निर्माण गरेसँगै पोखरीको रौनक नै बढेको उनले बताए । हाल पोखरीमा बिहान मर्निङ वाक, साँझ हिँड्ने तथा दिउँसो घुम्नेको घुइँचो लाग्ने गरेको उनले सुनाए ।

पोखरी नै पोखरीको सहर

भक्तपुर नगरपालिका सांस्कृतिक महत्वका साथै पोखरी नै पोखरीको सहरको रुपमा पनि परिचित छ । यहाँ धार्मिक, सामाजिक तथा इतिहास बोकेको पोखरीसमेत रहेका छन् ।

यहाँको पोखरीहरुमा चाडपर्वमा मेला लाग्नुका साथै पर्यटकीय तथा आर्थिक आय आर्जनको रुपमा पनि प्रयोग हुँदै आएको छ ।

वडा नम्बर १ मा रहेको त पुखु अर्थात् सिद्धपोखरीमा व्यावसायिक रुपमा डुङ्गा सञ्चालन हुँदै आएको छ । केही पर रहेको नःपुखुमा साइकिलिङ सञ्चालन हुँदै आएको छ ।

पालिका क्षेत्रमा परापुर्वक कालमा करिब चार दर्जनभन्दा बढी पोखरी रहेको किम्बदन्ती पाइए पनि हाल ३२ वटा रहेको नगरपालिकाले जनाएको छ । सोमध्ये नगरपालिकाले रानी पोखरी, भाजु पोखरीलगायत आवश्यता अनुसारको निर्माण कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?