काठमाडौँ– ‘एकजना कविका लागि कविता के हो’ भन्ने प्रश्नमा कवि गगन योक्पाङ्देन यसलाई परिभाषित गर्न केही क्षण रोकिए । उनको रोकावटमा यसमा शब्द नै नहुनु भन्दा पनि कवि र कविता प्रतिको उनको धारणा आम परम्परागत सोचभन्दा अलग थियो । किनकी उनका लागि कवि र कविता कुनै अलौकिक चीज होइन ।
उनका अनुसार कविहरु अत्यन्तै शालीन हुन्छन्, तर उनीहरुको जीवन र कविताको बीचमा दूरी छ । जीवन जति बाँचेको छ, त्यति नै त लेख्न नसकिएला तर कविता र जीवनबिचको दूरी फरक हुनु हुँदैन भन्ने उनको मान्यता छ ।
आम मानिस र कविताबीचको दूरी यदि हुन्छ भनेर कसैले कविताको परिभाषालाई नै सीमित बनाउँछ भने त्यसमा उनी ढोंग र भ्रम मात्र देख्छन् ।
उनी फेरि शालीनतामै फर्केर भन्छन्, ‘कवितालाई अर्थ नै लगाउन त म जान्दिन । यो आफैंमा विशाल र यसमा हार्दिकता छ । मैले बाँचेको जीवन कवितामा लेख्दै आएको छु । मेरा कविताहरु समग्रमा अध्ययन गर्दा यसमा मेरो जीवन र भोगाइहरु आउँछन् । शायद यही नै पो कविता होला ।’
उनी आफ्नै आमा कान्छीमाया लिम्बू, श्रीमती भूमिका, छोरीहरु सेसेफुङ र नुमाफुङहरुमा कविता देख्छन् । मोरङको कालीदह हालको मिक्लाजुङमा जन्मिएर हुर्किएका उनी त्यहीको ढुङ्गा, माटो, भिरपाखा र किसानी जीवनहरुमा कविताका मुहानहरु देख्छन् ।
उनी आमालाई अझै सम्मानपूर्वक सम्झन्छन्, ‘मेरो आमाले बाँचेको जीन्दगी नै एउटा सुन्दर कविता हो । आमाले गरेको सङ्घर्षहरु नै मलाई कविता जस्तो लाग्छ । मैले त कविता लेखेजस्तो मात्र गरेको हुँ, कविता त मेरो आमा नै हो ।’
भलै त्यहाँ अक्षर नै नहोला । उनलाई लाग्छ, उनकी आमाले हँसियाले पाखाभित्तामा लेखिरहेको कविता नै हो । एउटा किसानले हलोको टुप्पोले जमीनले लेखिरहेको पनि साहित्य नै हो । उनका लागि यो धर्तीमा मजदुरहरु नै महाकाव्यहरु हुन् ।
हरेक मान्छेको जीन्दगी नै कविताको रुपमा उनी लिन्छन् । कविहरु ठूला भएर साना कुराहरु ओझेल परे की भन्ने कुराले समेत उनलाई पोलिरहन्छ । यसले गर्दा कविताहरु प्रत्येक बस्ती र समुदायमा पुगेन भनेरै उनी आफू भने पुग्ने प्रयत्नमा निरन्तर छन् ।
उनको केही समयअघि प्रकाशित पहिलो कवितासंग्रह ‘केवाफुङ्को गीत’ कतै उनकी आमा, कतै श्रीमती त कतै छोरीहरुमा उनले आफ्नो जीवन र भोगाइ पोखेका छन् । सङ्ग्रहमा कतै पीडाका अक्करे भीरका उकालाहरु छन् भने कतै सीमान्तकृतहरुको आवाज त कतै ‘देश मेरो पनि हो’ भन्ने प्रेम छताछुल्ल भएका छन् । कवितामार्फत नै उनले देश चलाउने र देशभक्तिका ढोंगीहरुप्रति आक्रोश समेत पोखेका छन् ।
सङ्ग्रहको नामलाई उनले कविताहरुका शीर्षकभन्दा अलग राखेका छन् । लिम्बू मिथक अनुसार केवाफुङ् सृष्टिका प्रथम गायक हुन् । आदिम कालमा पृथ्वीबाट हावा निस्केर गएपछि फूलहरु मरेर गए । बम्हाण्ड नै मरेर घाम–जुन मरे । यस्तो देखेर केवाफुङ्ले विरह चलेर ‘खुइया’ गर्दा एउटा धुनको लय बन्यो ।
यही लयले ब्रह्माण्ड, घाम–जून, पृथ्वी, फूलहरुले जीवन पायो भन्ने गरिन्छ । त्यहीबाट हाक्पारे गीतको शुरुवात समेत भयो । यही सिर्जना कर्तालाई उनले आफ्नो कृतिको नामका रुपमा जुराए ।
‘जसरी केवाफुङ्ले समग्र सृष्टिलाई पुनर्जीवन दिए, त्यसरी नै तपाईंलाई आफ्नो सिर्जनाले दिएको अहिलेको सिर्जनशील जीवनलाई प्रतिकात्मक रुपमा व्यक्त गर्नुभएको त होइन?’ भन्ने प्रश्नमा गगन हाँस्दै सुनाउँछन्, ‘त्यसरी त सोचिएको थिएन । कविता लेखन जतिकै शीर्षक राख्न पनि गाह्रो भयो । बाटोको आयु नाम राख्ने कुरा भएको थियो । त्यसमा मलाई चित्त बुझेन । लिम्बू समुदायको माटोको सुगन्ध आउने खालको हुनुपर्छ भनेर केवाफुङ् नै नाम राखियो ।’
यद्यपि सिर्जनशील पृथ्वीको पक्षमा परिवर्तन चाहने हामी सबैजना नै केवाफुङ् रहेको उनको मत छ ।
मान्छेले अत्यन्तै खुसी हुँदा हाँसेर रमाउनु भन्दा सायद त्यही चीज पनि सिर्जनामा लेखिन्छ होला भन्ने अनुमान लगाउने उनी दुःखमा पनि आँसुसँगै सिर्जना नै आउने कुरा सुनाउँछन् । यस मानेमा उनका लागि कविता जीवनलाई एउटा लयमा हिँडाइ राख्ने आधार पनि हो ।
सिर्जनाले मान्छेलाई ध्यानमग्नसँगै एउटा शब्दमा व्यक्त गर्न नसकिने आनन्द प्रदान गर्छ भन्ने उनको अनुभव छ ।
उनले आजसम्म आइपुग्दा अनेक जीवनहरु भोगेका छन् । सानैमा उनका बुवा परिवारसँग अलग भएर अर्कैतिर नयाँ जीवन बसाए । आमाको ममता र सङ्घर्षहरुमा उनी र चार दिदीहरु हुर्के ।
छुटेपछि आमा विरुद्ध बुवाले लगाउने अनेक मुद्दाहरुमा उनले आमाको महानता र बुवाको कठोरपना नजिकैबाट नियाले । र पनि आफूभन्दा चरम दुःख र सङ्घर्षमा बाँचेका मान्छेहरु अरु पनि छन् । आ–आफ्नो स्तरको दुःख त सबैलाई हुने रहेछ भन्ने कुरा उनलाई कविताले नै सिकायो । भन्छन्, ‘मलाई चरम दुःखको चरणमा पुर्याएर फर्काउने काम कविताले नै गर्यो । यसले त मलाई शक्ति दिएको छ ।’
कवि र कविताको सत्ता वर्गीकरण
आफ्नो पहिचान, सांस्कृतिक, अधिकार र हकका कुरामा साहित्यमा आउनुपर्छ भन्ने मत राख्ने गगन समुदायका कुरा एकजना कविले ढुङ्गा, मुढा नै फालेजस्तो कविता लेख्नुहुन्न भन्ने सोच्छन् ।
कविको भाषा जादुमय र कलामय हुनुपर्छ भन्ने लागिरहँदा उनले यसैमा अर्को झुण्ड पनि देखेका छन् । उनलाई अहिले कविताको शक्तिमै शङ्का लाग्न थालेको छ । वर्षौंदेखि गढिएर आएको सामन्तीपनाको जरालाई कविताको कोमलता र फूलले हिर्काएर नष्ट गर्न सक्छौं त भन्ने प्रश्न स्वयम् उनको मनमा उठ्छ ।
हामीले हाम्रो आफ्नै कुरालाई माग दाबी गर्न कविताले प्रहार गरेर मात्र असाध्यै गाह्रो रहेको उनी सुनाउँछन् । ‘हामी त वर्षौँदेखि उत्पीडन भोगेर आएको समुदाय हो । हामीलाई जति चोट लागेको छ, त्यति हामी रुन्छौं र चिच्याउँछौं तर तिमीहरु रुन, कराउन र एैया भन्न पाउँदैनौँ भन्ने धारणा अझै छ,’ उनी थप्छन् ।
जसलाई हामीले कविता मान्यौं, त्यहाँ हाम्रो दुखाइको कुनै सहानुभूति छैनन् । राज्य नै हाम्रो विरुद्ध भएपछि सबै जाति, वर्ग समूह नेतृत्वमा पुग्न पाएन । ती कुराहरु हिजोका कविताहरुले भनेनन् ।
सङ्कीर्ण मानसिकता भएको ठाउँमा कविता पुगेपछि काठमाडौँदेखि अलिकति परका कविताको सातो लिने प्रवृत्तिप्रति उनी दिग्दारी भाव व्यक्त गर्छन् । सिर्जनाको क्षेत्रमा वर्ग र स्तर हावीकै कारण केन्द्रभन्दा परकाहरुले आफ्नो कुरा अभिव्यक्त गर्न समेत कठिन रहेको उनको भनाइ छ । केही आदिवासी अनुहार भएका अग्रजहरुले यहाँसम्म लडेर बाटो बनाइदिएकोमा उनी सम्मान भाव व्यक्त गर्छन् ।
अबका उनका कविताहरु भावुकता भन्दा पनि वैचारिक रुपमा अझै बागी हुन्छ कि जस्तो उनलाई लागेको छ । आफ्ना कुराहरु सिर्जनामा लेख्नैपर्छ र प्रहार गर्नैपर्छ भन्ने भन्दा पनि गहिराइले प्रभाव पार्छ भन्ने कुरामा उनी सचेत छन् ।
उनको बुझाइमा कविता फेरि शब्दहरुको थुप्रो मात्र पनि होइन । यसमा कला र बिम्वको संयोजन हुनुपर्छ र कविले बोल्ने भाषा फरक हुनैपर्छ भन्ने मान्यतामा उनी छन् । एउटा असल कविता त युगयुगसम्म त बाँचिन्छ भन्ने मान्यतामा नै असल कवितै लेखेमा आफ्ना कविताहरुसँगै आफू भएर बाँच्ला भन्ने उनको अर्को आशा छ ।
भन्छन्, ‘राम्रा कविताहरुमा अक्षरहरुले सास फेरिरहेका हुन्छन् । लेख्नुपर्छ तर कविताको नाममा अरुथोकभन्दा कविता नै लेख्नुपर्छ ।’ यसरी सिर्जना र आदर्शको बाटोमा हिँडिरहँदा आफ्नो कवित्व र कविता नै सधैं पिँधमा नै चुपचाप बसिरहँदा भने उनलाई निकै चित्त दुखाइ हुन्छ ।
एउटा कवि वा स्रष्टा जहाँ बस्यो त्यही नै कविता र सिर्जना हुन्छ भन्ने भनाइ रहे पनि साहित्यमा सधैं मोफसल र केन्द्र भनेर वर्गीकरण भइरहेको उनी जस्तै थुप्रै कविहरुले अनुभव गरिरहेका छन् ।
भनसुन र ग्रुपिजमका आधारमा आफ्ना सिर्जनाहरु मूलधारमा मिडियामा छाप्न सक्नेहरुले मोफसलको भावना बुझ्न सक्दैन भन्ने उनी ठोकुवा गर्छन् । केन्द्रभन्दा बाहिर बसेर वर्षाैदेखि रहेकाहरुलाई पनि ठूलो मञ्चबाट सार्वजनिक हुन र सिर्जनाहरु प्रकाशन गर्न मन हुन्छ । तर यस्तो अवसर राजधानीभन्दा बाहिर रहेकाहरुले कमै पाउँछन् ।
यस्तो बेलामा भने उनलाई ‘मोफसल’को वर्गीकरण छ भन्ने लाग्छ । यद्यपि राजधानीमै पनि समूहभित्र नअटेर मौका नपाएकाहरु पनि उत्तिकै छन् । उनका अनुसार पोएट आइडलको पहिलो सिजनमा अवसर नपाएरै उनी खोज्दै गएका हुन् ।
उनी भन्छन्, ‘म मञ्च खोज्नै भनेर पोइट आइडलमा पुगेको हुँ । होइन भने मैले पनि आफ्नो ठाउँ र स्तरमा दुःख त गरेकै थिएँ । तर अवसर नै नभएपछि यो चाहिँ मेरो लागि उपयुक्त हुन सक्छ भनेर गएँ, किनभने मान्छेमा पहिचानको लोभ हुने रहेछ ।’
उनलाई आफ्नो कृति प्रकाशन गर्न सजिलो भयो तर मूलधारका भनिने मिडियाको शनिवारीय परिशिष्टाङ्कमा एउटा कविता छापिन असाध्यै गाह्रो भयो । उनकै अनुभवका आधारमा भन्दा प्रतिभाको मूल्याङ्कन गरेर साहित्यको मूलधारमा थोरैले मात्र अवसर पाइन्छ ।
त्यसो त मूलधारका भनिने मिडियामा देखिने र छापिने स्रष्टा र तिनका सिर्जनाहरु एकै खाले र एउटै अनुहारका हुने अभ्यासलाई पनि उनले नियालिरहेका छन् । त्यसले गर्दा पत्रिकामा आएका सिर्जनाहरु किन पढ्ने भन्ने भावना समेत आउने उनी सुनाउँछन् ।
त्यही अनुहार र त्यही वैचारिकता भएका सिर्जनाहरु पाठकले पढिरहनु त परेको छ नि भन्ने पनि सोच्छन् । जहाँ बसेर पनि सुन्दर कविताहरु लेख्यो भने त्यसको उज्यालोले डोर्याउँदै बाहिर ल्याउँछ भन्ने उनको निचोड छ ।
राजधानीमै बसेर पटक–पटक अवसर पाउँछ तर सिर्जनामा ज्यान छैन भने त्यसलाई समयले हुत्याएर अँध्यारोमा पु¥याउँछ भन्ने उनको विश्वास छ ।
गगन र उनका सिर्जनाका सङ्घर्ष
कविता मार्फत नै मिक्लाजुङको माटोलाई चिनाउँछु भनेर गगन ६० को दशकदेखि नै छन् । बाल्यकालदेखि नै कथा, कविता, निवन्ध जस्ता विधामा उनले कलम चलाए । कुनै समय उनी गायनमा समेत उत्तिकै लागेका थिए ।
कक्षा ८ मा हुँदा नै उनले ‘शोभा’ नामक संस्थाले गरेको इलाकास्तरीय गायन प्रतियोगितामा उनले आफैं गीत लेखी लय समेत तयार पारेर गाए । त्यसमा उनले दोस्रो स्थान हासिल गरेका थिए ।
त्यतिन्जेलसम्म उनको सिर्जनालाई मूल्यांकन गर्ने र सुनिदिने कोही भएनन् । कालीदह माध्यमिक विद्यालयबाट कक्षा १२ सकाएपछि स्नातक अध्ययनका लागि उनी उर्लाबारीतिर लागे ।
त्यसपछि भने उनी ‘उर्लाबारी गजल मञ्च’मा जोडिए र फैलिने मौका पाए । यसरी नै उनी ‘नेपाली साहित्य समाज उर्लाबारी’मा समेत जोडिए ।
जुन माहोलमा उनले साहित्य सिर्जना र जमातलाई अझै गहन रुपमा नियाल्न पाए । जतिबेला उनलाई साहित्य माहोलमा पुर्याउने, उनका रचनाहरु हेरिदिने र सिर्जनाको मूल्याङ्कन गरिदिने अग्रजको आवश्यकता थियो ।
साहित्यिक सर्कल खोज्न नै घण्टौ बाटो लगाएर कहिले उर्लाबारी त कहिले धरान पुगे । त्यही क्रममै दमक जेसिजले आयोजना गरेको कविता प्रतियोगितामा प्रथम भएर पाएको रकमले उनकै पहलमा टाँडी पुञ्ज परिवार बसाए ।
पुरस्कारकै पैसाले ‘जरुवा’ नामक पत्रिका दुई/तीन अङ्क प्रकाशन समेत गरे । जहाँ सम्पादकको भूमिकामा उनी आफैं रहे । पछि आर्थिक अभावकै कारण पत्रिका प्रकाशन बन्द नै भयो । त्यसपछि उनले टाँडी पुञ्जकै प्रस्तुतिमा साहित्यिक तथा बौद्धिक कार्यक्रमहरु गरि नै रहे ।
हाल उनी ‘मिक्लाजुङ साहित्य समाज’का अध्यक्षसमेत हुन् भने त्यहाँको सिर्जना क्षेत्रलाई अगाडि बढाउने काममा प्रयत्नरत छन् । साहित्य र सिर्जनामा मिक्लाजुङ २०को दशकमा उठेपनि नै त्यहाँको सिर्जनालाई रोप्ने अग्रजहरुले त्यतिकै छोडेर आफूहरु माथितिरै उक्लिएकोमा उनको गुनासो छ ।
उनका अनुसार २०२६ सालमा नै मिक्लाजुङमा पुस्ताकालय स्थापना भएको हो । २०२७ सालमा नै ‘चुलाचुली’ साहित्यिक पत्रिका प्रकाशन आरम्भ भएको थियो । त्यसपछि सुस्ताएको मिक्लाजुङको साहित्य ७०को दशक मध्यतिर देखि मात्र ब्युँझिन थालेको छ ।
बीसकै दशकलाई पछ्याउने हो भने यतिबेला मिक्लाजुङ साहित्यकै हब नै बनिसक्नुपर्ने थियो, तर बनेन उनलाई यसैमा अझ दुःख लाग्छ । जसरी नै साहित्यको जमात खोज्न उनी टाढा पुग्नुपर्यो त्यसरी नै नयाँ पुस्ता भौतारिनु नपरोस् भन्ने उनको ध्येय छ ।
उनलाई कविता लेख्न र दुई शब्द बोल्न सिकाएको मिक्लाजुङकै डाँडापाखा, वनजङ्गल र माटोले नै हो । त्यहाँको माटोलाई मेरो होइन भनेर छोडेर जाने आँट उनीसँग छैन । यसो भनिरहँदा उनी जीन्दगीका उकालो बाटाहरु पनि देख्छन् ।
आफ्नै आँखा अगाडि फुल्नै लागेका फूलका कोपिला जस्ता दुई छोरीहरु देख्छन् र उनीहरुको भविष्यको चिन्तामा ध्यानमग्न हुन्छन् । अभावको बाटो टार्नलाई विदेशिएकी आफ्नै अर्धागिङ्गिनी भूमिकालाई सम्झन्छन् र उमेरमा ७१ वसन्त पार गर्दै गरेकी आमाका सपनाहरु नियाल्छन् ।
त्यसो त उनले विदेशिने प्रयास नगरेका पनि होइनन् । तीन पटकसम्म पनि उनको स्वास्थ्यले साथ दिएन । मेडिकल फेल भनेर रिपोर्ट दोहोरी रहेपछि श्रीमती भूमिका नै विदेशिन अघि सरिन् ।
उनलाई कहिलेकाहीँ लाग्छ, स्वास्थ्यले पनि मिक्लाजुङको सिर्जना नै गर भनेर आदेश नै दियो । अहिले उनी आमा र बुवा दुवैको जिम्मेवारी बोकेर दुई छोरीहरु हुकाइरहेका छन् । तर आमाको ममता र स्थान कसैले लिन सक्दैन भन्ने उनलाई लाग्छ ।
घरमा खाना ढिला हुँदा नानीहरुको पढाइ रोक्किदा, नानीहरुलाई गाह्रोसारो पर्दा उनी श्रीमतीको अभाव सम्झिन्छन् । यसमा उनले आमा हुनुको महिमा र आमाले ओगट्ने स्थान महसूस गर्ने अवसर पाएका छन्, जुन अनुभव विरलैले गर्न पाउँछन् ।यसैलाई उनी कवितामा उतार्छन्, जस्तो उनको कविता ‘परदेशी मायालुलाई ।’
यसैलाई कसैले नारी विरोधी भाव देख्छन् र आक्रोस समेत पोखेका छन् । विरोधी भावलाई उनी जवाफ फर्काउँछन्, ‘म त नारीलाई सम्मान गर्ने मान्छे, कसरी नारीको विरोधी हुन सक्छ ।’
अबका दिनमा निरन्तर अध्ययन र लेख्ने नै काम नै गर्छु भनेर उनले सोचेका छन् । उनलाई आख्यान र निबन्धमा पोखिने मन छ ।
फेरि आमालाई हेरेर सोँच्छन्, ‘म एउटा कवि भएको भन्दा अरबे भएको भए मेरो आमा खुसी हुन्थिन होलिन् । अरबबाट त पैसा र उपहार बेला–बेलामा आउँथ्यो होला ।’ आमाले बेला–बेलामा लेखेको हेरेर सोध्छिन्, ‘के लेखेको? यसबाट पछि पैसा आउँछ हो ?’
आमाले भनेजस्तै उनले पैसा हैन उनका कविताहरु र कविताका किताब हातमा राखिदिएका छन् । आमाको माइतीबाट आएका गरगहना घरको दुःख टाल्दाटाल्दै सकिए । अब ती गहनाका पुराना बिलहरु मात्र उनीसँग छन् ।
भन्छन्, ‘आमालाई गरगहना लगाउने ठूलो रहर छ । यो कविताको गरगहना बनाउन मिल्ने भए म आमालाई कविताकै बुलाकी र कविताकै शिरफूल लगाइदिन्थेँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया