काठमाडौँ– काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) भोलि बुधवारदेखि शुरु हुँदैछ ।
पाँच दिनसम्म चल्ने उक्त महोत्सवमा छनोटमा परेका २२ देशका ६० वटाभन्दा बढी फिल्म देखाइनेछ भने फिल्मबारे बहस, कथा लेखन लगायतका सेसन पनि राखिएको छ ।
आयोजक टिमका अनुसार काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा छनोटमा परेका फिल्म प्रदर्शन गरिनेछ । अन्य सेसन नेपाल पर्यटन बोर्डमा हुनेछन् ।
२१ औं संस्करणसम्म आइपुग्दा युवा पुस्तालाई यस क्षेत्रमा लाग्न प्रोत्साहन गर्नु महोत्सवको मुख्य लक्ष्य रहेको आयोजकले बताएको छ ।
यसैबीच किम्फको अहिलेसम्मको यात्रा, चुनौतीसँगै यसले हासिल गरेका उपलब्धि र महोत्सवलाई सफल पार्न भइरहेको तयारीकै सन्दर्भमा किम्फकी अध्यक्ष रम्यता लिम्बुसँग जोय नेपालका लागि सम्राज्ञी भण्डारीले गरेको कुराकानी:
काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को सुरुवाती चरण कस्तो थियो ?
दुई दशकअघि चलचित्र महोत्सव भनेको अमेरिका, अस्ट्रेलियातिर मात्र हुन्थ्यो । फिल्म फेस्टिभल कस्तो हुँदो रहेछ भनी म पनि विदेशमा भएको माउटेन्ट फेस्टिभलमा सहभागी भएकी थिएँ । त्यहाँ हिमाल चढ्ने, साहसिक कामबारे चलचित्र महोत्सव हुने रहेछ । त्यसपछि हामी हिमालको काखमा नै बसेर पनि किन त्यस्तो कार्यक्रम नगर्ने भन्नेबारे साथीभाइबीच छलफल भयो । हामीसँग यस्तो साहसिक कथाहरुको चाङ कत्ति छन् कत्ति । नेपालमा आएर हाम्रो टिमले पनि दुई, तीन वर्ष त्यस्तै खालको फिल्महरु देखाउन थाल्यौं ।
केही वर्षमै हामीले नेपाली दर्शकहरुलाई रुचि बुझेर नेपाली संस्कृति, गाउँ, ठाउँका कथालाई समेटियौं । यसपछि भने नेपाली दर्शक बढ्न थाले । पहिले किम्फमा चलचित्र महोत्सव गर्दा विदेशी दर्शक धेरै र नेपाली दर्शक कम हुन्थे ।
अहिले चाहिँ ठ्याक्कै उल्टो भएको छ । यस्तो हुनुको कारण विदेशीहरुमा चलचित्र महोत्सवमा सहभागि हुने तथा फिल्म हेर्ने बानी थियो, नेपालमा चलन थिएन । किम्फमा आउने एक खालको दर्शकहरु लेखक, समीक्षक, बौद्धिक व्यक्तित्वहरु अहिलेसम्म हामीसँग जोडिरहनुभएको छ ।
आजको दिनसम्म आइपुग्दा किम्फले के कस्तो चुनौती सामना गर्नुप¥यो ?
सबैभन्दा मुख्य समस्या भनेकै पैसाको कमी हो । हरेक महोत्सवमा पैसा खोज्नुपर्ने हुन्छ । कला, संस्कृतिमा हाम्रो त्यति लगाव छैन । यो पनि चाहिन्छ यसलाई पनि सर्पोट गर्नुपर्छ भन्ने भाव कुनै पनि व्यक्ति तथा संस्थामा खासै पाइँदैन ।
किम्फ मात्र नभएर कलासँग जोडिएको हरेक क्षेत्रमा आर्थिक स्रोत, मानव स्रोतको जहिले कमि देखिन्छ यसमा लगानी गरेर के नै हुन्छ र भन्ने मानिसको सोचलाई बुझाउन नै समय लाग्ने गरेको छ । जो यस क्षेत्रमा लाग्यो उसैले सबै काम गर्छ भन्ने धारणा छ । यसरी हाम्रो सोचलाई विकास गर्नुपर्ने देखिन्छ ।
किम्फमा सहभागी हुने विदेशी र नेपाली फिल्म मेकरले र एक–अर्काको चलचित्रबाट के सिकिरहेका छन् ?
यसमा सबैभन्दा ठूलो कुरा एक्सपोजर, कोर्डिनेसन भएको छ । विदेशमा कस्तो फिल्महरु बनिराखेका छन्, ग्लोबल ट्रेण्ड कस्तो छ भन्ने बुझ्न नेपाली फिल्म मेकरलाई सहज भएको छ । बीस वर्षअघि अनलाइनको सुविधा थिएन, स्मार्ट फोन थिएन । एकै ठाउँमा बसेर चलचित्र हेर्नुपर्ने अवस्था थियो ।
अहिले दर्शकमाझ फिल्मको पहुँच सहज छ । यो महोत्सव भनेको सबै जनालाई एकै ठाउँमा जुटाउने प्लेटफर्म हो । यहाँ स्वदेश तथा विदेशको फिल्म मेकरले आफ्नो कुरा पस्कने पाउने, एक अर्काबीच संवाद गर्ने मौका पाउँछन् । जसमा फिल्मका कथावस्तु, आइडिया, सोच, तरिका, नयाँ प्रविधिबारे थाहा पाउँछन् । चलचित्र महोत्सव भनेको एउटा बजार पनि हो । विदेशमा महोत्सवमा प्रर्दशन भएको चलचित्र मन पर्यो भने किन्ने पनि गर्छन् ।
कुनै कम्पनीले चलचित्र किन्ने तथा केही सपोर्ट गर्छु भन्ने खालको हौसला प्रदान गर्छन् । यसरी फिल्म मेकरलाई हौसाल प्रदान गर्ने वातावरण यस खालको फेस्टिभलले गर्छ । यसमा अझ विचार आदानप्रदान पनि हुन्छ ।
नेपाली मौलिकता, हाम्रो आवाज के हो भन्ने कुरा आएका छन् । भारतीय सिनेमा कपी गरेरै फिल्म बनाइराख्ने हो कि, हलिउडले बनाएको फिल्म राम्रो छ वा उनीहरुकै नक्कल गरेर फिल्म बनाउने हो कि भन्ने समेत चर्चा भएका छन् ।
किम्फको आवश्यकता ठ्याक्कै कहाँनिर छ ?
हाम्रो आफ्नो नेपाली सिनेमा चाहिँ के हो त भन्ने प्रश्न सिर्जना गर्ने प्लेटफर्म हो किम्फ । हाम्रो कथा, स्टाइल के हो त भन्ने एक्पोजरका लागि पनि चलचित्र महोत्सव गर्न आवश्यक छ । यो नेपाली युवाहरुले कस्तो कथा भन्ने, उनीहरुको आवाज उठाउने ठाउँ पनि हो । नेपालमा धेरै कथावस्तु छन् । जुन साउथ एसियाकै धेरै हो ।
त्यो कुरा विदेशीहरु नेपाल आएर भन्न खोज्छन् । उनीहरुले नेपालको बारेमा बुझेर भन्न खोजेको एक खालको हुन्छ । यसको मतलब उनीहरुलाई नराम्रो भन्ने खोजेको होइन । तर नेपालीले नै आफ्नो आवाजलाई पस्कनु भनेको अवश्य नै केहि फरक हुन्छ ।
त्यो आवाज चाँहि कसरी अगाडि ल्याउने भन्नको लागि पनि चलचित्र महोत्सव एउटा महत्वपूर्ण पाटो हो । यसरी महोत्सवले आफ्नो कार्यक्षमतामा विकास गर्ने, कथा लेखनमा सहयोग गर्ने, टेक्निकल पाटो वृद्घि गर्न, सिकाउन, जान्न पनि महोत्सव आवश्यक छ ।
जहाँ चलचित्र सम्बन्धि समीक्षक, आलोचक, दर्शकको प्रतिक्रिया पाइन्छ । यसरी हेर्दा नेपाली फिल्मलाई अगाडिको बाटो देखाउने काम यसले गर्छ ।
सरकारबाट कस्तो साथ पाएर किम्फलाई अगाडि लैजान पाए हुन्थ्यो जस्तो लाग्छ ?
नेपाल सरकारले चलचित्र क्षेत्रलाई केही पनि नगरेको भन्ने होइन गरिरहनु भएको छ । किम्फलाई मात्र होइन अन्य सांस्कृतिक संस्थालाई अगाडि बढाउन पनि सरकारको ठूलो हात हुन्छ । पछिल्लो समय कोरियन फिल्मले विश्वमै एक खालको छाप छाड्दै लोकप्रियता कमाउन थालेका छन् । यसमा कोरियन फिल्म मेकरले एक्लै कोरियन फिल्म बनाएर मात्र होइन ।
उनीहरुको सरकारले नै एक किसिमको ठाउँ, पैसा, स्टुडियो उपलब्ध गराएको छ । महोत्सव नै आयोजना गरेर कोरियन सिनेमा बाहिर लैजाने र बाहिरको सिनेमा कोरियामा भित्र्याउने गरेका छन् ।
अहिले विश्वमा कोरियन सिनेमाको भिन्दै पहिचान बनिसकेको छ । यस्तै गरी इरानी फिल्मले पनि भिन्नै किसिमको पहिचान बनाएको छ । सरकारको एक किसिमको सहयोगले नै उनीहरुको त्यस्तो पहिचान भएको हो । जसमा सरकारले कुनै बेला राजस्व घटाइदिनु, तालिम प्रदान गर्नु, ठूला–ठूला महोत्सवमा सहयोग गर्नु पनि प्रमुख कारणहरु हुन् । हामी एक्लैले मात्र त किम्फ अगाडि लैजान कठिन छ । यसमा नेपाल सरकारको सहयोग चाहिन्छ ।
यसैमा हामीले काठमाडौँ नगरपालिकासँग सहकार्य गरेका छौं । संघीय सरकार, प्रदेश सरकारसँग मिलेर काम गर्ने प्रयासमा छौं । नेपाली चलचित्रलाई काठमाडौं मात्र हब नबनाएर बाहिर जिल्लामा पनि यस्तो चलचित्र महोत्वस लैजान सकिन्छ ।
यहाँको अनुभवमा नेपली फिल्म मेकर के कुरामा चुकेका छौं ? जसले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा थोरै सहभागिता रहने गरेको छ ?
सबैभन्दा पहिले कुरा हाम्रो फिल्मको कथावस्तु राम्रो हुन पर्यो । कथावस्तु राम्रो भन्दा पनि अन्तर्राष्ट्रिय फिल्मको कथावस्तुसँग प्रतिस्पर्धा गर्न सक्ने खालको हुनुपर्छ । दुई/चार वटा नेपाली फिल्महरु यस्ता महोत्सवमा गएका छन् । बीस वर्ष अगाडि यो प्रचलन थिएन ।
अहिले अन्तर्राष्ट्रिय क्षेत्रका ठूला प्लेटफर्ममा नेपाली फिल्म मेकरले सहभागिता जनाएका छन् । ती फिल्म मेकरहरुले शुरुवाती चरणमा किम्फबाटै आफ्नो करियर डेब्यु गर्नुभएको थियो ।
सन् २०२३ मा किम्फ प्रर्दशनमा हुन सकेन । प्रदर्शन हुन नसक्नुको कारण के हो ?
गैरसरकारी संस्थाबाट लामो सम्म किम्फ सञ्चालनमा आयो । हिमालयन एशोसियनबाट आयोजना हुँदै आएको किम्फ यो वर्ष भने निजी संस्था किम्फ फाउन्डेशनमा दर्ता भयो । तर, किम्फको भविष्य के हो, कसरी यसलाई चलाउने, संधै पैसा जुटाएर जसोतसो गरेर चलाउन तिर मात्रै लाग्ने कि यसलाई स्थायी तरिकाले लैजाने भन्ने बारे छलफल भयो । मैले मात्र चलाउने कि नयाँ पुस्तालाई हस्तान्तरण गर्ने हो कि भन्ने समेत भयो । यसलाई निरन्तर लैजान के गर्न सकिन्छ भन्नेबारे आफूहरुबीच नै गृहकार्य गर्न समय लिएका हौं । भविष्यमा किम्फका लागि हामीले के गर्ने त भन्ने प्रश्न गर्दै योजना बनाउन हामीले अघिल्लो वर्ष समय लिएका हौं ।
अहिले कस्तो अवधारणा ल्याउनुभयो त ?
आफूलाई रोक्न र नियाल्ने एउटा कुरा त समय चाहिन्छ । म दुई वर्षदेखि नै यसमा भोलेन्टरका रुपमा काम गरिरहेकी छु । एउटा जिम्मा लिइसकेपछि यसलाई आफूले सकेजति गर्नु मेरो जिम्मेवारी हो । तर भविष्यमा पनि म नै यहाँ रहिरहन्छु भन्ने हुँदैन ।
मेरा समकालीन साथीहरु पनि रहिरहन्छन् भन्ने पनि हुँदैन । यसर्थ भविष्यमा यो जिम्मा कसलाई थमाउने भन्ने कुरा पनि आउँछ । युवापुस्तामा कसरी यो जिम्मा दिन सकिन्छ भन्ने छलफल पनि भयो । यिनै कुराहरुको निचोडपछि हामी यस वर्ष किम्फ आयोजना गर्न जुटेका हौं । किम्फमा नाफा हुने भन्ने त खासै हुँदैन । यदि कमाइ भएको खण्डमा उक्त रकम यस संस्थालाई मजबुद बनाउन प्रयोग गर्ने भन्ने धारणा राखेका छौं ।
किम्फमा आएका अथवा आउन चाहने युवा फिल्ममेकरलाई कसरी आकर्षित गरिरहनुभएको छ ?
हामीले अलि फरक तरिकाले काम गर्न खोजिरहेका छौं । किम्फमा सहभागी हुने युवाको उमेर ३० वर्षमुनि रहेको छ । यस वर्ष किम्फमा ३० वटा फिल्म आएका छन् । हामीले नेपाली युवाहरुबाट तीन वटा फिल्म छानेका छौं । जसमा हामीले उनीहरुलाई मेन्टरिङ गछौं । उनीहरुले के बनाइरहेका छन् त्यसलाई निखार्ने काम हामीले गर्यौं । उनीहरुको कामलाई प्रतिक्रिया दिने र कुनै पोष्ट प्रडक्टसनसँग जोड्न सहयोग गर्ने काम गर्छौं ।
किम्फमा सजह तरिकाले दर्शक जोडिने वातावरणलाई कसरी मिलाउनु भएको छ ?
खासमा सभागृह फिल्म हल होइन । यसमा हामीले फिल्म देखाउन धेरै काम गर्नुपर्छ । धेरै खर्च गरेर स्क्रिनिइङ र साउण्ड तयार गर्नुपर्छ । हामीले किम्फलाई मल्टिप्लेक्स आयोजना गर्न बजेटको समस्या छ । यसरी सबैजनाको सहज पहुँच होस् भनेर हामीले राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा फिल्म देखाउन लागेका हौं । यो पनि फिल्म हल नभएको कारण हामीले यसमा पनि निकै काम गर्नुपर्छ । एउटा फिल्म मेकरलाई आफ्नो फिल्म राम्रो साउन्ड अनि दृश्यमा देखाइदियोस् भन्ने हुन्छ । यसरी कतिपय कुरामा नचाहँदा नचाहँदै पनि हामीले स्वीकार गर्नुपर्दो रहेछ ।
अहिले नेपालमाा सिङ्गल थिएटर नहुँदा किम्फमा फिल्म प्रर्दशन गर्न कत्तिको गाह्रो भएको छ ?
काठमाडौं एउटा राजधानी भएर पनि यहाँ सबै कुराको सुविधा छैन । यसले गर्दा थिएटरको लागि बनाएको फिल्म अन्य ठाउँमा देखाउने बित्तिकै गुणस्तरमा फरक त पर्छ । यसरी राजधानीमा सहज र सुपथ मूल्यमा यस्तो थिएटर नहुँदा हामीले बाध्य भएर बाहिर फिल्म देखाउनुपरेको छ । यसरी फिल्मको क्वालिटीमा कमी हुँदा दर्शकलाई चित्त नबुझ्न पनि सकिन्छ । उनीहरुलाई थिएटरमा नै गएर फिल्म हेर्ने इच्छा लाग्न सक्छ । हामीले यसबारे पनि सोच्नुपर्छ ।
अहिले भिजिनल टेक्नोलोजी, आइटीले गर्दा भीसीपी मार्फत फिल्म देखाउने इच्छा राख्छन् । कतिपय फिल्म मेकर कोड बिना फिल्म दिन मान्दैनन् । किनकि उहाँहरुलाई आफ्नो फिल्म चोरी हुने डर हुन्छ । यस्तो डर मान्नु स्वभाविक पनि हो । यसमा हामीले सतर्कता अपनाउने कोसिस गरेका छौं ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया