मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्व

अमेरिकी इन्जिनियर टिम कुक, जसले डुब्न लागेको कम्पनी ‘एप्पल’लाई जोगाए

काठमाडौँ– अमेरिकी इन्जिनियर टिम कुक सन् २०११ देखि बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलको प्रमुख कार्यकारी अधिकृत छन् । उनले एप्पललाई विश्वकै लोकप्रिय कम्पनी बनाउन अग्रणी भूमिका खेलेका छन् ।

कुकले अमेरिकाकै अबर्न विश्वविद्यालयवाट इन्ड्रस्टियल इन्जिनियरिङमा स्नातक तथा ड्युक विश्वविद्यालयबाट एमबीए गरेका थिए ।

एप्पलका सीईओ हुनुअघि उनले अमेरिकी बहुराष्ट्रिय टेक्नोलोजी कम्पनी ‘इन्टरनेशनल बिजनेस मेशिन कर्पोरेशन’मा कार्यकारी भूमका नै निर्वाह गरे ।

सन् २०११ को अगष्टमा एप्पलका तत्कालीन कार्यकारी प्रमुख स्टिभ जब्सको निधनपछि कुकले एप्पलको कार्यकारी पद सम्हाले । जब्सले निकै लोकप्रिय बनाएको एप्पल कम्पनीलाई टिमले पनि निरन्तरता दिए ।

सन् १९६० नोभेम्बर १ मा अमेरिकाको अलाबामा जन्मेका, कुकले कम्प्युटर प्रविधिको क्षेत्रमा आइबीएममा काम गर्न शुरु गरे । आईबीएममा १२ वर्ष काम गरेपछि कुकले सन् १९९४ मा इन्टेलिजेन्ट इलेक्ट्रोनिक्सको रिसेलर डिभिजनको प्रमुख अपरेटिङ अफिसरका रुपमा काम गरे ।

त्यसको तीन वर्षपछि, उनले ६ महिनाको लागि कम्प्याक कम्प्यूटर कर्पोरेटमा उपाध्यक्षको जिम्मेवारी सम्हाले । त्यसपछि भने उनले एप्पलको यात्रा शुरु गरेका हुन् ।

एप्पलमा काम गर्न शुरु गरेको केही समयपछि कुकले सन् २०१० मा एक सार्वजनिक कार्यक्रममा बोल्दै आफ्नो जीवनको महत्वपूर्ण खोज नै एप्पलमा काम गर्ने निर्णयको परिणाम भएको बताएका थिए ।

तर, यो निर्णय त्यति सजिलो नभएको पनि उनले बताएको अङ्ग्रेजी पत्रिका बायोग्राफी डट कमले उल्लेख गरेको छ ।

सन् १९९८ को शुरुवातमै कुकले एप्पलका लागि काम गर्न शुरु गर्नुभन्दा पहिले नै कम्पनीले आइम्याक, आइप्याड तथा आइफोन तथा आइपोडको समेत उत्पादन शुरु गरिसकेका थिए । त्यतिबेला कम्पनीले आफ्ना उत्पादनहरुबाट सोचेअनुरुपको सफलता भने प्राप्त गर्न सकिरहेको थिएन ।

कम्पनीको अन्धकारमय भविष्य देखेका कुकले एप्पलमा जागीर गर्न अस्वीकारसमेत गरेका थिए ।

उनले अबर्न विश्वविद्यालयको एक दीक्षान्त समारोहमा बोल्दै एप्पल कम्पनीले म्याक बनाएपछि त्यसको विक्रीका लागि ठूलो सङ्घर्ष गनुपरेको खुलासा गरेका थिए ।

बायोग्राफी डट कमले उल्लेख गरेअनुसार यसै कारणले त्यो समयमा एप्पल कम्पनी डुब्ने बाटोमा गइरहेको कुरा पनि कुकले दाबी गरेका थिए ।

एप्पलमा काम गर्न शुरु गर्नुभन्दा पहिले नै डेल कम्प्युटरको संस्थापक तथा सीईओ माइकल डेलले कुकलाई सार्वजनिक रुपमै एप्पललाई माथि उठाउनका लागि के गर्नुहुन्छ भनेर प्रश्न गरेका थिए ।

यसको जवाफमा कुकले कम्पनी बन्द गरेर शेयरधनीको पैसा फिर्ता गर्नुपर्ने बताएका थिए । तर, जब कुक उपाध्यक्षका रुपमा एप्पलको बोर्डमा आए सबै कुरामा परिवर्तन देखिन थाल्यो ।

एक बिलियन डलर बराबरको घाटामा चलिरहेको कम्पनीको बोर्डमा कुक गएको एक वर्षमै कम्पनी नाफामा गएको रिपोर्ट सार्वजनिक भयो । जसलाई उनी आफैंले असाधारण परिवर्तनको रुपमा हेरेको बताउँछन् ।

त्यसपछि कुकले कार्यकारी उपाध्यक्ष हुँदै प्रमुखको जिम्मेवारी समेत निभाए । उनले विक्रेता तथा आपूर्तिकर्ता सम्बन्धहरूको निरन्तर विकास गरिरहे । साथसाथै विश्वव्यापी बिक्री र सञ्चालनहरू व्यवस्थापन गर्ने जिम्मेवारी पनि लिए ।

यसपछि सन् २०११ को अक्टोवरमा एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ)  तथा सह–संस्थापक स्टिभ जब्सको क्यान्सरका कारण निधन भएपछि उनी कम्पनीको सीईओ नियुक्त भए भने कम्पनीको निर्देशक मण्डलमा पनि उपस्थिति जनाए ।

यसपछि कुकले सन् २०१४ को मे मा बिट्स म्युजिक र बिट्स इलेक्ट्रोनिक्स नामक २ वटा कम्पनीलाई करीब ३ बिलियन डलरमा एप्पलमा मर्ज गरिरहेको घोषणा गरे ।

यसपछि सन् २०१४ मा विश्वव्यापी डेभलपर सम्मेलनमा कुकले डेस्कटप तथा मोबाइलको लागि एप्पल अपरेटिङ सिस्टमको नयाँ संस्करण ओएस एक्स एसिमाइट को घोषणा गरे । सोही वर्ष सेप्टेम्बरमा कुकले ‘आइफोन ६’, र ‘आइफोन ६ प्लस’ सार्वजनिक गरे ।

दुवै फोनको स्क्रिन बढाइयो भने ‘एप्पल पे’ र ‘बर्स्ट सेल्फी’ जस्ता नयाँ सुविधाहरु समेत ती फोनमा थपियो ।

यस्तौ टिम कुकले आफ्नो कार्यकालमा एप्पलको नयाँ उत्पादन तथा लगाएर मात्रै स्वास्थ्यसम्बन्धी जानकारी दिने उपकरण ‘एप्पल वाच’ बनाउने योजना ल्याए । जुन सन् २०१५ मा सफल भयो । यसपछि कुकले क्लिप नामक एउटा नयाँ एप बनाउनमा ध्यान केन्द्रित गरे ।

यो एपद्वारा एप्पल प्रयोगकर्ताहरुलाई छोटो भिडियोहरु बनाउन सहज भयो । यसपछि सन् २०१७ मा एप्पलको अर्को उत्पादन आईफोन एक्स सार्वजनिक गरियो । जसमा पहिलो पटक फेस रिकग्नेशन (अनुहार चिन्न सक्ने) प्रविधिको प्रयोग गरियो ।

यो प्रविधिका कारण एप्पलले विश्वभरि नै थप चर्चा बटुल्यो । यसका साथै कम्पनीले ‘एप्पल न्युज एप’ सार्वजनिक गर्‍यो ।

एप्पलको कर विवाद

यसैबीच कुकले देशबाहिर कर छल्ने गरेको भन्ने गम्भीर आरोपहरुको पनि सामना गर्नुपर्‍यो । यस्तै सन् २०१३ को सिनेट सुनुवाइमा कुकले एप्पल सरकारको सबैभन्दा ठूलो करदाताको रुपमा रहेको बताउँदै कम्पनीले कुनैपनि अमेरिकी कर कानूनहरु नतोडेको बयान दिए ।

तर, सन् २०१७ को नोभेम्वरमा विश्वका करीब एक सय सञ्चार माध्यम मिलेर सार्वजनिक गरेको ‘प्याराडाइज पेपर्स’ अर्थात् देशबाहिर कर छल्ने हिसाबले स्थापना गरिएका कम्पनीहरूका फाइल बाहिर आएपछि करका बारेमा एप्पलले गरेको अभ्यासमा पनि ठूलो खुलासा भयो ।

त्यसपछि, युरोपियन युनियनले एप्पललाई तिर्न बाकी रहेको करीब १४.५ बिलियन डलर कर तिर्न आदेश समेत गरेको थियो ।

प्याराडाइज पेपर्स बाहिर आएपछि, एप्पलले विश्वकै सबैभन्दा ठूलो करदाताको रुपमा, बक्यौता रहेको सबै देशको कर भुक्तान गर्ने आफ्नो जिम्मेवारी भएको स्वीकार गर्‍यो ।

सन् २०१७ अन्तिमतिर आइपुगेपछि पनि कम्पनीले धेरै मुद्दाहरुको सामना गर्नुपरेको बायोग्राफी डटकमले उल्लेख गरेको छ । जसमा आइफोनको ब्याट्रीका विषयमा समेत कुरा उठाइएको थियो ।

कुकको व्यक्तिगत जीवन तथा विश्व प्रभाव

सन् २०११ को नोभेम्वरमा अमेरिकी पत्रिका फोर्ब्सले विश्वका सबैभन्दा शक्तिशाली व्यक्तिको सूचीमा कुकको नाम पनि राख्यो ।

यस्तै सन् २०१२ को अप्रिलमा द न्यूयोर्क टाइम्समा प्रकाशित एक लेखमा तत्कालीन समयको सार्वजनिक रुपमा कारोबार गर्ने ठूलो कम्पनीमा सबैभन्दा बढी पारिश्रमिक लिने सीईओका रुपमा कुकको नाम उल्लेख गरिएको थियो ।

त्यसबेला उनको पारिश्रमिक ‌मासिक ९ लाख डलरको हाराहारीमा थियो । बायोग्राफी डटकमका अनुसार उनले सन् २०१५ मा आफ्ना भतिजको कलेज शिक्षा पूरा भएपछि बाँकी रहेको सबै सम्पत्ति परोपकारी योजनामा लगाउने निर्णय गरे ।

अगस्त २०१८ मा एप्पल झण्डै एक हजार बिलियन डलर बराबरको सम्पत्ति भएको कम्पनीको रुपमा चिनियो । सन् २०१८ को प्रारम्भमा, एप्पलले अमेरिकी अर्थतन्त्रमा ३ सय ५० बिलियन डलर लगानी गर्दै अर्को ५ वर्षमा २० हजार नयाँ रोजगारी सिर्जना थप्ने लक्ष्य राखेको थियो ।

जुन लक्ष्य प्राप्त गर्नका लागि कम्पनीले २०१८ मा करीब ५५ बिलियन डलर नवीकरणीय ऊर्जामा लगानी गर्‍यो ।

यसपछि मार्च २०२० मा, विश्वव्यापी रुपमा कोरोना भाइरसको प्रकोप बढेपछि कुकले विश्वव्यापी राहत कार्यमा १५ मिलियन अमेरिकी डलर खर्च गर्ने घोषणा गरे ।

सन् २०१४ अक्टोबरमा कुकले ब्लूमबर्ग बिजनेस विकमा प्रकाशित एक लेखमा आफू समलिङ्गी भएको पनि खुलासा गरे । उक्त लेखमा उनले समलिङ्गी हुनुमा गर्व गर्ने उल्लेख गरेका थिए । 

एप्पलको सीईओ समलिङ्गी हो भनेर आफ्नो नाम आउँदा सङ्घर्ष गरिरहेको कसैलाई मद्दत गर्न सक्ने उनको बुझाइ छ । कुकले लैङ्गिक समानतामा जोड दिनकै लागि भएपनि आफ्नो गोपनीयता त्याग्नुपर्ने  बताएका थिए ।

सन् १९७६ मा स्थापित भएको अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पल विभिन्न चरणहरु पार गर्दै अहिलेको अवस्थामा आएको छ ।

कम्पनीका उत्पादनहरु मध्ये, म्याक ल्यापटप, आइप्याड र आइफोन युवाहरु माझ धेरै लोकप्रिय छन् । एप्पलले हार्डवेयर मात्र नभई सफ्टवेयर समेत निर्माण गर्दै आएको छ ।

केही वर्षअघि एप्पलले सार्वजनिक गरेको एप्पल भिजन प्रोले पनि व्यापक चर्चा कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?