मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म बहस

‘दयाहाङलाई दर्शकले आलोचना गरेका छैनन्, बरु उनीमाथि राजनीति भइरहेको छ’

काठमाडौँ– नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’को ट्रेलर हालै सार्वजनिक भयो । आगामी जेठ २५ बाट प्रदर्शनमा आउन लागेको उक्त फिल्मलाई दर्शकले लामो समयदेखि प्रतीक्षा गरिरहेका छन् ।

फिल्मले गोटेन्बर्ग, बुसान, टोरन्टो, बेइजिङ जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुबाट चर्चा कमाएर घरेलु बजारको यात्रासम्म आइपुगेको छ । अर्कातिर नेपाली फिल्म क्षेत्रमा निर्देशक सुब्बा र उनको मौलिक शैलीको विरासत पर्यायवाचीकै रुपमा स्थापित छ ।

नविन सुब्बा, जो सङ्ख्यात्मक होइन गुणात्मक सिनेमा निर्माण गर्नमा खप्पिस छन् । उनको फिल्म ‘नुमाफुङ’ लाई नेपाली सिनेमालाई मौलिक फिल्ममा उच्च स्थानमा राखिन्छ ।

 ‘नुमाफुङ’ कै जस्तो विरासत ‘गाउँ आएको बाटो’ ले बनाउला कि नबनाउला या घरेलु बजारमा यसले कस्तो छाप छोड्ला भन्नेमा सुब्बालाई दबाब नै छ ।

त्यसो त घरेलु दर्शकसँगै विश्व सिनेमाका दर्शकलाई समेत जोड्ने प्रयत्नमा उनी सधैँ छन् ।

वि.सं.२०५२ सालमा सिनेमा ‘खाङ्ग्री’ लिएर अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पहिलोपटक उपस्थिति जनाउँदा खुशी साटेका फिल्मकर्मीहरुले त्यसको सिको गर्नुपर्छ भनिरहँदा उनका लागि गर्वकै कुरा हो ।

पछिल्लो फिल्म ‘गाउँ आएको बाटो’ले पनि राम्रै छाप छोड्ला भन्ने आशामा छन्, सुब्बा ।

उनका अनुसार फिल्मले गाउँमा बाटो आएपछिका उत्तारचढावहरुलाई प्रस्तुत गरेको छ । बाटोलाई हामी विकासको आधारका रुपमा लिन्छौं । र, पनि सडक, बिजुली जस्ता विकासका पूर्वाधारहरु आएपछि गाउँ रित्तो हुँदै गएका छन् । गाउँमा अहिले इन्टरनेट र सूचना पुगेको छ ।

खासमा सुविधा भएपछि मान्छे गाउँमै बस्नुपर्ने हो तर यस्तो भइरहेको छैन भन्ने प्रश्नको उत्तर दिने काम फिल्मले गरेको सुब्बा सुनाउँछन् । गाउँमा आएको बाटो लगायत विकासहरुले उत्पादनसँग जोड्ने काम गरेन ।

हिजो जसरी कृषि उत्पादनमा आत्मनिर्भर थियो, त्यो कुरामा अहिले ठ्याक्कै परिवर्तन भएको कुरालाई उनले उठान गर्ने जमर्को गरेका छन् । 

गाउँमा उही विकास पुग्दा एकजना बुवा अर्थात् माइला पात्र(दयाहाङ राई)लाई त्यो विकासले छोएको छैन । उसँग ज्ञान, सीप छ, र पनि उसलाई विकासले समेट्न सकिएको छैन । फिल्मको कथानक यसै वरिपरि घुमेको छ ।

उनका अनुसार सडकको सुविधा उसले पनि अनुभव र उपभोग गर्छ । तर त्यसको मात्रा फरकपना कति छ र गाउँमा बाटो आइपुग्दा उसको दैनिकी जीवनमा कस्तो प्रभाव छोडेर गएको छ भन्ने कुराहरु फिल्ममा चित्रण छन् । फिल्मले गाउँमा बाटो आएपछि पारेको सकारात्मक र नकारात्मक दुवै दृष्टिकोणहरु समेटेको उनको दाबी छ ।

‘अझै भौगोलिक विकटताका कारण नेपालका कतिपय ठाउँमा गाडी पुगेको छैन । सडक सञ्जाल त्यहाँका मानिसको सपना छ । त्यस्ता भूगोललाई चाहिँ फिल्मले कस्तो सन्देश दिन्छ?’

यो प्रश्नमा हाम्रो विकासको जुन सोच छ, त्यसमा केही समस्या नै छ कि भन्ने उनलाई लाग्छ । ‘सडक सुविधा पुग्नु विकास हुनु आफैंमा नराम्रो होइन,’ उनी भन्छन्, ‘विकास निर्माण र नेताहरुको पोलिसी मेङिकमै तालमेल छैन । विकासको आउँदा त्यो सँगै अरु केके आउँछन् र फेरि हाम्रोबाट केके जान्छन् त भन्ने कुरामा नै हाम्रोमा कुनै सोच र तयारी छैन ।’

विकासमा दुवै तयारी हुनुपर्छ भन्ने उनको मत छ । ‘पूर्वाधार चाहिन्छ र पुग्नुपर्छ तर त्यसको सही वितरण भएन भने त्यसले अझै बढी गरिबी निम्त्याउन सक्छ । अहिले भइरहेको त्यस्तै हो,’ उनी थप्छन् ।

उनको भनाइ जस्तै फिल्मको ट्रेलरमा देखाइएको माइला पात्रमा त्यसको झलक देखिन्छ ।

सडक आफैं चरित्रका रुपमा उनले फिल्ममा उभ्याएका छन् । त्यही चरित्र खोज्दै उनको समूह इलाम, ताप्लेजुङ, संखुवासभा, खोटाङ हुँदै भोजपुर पुग्यो । त्यहीको ग्रामीण परिवेश, राई संस्कृति र परम्परा अङ्गालेर चोयाबाट नै दैनिकी चलाइरहेका माइलाको परिवारको सङ्घर्ष फिल्ममा छ ।

फिल्ममा मुख्य अभिनेता दयाहाङ किन ?

दयाहाङ जसरी नेपाली फिल्ममा देखिए यो प्रवृत्ति अभिनेता राजेश हमालकै देखियो भनेर नवीन सुब्बाले कुनै समयमा आलोचना गरेका थिए । यद्यपि उक्त आलोचना सुब्बाले एउटा फिल्म समालोचकका रुपमा गरेको स्वीकार्छन् ।

‘दयाहाङको क्रेज र स्टारडमकै कारण गाउँ आएको बाटोमा लिड रोलमा उनी देखिएका हुन् त’ भन्ने जिज्ञासामा सुब्बाको प्रतिउत्तरमा भन्छन्, ‘यो फिल्मको स्क्रिप्ट लेख्दा दया स्टार भइसक्नुभएकै थिएन । मैले स्क्रिप्ट लेख्ने चरणमा उहाँ स्ट्रगल नै गरिरहनुभएको थियो ।’

उनका अनुसार लेखनकै क्रममा उनको आइडिया चाहिँ राई समुदायका कलाकारले नै खेल्नुपर्छ भन्ने थियो । पछि कलाकार छनोट गर्ने क्रममा दयाहाङको व्यस्तताले उनलाई खेलाउने कि नखेलाउने भन्ने द्विविधा थियो ।

नन एक्टर वा अरुलाई नै खेलाउने कि भन्ने पनि उनले सोचेका थिए ।

उनी भन्छन्, ‘फिल्म समीक्षकका रुपमा दयाको कामका बारेमा पनि म आलोचना गरिरहेको हुन्थेँ, त्यसैले मलाई उहाँलाई खेलाउन चुनौती पनि थियो । पछि प्रोडुसर र दया जी आफैंले इन्ट्रेस्ट देखाउनुभयो । उहाँको वजन र समय मिलाउने कुरामा भएपछि बल्ल फिल्ममा खेल्ने पक्का भएको हो ।’

दयाहाङले पनि यस फिल्मलाई आफ्नो अभिनय करिअरकै उच्च कोटीका फिल्महरुको सूचीमा राखेको कुरा थुपै अन्तर्वार्ताहरुमा भनेका छन् । जुन फिल्मले उनलाई आफू र अभिनय क्षमताबारे महसूस गर्ने अवसर दिएको उनले स्वीकारेका छन् ।

त्यसो त अन्तर्राष्ट्रिय स्तरसम्म पुगेका नेपालका उच्च कोटीका फिल्मकर्मी र समीक्षकहरुले समेत उनले फिल्ममा निर्वाह गरेको भूमिकाबारे चर्चा गरेका छन् ।

यस फिल्मबाट दयाहाङको अभिनयसँगै उनले निर्वाह गरिने चरित्रचित्रणबारे उनको सोचाइमा केही परिर्वतन आउला भन्ने सुब्बाको बुझाइ छ ।

सबैजसो फिल्ममा दयाहाङको अभिनय प्रवृति र प्रस्तुति दोहोरियो भन्ने आलोचना भइरहेको पछिल्लो समयमा उनी भने यसमा सहमत छैनन् ।

उनलाई लाग्छ दयाहाङले जति पनि फिल्महरु खेले । त्यसमा आफ्नै पृष्ठभूमिहरु छन् । उनले तामाङ, गुरुङ, मगरदेखि अहिले राईको चरित्र निभाइरहेका छन् ।

भन्छन्, ‘मलाई लाग्छ, दयाका दर्शकहरुले उहाँलाई त्यसरी आलोचना गर्दैनन् । कुनै कोणबाट उठिरहेको कुरालाई स्थापित गर्ने प्रयास भइरहेको छ । यसमा पनि कुनै राजनीति नै होला ।’

दयाहाङका पछिल्ला फिल्महरु रङ्गेली, डिग्री माइला, मनसरामा चरित्रहरु फरक छन् । ‘गाउँ आएको बाटोमा’मा पनि उनको चरित्र र पृष्ठभूमि प्रस्ट रहेको उनी सुनाउँछन् ।

‘यो रुकुमको वा तिमालको कथा हो कि भन्ने कुरा गाउँ आएको बाटोमा प्रस्ट छ । यसमा पनि फरक छुटाउन यदि कसैले सक्नुभएन भने यसमा उहाँहरुकै समस्या हुन्छ,’ उनी थप सुनाउँछन् ।

फिल्म ‘जारी’पछि दयाहाङका सिनेमाहरु बजारमा लगातार जस्तो रिलिज भए । आम दर्शकले दयाहाङको फिल्मबारे प्रश्न गर्नु र फिल्महरु एकैचोटी धेरै आउनु संयोग जस्तो भएको उनको ठम्याइँ छ ।

उनलाई के लाग्छ भने दयाहाङले पछिल्ला फिल्महरुमा चरित्रको पृष्ठभूमिसँगै पेशा पनि पाउन थालेका छन् । त्यही पेशाले उनको अभिनयमा भूमिका खेलेको छ ।

उनी भन्छन्, ‘दया आफैंले मलाई भन्नुभएको छ, दाई, चरित्रको पेशा हुने रहेछ । मैले अहिलेसम्म गरिरहेको चरित्रको चाहिँ पेशा डिफाइन नहुँदो रहेछ । मेरो समस्या चाहिँ त्यो रहेछ ।’

कुनै फिल्ममा कलाकारले चरित्र निभाउन त्यसमा पेशा स्पष्ट हुनुपर्ने उनको मान्यता छ । यसरी स्पष्ट भएमा कलाकारको शरीरको भाषा, सोच्ने र बोल्ने शैली फरक हुने उनको भनाइ छ ।

यही कुरालाई दयाहाङले पछिल्लो समय अनुभव गरेको उनले अनुभव गरेका छन् । कलाकारहरुले चरित्रको बोध गर्नु नै सबैभन्दा ठूलो उपब्धिका रुपमा उनी लिन्छन् ।

दयाहाङका सिनेमाहरु बजारमा लगातार आयो भन्दैमा उनलाई आलोचना गर्ने बजारलाई भने उनी ग्लोबल बजारको उदाहरण दिँदै प्रश्न गर्छन्, ‘फिलिपिन्समा सात दिनमा एउटा फिल्म चल्छ । त्यसमा कति एक्टर रिपिट हुन्छन् होलान् । इण्डियाकै कुरा गर्दा अक्षर कुमारको महिनामा एउटा फिल्म आउँछ । उसलाई फिल्म बढी भयो भन्ने त प्रश्न आइरहेको छैन । हामी कहाँ यो प्रश्न किन भइरहेको छ ?’

पछिल्लो समय आदिवासी मात्र नभएर सुदूरपश्चिम र मधेशका कथाहरु फिल्ममा अटाएका छन् । यसमा त्यही समुदायका कथा लेख्ने, भन्ने र खेल्ने समेत जनशक्ति तयार भएर आएका छन् ।

यसले गर्दा नेपाली सिनेमामा मौलिकतासँगै विविधता आएपछि फिल्मी उद्योगमा फैलावट आएको सुब्बाको ठहर छ । जतिबेला नेपाली सिनेमामा बलिउडका शैली र कथा कपि गर्ने दबदबा थियो, त्यतिबेला सुपरडुपर हिट भनिएका फिल्मको कमाइ चार÷पाँच करोड रुपैयाँको ग्रस कलेक्सन हुन्थ्यो । अहिले सामान्य फिल्मको कमाइ पनि सात÷आठ करोड रुपैयाँ पुग्छ । २४/२५ करोड रुपैयाँ ग्रस कलेक्सन हुनु अहिले सामान्य नै मानिन्छ ।

जब नेपाली सिनेमा मौलिकताको खोजी शुरु भयो तब बजार चार गुणा बढेर गएको उनी ठोकुवा गर्छन् ।

सिनेमामा दयाहाङहरु र उनकै अनुहार मिल्ने कथाहरुको वर्चश्व देखिएपछि नेपाली फिल्म पनि बलिउडका सिनेमाको प्रतिस्पर्धामा उत्रिरहेका छन् । तर अहिले केही जमात भने दयाहाङको नाममा यो दौडको गतिलाई पछाडि फर्काएर त्यही बलिउडकै कपि शैलीमा लैजाने प्रयासमा देखिएको उनको आशंका छ ।

सानो बजार भएको हाम्रोमा हिन्दी सिनेमासँग हाम्रा दर्शक बाँडिनुपर्ने अवस्था समस्याकै रुपमा रहेको उनी बताउँछन् । हाम्रोमा एक हजार वटा हलहरु हुने भने सुपर हिट भनिएका हिन्दी फिल्मसँग मज्जाले प्रतिस्पर्धा गर्न सक्छ भन्ने उनलाई लाग्छ ।

समग्र सिनेकर्मीहरुले हाम्रा नेपाली सिनेमा बचाउन हाम्रो सिनेमाहरु पनि कोरियन, इरानी, टर्किस किन हुन सक्दैन भन्ने सोच्नुपर्ने उनको राय छ । यसका लागि घरेलु मात्र नभएर ग्लोबल बजारको सपना देख्नुपर्ने उनी सुनाउँछन् ।

भाषाभाषिका फिल्महरुमा समेत यथेस्ट अभ्यास भएकाले अब कुनै समुदायमा मात्र केन्द्रित नभएर नेपालभर प्रदर्शन गर्ने हिसाबले जानुपर्छ भन्ने उनको भनाइ छ ।

ग्लोबल बजारमा चर्चा कमाएका केही फिल्मले दर्शकको साथ नपाएको गुनासो सुनिरहेको अहिलेको अवस्थामा यसमा दर्शकमाथि नै दोष थुपार्नु नहुने पनि उनको मत छ ।

उनको फिल्म पनि बजारमा आएपछि व्यावसायिक पाटोमा त प्रतिस्पर्धामा उत्रनैपर्छ । तथापि दर्शकको साथ पाउनु र नपाउनुमा दर्शककै विज्ञतामा तर्कवितर्क गर्नुहुन्न भन्ने उनको सोचाइ छ ।   

केन्द्रीय भूमिकामा पशुपति राई

सिनेमा अभिनेताको तुलनामा महिला अभिनेत्रीको अनुहार खोज्ने प्रवृत्ति देखिन्छ । अभिनेत्रीको अभिनय क्षमताभन्दा सौन्दर्यले बढी प्रश्रय पाउँछ ।

अझ बजारमा चलेका कुनचाहिँ स्टार लिएमा सिनेमा चल्छ भनेर पहिलो छनोट नै स्टारको हुन्छ । स्टारको डेट अनुसार बल्ल फिल्मको स्क्रिप्ट लेख्ने क्रम शुरु हुन्छ । यो विचारको भिडबाट एकदमै अलग रहेर सुब्बाले अभिनेत्रीको लिड रोलमै पशुपति राईलाई लिए ।

फिल्ममा चरित्रले पशुपतिलाई नै डिमाण्ड गरेको छ, भने अरु लिने कुरै नहुने उनी सुनाउँछन् ।

फिल्मलाई बलियो बनाउने हो भने पहिला स्क्रिप्ट लेखन काम सकाएर चरित्रहरुले कस्तो पात्रहरु खोजिरहेका छन् भन्ने कुरा टुङ्गो लगाएर मात्र कलाकार छनोटदेखि छायाङ्कन, सम्पादन, फिल्म प्रदर्शन मितिसम्ममा अन्य चरणहरुमा सिलसिलाबद्ध रुपमा जानुपर्ने भन्ने उनलाई लाग्छ ।

उनको फिल्मले घरेलु बजारमा कस्तो प्रभाव छोड्ला, त्यो भोलिको समयले निर्धारण गर्नेछ । तर फिल्ममा भाषा, प्रप्स, कस्ट्युम, कास्टिक, अभिनय, प्रविधि जस्ता विविध पक्षमा जोडिएका सबैले नेपाली सिनेमा क्षेत्रमा भोलिका दिनहरुमा केही न केही नयाँ बाटो बनाउनला भन्ने उनको दृढ विश्वास छ ।

हिजोको दिनमा कलाकार सुटिङ गर्ने सेटमा पुग्दा समेत स्क्रिप्ट कलाकारको हातमा नपुग्ने अवस्थालाई समेत उनले नजिकबाट नियालेका छन् ।

आज उनी जस्ता फिल्मीकर्मीहरुकै प्रयासले सिनेमा स्क्रिप्ट, पात्र, चरित्र, कार्यशाला जस्ता विषयहरु प्राथमिकतामा परेका छन् । यसरी नेपाली सिनेमाको बाटो अगाडि बढ्दै फराकिलो जानुमा उनी जस्ता फिल्मकर्मीको देन छ भन्ने श्रेय उनको भागमा छ ।

यही श्रेयलाई बोक्ने गरी नेपाली फिल्मलाई अगाडि लैजाने युवाहरु अगाडि आइरहेको उनले देखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?