काठमाडौँ– यतिबेला कवि भूपिन खड्का लगायत भरतपुर प्रज्ञा प्रतिष्ठान, भरतपुर महानगरपालिका ‘राष्ट्रिय पर्या कविता प्रतियोगिता’को चटारोमा छन् ।
‘भरतपुर महानगरपालिका घुमौँ’ भन्ने भरतपुर अभियान अन्तर्गत पर्या कविता प्रतियोगिता हुँदैछ ।
कविताकै माध्यमबाट प्रकृति, पर्यावरणको संरक्षण चेतना र भरतपुरको पर्यटन क्षेत्रलाई समेत माथि उठाउने ध्येय लिएर प्रतिष्ठानले पर्या कविता प्रतियोगिताका लागि देशभरीबाट कविहरुलाई कविता पठाउन आह्वान गरेको छ ।
कविता पठाउन जेठ ११ गतेसम्म मात्र समयसीमा तोकिएकाले अहिले पनि पर्यावरणकै विषयमा लेखिएका सिर्जनाहरु आइरहेको कार्यक्रमका संयोजक समेत रहेका कवि खड्काले जानकारी दिए ।
देशभरिबाट कविहरुको उल्लेख्य र उत्साहजनक सहभागिता रहेको उनले सुनाए । अहिलेको समयमा प्रकृति संरक्षण नै मूल मुद्दा भएकाले कविहरुले पनि पृथ्वी जोगाउने अभियानमा लाग्नुपर्ने उनको भनाइ छ ।
उनी आफैं पनि प्रकृति संरक्षण अभियानमा ५० को मध्य दशकदेखि लागिरहेका छन् । प्रकृतिको नियम विपरीत मानवका गतिविधिहरु बढ्दा सिङ्गो पृथ्वीमा नै विभिन्न सङ्कटहरु आइरहेका छन् ।
यस्तो अवस्थामा पर्या सिर्जना अहिलेको आवश्यकता छ भन्ने उनलाई लागेको छ ।
‘हामीले क्रान्तिका कविता लेख्यौं र शान्तिका पनि लेखेका छौं,’ उनी भन्छन्, ‘अब प्रकृतिको संरक्षणका लागि हामीले हरिया कविता लेख्नुपर्छ । कलाले हाम्रो पृथ्वी, माटोको अस्तित्वलाई पनि डोर्याउनुपर्छ ।’
उनका अनुसार पर्या कविता प्रकृति र पर्यावरणको रङ्ग समेत हो । कविहरुले प्रकृतिको सुन्दरताको उपमा दिएर धेरै गुणगान गाए र लेखे ।
भूपिन भन्छन्, ‘अबको कविता पृथ्वीको सुन्दरताको वर्णनमा मात्र सीमित हुनुहुन्न । कविताले यसको संरक्षणमा जोड दिनुपर्छ । प्रकृति, पृथ्वी बाँचे मात्र मानिस, प्राणी बाँच्छ र हाम्रा कविताहरु रहनेछन् ।’
खड्का अनुसार शुरुमा पर्या कविता अभियानमा प्रतियोगिता भन्दा वाचन कार्यक्रम नै गरौं भन्ने समूहको उद्देश्य थियो । भरतपुरको पर्यटनलाई समेत चिनाउने हेतुले तय गरिएको ‘भरतपुर भ्रमण वर्ष–२०२४’ लाई समेत टेवा पुग्ने गरी प्रतियोगिताको निर्णय गरिएको हो ।
प्रकृति सम्पदा, जङ्गली जीवजन्तुमा समेत पर्यटकीय रुपमा सम्पन्न रहेको भरतपुरलाई यस प्रतियोगिताले अझै फैलाउन सघाउ पुर्याउने उनको विश्वास छ । पर्यावरणमा संरक्षणका लागि सिर्जनाकै माध्यममा भरतपुर प्रतिष्ठानले यति ठूलो स्केलमा गरिएको यही नै पहिलो कार्यक्रम रहेको उनले सुनाए ।
प्रकृति संरक्षण गर्नु अहिले भरतपुर मात्र नभएर विश्वकै चुनौती हो । यस पश्चात् यस्ता खाले कार्यक्रमहरुको देशभरी फैलावट हुने उनको आशा छ ।
प्रतियोगितामामा सहभागी हुन चाहने कविहरुले पर्यावरण चेतना, संरक्षण र पर्यटनकै विषयमा रहेर १ सय ५० शब्दमा कविता लेखि जेठ ११ गते शुक्रवार साँझ ५ बजेसम्ममा पठाउन प्रतिष्ठानले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
सूचना अनुसार सिर्जना भएका कविताहरु युनिकोड वा प्रिती फन्टमा टाइप गरी प्रतिष्ठानको इमेल ठेगानमा पठाउनुपर्नेछ । प्रतियोगितामा पूर्व प्रकाशित कविता मान्य हुने छैन । कविता पठाउँदा कविहरुले आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर, इमेल र नेपाली नागरिकताको प्रतिलिपि अनिवार्य रुपमा पठाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
प्रतिष्ठानका अनुसार प्राप्त कवितामा कविको नाम र ठेगाना हटाएर कोडिङ गरी उत्कृष्ठ १० वटा कविताहरु छनोट गरिनेछ । छनोट भएका उत्कृष्ट १० कविताहरु जेठ १९ गते भरतपुरस्थित अम्ब्रेला स्ट्रिटमा हुने कार्यक्रममा वाचन हुनेछन् । यसबाट नै प्रथम, द्वितीय, तृतीय स्थानका कविताहरु छनोट हुनेछन् ।
प्रथम, द्वितीय, तृतीय स्थान हासिल गरेका कविहरुले क्रमशः प्रमाणपत्रसहित ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा प्रोत्साहन स्वरुप दुई जनालाई जनही पाँच हजार रुपैयाँ नगद पुरस्कार समेत प्रदान गरिनेछ ।
प्रतिष्ठाका सदस्यसचिव बालकृष्ण थपलियाका अनुसार शुक्रवार बिहानसम्ममा प्रतिष्ठानको ठेगानमा १ सय ६० वटा कविताहरु आइसकेका छन् । साँझसम्ममा सङ्ख्या बढ्न सक्ने अनुमान उनको छ ।
प्रकृति, पर्यटन र पर्यावरणलाई सँगसँगै लैजाने हेतुले गर्न लागिएको यस कार्यक्रमले सिर्जनाका माध्यमबाट प्रकृति संरक्षणमा सकारात्मक सन्देश पुग्ने सदस्यसचिव थपलियाको विश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया