नेपालमा ग्याष्ट्रिकलाई सामान्य रुपमा लिइए पनि त्यसले निम्त्याउने रोग अल्सरलाई भने ठूलो समस्याका रुपमा लिइन्छ ।
पेटसँग सम्बन्धित रोग भएकाले पनि यो रोग लागेका व्यक्तिले दु:ख पाउँछन् । साथै अल्सर बिग्रियो भनेर क्यान्सर हुने जोखिम पनि उत्तिकै भएकाले यसको तत्काल उपचार गराइहाल्नुपर्ने चिकित्सकले सुझाव दिन्छन् ।
यदि अल्सर भएमा पेट मात्र नभई छातीमा पनि असर पुर्याउँछ । समयमा उपचार नगरे यो घातक रोग साबित हुनसक्ने चिकित्सकहरू बताउँछन् ।
अल्सर कस्तो रोग हो? यसकै कारण अन्य के–कस्ता जटिलताहरु निम्तिन सक्छन् लगायतका विषयमा वीर अस्पतालमा कार्यरत वरिष्ठ ग्यास्ट्रोइन्ट्रोलोजिस्ट डा. मुकेश शर्मा पौडेलसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:
अल्सर कस्तो स्वास्थ्य समस्या हो ?
अल्सर अङ्ग्रेजी नाम हो । यसको नेपाली उल्था गर्दा घाउ भन्ने हुन्छ । अल्सर भएपछि क्यान्सर हुन्छ भन्ने हाम्रो आम बुझाइ छ, जुन गलत हो । अल्सर शरीरको जुनसुकै भागमा हुनसक्छ । जसरी छालामा घाउ हुन्छ त्यसैगरी पेटमा, आन्द्रा, खान मिल्ने साइडमा पनि घाउहरु हुन्छन् र यही नै अल्सरको स्वरुप हो । समयमै रोग पत्ता लगाएको खण्डमा यसलाई निको पार्न सकिन्छ । कुनै–कुनै अल्सरहरु चाहिँ जटिल नै हुन्छन् र क्यान्सरको सम्भावना हुन्छ ।
अल्सर मुख्यगरी शरीरको कुन–कुन भागमा हुन्छ ?
अल्सर मुखदेखि मलद्वारसम्म कुनै पनि अङ्गमा हुन सक्छ । पेट तथा सानो आन्द्राको अल्सरले भने प्रायलाई सताउने गर्छ । ठूलो आन्द्रामा पनि अल्सर हुन सक्छ । मुखको भित्री भागमा, जिब्रोमा घाउ हुँदा पनि अल्सर हुन्छ ।
यो के कारणले हुने गर्दछ ?
पेटमा ब्याक्टेरियाको संक्रमणका कारण तथा गलत खानपान, धेरै पिरो र मसालेदार खाना, अस्वस्थ्यकर जीवनशैलीको कारण अल्सर हुन्छ । खराब खानपान र खानेशैलीका कारण धेरैलाई ग्याष्ट्रिक हुने गर्छ त्यहि ग्याष्ट्रिक बिग्रेर पछि गएर अल्सर रोग निम्त्याउँछ ।
यसको मुख्य कारण पेटमा हेलिकोब्याक्टर पाइलोर नामक ब्याक्टेरियाको संक्रमणले हुन्छ । यस्तो जीवाणु सर्ने तरिका फरक–फरक छन् । खराब पानीका कारण यो जीवाणु सर्नसक्छ । चिकित्सकको सल्लाहविना लामो समय सम्म एन्टिबायोटिक, पेनकिलर र स्टेराइडको औषधीको प्रयोग, मद्यपान गर्नाले पनि अल्सरको समस्या हुन सक्छ ।
यसका लक्षणहरु के–कस्ता हुने गर्दछन् ?
अल्सर भएमा शरीरमा विभिन्न लक्षण देखा पर्छन् । त्यस्तै पेट दुख्ने, छाती पोल्ने, अमिलो पानी आउने र वान्ता हुने लगायतका लक्षण देखा पर्दछन् । कतिपय अवस्थामा छिटो भोक लाग्नु या खान मन नलाग्ने पनि हुन्छ । त्यस्तै शरीरमा हेमोग्लोबिनको कमी हुनु पनि अल्सरको लक्षण हो ।
यसको रोकथाम र उपचार कसरी गर्न सकिन्छ ?
मुख्यकुरा भनेको स्वस्थ खानपान र सफा पिउने पानीको प्रयोग गर्नु नै यो रोग लाग्न नदिने सबैभन्दा राम्रो उपाय हो । अल्सर हुने मुख्य कारण पत्ता लगाई त्यसको उपचार गरिन्छ ।
अल्सरको उपचार गर्नु अघि अल्सर सामान्य या जटिल कस्तो हो त्यो पत्ता लगाउनु पर्ने हुन्छ । सामान्य नै छ भने औषधीले ठिक गर्न सकिन्छ । तर रगत बगिरहेको छ, आन्द्रा फुट्यो भने यसलाई जटिल मानिन्छ र यस्तो अवस्थामा सर्जरी नै गर्नुपर्ने हुन्छ ।
इन्डोस्कोपीको माध्यमद्धारा सामान्य या जटिल अवस्थाबारे थाहा पाउन सकिन्छ । साथै अवस्था हेरेर इन्डोस्कोपी थेरापीबाट पनि उपचार गर्न सकिन्छ । खानपानका लागि भने बिरामीले आफ्नो अवस्था हेरेर के खाँदा गाह्रो भएको छ त्यस्तो खाना खानु हुँदैन । नियमित भोजनको रुपमा सादा खाना र शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व भएको खानेकुरा खानुपर्छ । मद्यपान, धुम्रपान सेवन गर्नुहुँदैन । अत्यधिक पिरो, अमिलो, चिल्लो, कोल्ड ड्रिङ्क्सको सेवन पनि गर्नुहुँदैन ।
यो रोग महिला र पुरुषको तुलनामा कुन वर्गलाई र कस्ता उमेर समूहका व्यक्तिहरुलाई बढी हुने गर्छ ?
यो रोग त्यस्तो तुलनात्मक रुपमा हुँदैन । जुनसुकै उमेर समूहका व्यक्तिहरुलाई पनि यो रोग लाग्न सक्छ । उमेरको कुरा गर्नुपर्दा यो रोग बच्चादेखि वृद्धवृद्धासम्म सबैलाई लागेको पाइन्छ ।
अल्सर हुन नदिन के गर्न सकिन्छ त?
चिकित्सकको सल्लाह विना दुखाइ कम गर्ने औषधी वा पेन किलरको प्रयोग गर्नुभएन । त्यस्तै धूम्रपान, मद्यपानको सेवन नगर्ने र स्वस्थ्यकर जीवनशैली अपनाउनु नै उत्तम हुन्छ । यदि अल्सर भइहाल्यो भने शुरुवाती लक्षणमै चिकित्सकको सल्लाह लिने र जङ्कफुडको सेवन नगर्दा यो समस्याबाट राहत पाउन सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया