काठमाडौँ – बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा आमनिर्वाचन हुने घोषणा गरेका छन् ।
बुधबार प्रधानमन्त्री सुनकले संसद् भंग गर्ने सिफारिस राजाले स्वीकृत गरेको बताउँदै आगामी जुलाई ४ मा आमनिर्वाचनको घोषणा गरेका हुन् ।
अब अर्को साता संसद् विघटन हुँदै छ र त्यसपछि निर्वाचन प्रक्रिया सुरु हुने बेलायती मिडियाले उल्लेख गरेका छन् ।
बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसदहरूले प्रधानमन्त्री सुनकलाई हटाउन खोजेपछि उनले निर्वाचनको घोषणा गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
संसदको पहिलो बैठक बसेको पाँचौँ वर्ष पूरा भएपछि मात्र संसद् विघटन हुनुपर्ने व्यवस्था छ । यदि तोकिएको प्रक्रिया अपनाएको भए बेलायतमा २८ जनवरी २०२५ अघि चुनाव भइसकेको हुन्थ्यो । तर सत्तारुढ दलमा रहेको विवादका बीचमा सुनक निर्वाचनमा गएको बताइएको छ ।
बेलायतमा आम चुनाव प्रायः बिहीबार हुने गर्दछ । जुलाई ४, २०२४ पनि बिहीबार नै परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया