काठमाडौँ – गीत संगीतमार्फत पर्यटन प्रवर्द्धन गर्ने कन्दरा ब्यान्डले साङ्गीतिक अभियान ‘पहिला घरदेश अनि परदेश’ अन्तर्गत पोखरामा प्रस्तुति दिँदै छ ।
यो अभियान अन्तर्गतको पहिलो आज पहिलो लाइभ कन्सर्ट प्रदर्शनी केन्द्रमा हुन लागेको हो । पोखरा पर्यटन परिषद् र कन्दरा ब्यान्डको व्यवस्थापक अल्फा स्क्वायर प्रालिको सहकार्यमा देशका सात वटै प्रदेशका मुख्य सहरमा यो अभियान पुग्ने छ ।
‘हङकङ पोखरा’,‘तगारोमा रुमाल राखी’,‘तिमी पारि त्यो गाउँमा ’ जस्ता चर्चित गीत नेपाली साङ्गीतिक क्षेत्रलाई दिएको ‘कन्दरा’ले हालसम्म ६ वटा एल्बम ल्याइसकेको छ । त्यस्तै मुलुकभित्र र मुलुकबाहिर गरी २ सयभन्दा बढी कन्सर्ट सम्पन्न गरिसकेको छ ।
ब्यान्डका लिड भोकलिस्ट विवेक श्रेष्ठले अभियानको यो पहिलो र ठूलो कर्न्सट भएको बताए । कन्सर्टका लागि पोखरामा पहिलोपल्ट सबैभन्दा ठूलो आकारको स्टेज बनाएको उनको दाबी छ ।
कन्सर्टमा उनीसँगै सुनिल थापा, हरि महर्जन, देव लामा, सुन्दर महर्जन, पंकज झाको समूहले ब्यान्डका नयाँ–पुराना डेढ दर्जन गीतमा लाइभ प्रस्तुति दिने छ ।
पोखरामा पर्यटन उद्यमसँग सम्बद्ध १४ वटा संस्थाहरूको आबद्धता रहेको छाता सङ्गठन पोखरा पर्यटन परिषद् आयोजक र लायन्स क्लब अफ पोखरा सामीप्य यो अभियानको सहआयोजक रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया