मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ट्रक साहित्य

‘उडायो कान्छी तिम्रो पछ्यौरी मेरो रफ्तारले’

‘उडायो कान्छी तिम्रो पछ्यौरी मेरो रफ्तारले’,

‘बाप परेसान बेटासे, देश परेसान नेतासे,’

‘कोही सम्झिने भए पो बाडुल्की लाग्छ, रिस गर्ने मात्रै छन्, खाली खोकी मात्र लाग्छ’

यस्ता वाक्यहरु यातायातका साधनहरू विशेष गरी ठूला तथा सार्वजनिक भाडाका सवारी साधनहरू बस, ट्रक, ट्याक्सी, भ्यानहरूमा लेखिएको देख्न सकिन्छ ।

यी शब्दहरूलाई अझ ‘ट्रक साहित्य’ विधामा नै सिर्जना क्षेत्रले नामकरण नै गरिदिएको छ । सवारी साधनहरूमा यसरी लेखिने सिर्जनाहरूलाई सङ्कलन गरेर इटहरीका साहित्यकार तथा पत्रकार सुविद गुरागाईँले ‘ट्रक साहित्य :सङ्कलित सिर्जनाहरू(२०६८)’ पुस्तक नै प्रकाशनमा ल्याएका छन् । यसपछि भने ‘ट्रक साहित्य’को खुलेर चर्चा भयो । 

यस्तै खालका ‘ट्रक साहित्य’ सिर्जनाहरू भने यतिबेला कुनै सवारी साधनमा नभएर बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा कलाको फर्ममा प्रदर्शन भइरहेका छन् । ग्यालरीमा सोमवारदेखि शुरु भएको प्रदर्शनीमा ‘सवारी कथाहरू’ शीर्षकमा ६ दर्जनभन्दा बढी यस्ता सिर्जनासहितका कलाहरू प्रदर्शरत छन् ।

श्रवास्ति घोष डस्टिडार, उर्जा आचार्य र आभूषण गौतम, शुभा जोशीले सवारी साधनमा लेखिने ‘ट्रक साहित्य’ सिर्जनाहरूलाई चित्र, तस्वीर र अक्षर संरचनामा ल्याएर कलाको रूपमा ल्याएका हुन् ।

आचार्यले ‘ट्रक साहित्य’को सिर्जनाको अर्थ, यस सिर्जनाका पछाडि जोडिएका हातहरू र यसको अवस्थाबारे ‘सवारी साहित्य’ शीर्षकमा डकुमेन्ट्री नै तयार गरेकी छिन्, जुन प्रदर्शनीमा प्रदर्शन भइरहेको छ । प्रदर्शनीमा भएका कलाहरू अवलोकन गर्दै अवलोकनकर्ताहरूलाई सवारी, साहित्य ललितकला यी तीनै वटा विषयहरू एकै पटक दिमागमा प्रवेश गर्छ । 

‘तीव्र गतिमा हैन सुरक्षामा प्रतिस्पर्धा गरौँ,’ ‘कालापानी हाम्रो हो,’ ‘प्लेन होइन उडाएर लाने, ट्राफिक जाम छ सोल्टी बिस्तारै जाने,’ जस्ता कलाहरूमा देशप्रेमका साथै सडकमा सुरक्षित यात्राका सन्देशहरू समावेश छन् । 

‘लेखिरहन्छु दुई÷चार अक्षर छैन मेरो कुनै शिक्षा, मागी रहन्छु प्रेमको भिक्षा, दिने नदिने त्यो तिम्रो इच्छा’ जस्ता सिर्जनाहरूमा भने प्रेमका विषय समेटिएका छन् । सवारी साधनसँगै कोरिएका कलासहितका तस्वीर र लेखिएका सिर्जनाहरूले आम अवलोकनकर्ताहरूलाई नौलो अनुभूति दिलाउँछ ।

त्यस्तै, ‘जुनेली रातमा स्टेरिङ छ हातमा रमाउन पाउँदिन परिवारको साथमा’ जस्ता प्रदर्शनीमा राखिएका कलाले सवारी चालकहरूको पीडालाई चित्रण गरेको छ । प्रदर्शनीमा प्रदर्शनरत कलालाई ग्राफिटी कलाको रूपमा परिभाषित गर्न सकिने कला समालोचक, साहित्यकार तथा प्राध्यापक अभि सुवेदी बताए ।

जुन विधामा अक्षर, कला र रङ्गको समेत समायोजन हुन्छ । ग्राफिटीको मौलिक फर्मलाई हेर्दा प्राचीन समयमा रोमन साम्राज्यमा आम जनसमुदायको अनुमति बिना नै भित्ता वा कुनै वस्तुमा लेखिएको वा कलाकृति कोरिएको इतिहास पाइन्छ । आधुनिक ग्राफिटी फर्म भने सन् १९६० को दशकपछि नै विकास भएको देखिन्छ । प्रदर्शित कलाकृतिहरूमा पनि आधुनिक फर्मको नै प्रयोग भएको देख्न सकिन्छ ।

सवारी साधनमा लेखिने साहित्यलाई कलाको फर्ममा निकै रोचक तरिकाले ल्याएको सुवेदीले कलाकृतिहरू अवलोकन गर्दै सुनाए । उनले भने, ‘ट्रक साहित्य भनेर त हामीले विभिन्न गाडीहरूमा लेखिरहेको देखेकै थियौँ । तर यो आर्टकै फर्ममा ग्यालरीसम्ममै ल्याउनु चाहिँ पहिलो पटक नै हो । बडो गजबसँग ल्याउनुभएको छ । मलाई चाहिँ हेर्दा रमाइलो लाग्यो ।’   

ट्रक साहित्य भन्ने बित्तिकै मर्मस्पर्शी, विनोदपूर्ण, प्रेम रस, पीडाको घनीभूत अनुभूतिहरू हुन्छन् । यसले मान्छेलाई हास्य रस वा दिमागलाई च्वास्स छुने खालको हुनुपर्ने सुवेदीको भनाइ छ । ट्रक साहित्यबारे त्यति धेरै बहस र चर्चा नभएको समयमा कलामार्फत आउनु सकारात्मक पक्षका रूपमा उनले लिए ।

ट्रक साहित्य कहिले आयो र यसको शुरुवात कसले गरे भन्ने एकिन नरहे पनि यातायात र ढुवानी सेवाको शुरुवातसँगै यसको थालनी भएको हुनसक्ने सुवेदीको अनुमान छ । भारत तथा पाकिस्तानमा यसको प्रयोग व्यापक रहेको उनी सुनाउँछन् ।

‘सवारी साधनहरू भारततिरबाट नै आउने भएकोले यो लेखन प्रवृत्ति पनि उतैबाट आएको जस्तो मलाई लाग्छ,’ उनले भने । यसलाई सडक र सवारी संस्कृतिकै हिस्सामा राख्नुपर्ने उनको मत छ । 

सवारीमा लेखिने यस्ता कविता तथा उच्छृङ्खल प्रवृत्तिका सिर्जनाहरूले दुर्घटना निम्त्याउने भन्दै यातायात व्यवस्था विभागले २०७६ सालमै सूचना जारी गरेर रोकेको थियो । भएकाहरूलाई समेत मेट्न लगाइयो ।

यद्यपि सवारी साधनहरूमा रोचक तथा घोचक यस्ता सिर्जनाहरू अझै पनि देख्न सकिन्छ । त्यस्ता सिर्जनाहरूमा प्रेम, राजनीतिदेखि लिएर सामाजिक, आर्थिक, युवा तथा देशको पीडा भाव पोखिएका हुन्छन् ।

यस्ता साहित्य सिर्जनाहरू पुरुष केन्द्रित बढी नै देखिएको सुवेदीको अनुभव छ । त्यस्ता सवारी साधनहरूमा पुरुषहरूले हाँक्ने हुँदा उनीहरूकै भावना त्यसमा पोखिएको होला भन्ने उनलाई लाग्छ ।

यद्यपि यसलाई सभ्य र महिलामैत्री बनाउने कुरामा समेत सचेत हुनुपर्ने उनको राय छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?