काठमाडौँ– अछामका हिमाल परियार आम मानिसको नजरमा प्रतिभाशाली बाल गायकको परिचय लिएर आफ्नै थातथलोतिर फर्किसके ।
‘किन रुवाको’ ‘मेरी आमा’ जस्ता गीतैमार्फत उनले निकै चर्चा कमाए । आफूलाई समाजसेवी भनेर चिनाउने युट्युबर भोजराज थापाले उनीसँग अन्तर्वार्ता लिएपछि नै उनले काठमाडौं आएर गीत गाउने अवसर पाएका हुन् ।
उनको पहिलो गीत ‘किन रुवाको’मा शब्द तथा सङ्गीत गायक तथा सङ्गीतकार नरेश खातीको समावेश छ । नरेशकै सहायतामा रेकर्ड भएको परियारको गीतलाई आम मानिसहरुले निकै रुचाए ।
यो समाचार तयार पार्दासम्म अवधिसम्ममा गीतले झण्डै १५ लाखले हेरेका छन् । कहिल्यै गाडी समेत नचढेका बालकलाकार हिमाल प्लेन चढेर सुखीका साथ घर फर्के । हिमाल जस्तै सुर्खेतकी प्रिती विकले पनि काठमाडौंमा आएर गीत रेकर्ड गरिन् ।
उनको पहिलो गीत ‘हे बाबा’ यो लेख तयार पार्दासम्ममा २९ लाखले हेरिसकेका छन् । गीतमा विनोद घिमिरेको शब्द र राजेन्द्र रावतको सङ्गीत रहेको छ । ‘आमा साहुको मेलामा’ गायक नरेशकै ‘आउनु फर्केर’ जस्ता गीतमा समेत उनको स्वर समावेश छ ।
पछिल्लो समय सङ्गीत बजारको भाषामा भन्दा हिमाल र प्रिती अहिलेका भाइरल गायक गायिकाको दर्जामा परे । किनकि दुवैका गीतहरु बजारमा आउँदा भाइरल र ट्रेण्डिङको शीर्ष स्थानमा थिए ।
यी दुवै बाल प्रतिभाहरुले पाएको उचाइलाई सङ्गीत बजारले कसरी मूल्याङ्कन गरिरहेको छ त ? कलिलै उमेरमा पाएको सफलता र उचाइको भार तिनीहरुले उठाउन सक्लान् ? सङ्गीत वृत्तमा भाइरल र ट्रेण्डिङ बजारको मेसो तिनले पाए कि पाएनन् ?
कतै ती प्रतिभाहरु बिथोलिने त होइनन् ? यी यावत् प्रश्नहरुको जवाफ दिन समग्र सङ्गीत क्षेत्र नै यो समयमा गम्भीर हुनुपर्ने सङ्गीतकर्मीहरू बताउँछन् ।
युट्युबमा प्रसारित हुने इन्द्रेणी कार्यक्रममा सञ्चालक कृष्ण कँडेल, बीबी अनुरागी जस्ता सङ्गीत सर्जकहरु समेत दिगो सङ्गीत बजारभन्दा तुरुन्तै बजारमा बिकिहाल्ने प्रतिभाहरुलाई खोजी गरिरहेको देखिन्छ ।
सङ्गीतकार बिबीले भेलु बाजेका नामले चिनिने मीनबहादुर बुढामगर (हालै दिवङ्गत) लाई गीतै गाउने अवसर समेत दिए । उनले भेलु बाजेसँग मिलेर ‘काटे डाली कैन’ गीत रेकर्ड गराएका थिए । गीतले भ्युज त बटुल्यो । तर, सङ्गीत क्षेत्रलाई कस्तो योगदान पुर्यायो त भन्ने कुरामा बहसको विषय हुन सक्छ ।
त्यसो त यसै माहोलमा बाल कलाकारकै रुपमा उदाएका रचना रिमाल, समीक्षा अधिकारीहरु जस्ता सर्जकहरुले सङ्गीत क्षेत्रमा राम्रो स्थान जमाइसकेका छन् । हिमाल, सृष्टि जस्ता बालकलाकारहरुलाई सङ्गीत बजारमा अवसर दिएका नरेश आफ्नो प्रयास प्रतिभाहरुलाई यो क्षेत्रमा प्रवेश गर्ने आधारका रुपमा रहेको सुनाउँछन् ।
यसले गर्दा उनीहरुलाई यस क्षेत्र आउने प्रक्रिया समेत थाहा हुने उनको भनाइ छ ।
उनले भने, ‘भोलिका दिनमा उहाँहरु सङ्गीतमा आउनुभयो भने गीत रेकर्ड कसरी गर्ने, स्टुडियोमा गीत रेकर्ड हुने प्रक्रिया र मिडियामा कसरी जाने भन्नेबारे थाहा हुन्छ । यसले त उहाँहरुलाई सजिलो बनाउँछ ।’
उनीहरुको व्यक्तिगत विकास र भविष्यका लागि परिवार नै बढी जिम्मेवारी हुने उनको मत छ । यद्यपि परिवारले चाहेको खण्डमा भविष्यका लागि समेत केही गर्न सकिने उनको भनाइ छ ।
हुन त बाल प्रतिभाहरुलाई सङ्गीतमा अवसर मात्र नभएर अभिभावकत्व जिम्मेवारी समेत लिइरहेका टङ्क बुढाथोकी जस्ता सङ्गीत सर्जकहरु समेत छन् । ६ वर्षअगाडि झापाको दमकस्थित सडकमा गाउँदै हिँड्ने अशोक दर्जीलाई उनले गायनमा अवसर दिनुका साथै आफ्नै सन्तान जसरी पालनपोषण गरिरहेका छन् ।
हाल कक्षा ८ मा अध्ययनरत अशोक ‘मन विनाको धन ठूलो कि धन विनाको मन’ फिल्ममा समेत अभिनेताका रुपमा डेब्यु गर्दैछन् । अशोकको वर्तमान र भविष्यका लागि समेत आफू निकै सचेत रहेको टंक सुनाउँछन् । अहिले नयाँ प्रतिभाहरुलाई साथ र समर्थन गरेर नयाँ गीत सिर्जनाहरु बाहिर ल्याउनु कुनै नराम्रो जस्तो उनलाई लाग्दैन ।
यद्यपि कसरी गर्ने कुन तहसम्म बालबालिकाहरुलाई बाहिर ल्याउने भन्ने कुरामा निकै सतर्क हुनुपर्ने उनको भनाइ छ ।
‘बच्चाहरुलाई कहाँ जाने, के बोल्ने र कसरी बोल्ने भन्नेबारे केही केही थाहा हुँदैन । उहाँहरुको प्रतिभालाई बाहिर ल्याउन सपोर्टका साथै अभिभावकत्व पनि लिनु भए अझै राम्रो हुन्छ ।,’ उनले भने ।
कलाकारिता भनेको पहिला रहरले र पछि करले गर्नुपर्ने क्षेत्रका रुपमा लिने उनी यसमा बालबालिकाहरुलाई भोलिका दिनमा पनि दायित्व लिने गरी ल्याउनुपर्ने राय दिन्छन् ।
बालबालिकालाई कुनै औपचारिक सङ्गीत ज्ञानविना नै यस क्षेत्रमा ल्याउनु गलत प्रवृत्तिका रुपमा लिन्छन्, गायक तथा सङ्गीतकार, तिलक सिंह पेला ।
उनका अनुसार कुनै नयाँ प्रतिभालाई गीत रेकर्ड गर्न र बाहिर ल्याउन सहयोग गर्नुको सट्टा कुनै एकजना गुरुकहाँ सङ्गीत ज्ञान लिने बाटो देखाउन सकिन्छ । एउटा गीत आएर भाइरल हुने बित्तिकै एकाएक सेलिब्रेटी हुँदा बालबालिकाहरु मानसिक अवस्थामा नै प्रभाव हुने उनको मत छ ।
उनी भन्छन्, ‘उहाँहरु एक्कासी सेलिब्रटी भएपछि सिक्न जाने समय हुँदैन । भविष्यसम्म फेरि त्यही ट्रेण्ड कायम हुँदैन । बरु उहाँहरुलाई कुनै गीत रेकर्ड गराउने भन्दा पनि कुनै राम्रो सङ्गीत गुरुकहाँ लगेर सङ्गीत सिकाउन सकिन्छ । केही वर्षपछि मात्र रेकर्डमा ल्याउनुभयो भने सङ्गीत समाजले पनि राम्रा साधकहरुलाई पाउँथ्यो ।’
भाइरल र ट्रेण्डिङ पछ्याउँदा आजका बालबालिकाहरुको भविष्य नबिथोलिओस् भन्ने उनी चाहन्छन् ।
नयाँ आउनेहरु प्रत्येकसँग एउटा रहर र सपना हुन्छ । त्यही रहरलाई क्षणिक समयका लागि मात्र पूरा गर्ने हेतुले नयाँ प्रतिभाहरुलाई बाहिर ल्याउनु राम्रो नभएको सङ्गीत सर्जकहरुको एक मत छ ।
आज देखिएर भोलि गुमनाम भएमा त्यस्ता प्रतिभाहरु मानसिक रुपमै विक्षिप्त हुने गायक टंकको भनाइ छ । उनकै भनाइ जस्तै गायक तथा सङ्गीतकार सन्तोष श्रेष्ठ पनि मात्र एउटा गीतै सिर्जना गर्न र बाहिर ल्याउन मात्र सङ्गीतमा बालबालिकाहरु ल्याउने प्रवत्ति राम्रो नभएको सुनाउँछन् ।
अशोकलाई जसरी नै उनीहरुलाई आफ्नै ठाउँमा उभिने खालको वातावरण र पछिसम्म निरन्तरता दिने हेतुले बाहिर ल्याउनुपर्ने उनको तर्क छ ।
उनी भन्छन्, ‘कला प्रदर्शन गर्नु सामान्य पक्ष हो । त्यसलाई निरन्तरता दिनु अर्को कुरा हो । उहाँहरु हाम्रा छोराछोरी जस्तै हुनुहुन्छ । उहाँहरुलाई टेक्ने र अडिने ठाउँचाहिँ भोलिका लागि पनि बनाउनुपर्छ । उहाँहरुको क्षमता कस्तो छ भन्ने पनि पहिला राम्रोसँग बुझ्नुपर्छ ।’
सङ्गीतमा भाइरल ट्रेण्डपछि लागेर अगाडि बढ्ने हो भने भोलि आफैलाई धोका हुने सुनाउँदै गायक तिलकले सतर्क हुनुपर्ने धारणा राखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया