मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वातावरण

काठमाडौँमा वायु प्रदूषण मत्थर: विकसित देशबाट के सिक्ने ?

काठमाडौँ– विश्वभर जलवायु परिवर्तन र वायु प्रदूषणले नेपाल पनि अछूतो रहन सकेको छैन । लामो समयसम्म नेपाल विश्वकै सबैभन्दा प्रदूषित शहरको शीर्ष स्थानमा रह्यो ।

काठमाडौँ मात्र नभएर पोखरा लगायत नेपालका प्रमुख शहरहरूमा समेत वायु प्रदूषणले आम मानिसको दैनिक जनजीवन प्रभावित पार्‍यो ।

केही दिनयता परेको पानीले हाललाई यो समस्या पन्छिएको छ । यद्यपि वायु प्रदूषणको यो समस्या केही समयपछि पुन: बल्झिने र मानव स्वास्थ्यलाई असर पार्ने भन्दै वातावरण विज्ञहरूले चेतावनी दिएका छन् ।

पछिल्ला केही वर्षका रिपोर्टहरूले काठमाडौँको वायु विषाक्त भएको बताएका छन् । बढ्दो वायु प्रदूषण, जङ्गलमा आगलागीका घटनाहरुका कारण विश्वमै तापमान उत्तिकै बढिरहेको छ । यसले मानिसको स्वास्थ्यसँगै दैनिक जीवनमा प्रतिकूल असर समेत परिरहेको अहिलेको विश्वमा यस्ता शहरहरु पनि छन् । जहाँ संसारकै सबैभन्दा स्वच्छ हावामा सास फेर्न पाइन्छ ।

फिनल्याण्डको कुसामो शहरलाई पृथ्वीको स्वच्छ कुनाको रुपमा समेत लिने गरिन्छ । यो शहरलाई आइक्यू एयरले सन् २०२३ को विश्व वायु गुणस्तर प्रतिवेदनमा हावाको गुणस्तरको लागि शीर्ष स्थानमा राखेको थियो ।

जुन शहर साना गल्ली तथा चोक सफा र चिटिक्क छन् । जहाँ हरियालीका लागि बोटबिरुवा, फोहरका लागि मिलाएर राखिएका डस्टबिनहरु छन् भने त्यहाँ सचेत, सभ्य नागरिक र जिम्मेवार सरकार समेत छ । जसले नागरिकको स्वास्थ्यलाई धेरै ख्याल गर्छ ।

धुलो, धूवाँ र फोहोररहित शहर बनाउने कुरा सामान्य नभए पनि गरे सम्भव हुन्छ भन्ने प्रमाण फिनल्याण्डको यो शहरले दिएको छ । 

आइक्यु एयरले विश्वभरका १ सय ३४ देशका करीब ७ हजार ८ सय बढी विभिन्न स्थानहरूमा वायु गुणस्तरको तुलना गर्दा यो शहर वायु गुणस्तर भएको शहरको शीर्ष स्थानमा परेको छ । फिनल्याण्ड बाहेक, इस्टोनिया, पोर्टोरिको, अष्ट्रेलिया, न्यूजिल्याण्ड, बर्मुडा, ग्रेनाडा, आइसल्याण्ड, मौरिसस र फ्रेन्च पोलिनेसियाको बारेमा पनि माथिका धेरै कुरा लागू हुन्छन् ।

नेपालमा प्रदूषणको दर झन् बढ्दो

नेपालको केन्द्रीय राजधानी काठमाडौँमा पनि पछिल्ला केही वर्षयता वायु प्रदूषणका नयाँ–नयाँ रेकर्ड कायम भएका छन् । काठमाडौँ उपत्यकाको तापक्रम ३२ दशमलव ८ डिग्री सेल्सियससम्म पुगिसकेको अवस्था छ ।

आइक्यू एयरको सन् २०२३ को विश्व वायु गुणस्तर प्रतिवेदनलाई आधार मान्ने हो भने नेपाल सन् २०२३ मा संसारकै उच्च वायु प्रदूषण भएको मुलुकहरुको सूचीमा आठौँ स्थानमा परेको थियो ।

विश्वभरमा वायुप्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्वीट्जरल्यान्डको संस्था आइक्यू एयर नामक संस्थाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निर्धारण गरेको हावाको गुणस्तर मापन गर्ने पीएम २.५ भनिने आँखाले नदेख्ने कणको तथ्याङ्कका आधारमा यो निष्कर्ष निकालिएको हो ।

डब्लुएचओले वायु प्रदूषणलाई प्रमुख वातावरणीय जोखिमको रुपमा परिभाषित गरेको छ । वायु प्रदूषणसँग सम्बन्धित रोगका कारण विश्वमा हरेक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेको तथ्याङ्क डब्लुएचओले सार्वजनिक गरेको छ ।

यता संयुक्त राष्ट्र संघले पनि मानिसको मृत्युको एक नम्बर कारकमा वायु प्रदूषणलाई नै मानेको छ । नेपालमा पनि यसकै कारण वर्षेनी हजारौँ मानिसले ज्यान गुमाइरहेको तथ्याङ्क विभिन्न अध्ययन प्रतिवेदनहरुले देखाएका छन् ।

सन् २०१९मा मात्र नेपालमा वायु प्रदूषणका कारण ४२ हजार १ सय बढीको ज्यान गएको अनुमान ‘स्टेट अफ ग्लोबल एयर २०२०’ले गरेको थियो । यस्तै नेपालमा मात्रै वर्षेनी करीब ३५ हजार मानिसको ज्यान जाने गरेको विवरण विश्व स्वास्थ्य संगठनको रहेको छ ।

यस्तै, नेपालमा वायुप्रदुषण उच्च भएकै कारण दम लगायत श्वासप्रश्वास सम्बन्धी रोगका पीडितहरुको अस्पताल भर्ना हुने क्रम पनि बढ्ने गरेको युएसएड स्वच्छ हावा परियोजनाले देखाएको छ ।

विश्वमा वायु प्रदूषण कम भएका वा पहिले धेरै प्रदूषित तर अहिले सफा भएका धेरै शहरहरु रहेको वातावरणविद् भुषण तुलाधरको भनाइ छ । यस्ता शहरहरुको नेतृत्वले वातावरण तथा प्रदूषण नियन्त्रणका लागि प्रभावकारी कामहरु गरेको हुनाले यो सम्भव भएको उनको भनाइ छ ।

उनले भने, ‘म्याक्सिको सिटी अनि चीनका पनि कैयौँ शहरहरु पहिले धेरै प्रदूषित हुन्थे । तर त्यहाँका स्थानीय तथा सरकारहरुले प्रदूषण नियन्त्रणको क्षेत्रमा प्रभावकारी पहल तथा लगानी गर्न सकेकाले यो सम्भव भएको हो ।’

उनले जोय नेपालसँगको कुराकानीमा थपे, ‘कुनै पनि काम गर्‍यो भने त सकिने रहेछ । यो कुरा हामी र हाम्रो नेतृत्वले पनि बुझ्न जरुरी छ ।’

वायुप्रदूषण कम गर्नका लागि विदेशहरुमा धेरै लगानी तथा नीति नियमहरु हुने गरेको बताउँदै तुलाधरले प्रदूषण उत्पन्न गर्ने स्रोतहरुको पहिचान गरी तिनको सही व्यवस्थापन गर्न सकेमा मानिसको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित हुने बताए ।

वायु प्रदुषणसँगै जलवायु परिवर्तनको प्रभावहरु कम गर्नका लागि सरकारले गर्नुपर्ने धेरै कामहरु रहेको उनको भनाइ छ । वायु प्रदुषण कम गर्नमा विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने र सार्वजनिक सवारीलाई पूर्ण विद्युतीकरण गर्नुपर्ने उनको मत छ ।

वायुप्रदूषण कम हुने देशहरुमा पैदल यात्री तथा साइकल यात्रालाई प्रवद्र्धन गर्ने खालका कामहरु भएको बताउँदै उनले हाम्रो देशले पनि यस्ता कुराहरुलाई प्राथमिकतामा राख्नुपर्ने सुनाए । 

कानूनको हिसाबले भने नेपालको कानून तथा प्रदूषण नियन्त्रण सम्बन्धी नीति, मापदण्ड, कानून निर्देशिका भएपनि कार्यान्वयनमा भने अलि कमजोरीहरु रहेको उनको भनाइ छ ।

नेपालको मन्त्रिपरिषद्ले करिव ६ वर्ष अघि नै ‘काठमाडौँ उपत्यका वायुगुणस्तर व्यवस्थापन कार्ययोजना २०७६’ पारित गरेको स्मरण गर्दै उनले कानुन कार्यान्वयनको अवस्था भने नेपालको हकमा कमजोर नै रहेको सुनाए ।

मुख्य कुरा भनेको सरकारले तदारुकता देखाउनपर्ने उनको बुझाइ छ ।

राष्ट्रिय वातावरण नीति, २०७६ ले प्रदूषण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी वायु गुणस्तर अनुगमन प्रणालीको विकास, मापदण्ड तर्जुमा तथा कार्यान्वयन, विद्युतीय सवारी साधनको प्रयोग लगायतमा जोड दिएको छ ।

उनका अनुसार वायु प्रदूषण कम भएका देशहरुलाई हेरेर वायु प्रदूषणलाई कम गर्न सकिन्छ, तर यसका लागि लगानी तथा सबैको चासोको विषय बन्नुपर्छ ।

नेपालमा पनि यातायात व्यवस्था विभागले सवारी साधनहरुको प्रदूषण जाँचपास गराएर हरियो स्टिकर टास्ने लगायतका नियम भएपनि तिनको पनि पूर्ण कार्यान्वयनमा जोड दिनुपर्ने उनले बताए ।

बागमती प्रदेशमा लागू गाडी किनेको ७ वर्षभन्दा अगाडि नै विद्युतीय सवारीमा परिवर्तन गर्न नमिल्ने नियम भने हटाउनुपर्नेमा तुलाधरको जोड छ ।

वायु प्रदूषण कम गर्नका लागि वातावरणमैत्री सवारी साधनको प्रयोगसँगै, ग्रामीण क्षेत्रहरुमा खाना पकाउनका लागि परम्परागत ऊर्जाका स्रोतमा निर्भर हुने भएकोले विद्युतीय चुल्होको प्रयोगमा जोड दिनुपर्ने उनको राय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?