काठमाडौँ– ‘मिस पिङ्क–२०२४’को ग्राण्ड फाइनल यही जेठ ३ गते बिहीवार जमलस्थित राष्ट्रिय नाचघरमा हुँदैछ । मिस पिङ्कको यो सातौं संस्करण हो ।
काठमाडौंमा भइरहेको मिस पिङ्क ब्युटी पेजेन्टमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका ३५ जनामध्ये १८ जना सुन्दरीहरु फाइनलका चरणका लागि छनोटमा परेका छन् । यस समुदायका महिलाहरुको सबलीकरण, सशक्तीकरण गर्दै उनीहरुको पहिचानका लागि सन् २००७ देखि उक्त प्रतियोगिता गर्दै आएको छ ।
समुदायका महिलाहरुलाई हौसला प्रदान गर्दै उनीहरुलाई आत्मनिर्भर बनाउन र सक्षम जनशक्ति बनाउन यस्ता प्रतियोगिताहरुले सघाउ पुर्याउने निल हिरा समाजकी अध्यक्ष पिङ्की गुरुङले सुनाइन् ।
‘यो एउटा ब्युटी पेजेन्ट मात्र नभएर पुस्तान्तरणका लागि दक्ष जनशक्ति तयार गर्ने अभियान पनि हो,’ उनले भनिन्, ‘यही प्लेटफर्महरुबाट हाम्रो अभियान र मुद्दालाई उत्कर्षमा लैजाने हाम्रो उद्देश्य पनि हो ।’
यसले पुस्तान्तरण र नेतृत्व लिएर समग्र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमा परिवर्तन ल्याउने उनको विश्वास छ । उनका अनुसार समुदायका महिलाहरुलाई क्षमता प्रदर्शन गर्ने र आत्मविश्वास बढाउने यो सुनौलो अवसर समेत हो ।
ट्रान्स जेन्डर सुन्दरीहरुको धारणा
मिस पिङ्क प्रतियोगितामा सहभागी भएका प्रतियोगीहरुले आ–आफ्नो धारणाहरु नील हिरा (ब्लू डायमण्ड सोसाइटी) को फेसबुक पेजमार्फत राखेका छन् ।
मिस पिङ्कको प्रतियोगितामा सहभागी सलिना तामाङले निल हिराको फेसबूक पेजमा व्यक्त गरेको धारणा अनुसार समाजमा लिङ्गका आधारमा महिला र पुरुष मात्र नभई, फरक लिङ्गी पहिचान भएको समुदाय पनि रहने सुनाउँछिन् ।
उनका अनुसार फरक लैङ्गिक पहिचान भएकै कारण आज पनि समाजले हेर्ने दृष्टिकोण फरक छ । फरक पहिचानकै कारण आज पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरु समाजमा भेदभाव, अनेक लाञ्छना र वहिष्करण सहिरहेको उनको भनाइ छ ।
उनको आग्रह छ, ‘हामीलाई भेदभाव र वहिष्करण होइन, सम्मान दिनुहोस् । हामी पनि समाजको मात्र नभइ राष्ट्रका अङ्ग हौं । हामीलाई हाम्रो लैङ्गिकता होइन । हामीले गर्ने काम, व्यवहार र कर्तव्यका रुपमा हेर्नुहोस् ।’
जति पनि महिला र पुरुषका आधारमा उचित शिक्षा, स्वास्थ्य, रोजगार र सुरक्षामा जसरी समानता छ, त्यसरी नै उनी जस्ता समुदायका लागि पनि समानता दिइयोस् भन्ने उनको माग छ । त्यस्तै अर्का प्रतियोगी अनमोल राईले कक्षा ४ मा हुँदा आफ्नो पहिचानबारे महसूस गरेकी थिइन् ।
जतिबेला स्कूलमा उनी निकै निराश र एक्लो महसूस गर्थिन् । सहपाठीहरुको भनाइ र उनलाई हेर्ने दृष्टिकोणले उनी भित्रभित्रै निस्सान्थिन् । ‘म को हुँ भन्ने कुराले मनमा धेरै खुल्दुली हुन्थ्यो । आफू जस्तै समुदायमा भेट भएपछि बल्ल म बाहिर आएँ,’ उनी सुनाउँछिन् ।
अझै समुदायका धेरैजना चुपचाप छन् भन्ने उनलाई लाग्छ । उनी जस्ता महिलाहरुलाई समुदायले स्वीकारेको छैन । यही समुदायका लागि नै उनी केही परिवर्तनका गर्न चाहन्छिन् । प्रतियोगितामा सहभागी सम्राज्ञी बोकटी यस समुदायका महिलाहरु नेपालमा निकै पछाडि रहेको बताउँछिन् ।
यसका लागि सर्वप्रथम घरपरिवार, समाज, राष्ट र यस समुदायमा लागि काम गरिरहेका संघ संस्थाहरुले साथ र समर्थन गर्नुपर्छ भन्ने उनलाई लाग्छ ।
‘यदि नेपाल सरकारले समुदायले चाहेको नागरिकता, वैवाहिक समानताको अधिकार भएमा हामीलाई अझै सशक्तिकरण हुन सजिलो हुने थियो,’ उनी भन्छिन् ।
प्रतियोगी रियाङ्का न्यौपानेका अनुसार लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरु आमा हुनबाट वञ्चित भएका छन् । संविधानमा समुदायका कुरा उल्लेख भएतापनि पूर्ण रुपमा कार्यान्वयन नभएकाले नै व्यक्ति–व्यक्तिबीचको स्थायी सम्बन्ध समेत नबनिरहेको उनको बुझाइ छ ।
आफूले पहिचान अनुसार नागरिकता नपाउनु पनि यस समुदायका लागि ठूलो समस्या हो । समुदायका कतिपय व्यक्तिहरु ऐन कानुनकै कारण स्थायी रुपमा व्यवस्थित हुन नसकेकाले चाहेको व्यक्तिले परिवार समेत बनाउन नपाएको उनी सुनाउँछिन् ।
सरकारको यसमा छिटोभन्दा छिटो ध्यानाकर्षण भएमा समुदायका मानिसहरुले आफ्नो इच्छा अनुसार बाँच्न पाउँथे भन्ने उनको तर्क छ । त्यस्तै सरोसी न्यौपाने मानसिक स्वास्थ्यकै क्षेत्रमा वकालत गरिरहेकी छिन् ।
शारीरिक जस्तै मानसिक स्वास्थ्य पनि महत्वपूर्ण कुरा हो भन्ने उनको मत छ । स्कूलमा शिक्षकहरुको बुलिङकै कारण उनको मानसिक स्वास्थ्य बिग्रियो । त्यसले गर्दा उनले पढाइमा ध्यान केन्द्रीत गर्न सकिनन् । कलेज गएपछि उनको मानसिक स्वास्थ्य समस्या अझै बढ्न थाल्यो ।
‘मानसिक स्वास्थ्य पनि त्यतिकै स्वस्थ्य हुन जरुरी छ भन्ने थाहा पाएपछि म मेरो यसैका बारेमा बोल्दै आएकी छु,’ उनले सुनाइन् । घर, परिवार, समाज र राष्टले दिएको तनावले गर्दा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायकाहरुको मानसिक स्वास्थ्य समस्या निकै देखिरहेको उनको अनुभव छ ।
यस्ता प्लेटफर्ममा अगाडि ल्याउन नै निकै कठिन रहेको अध्यक्ष गुरुङको अनुभव छ । सहभागीहरुलाई निरन्तर उत्प्रेरणा र बाहिर आउन मानसिक बल समेत दिलनुपर्ने उनी बताउँछिन् ।
उनका अनुसार २००७ देखि अहिलेसम्म आउँदा सहभागिता र क्षमता अभिवृद्धिमा निकै सुधार आएको छ । समुदायकाहरु आर्थिक, शैक्षिक तथा समाजिक रुपमा समेत सबल बनेपछि अधिकारका कुरामा समेत अहिले सचेत छन् ।
यस्ता खाले प्लेटफर्ममा कोरियोग्रापी, मेकअप जस्ता पक्षहरुमा समेत यही समुदायलाई सङ्लग्नता गराइएको उनले सुनाइन् । यसले गर्दा बाहिर आउन हौसला र उत्प्रेरणा आउने उनको मत छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया