मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कुन उमेरमा हुन्छ महिनावारी बन्द ? यस्ता छन् यसका चरणहरु

काठमाडाैँ– महिनावारी भइरहेका महिलाको उमेर बढ्दै जाँदा उनीहरूको यौन हार्माेनमा परिवर्तन भएर महिनावारी बन्द हुने हुन्छ । यसलाई रजोनिवृत्ति भनिन्छ ।

अण्डाशयले हरेक महिना अण्डा उत्पादन गर्न बन्द गर्छ र एस्ट्रोजन हार्माेनको स्तर घट्छ । रजोनिवृत्ति सामान्यतया ४५ देखि ५५ वर्षको बीचमा हुन्छ, तर कतिपय महिलामा यो भन्दा चाँडो पनि हुन सक्छ ।

यदि महिलालाई लगातार १२ महिनासम्म महिनावारी हुँदैन भने त्यसलाई रजोनिवृत्ति भनिन्छ । यसले महिलाको प्रजनन क्षमता समाप्त भएको संकेत गर्छ ।

रजोनिवृत्ति रातारात भने हुँदैन । यो क्रमिक प्रक्रिया हो । औसतमा एक महिला सात वर्षसम्म यो अवस्थाबाट गुज्रिन्छन् तर कतिपय महिलामा भने १४ वर्षसम्म पनि यो चरणबाट गुज्रिन्छन् ।

रजोनिवृत्तिको तीन चरण

पहिलो प्रि–मेनोपज हो, जसले ३० देखि ४० वर्ष उमेरका महिलालाई असर गर्छ । यस अवधिमा महिलाको मासिक महिनावारी हुन्छ, तर एस्ट्रोजेन र प्रोजेस्टेरोनको स्तर धेरै पटक परिवर्तन हुन थाल्छ । प्रि–मनोपोजमा कसैलाई १५ दिनदेखि एक महिनासम्म रगत गएर रक्तअल्पता समेत हुन सक्छ ।

दोस्रो पेरी–मेनोपज हो, जसले महिलामा प्रजनन क्षमताको अन्त्य गर्छ । यस अवधिमा एस्ट्रोजन स्तर द्रुत रूपमा घट्छ । यस अवस्थामा महिनावारी अनियमित हुन्छ र कहिलेकाहीँ महिनावारी नै हुँदैन । छोटो समयका लागि हुन्छ, वा यो लामो समयसम्म रहन्छ । महिलामा हलचल, बेचैनी र निद्रा नपुग्ने जस्ता गुनासो पनि देखिन्छ ।

तेस्रो र अन्तिम चरण रजोनिवृत्तिपछिको हो, जसमा महिलालाई लगातार १२ महिनासम्म महिनावारी हुँदैन । यस अवधिमा प्रि–मेनोपजको समयमा महसूस हुने लक्षणहरू पनि कम हुन थाल्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार रजोनिवृत्तिका ४८ भन्दा बढी लक्षण छन् ।

सामान्य लक्षणहरू

–गर्मी महसूस हुने र निद्राको समयमा भारी पसिना आउने
–महिनावारी चक्रमा परिवर्तन र महिनावारीको क्रमशः समाप्ति
–योनी सुख्खा हुनु, यौन सम्पर्क गर्दा दुख्नु
–सुत्न कठिनाइ वा निद्राको कमी
–मुड स्वीङ, तनाव र चिन्ता
–हड्डी कमजोर हुन जान्छ, जसले फ्र्याक्चरको जोखिम बढाउँछ
–केही महिला एकाग्रताको कमी भएको र स्मरण शक्ति कमी भएको गुनासो पनि गर्छन् । साथै जोर्नी दुख्ने र छाला सुख्खा हुनु पनि लक्षण हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?