मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फल्चा शैलीमा बानेश्वर क्षेत्रमा निर्माण गरिएको बस बिसौनी

काठमाडौँ – अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजबाट सञ्चालनमा आएको छ । वडा नं. १० का अध्यक्ष रामकुमार के. सी. ले उद्घाटन गर्दै बिसौनी सञ्चालन प्रारम्भ गरेका हुन् । 

त्यस क्रममा बोल्दै उनले भने, ‘बानेश्वर क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र हो । जस्तोसुकै आन्दोलन भए पनि यस्ता संरचना बिगार्नु हुँदैन ।’ उनले सार्वजनिक सम्पत्तिको रक्षा गर्ने सामूहिक दायित्वका विषयमा कुरा गर्दै भने, ‘हामीले परम्परागत निर्माण सामग्री र शैलीको प्रयोग गरेर नमुना बस बिसौनी बनाएका छौँ । राजनीतिक दलहरूसँग आग्रह गर्न चाहन्छु, यस्ता संरचनाहरू राजनीतिक आन्दोलनको मारमा नपरुन् ।’

फल्चा निर्माणमा स्थानीय सहभागिता भएकोले यसको संरक्षणका लागि स्थानीयबासीले निगरानी गर्नेछन् । कार्यक्रममा निर्माण समितिका संयोजक एवं वडा सदस्य सतिश तण्डुकारले भने, ‘यो नमुना अन्यत्र स्थानमा पनि विस्तार हुँदै जानेछ ।’ 

स्थानीयहरूको निगरानीमा नगर प्रहरीले सहयोग गर्नेछ । कार्यक्रममा महानगर प्रहरी बल पूर्व क्षेत्रका प्रमुख नगर प्रहरी उपरीक्षक दिनेशराज अर्यालले भने, ‘सार्वजनिक सम्पत्तिको संरक्षण हाम्रो जिम्मेवारी हो । हामी यस्ता सम्पत्तिको दुरुपयोग हुन दिँदैनौँ ।’

वडा सचिव सुबोध खड्काका अनुसार यस क्षेत्रमा उस्तै शैलीका २ वटा बस बिसौनी निर्माण भएका छन् । बानेश्वरबाट बबरमहलतर्फ आउँदा सडक खण्डमा रहेको बिसौनी आजबाट सञ्चालन भयो । बबरमहलबाट बानेश्वरतर्फको सडक खण्डमा रहेको बिसौनी आउँदो महिनाभित्र सञ्चालनमा आउनेछ । 

यी २ वटा फल्चाको लागत ६२ लाख रुपैयाँ हो । यसको निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ । यस्तै बस्नका लागि काठकै मेच राखिएका छन् । बिसौनीभित्र प्रकाशका लागि बत्ती जडान गरिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?