सामान्यतया: युरिक एसिड भन्नाले जोर्नी दुखाइसम्बन्धी रोग हो भनेर बुझिन्छ । यो रोग लाग्दा जोर्नीका भागहरु दुख्ने, सुन्निने र पोल्ने गर्छ । अलिकति उमेर ढल्किएका वृद्धवृद्धाहरुमा यस्तो समस्या बढी मात्रामा देखिन्छन् । यो रोग लागेपछि बस्न, उठ्न गाह्रो समेत हुन्छ ।
युरिक एसिडको विषयमा अझ स्पष्ट बनाउन नर्भिक अस्पतालमा कार्यरत हाडजोर्नी विशेषज्ञ डा. सगुन जोशीसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:
युरिक एसिड कस्तो रोग हो ?
हामी जुन प्रोटिन डाइटहरु, रातो मासु खान्छौँ, त्यसले नै युरिक एसिड रोग उत्पन्न हुने हो । वास्तवमा युरिक एसिड पिसाबको माध्यमबाट किड्नी हुँदै जानुपर्ने हो । हाम्रो शरीरमा युरिक एसिड दुई कारणले बढ्छ । पहिलो त शरीरले युरिक एसिडलाई पिसाबको माध्यमबाट फाल्न सकेन भने रगतमा युरिक एसिड बढ्छ । अर्को भनेको प्रोटिन डाइट नै अत्यधिक मात्रामा भयो भने यस्तो समस्या हुन्छ ।
हाम्रो रगतमा हुने एसिडमध्ये युरिक एसिड पनि एक हो । यो शरीरमा थोरै मात्रामा हुन्छ र पानीमा घुलनशील हुन्छ । यसलाई मृगौलाले पिसाबबाट बाहिर निष्कासन गर्छ । तर जब शरीरमा बढी भएको वा उत्पादन भइरहेको युरिक एसिड मृगौलाले राम्ररी फाल्न सक्दैन तब रगतमा युरिक एसिड बढेर जान्छ । यसको मात्रा रगतमा एक सीमासम्म बढ्छ र त्यो सीमा कटेपछि थिग्रिएर क्रिष्टलका रूपमा परिणत हुन्छ । युरिक एसिडका क्रिष्टल शरीरका विभिन्न भागमा विशेषगरी जहाँ चिसो बढी हुन्छ, त्यहाँका जोर्नीसम्म पुग्छ ।
यो रोग लाग्ने मुख्य कारण के हो त?
रातो मासुको अत्यधिक सेवन, मदिरापान र धेरै मात्रामा प्रोटिनहरुको सेवन गर्दा यो समस्या हुने गर्छ । युरिक एसिड बढ्ने खालको खानपान बढी गर्नाले यसको मात्रा बढ्छ र समस्या हुन्छ । गेडागुडी अर्थात् दुई फक्लेटा हुने सबै खालका गेडागुडी जस्तै दाल, भटमास, राजमा, चना, केराउ आदिले युरिक एसिड बढाउँछ ।
तोरी साग, पालुङ्गो, कुरिलो, भ्यान्टा, फर्सी, लौका, कर्कलो, गाण्टे मुला, तितेकरेला, सलगम, हरियो केराउ, मुला, स्कुस, च्याउ, काँक्रा, सेतो काउली, बन्दा, स्कुसको मुन्टा, सलाद पत्ता, मस्यौरा आदि यस्ता तरकारी अझ गुन्द्रुक र तामाले यसको समस्या निम्त्याउँछ ।
ओखर, काजु, बदाम, मुंफली, काँचो नरिवल आदिले पनि शरीरमा एसिड बढाउँछ । रगतमा युरिक एसिड बढ्नुको अर्को मुख्य कारण पानी कम पिउनु पनि हो । युरिक एसिड पानीमा घोलिएर पिसाब मार्फत बाहिर फाल्ने काम हुन्छ । पानी कम भए युरिक एसिड फालिन सक्दैन । यसकारण यस्तो समस्या हुन्छ ।
यसका लक्षणहरु के–कस्ता देखा पर्दछन् ?
यसका लक्षणहरु जोर्नी सुन्निने, दुख्ने, फुल्ने, रातो हुने र दुखाइ हुन्छ । दुखाइ अक्सर बिहानीपखबाट शुरु हुन्छ । यसको आक्रमण अक्सर एक विन्दुमा, खुट्टाको बुढी औंलाका जोर्नीमा हुन्छ र टेक्नै नसकिने हुन्छ । यो बुढी औंलाबाहेक हातका अन्य कुनै औंलाका जोर्नीमा पनि हुन सक्छ । यसको दुखाइ कम्तिमा चार दिनदेखि एक हप्तासम्म रहन्छ ।
कुन उमेर समूहका मानिसलाई यो रोगले च्याप्ने गर्छ ?
यो रोग हरेक उमेर समूहका बिरामीहरुलाई लाग्ने गर्छ तर अझ वयस्क अवस्था अर्थात् २५ देखि ५० वर्षभित्रका मानिसहरुलाई यो रोगले गाँज्ने गर्छ । अर्को भनेको जिम जाने व्यक्तिहरुलाई पनि यो रोगको जोखिम हुन्छ । किनकि, जिम जाने व्यक्तिले अत्यधिक रुपमा प्रोटिनको धुलोको सेवन गर्ने कारणले यस्तो समस्या सिर्जित हुनुसक्छ । एकपटक युरिक एसिडले समातेपछि पछि जुनसुकै समयमा पनि यो समस्या दोहोरिन सक्छ ।
उपचार पद्घति के–कस्तो रहेको छ ?
यसको रोकथाम र उपचार भनेको रगतमा युरिक एसिडलाई सन्तुलनमा राख्नु हो । यसो गर्नाले बिरामीको जोर्नी वा शरीरका विभिन्न भागमा युरिक एसिडका मणिहरु थिग्रिन पाउँदैनन् । पिसाबको अमिलोपना घटाएर पनि मृगौलाबाट बढी मात्रामा युरिक एसिड निष्कासन गर्न सकिन्छ । पिसाबलाई बढी पातलो पार्दै पनि शरीरबाट बढी युरिक एसिड निष्कासन गर्न सकिन्छ । त्यसको निम्ति झोल पदार्थ तथा पानी बढी पिउनु पर्दछ । युरिक एसिडको स्तर रगतमा उच्च हुनेले खानामा माछा–मासु एकदमै घटाउने, मदिरापानबाट आफूलाई टाढा रहनु युरिक एसिडले निम्ताउने समस्याबाट टाढा हुनु हो ।
महिला र पुरुषमध्ये यो रोगले कुन वर्गलाई बढी सताउने गर्छ ?
यो रोग मधपान, धुम्रपान गर्ने मानिसहरुलाई धेरै मात्रामा लाग्ने हुँदा महिला भन्दा पुरुषहरु नै बढी मात्रामा ग्रसित हुन्छन् ।
यो रोगले के–कस्ता जटिलताहरु निम्त्याउन सक्छ ?
यो रोगले त्यस्तो जटिलता त निम्त्याउँदैन । तर जोर्नीहरुमा भने असह्य दुखाइ हुने गर्छ । त्यसैले गर्दा यो समस्या निम्तिन सक्छ ।
यसका बिरामीले कस्तो खानपान र जीवनशैली अपनाउनुपर्छ ?
खानपानको कुरा गर्दा रक्सीको सेवन त्यागी दिनुपर्छ । चुरोट खानुहुँदैन । मैदाका परिकार, टुसा उमारिएका गेडागुडी, जंकफुड, फास्टफुड, चिल्लोपिरो, मसला वर्ग, चिसो र तयारी पेय पदार्थ, अमिलो गुणका कुनै पनि खाद्य पदार्थ खानु हुँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया