सङ्गीतलाई हृदयको भाषाका रुपमा परिभाषित गर्ने सङ्गीत सर्जक तथा गायक तिलक सिंह पेला करीब तीन दशकदेखि निरन्तर सङ्गीत साधनामा नै अभ्यस्त छन् । चुपचाप साधनामा रहेका पेलाको साधनारत दैनिकीलाई करिब ढेड वर्षअघि सार्वजनिक भएको गीत ‘के लत बस्यो मलाई’ ले भङ्ग गरिदियो ।
गजलकार प्रदीप मैनालीको गजललाई पेलाले सङ्गीत भरेर आफैले स्वर दिएका थिए । जुन गीतका लागि गजलकार मैनालीको समूहले पेलालाई मनाउन ठूलो मेहनत गर्नुपरेको थियो ।
गीत सार्वजनिक भएपछि यति लोकप्रिय भयो कि, पेला र उनको सिर्जनाको चर्चा निकै चुलियो । गुमनाम बस्न रुचाउने पेलाले बाहिर नआई धरै पाएनन् । सङ्गीत बजारदेखि मिडिया जगतमा उनकै चर्चा र परिचर्चा भयो ।
त्यसो त २०५३ सालमै बैतडीबाट पहिलो आधुनिक गायकका रूपमा उदाएका उनले पहिलो ‘आँसु एल्बम’बाट नै चर्चा कमाइसकेका थिए । उक्त एल्बममा समावेश ‘लुकाउन खोज्दा पनि’ बोलको गीत तीनताका निकै चर्चित भएको थियो ।
त्यसपछि बल्ल उनले सङ्गीतलाई नजिकैबाट महसूस गरेर सङ्गीत साधनामा तल्लीन भए । २०६१ सालदेखि नै उनी ‘श्री कृष्ण गुरुकुल सङ्गीत पाठशाला’ मार्फत शास्त्रीय सङ्गीत साधना ज्ञान बाँड्नेतिरै थिए ।
‘के लत बस्यो मलाई’ गीतले भङ्ग गरिदिएको एकाग्रतालाई उनी फेरि लयमा फर्काउँदै छन् । यही लयकै सन्दर्भ, उनको सङ्गीत सिर्जना र उनले नियालिरहेको सङ्गीत क्षेत्रबारे जोय नेपालका लागि उनै सङ्गीतकार तथा गायक तिलक सिंह पेलासँग जोय नेपालकर्मी सुशीला तामाङले गरेको कुराकानीको सम्पादित अंश:
अहिले तपाईंको दिनचर्या कसरी बितिरहेको छ ?
मेरो दिनचर्या खासमा केही परिवर्तन भएको छैन । कहिलेकाहीँ कतैबाट बोलाउनु भएको केही कार्यक्रमहरुमा जाने गरेको छु । होइन भने अक्सर हुने यही पाठशालामा नै हो । त्यही सिक्ने सिकाउने साधनामै छु ।
‘के लत बस्यो’ गीतबाट त तपाईं निकै व्यस्त हुनुभयो नि, होइन ?
केही दिन मिडियाहरुले पछ्याउनु भयो । त्यतिबेला अलि व्यस्त भएर सेडुअल अलि बिग्रिएको थियो । अहिले पनि फेसबुक, म्यासेन्जर, हाट्सएपतिर म्यासेजहरु आइरहेको हुन्छ । अर्को गीत गाउनलाई पनि भनिरहनुभएको हुन्छ । अहिलेसम्म पनि धेरैले अफर गरेर फोन गरिरहनुहुन्छ । तर मैले अहिलेसम्म आफ्नोभन्दा अर्को गीत गाएको छैन ।
वि.सं. २०५३ सालमै पहिलो एल्बमबाटै तपाईंले चर्चाको स्वाद चाखिसक्नुभएको थियो । त्यो समय र अहिले प्रविधिको युगमा पाउनुभएको चर्चामा कति भिन्नता पाउनुभयो ? खासमा तपाईंको महसूस कस्तो रह्यो ?
मेरो लागि यो एकदमै भावनात्मक प्रश्न हो । २०५३ साल एउटा छुट्टै कालखण्ड थियो । त्यतिबेला सङ्गीतको ठूलो प्यास भएको तर केही जानकारी नभएको समय थियो । रेडियो नेपालमा हुने रेकर्डहरुबारे हामीलाई केही पनि थाहा थिएन ।
त्यो बडो रमाइलो क्षण पनि थियो । त्यतिबेला एक्कासी सबैले मन पराइदिँदा एउटा अलग्गै किसिमको इनोसेन्ट आनन्द थियो । त्यो त कहिल्यै बिर्सन सकिँदैन । अहिले त सङ्गीतमा पनि धेरै समय बिताइसकेको छु ।
त्योबेला थोरै मात्रामा पत्रिका र रेडियो नेपाल थियो । अहिले जस्तो एफएम रेडियो, पत्रपत्रिका, अनलाइनहरु र सामाजिक सञ्जालहरु थिएनन् । त्यस्तो बेलामा घर–घरमा जहाँपनि मेरो गीत गुञ्जायमान हुँदा खेरी अलग्गैको अनुभूति हुन्थ्यो ।
अहिलेको प्रविधिले गर्दा पनि पछिल्लो गीत धेरै चल्यो र मिडियामा यसको चर्चा भयो, त्यो अलग कुरा हो । तर त्यतिबेलाको क्षणचाहिँ योभन्दा महत्वपूर्ण लाग्छ । त्यो आनन्दसँग अहिलेको तुलना नै हुँदैन ।
तपाईं सङ्गीतलाई हृदयको भाषाको रुपमा परिभाषित गर्नुहुन्छ । सङ्गीत क्षेत्रमा भाइरल र ट्रेण्डिङ प्रतिस्पर्धात्मक समयमा पनि हृदयको भाषालाई महसूस गराउने सिर्जना सुन्ने सङ्गीतप्रेमी पनि रहेछन् नि होइन ?
जब कुनै कुरामा कुनै आशक्ति हुँदैन, तबसम्म त्यसमा मिठास हुँदैन । यदि मिष्ठान्न तरिकाले कुनै काम गरियो भने त्यसको भाइब्रेसनले कुनै दिन प्रभाव पार्छ भन्ने मलाई लाग्छ । मेरो गाउने इच्छा त २०५४/०५५ सालतिरै थियो, तर पछिल्लो गीत मैले चर्चामा आउन गाएको थिइँन । मैले त आफ्नै आनन्दका लागि सङ्गीत सिक्ने, सिकाउने, गाउने र कम्पोज गरिरहेको थिएँ ।
अचानक प्रदीप मैनाली ज्यू लगायत गजलकारहरुको टिम आउनुभएपछि त्यो गीत गरियो । तर गीतैमार्फत मार्केटमा जाउँला भन्ने होइन । त्यसमा मेरो वर्षौदेखिको निःस्वार्थ भावना र साधना थियो । सायद त्यसैको असर हो । त्यस्ता गीत सुन्नेहरु पनि हुनुहुन्छ ।
तपाईंको गीतलाई अत्यधिक सङ्गीतप्रेमीले मन पराए । अहिलेको सङ्गीत बजारमा गीतहरु आइ नै रहेपनि मन छुने सिर्जना दिन सकिरहेको छैन रहेछ भन्ने तपाईंलाई चाहिँ महसूस भयो कि भएन ?
यो कुरा त मलाई जहिल्यै पनि भइरहन्छ । गुणस्तरीय सङ्गीत बजारमा आउनुपर्छ भनेर मेरो तर्फबाट म कोसिस गरिरहेको हुन्छु । तर मार्केटमा छ्यापछ्याप्ति भाइरल ट्रेण्डले सङ्गीत क्षेत्र माथि उठ्दैन । यसमा लाग्ने सर्जकहरु पनि सङ्गीतको ज्ञान होस् या नहोस् कसरी मान्छेको अगाडि जाने भन्ने प्रक्रियामा हुनुहुन्छ ।
टिकटक, फेसबुक जस्ता आजभोलिका सामाजिक सञ्जालमार्फत उहाँहरु आफूलाई एक्सपोज गर्न खोज्नुहुन्छ । त्यही कुरालाई धेरै मानिसहरुले फलो गरेपछि अर्को पनि त्यही लाइन पछ्याउनुहुन्छ । त्यही भएर आजभोलि साधना भन्ने कुरा नै हुँदै भएन । यस्तोबेलामा कहिलेकाहीँ राम्रा सिर्जनाहरु आउँछन् । तर आम मानिसलाई थाहा नै हुँदैन ।
यसमा मिडियाको पनि ठूलो हात छ । कुन बढी चर्चामा छ, कुनलाई बढी हेरिन्छ भन्ने कुराहरुले नै यसमा प्रभाव पारेको हुन सक्छ । गुणस्तर नै छ भने पनि त्यो चीज हेरिँदैन र पढिँदैन भने त्यसको पछाडि किन लाग्ने भन्ने पनि मिडियालाई हुन्छ । अहिले यस्तो बाध्यता पनि छ । यसले गर्दा पनि गुणस्तरीय सङ्गीत सिर्जना भइरहेको छैन ।
तपाईंकै अनुभवका आधारमा कुरा गर्दा अहिलेको भाइरल, ट्रेण्डिङ जस्ता प्रतिस्पर्धात्मक बजारको माहोलले चाहिँ तपाईंहरु जस्ता सर्जकहरुको साधनालाई कतिको प्रभाव पार्ने रहेछ ?
यसले आफ्नो दिनचर्यामा त डिस्टर्ब भइ नै हाल्छ । साधनामा पनि प्रभाव त पर्छ । ‘के लत बस्यो गीत’को चर्चापछि एक दुई हप्ता त मोबाइल स्विच अफ नै गरेर बसेको थिएँ । चिनजानका आधारमा आफै भएको ठाउँमा आउनुभएपछि फर्काउन पनि सकिएन । गीत चलेपछि धेरै सर्जकहरु गाउने अफरै लिएर आउनुभयो ।
म गीतहरु गाउन मात्र आएको होइन, माफ गर्नुहोला भनेर धेरैलाई फर्काएँ । कुनै दिन मुड चल्यो भने म आफै सम्पर्क गर्छु भनेर सङ्गीतकार र गीतकारहरुलाई सम्झाएँ । अहिलेसम्म उहाँहरुको आग्रह मैले स्वीकारेको छैन ।
भनेपछि एकजना सच्चा सर्जकलाई बजारको चर्चाले कुनै प्रभाव पार्दैन, भन्ने हो ?
सच्चा सर्जकलाई बजारले खासै फरक पार्दैन । सङ्गीत साधना, सिक्ने र सिकाउने नै प्राथमिकतामा पर्छन् । खासमा यसमै आनन्द आउँछ । पछिल्लो समयमा पाउने चर्चालाई म मायाको रुपमा लिन्छु । सुन्नेले मन पराइदिनुभयो ।
त्यो मेरो लागि राम्रो र उहाँहरुले दिनुभएको मायाका रुपमा सम्झन्छु । त्यसका लागि आभार व्यक्त गर्नैपर्छ । तर मलाई धेरैले मन पराउनुभयो । म त ठूलो भएँ भन्ने भावना कहिल्यै आएन । यसमा ठूलो काम गरेँ भन्ने अनुभव पनि भएन । उहाँहरुले राम्रो रचनालाई स्थान दिनुभएर आशिर्वाद दिनुभएको छ भन्ने रुपमा लिएँ ।
अब तिलक सिंह पेला जस्तो सङ्गीत साधकहरुले साधनासँगै सङ्गीतप्रेमीहरुलाई सिर्जनाका खुराकहरु ल्याउनुपर्छ भन्ने तपाईंलाई जिम्मेवारी बोध भयो होला नि होइन ?
मैले त्यो जिम्मेवारी त बहन गरिरहेकै छु । मैले शिक्षा दिएको विद्यार्थीहरुले आफ्नो स्थानबाट राम्रो गुणस्तर सङ्गीतमा काम गरिरहेका छन् । उनीहरु धेरै चर्चामा नआएपनि गुणस्तर सङ्गीतका लागि अहोरात्र खटिरहेकै छन् । म पनि आफ्नो रचनाहरुलाई आफ्नो युट्युब च्यानलमा राखिरहेको हुन्छु । मन पराउनेहरुले सुन्नुहुन्छ । तर जसले भन्यो, त्यस्तै गीतहरु गाउने हिसाबले चाहिँ म हिँडेको छैन ।
त्यसरी हिँड्न पनि मलाई राम्रो हो जस्तो लाग्दैन । आफ्नो भाव बोकेका सङ्गीतहरु आफ्नो च्यानलहरुमा समयको माग अनुसार राखिरहन्छु । मेरो हिजो जे लय थियो, आज र भोलि पनि त्यही नै हुनेछ ।
अबको तपाईंको योजना के छ ? समग्र सङ्गीत क्षेत्रका निम्ति तपाईंको सन्देश के छ ?
सङ्गीतकै फिल्डमा लागिरहनुभएकाहरुलाई अत्यधिक मेहनतको आवश्यक छ । सङ्गीतमा भाइरल टे«ण्डकै पछि लागेर अगाडि बढ्यो भने भोलि आफैलाई धोका हुन्छ । जस्तो अहिले नयाँ पुस्ताकाहरुलाई कसैले ल्याएर एक दुई वटा गीत गाउने अवसर दिनुहुन्छ ।
उहाँहरु एक्कासी सेलिब्रटी भएपनि सङ्गीतको केही ज्ञान नै हुँदैन । तर भविष्यसम्म त त्यो ट्रेण्ड रहँदैन । पछि उहाँहरु सङ्गीतमै दिगो रहन सक्नुहुन्छ कि हुँदैन भन्ने मलाई पीर लाग्छ । बरु उहाँहरुलाई कुनै गीत रेकर्ड गराउने भन्दा पनि कुनै राम्रो सङ्गीत गुरुकहाँ लगेर सङ्गीत सिकाएर केही वर्षपछि मात्र रेकर्डमा ल्याउनुभयो भने सङ्गीत समाजले पनि राम्रा साधकहरुलाई पाउँथ्यो ।
यसले हाम्रो सङ्गीत क्षेत्र पनि बलियो हुन्थ्यो । अहिलेको बजारले एक/दुई जना मान्छे अलि दिन अगाडि आए जस्तो हुन्छ, र फेरि हराउँछ । एउटा राम्रो गला भएको मान्छे यसरी हराउनु भनेको यो त सङ्गीत क्षेत्रकै लागि ठूलो क्षति हो । बजारमा अग्रज सर्जकसँग प्रतिस्पर्धा गर्दा नयाँ आउनेलाई पनि गाह्रो हुन्छ र सक्नुहुन्न ।
उहाँहरुको भविष्य नै बिचल्लीमा पर्न सक्छ । सेलिब्रेटी भएपछि सिक्न जान पनि उहाँहरुले भ्याउनुहुन्न र उहाँहरुमा पनि नाम कमाएकोमा अहङ्कारको भावना आउन सक्छ । त्यसकारण जुनसुकै क्षेत्रमा आउने व्यक्तिले पनि आफ्नो जिम्मेवारी गम्भीर भएर पूरा गर्नुपर्छ । तब मात्र त्यो क्षेत्रको विकास हुन्छ । सङ्गीत क्षेत्रमा आउनेहरुले पनि यसबारे गम्भीर रुपमा सोच्न जरुरी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया