मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महानगर प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डङ्गोलले अवलोकन गरे विद्यार्थीहरुका कलाकृति

काठमाडौँ– आइतवार काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डङ्गोलले उपत्यकाका विद्यार्थीहरुद्वारा सिर्जित कलाकृतिहरु अवलोकन गरेका छन् ।

महानगरपालिका शिक्षा विभागको आयोजना तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा महानगरअन्तर्गतका ९ विद्यालयका १९ समूहमा सञ्चालन भएको शिक्षामा सिप कार्यक्रमअन्तर्गतको ‘स्केचिङ एन्ड स्कप्चर’ मोड्युलको तालिम/कार्यक्रममा विद्यार्थीहरूबाट सिर्जित कलाकृतिको प्रदर्शनी आइतवार सम्पन्न भएको छ ।

समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपप्रमुख डङ्गोल उपस्थित भएकी थिइन् । शाह भने समापन कार्यक्रम अघि नै सहभागी भएका थिए । उनले निकै चाख लिएर कला प्रदर्शनी अवलाेकन गर्दै यसलाई निकै सकारात्मक कार्यका रुपमा लिए ।

उपप्रमुख डङ्गोलले कलालाई करिअर तथा हविका रूपमा पनि लैजान सकिने बताइन् । उनले भनिन्, ‘विद्यार्थीले आफूसँग जे–जे क्षमता छ, त्यसैबाट शुरु गर्ने भन्ने सन्देश यस कार्यक्रमले दिएको छ । एक विद्यार्थीले अर्कोबाट सिक्ने प्लेटफर्म पनि भएको छ । अर्कोपल्ट यस कार्यक्रम अझ कस्तो होला भनेर म झन उत्साहित छु ।’

प्रतिष्ठानसँग आगामी दिनमा कलासँग सम्बन्धित विविध कार्यमा महानगरपालिकाले सहकार्य गर्ने विश्वास उनले व्यक्त गरिन् ।कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले यस कार्यक्रमले ठुलो हौसला मिलेको बताए । कलाले सबै क्षेत्रमा प्रभाव पार्ने भएकाले यसको महत्व भएको धारणा राखे ।

उनले भने, ‘हामीले काठमाडौँ महानगरपालिकासँग विभिन्न कार्यक्रमहरूमा सहकार्य गरेका छौँ र आगामी दिनमा गर्दै जाने छौँ । अहिले शिक्षामा सिप कार्यक्रमअन्तर्गतको ‘स्केचिङ एन्ड स्कप्चर’ कार्यक्रमबाट विद्यालय र विद्यार्थीहरूले हेर्ने दृष्टिकोण नै बदलिएको छ ।’

समापन समारोहमा तालिममा सहभागी प्रशिक्षक, सहप्रशिक्षकलाई प्रशंसा–पत्र तथा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो ।

वैशाख २८ गतेबाट शुरु भएको प्रदर्शनीमा विश्व निकेतन मा. वि, रत्नराज्य मा.वि., ज्ञानोदय मा.वि., तरुण मा.वि, गीतामाता मा.वि., कन्या मन्दिर मा.वि., शहीद शुक्र मा.वि., पद्मकन्या विद्याश्रम मा.वि र कोटेश्वर सरस्वती मा.वि.का विद्यार्थीहरूले सिर्जना गरेका १२ सय चित्र तथा मूर्तिकला राखिएको थियो ।

कार्यक्रमको संयोजन प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?