मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ठूलीगाड जलाधार क्षेत्रमा माछाका प्रजाति लोप हुँदै

कैलाली– कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड जलाधार क्षेत्रमा माछाका प्रजाति लोप हुन थालेका छन् । जलवायु परिवर्तन र अन्य मानवीय गतिविधिका कारण रैथाने माछाका प्रजाति लोप हुन थालेका हुन् ।

चुरे क्षेत्रमा जथाभावी खनिएका सडकबाट वर्षात्को समयमा ढुङ्गा, माटो, गेग्रान बगेर ठूलीगाड जलाधार क्षेत्रमा थुप्रिएर नदीको गहिराइ कम हुँदैजाँदा माछाका प्रजाति पनि घट्दै गएको चुरे गाउँपालिका–३ का स्थानीय टेकबहादुर शाहले बताए । उनका अनुसार ठूलीगाड नदीमा पहिलेजस्तो माछा भेटिन छाडेका धेरै भइसकेको छ ।

“विगतमा नदीमा जाल खेलाउँदा आधा घण्टाभित्रै चार–पाँच किलो माछा मार्न सकिन्थ्यो, अहिले भने दिनभरि जाल खेलाउँदा पनि एक किलोसम्म पनि हुँदैन् । माछा पाउनै छाड्यो, जालमा पहिला एउटै माछा दुईदेखि पाँच किलोसम्मका हुन्थे तर अहिले स–साना माछामात्रै जालमा पर्ने गरेका छन्”, उनले भने ।

जलवायु परिवर्तन, लामो समयसम्म हुने खडेरी, भूक्षयबाट गेग्रान थुप्रिएर नदीमा पानीको सतह निकै घट्दै जान थालेकाले ठूलीगाड जलाधार क्षेत्रमा माछाका प्रजाति घट्दै जान थालेको स्थानीय बताउँछन् । विभिन्न कारणले नदीको सतह पुरिँदै गएपछि माछाको बासस्थान मासिँदै गएको र त्यसले माछा नै लोप हुने अवस्थामा पुगेका मोहन्याल गाउँपालिका–४ खिमडीका स्थानीय भक्तप्रसाद भण्डारीले बताए।

उनले ठूलीगाड र कर्णाली नदीको सङ्गमस्थल रहेको खिमडीस्थित ठूलीगाडमा पहिले पाइने गरेका धेरै प्रजाति लोप भइसकेका बताए। वर्षात्का बेला पानीको सतह निकै बढेपछि मात्र सो क्षेत्रमा माछा पाइने गरेको उनको भनाइ छ ।

“एकातिर प्राकृतिक समस्या छन्, अर्कोतिर ठूलीगाड जलाधार क्षेत्र तथा अन्य सहायक खोलामा बम विष्फोटनका साथै विषादि र करेन्ट प्रयोगगरी माछा मार्ने गरेकाले रैथाने माछाका प्रजाति लोप हुन थालेका हुन्”, उनले भने ।

यहाँ भएर बग्ने ठूलीगाड कर्णाली नदीमा गएर मिसिन्छ । कर्णाली नदीमा जलस्तर बढेपछि ठूलीगाड जलाधार क्षेत्रमा लोपोन्मुख प्रजातिका माछासँगै अन्य प्रजातिका माछा पनि पाइने गरेको छन् ।

उक्त जलाधार क्षेत्रमा वर्षायाममा माछाका २७ प्रजाति र १६ जलवनस्पति रहेकामा तीमध्ये शेर, जेब्रा, बुचे असला, सोल, चुच्चे र राजावाम रैथाने प्रजातिका माछा पाइने गरेका चुरे गाउँपालिका–१ का स्थानीय हुकुम बोहराले बताए । उसो त जलीय जैविक विविधता संरक्षण गर्न पाँच वर्षअघि कैलालीका दुई र डोटीका दुई स्थानीय तहले ठूलीगाड जलाधार क्षेत्रमा जथाभावी माछा मार्न प्रतिबन्ध लगाएका थिए ।

कैलालीको चुरे र मोहन्याल तथा डोटीको जोरायल र बडीकेदार गाउँपालिकाले जलचर संरक्षण ऐन ल्याएपछि केही सुधार हुने धेरैले आशा गरेका थिए तर विभिन्न कारणले सो ऐन कार्यान्वयनमा आउन नसकेकाले समस्या यथावत रहेका चुरे गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले बताए ।

ठूलीगाड जलाधार क्षेत्रमा जलचर संरक्षण ऐन कार्यान्वयनमा ल्याउन सकेमात्र जलीय जैविक विविधता संरक्षणसँगै माछाका प्रजाति जोगाउन सकिने उनको भनाइ छ । डोटी र कैलाली जिल्लालाई छुट्याउने उक्त जलाधारको जलनिकास घनत्व नौ सय ३५ मिटर क्युबिक किमी र जलाधारको क्षेत्रफल आठ सय ५० क्युबिक किमी रहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?