मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्व

के ब्रह्माण्डका अन्य ग्रहमा पृथ्वीमा जस्तै जीवन सम्भव छ ?

काठमाडौँ– तपाईँले कहिल्यै सोच्नुभएको छ ? कुनै दिन पृथ्वीको आयु समाप्त भयो भने के हुन्छ ? यदि पृथ्वी नष्ट हुने भयो भने त्यसको विकल्प के होला?

वैज्ञानिकहरूले गरेका विभिन्न खोज तथा अनुसन्धानहरूले पृथ्वीमा कुनै पनि समय महाप्रलय आउन सक्ने आँकलन गरिएको छ । यदि कुनै दिन हामीले प्रयोग गर्ने कम्प्युटरमा जस्तै ब्रह्माण्डको सिस्टममा पनि इरर (त्रुटि) आयो भने पृथ्वी ध्वस्त हुन केही सेकेण्ड पनि लाग्दैन ।

पृथ्वीको उत्पत्तिदेखि वर्तमानसम्म कैयन् ठूला विनाशकारी महाप्रलयका घटनाहरू घटिसकेका वैज्ञानिकहरूले दाबी गर्दै आएका छन् । भनिन्छ कि, मानव जीवनको शुरुवात हुनुभन्दा पहिले नै यो पृथ्वीमा डायनासोरहरूको एकछत्र राज थियो । पछि ती डायनासोरहरू पृथ्वीमा आएको महाप्रलयका कारण नष्ट भए । त्यसपछि वर्तमान जीवनको शुरुवात भएको मानिन्छ ।

यसअघि भएका यस्तै महाप्रलयका घटनाले यो पृथ्वी कुनै दिन पुन: ध्वस्त हुनसक्ने अथवा नष्ट नै हुनसक्ने भन्दै वैज्ञानिकहरूले चेतावनी दिँदै आएका छन् । यसलाई पृथ्वीको ‘अन्त्य’ का रुपमा पनि कतिपयले विश्लेषण गर्दै आएका छन् ।

अहिलेका लागि यी सबै सम्भावना मात्र हुन् । यदि महाप्रलय आइहाले पनि त्यस्तो महाप्रलय आउन अझै हजारौँ वर्ष लाग्न सक्छ ।

त्यसोभए के कालान्तरमा पृथ्वीको अन्त्य हुन्छ? अथवा मानव जीवनका लागि पृथ्वी सधैँ सुरक्षित नै छ ? यी प्रश्नहरूको उत्तर भेट्याउन वैज्ञानिकहरूले लामो समयदेखि प्रयास गरिरहेका छन् ।

अझ पछिल्लो समय त पृथ्वीको विकल्पका रुपमा दोस्रो ग्रह (पृथ्वीजस्तै अर्को ग्रह जहाँ मान्छे बस्न सकोस्) को समेत कल्पना गरेर त्यसको खोजीका लागि विश्वका शक्तिशाली देशले अर्बौँ डलर लगानी गरिरहेका छन् ।

अमेरिकाका धनाड्य अर्बपति एलन मस्कले मङ्गल ग्रहमा मानव पठाउने तयारीका साथ काम भइरहेको र त्यसका लागि अझै केही वर्ष लाग्ने दाबी गर्दै आइरहेका छन् । उनले झण्डै १० लाख मानिसलाई मङ्गल ग्रहमा पुर्‍याउने योजना अगाडि सारेको पनि बताएका छन् ।

यद्यपि अहिलेसम्म विश्वका कुनै पनि राष्ट्रले चन्द्रमा (उपग्रह) मा बाहेक अन्य ग्रहमा मानव पठाउन सकेका छैनन् । अन्तरिक्ष यात्राको दौडमा रहेका कतिपय देशले भने मङ्गल ग्रहमा मानव बस्ती बसाल्न सकिन्छ कि सकिँदैन भनेर लामो समयदेखि अध्ययन तथा अनुसन्धान थालिरहेका छन् ।

अमेरिकाको स्पेस एजेन्सी नासाले सन् २०३० सम्म मङ्गल ग्रहमा मानव पुर्‍याउने गरी काम थालेको छ । अब प्रश्न उठ्छ, यदि पृथ्वीवासीले अन्य ग्रहमा बस्ती बसाउने कल्पना गरिरहेका छन् भने अरु ग्रहमा भएका अरु जाति (जसलाई हामीले एलियन भनेर बुझ्छौँ) ले यस्तो परिकल्पना गरेका होलान् कि नहोलान्?

अहिलेलाई अपत्यारिलो लागे पनि वैज्ञानिक र खगोलशास्त्रीहरूले पृथ्वीबाहिर पनि जीवन हुनसक्ने भन्दै वर्षौँदेखि खोजी गरिरहेका छन् ।

ब्रह्माण्ड यति विशाल छ कि, यसको कुनै अन्त नै छैन । अर्थात्, अनन्त छ । यो अनन्त ब्रह्माण्डमा पृथ्वीजस्ता करोडौँ ग्रहहरू छन् । जसमा जीवन छ कि छैन भन्ने सबैको चासोको विषय हो । अर्को कुरा यो विशालकाय ब्रह्माण्डका लागि पृथ्वी त एक धूलोको कणजस्तै हो ।

विज्ञानलाई आधार मान्ने हो भने हरेक वस्तुको निश्चित आयु हुने गर्छ ।

अब कुरा गरौँ, मानिस पृथ्वीमा मात्र कसरी उत्पत्ति भयो? के मानव जीवनका लागि आवश्यक पर्ने अक्सिजन, पानी लगायतका तत्व अन्य ग्रहमा पनि हुन सक्छन्?

अहिलेका लागि यी सबै प्रश्नको उत्तर वैज्ञानिक रुपमा आइसकेको छैन । तर, यसका लागि भने वर्षौँदेखि खोजी जारी छ । यो ब्रह्माण्डको संरचना र रुप नै यति ठूलो छ कि, सम्भवत: मानिसले यसको ठ्याक्कै जवाफ नपाउन पनि सक्छ । खोजी भइहाले पनि अझै हजारौँ वर्ष लाग्न सक्छ ।

महान् वैज्ञानिक स्टेफन हकिङ्सले सन् १९८८ मा पृथ्वीमा मानवको अस्तित्व एक हजार वर्षभन्दा बढी समयसम्म नरहने चेतावनी दिएपछि विश्व नै झस्किएको थियो । त्यसपछि विश्वका अन्य वैज्ञानिकहरु पनि जीवनका लागि उपयुक्त वातावरण भएको अर्को ग्रहको खोजीमा लागे ।

वैज्ञानिकहरूका अनुसार हाम्रो ब्रहमाण्डमा अरबौं तारा र ग्रहहरू छन् । भनिन्छ, यी प्रत्येक ग्रहहरू एकअर्कादेखि लाखौं प्रकाश वर्ष टाढा हुन्छन् । ब्रह्माण्डमा रहेका कुनै न कुनै ग्रहमा पृथ्वीमा हामीजस्ता अनगिन्ती मानिस हुन सक्छन् भन्नेमा धेरै वैज्ञानिकहरुले विश्वास गर्छन् ।

ब्रम्हाण्ड यति विशाल छ कि, यहाँ अर्बौ ग्रह तथा उपग्रहहरु  छन् । यदि ब्रहमाण्डकै एक ग्रह पृथ्वीमा जीवन सम्भव छ भने यहाँ रहेका अन्य ग्रहहरुमा पनि पक्कै जीवन सम्भव छ भन्ने मत वैज्ञानिकहरुको छ । तर हालसम्म पुष्टि हुने आधार भने भेटिएका छैनन् ।

पृथ्वी बाहेक जीवन अर्को ग्रहमा पनि छ भन्ने ‘प्यान्स्पर्मिया सिद्धान्त’ ले समेत केही हदसम्म पुष्टि गर्छ । यो सिद्धान्तले के भन्छ भने कुनै एउटा ग्रहमा अर्को ग्रहको जीन वा अवशेष पुग्न सक्छ । यो सिद्धान्तका अनुसार पृथ्वीमा भएका मानिस या अन्य जीवहरूको जीवन अरु ग्रहमा पनि पुग्न सक्छ ।

मानिसको उत्पत्ति पृथ्वीमा कसरी भयो भन्ने प्रश्नमा वैज्ञानिकहरुले यसै सिद्धान्तलाई आधार मानेर समेत उत्तर दिन्छन् ।

ब्याक्टेरिया, स्पोर्स र भाइरस लगायतका सूक्ष्मजीवहरू विभिन्न कारणहरुले अन्तरिक्षमा रहेका एक ग्रहबाट अर्को ग्रहमा यात्रा गर्छन् र सबै कुराको अनुकुलता भएमा हजारौँ, लाखौँ वर्षपछि ठूलो जीवको उत्पत्ति हुन्छ भन्ने अवधारणामा प्यानस्पर्मिया सिद्धान्त आधारित छ ।

प्यान्स्पर्मियाको सिद्धान्त पृथ्वीमा जीवन उत्पत्तिका बारेमा प्रमाणित तथ्य भने होइन । किनभने यसमा वैज्ञानिकहरु नै एकमत छैनन् । तर यसले पनि पृथ्वीबाहेक अन्य ग्रहमा पनि जीवन रहेको र कुनै अज्ञात ग्रहमा रहेको ती जीवनहरु हामीभन्दा बुद्धिमान हुनसक्ने मान्यता राख्दछ ।

पृथ्वीजस्तै जीवनको अस्तित्व भएको ग्रहको खोजीमा लागेका न्यूर्योकको कर्नेल विश्वविद्यालयका वैज्ञानिक फ्र्याङ्क ड्रेकले पनि सन् १९६१ मा हाम्रो सौर्य प्रणाली रहेको ब्रहमाण्डभित्र एक सयदेखि दश हजारसम्म पृथ्वीजस्ता ग्रहहरु र तिनमा बौद्धिक प्राणीहरु हुन सक्ने बताएका थिए ।

त्यस्तै अर्का वैज्ञानिक कार्ल सगनले पनि सन १९७४ मा ‘मिल्की वे ग्यालेक्सी’ भित्र मात्रै दश लाख पृथ्वी जस्ता ग्रहहरु र बौद्धिक प्राणीहरु हुनसक्ने अनुमान गरेका थिए ।

वैज्ञानिकहरुले बौद्धिक प्राणीहरु अर्थात् (एलियन) जीवनहरु पत्ता लगाई उनीहरुसँग सूचना आदानप्रदान प्रयासरत छन् । यसै कार्यका लागि भौतिकशास्त्री जुजेपी कोकोनी र फिलिप मोरीसनले सन् १९५९ मा ‘सर्च फर एक्सट्राटेरिस्टेरियल इन्टेलिजेन्स’ (सेटी) नामक एक संस्थाले अमेरिकाको सानफ्रान्सिस्कोमा एउटा एन्टेना भएको टेलिस्कोप जडान गरेको छ ।

जसले सन् २०२५ सम्ममा अन्तरिक्षबाट एलियनहरुले पठाएको सूचना प्राप्त गर्न सक्ने विश्वास गरिएको छ ।

यस्तै, सेटीले नोभेम्बर १६, १९७४ मा पोर्टीरिकोको अरेसिबो रेडियो टेलिस्कोपद्धारा अन्तरिक्षमा पृथ्वीको अवस्थिति, यहाँ भएको मानिसको अस्तित्व र केही रसायनिक सूत्रसहितको कोड सन्देश पृथ्वीभन्दा करीब २५ हजार १ सय प्रकाश वर्ष टाढा पठाएको स्पेस डट कमले उल्लेख गरेको छ । तर सम्भावित एलियनको प्रतिउत्तर पाउन भने धेरै समय कुर्नुपर्नेछ ।

रहस्यमयी ब्रह्माण्डमा पृथ्वीमा जस्तो जीवन छ कि छैन भनेर अध्ययन भइरहे पनि अहिलेलाई भने यो केवल कल्पनामा मात्र सीमित छ । वैज्ञानिकहरूले पृथ्वीबाहेक अन्य ग्रहमा मानिस पठाउन जति प्रयास गरेका छन् । त्यति नै अन्य ग्रहमा जीवन छ कि छैन भनेर खोजी पनि गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?