सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा ‘महिनावारी स्वच्छता’ अभियान सुरूआत भएको छ । सोलुदुधकुण्ड नगरपालिका–६ थातिङमा आज अभियानको सुरुआत गर्दै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे ‘खत्री’ ले महिनावारी अभिसाप नभई बरदान भएकाले लजाउनु वा धक मान्नुपर्ने विषय नभएको बताइन् ।
उनले अब घरघरमा महिनावारीका विषयमा सचेता जगाउनुपर्ने र त्यसमा सबै सरोकारवालाको साथ अपरिहार्य रहेको उनको भनाइ छ । “महिनावारी महिलाको स्वास्थ्यसँग जोडिएको प्राकृतिक प्रक्रिया हो ।
त्यसैले यसको नाममा महिलालाई छाउबार्न, घरभन्दा टाढा बस्न बाध्यपर्ने काम गर्नुहुँदैन । त्यसले निम्त्याउने जोखिमका बारेमा हामी सबै जानकार नै छ”, उनले भने,“अब महिनावारीको समयमा सरसफाइ तथा स्वच्छतामा ख्यालगरी यो प्रथालाई त्याग्न जरूरी छ ।” उनले अब महिनावारी शिक्षालाई ग्रामीणस्तरसम्म पुर्याउन सबै लाग्नुपर्नेमा जोड दिए ।
आयोजक संस्था सामाजिक संस्था ‘द स्मल वल्र्ड ‘टिएसडब्यू’ का कार्यकारी निर्देशक सोनाम डोका शेर्पाले प्रजनन स्वास्थ्य महिलाको अधिकार भएकाले यसबारे खुलेर कुरा गर्न आग्रह गरे । उनले महिला र महिनावारीविना सृष्टि अधुरो हुने भएकाले महिनावारीलाई उत्सवको रूपमा लिनुपर्ने उनको भनाइ छ ।
दुई सप्ताहसम्म चल्ने अभियानका क्रममा जिल्लाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया