काठमाडौँ– हरेक सृष्टि जगत आमाको महिमा गाएर विरलै थाक्छन् । आमाहरु कथा, कविता, गीत, धुनका रुपमा सिर्जनामा छाएका छन् । साहित्य फाँटमा आमाको विषयलाई समेटिएका सिर्जनाहरु थुप्रै छन् ।
विश्वविख्यात साहित्यिक कृतिहरु म्याक्सिम गोर्कीको उपन्यास ‘मदर’, टोनी मरिसनको ‘द बिलभ्ड’मा आमाहरु उत्कृष्ट सिर्जनाका रुपमा बाँचिरहेका छन् । साहित्यकार पद्मावती सिंहको सिर्जनामा पनि उनकी आमा चन्द्रभुवनेश्वरी माथेमा बाँचिरहेकी छिन् ।
मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको सन्दर्भमा आमाबारे स्मरण कोट्याउँदा उनी शुरुवाती चरणमा नै भावुक भइन् । किनकि, आमाको मृत्युपछि भोगेको वियोगले उनी मानसिक रुपमै थला परिसकेकी छिन् ।
आमासँग बढी नजिक भएकै कारण आमाको मृत्युपछि उनको दैनिकी नै बिग्रिएको थियो । आमाको देहान्त हुँदा उनी परिवार नियोजन सङ्घमा ‘नियोजन’ पत्रिकामा सम्पादकको भूमिकामा कार्यरत थिइन् ।
आमाको वियोगले मानसिक रुपमा विक्षिप्त भएकी उनले काम नै गर्न नसकेपछि राजिनामा दिएकी थिइन् । पछि केही समय मन बहलिएपछि ‘सेभ द चिल्ड्रेन प्रोजेक्ट’मा जोडिएर उनी गोरखा पुगिन् ।
यही बेला नै उनको उपन्यास ‘समानान्तर आकाश’ सिर्जना भएको थियो ।
आमासँगका संस्मरण खोतल्नुपूर्व उनले आफूसँग सुरक्षित रहेको आमाका श्यामश्वेत तस्वीरहरु केही बेर नियालिन् । तस्वीरहरु सङ्गाली राखिएको एल्बमहरुमा उनकी आमा चन्द्रभुवनेश्वरी सजिएकी थिइन् । आमाछोरी सँगै भएका तस्वीरहरुमा दुवै जनाको मुहारमा खुसीको मुस्कान छाएको देखिन्थो । तिनै तस्वीरहरु बिस्तारै सङ्गाल्दै पद्मावती आफ्नो बाल्यकालीन समयतिर पुगिन् ।
काठमाडौं ओमबहालमा जन्मिएकी पद्मावती एघार जना सन्तानमा परिवारकी कान्छी छोरी हुन् । उनी आमाको माया र लालनपालनमा सुखैले हुर्किइन् । हरेक समय उनी आमासँगै बिताउँथिन् । अरु सन्तानभन्दा आमासँग उनी निकै नजिक थिइन् । उनले आमालाई एकपल पनि छोडिनन् ।
स्कूलबाट आउने बित्तिकै उनी आमाको काखमा पुग्थिन् । सुत्ने, खाने, खेल्ने हरेक समयमा उनलाई आमा साथमा चाहिन्थ्यो । आठ वर्षसम्म पनि आमाले हातले खुवाएको स्मरण अझै उनलाई ताजै छ ।
‘म आमासँगै धेरै नै निर्भर थिएँ । विवाह गर्नेबेला सम्म पनि मलाई केही काम गर्न आउँदैनथ्यो । मैले कामको दुःख यस्तो हुन्छ भनेर विवाह गरेर मात्र थाहा पाएँ,’ उनी सुनाउँछिन् । विवाहपछि उनी राती कामबाट फर्केर एकपटक भएपनि ठमेलबाट आमालाई भेट्न ओमबहाल पुग्थिन् ।
आमासँगको सामिप्यताबारे उनी एउटा बाल्यकालको घटना स्मरण गर्छन् । उनी ९/१० वर्षकी हुँदा एकपटक उनकी आमा उनलाई थाहा नदिई माइती पुगेकी थिइन् । सुत्ने बेलामा आमा मामाघर भएको थाहा पाएपछि राति ८/९ बजेतिर नै दौडेर उनी मामाघर पुगेको सम्झिन्छिन् ।
पद्मावती सम्पन्न परिवारमा जन्मिइन् र हुर्किइन् । उनका हजुरबुवा हरिभक्त माथेमा दरवारमा सरदार, बडा काजी थिए । बुवा परशुरामभक्त दरवारमै मीर सुब्बा हुँदै मन्त्रीसमेत बने । उनका बुवा बिहान उठेर तानपुरामा शास्त्रीय गाउनमा लाग्थे भने आमा घरधन्दामा । बुवा परशुरामभक्त शास्त्रीय गायन कलामा सौखिन थिए ।
कलकत्तामा अध्ययनकै क्रममा उनका बुवाले शास्त्रीय सङ्गीत सिकेका थिए । तत्कालीन महेन्द्र सरकारदेखि भारतीय राजदूतावासमा उनी शास्त्रीय गायन कार्यक्रममा सहभागी हुन्थे । पद्मावतीकै अनुसार उनले पहिलो सङ्गीत प्रवेशिका पुस्तक समेत लेखे । यता उनकी आमालाई घरधन्दामा भ्याइनभ्याइ हुन्थ्यो । ३०/४० जनाको संयुक्त परिवारमा सम्हाल्ने उनकी आमाकै जिम्मेवारी थियो ।
परिवारका लागि नोकर, चाकर त थिए तर त्यतिबेलाको सम्पन्न नेवार परिवार भएकोले घरमा बुहारीलाई काम नगरी सुखै थिएन ।
‘बिहान चार बजे उठेर बेलुका १० बजेसम्म आमाले काम गर्नुपर्थ्यो । खानपानको भन्दा पनि आमालाई बुहारी हुनुको दुःख थियो’, उनले आमाको घरधन्दाबारे सम्झिइन् ।
त्यसो त उनकी आमा पनि काठमाडौं गणेशथानकै बडा हाकिमको एक्ली छोरी थिइन् । यद्यपि बिहानदेखिको घरधन्दा सासुहरुलाई आदरसम्मान, खुवाइतुल्याइ गर्ने, स्याहारसुसार, घरव्यवहार सम्हालेर पनि सन्तानको भविष्यप्रति सधैं चनाखो रहने आमाको स्वभाव सम्झेर अहिले पनि उनलाई आश्चर्य लाग्छ ।
त्यो बेलाको समाजमा परिवारमा छोरीबुहारी बाहिरतिर नहिँड्ने, बुहारी भित्रै बस्नुपर्ने, घरको काम गर्नुपर्ने चलन भएतापनि पद्मावतीकी बुवाआमाले कहिल्यै छोरीहरुलाई रोकिनन् । उनको कलाप्रतिको मोहलाई आमाले झनै जगाइराखिन् । नृत्य प्रतियोगिता, खेलकुद सबैमा उत्कृष्ट भएर घर आउँदा आमाले उनलाई सगुन दिएर झनै उत्साह दिन्थिन् ।
उनी भन्छिन्, ‘आमाको शिक्षादिक्षा, पालनपोषणले गर्दा नै म आज यहाँ छु । आज म पद्मावती सिंह भनेर चिनिनु मेरो बुवा परशुरामभक्त माथेमा सँगै आमा चन्द्रभुवनेश्वरी माथेको देन छ ।’
आमाको मिलनसार व्यवहार, काममा लगनशीलता र शान्त स्वभावलाई उनले पनि आत्मसात गरेकी छिन् । तत्कालीन समाजमा पुरुषले लागि जति श्रीमतीहरुको संख्या बढाउनु रवाफको विषय थियो ।
उनका बुवाले पनि दोस्रो विवाह गरेर कान्छी श्रीमती ल्याए । उनकी आमा चन्द्रभुवनेश्वरीले आफ्नी सौतालाई समेत छोरीजस्तै गरेर सँगै राखेर खुवाउने माया गर्ने गरेको उनी स्मरण गर्छिन् । आमाको मायालु र नरम स्वभावले नै घरमा कहिल्यै कलह नभएको उनी सुनाउँछिन् ।
उनकी आमा बितेको साँढे तीन दशकभन्दा बढी समय भयो, तर आमाका यादहरु आउँदा अझै पनि उनी एक्लै बसेर रुन्छिन् ।
भन्छिन्, ‘आमाको हरेका पलहरु अहिले पनि याद आउँछ । आमा बितेको लामो समय भयो, तर आमा सम्झनाबाट हट्नुभएको छैन । आमाको माया, उहाँको छवि बिर्सनै सकिँन । मैले बरु बुवा र अरुलाई बिर्सेँ तर आमालाई बिर्सन सकेको छैन । सबैलाई बिर्से पनि आमालाई बिर्सन नसकिने रहेछ’, उनले भावुक भएर सुनाइन् ।
उनलाई लाग्छ, आमालाई संसारमा भगवानसँग मात्र तुलना गर्न सकिन्छ । सबैका लागि आमा देवी सरह हुन् । आमा मात्र यस्तो व्यक्ति हुन्, जसको माया निःस्वार्थ हुन्छ । उनको भनाइमा छोराछोरी, श्रीमान्, दिदीबहिनी, बुवा यी सबै सम्बन्धहरुमा स्वार्थ हुन्छन् ।
उनका अनुसार भगवानले सृष्टि गरेको निःस्वार्थ मानव प्राणी आमा मात्र हुन् । निःस्वार्थ माया आमाको भन्दा बाहेक अरु कसैको हुँदैन ।
पढ्दापढ्दै १९/२० वर्षको उमेरमै पद्मावतीको विवाह भयो । त्यसपछि लगत्तै उनी आमा बनिन् । सधैं आमामाथि निर्भर बनेकी उनी आफैं आमा बनिसक्दा पनि बच्चा रुँदा सँगसँगै रुन्थिन् ।
उनी भन्छिन्, ‘आफैं आमा भएपछि बल्ल आमाको महत्व बुझेँ । आमा हुन र आमाको भूमिका निभाउन कति गाह्रो रहेछ ।’
अहिले पनि ओमबहाल, गणेशथानको बाटोमा उनी आमासँगका यादहरु देख्छिन् । माइती पुग्दा उनी आमाको कोठामा शुरुमै छिर्छिन् । आमाको कोठामा पुगेपछि आमा हिँडेको, बोलेको सबै स्मरणमा आएपछि फेरि भावुक हुन्छिन् ।
आमाको प्रभाव र छवि सिर्जनामा निकै प्रभाव परेको छ भन्ने उनलाई लाग्छ । आमाबाट सिकेको सहनशीलता र धैर्यताले लेखनमा बल पुगेको उनको मत छ । आमा छँदा नै उनले किताब लेखेर पुरस्कार समेत पाइसकेकी थिइन् ।
त्यतिबेला आमाको मुहारमा छाएको खुसी उनलाई झलझली याद आउँछ ।
भन्छिन्, ‘मेरो सिर्जनामा आमा धेरै ठाउँमा हुनुहुन्छ । आमा र म नै धेरै ठाउँमा छु जस्तो लाग्छ । कुनै पात्रको आमा लेख्नु परेमा त्यसमा पनि आफ्नै आमा देख्छु ।’
आमालाई सम्झेर लेख्न बस्दा उनलाई भित्रदेखि उत्साह आउँछ । आमा जीवितै भएको भए उनले पाएको मान, सम्मान देखेर कति खुसी हुन्थिन् होला भनेर उनी सम्झिन्छिन् ।
‘मैले सिर्जनामा जति गरेँ, जति नाम कमाएँ, यसमा मेरो आमाको आशिर्वाद छ’, उनी भन्छिन् ।
अहिलेको पुस्ता आमाबावुसँग नजिक छैनन् । एक त प्रविधि अर्कोतिर व्यस्तताले अभिभावक र सन्तानको दूरी बढेको छ । यसले गर्दा सन्तानबाट आमाबुवाले पाउनुपर्ने सम्मान तथा छोरीछोरीले पनि माया लिन र दिन नपाइरहेको उनी सुनाउँछिन् ।
उनलाई लाग्छ, निकटता नहुने भएपछि आमाबाट सिक्ने संस्कार समेत सन्तानले सिक्न पाएका छैनन् । यसलाई उनी यो युगले ल्याएको परिवर्तनका रुपमा लिन्छिन् ।
छोरी अन्नाको नजरमा आमा पद्मावती
पद्मावतीसँग उनकी आमाको संस्मरण खोतल्ने क्रममै उनकी छोरी अन्ना सिंह श्रेष्ठ आइपुगिन् । अन्नाको नजरमा भने आमा पद्मावती सधैं बोल्ड र साहसी छिन् । सानैदेखि अन्नाले आमालाई लेखिरहेकै देखिन् ।
आमा अहिलेसम्म नै लेखिरहेको देख्दा उनलाई अझ गर्व लाग्छ । कहिले साहित्य सिर्जना त कहिले जागीरे जीवनको भागदौडमा आमा व्यस्त भएपछि अन्नाको बाल्यकाल बुवासँगै बित्यो ।
‘मलाई आमा जहिल्यै पनि बुवा जस्तो अनि बुवाचाहिँ आमा जस्तै लाग्यो । आमा घरमा भन्दा बाहिर नै बढी काममा व्यस्त हुने गर्नुहन्थ्यो । घरमा हुँदा पनि आधा रातमा पनि उठेर लेखिरहनुहुन्थ्यो’, उनी सुनाउँछिन् ।
आमाको लेखन प्रभावले उनी धेरथोर लेख्छिन्, तर बाहिर खुलेर आएकी छैनन् । आमाभन्दा अलिकति उनी भिन्न स्वभावकी छिन् । जसरी आमाले घरव्यवहारसँगसँगै लेखाइलाई अगाडि बढाइन्, त्यसरी नै लेख्छु भन्ने पक्षमा उनी छैनन् ।
जीवनको उत्तरार्धमा फुर्सदमा लेख्छु भन्ने उनको योजना छ । महिलाको लेखन फुर्सदमा लेख्छु भनेर अगाडि नबढ्ने आमा पद्मावतीले बिचैमा कुरा काटेर सम्झाउन खोजिन् ।
पुरुषलाई जसरी लेखनकै लागि भनेर महिलालाई घरभित्र निश्चित समय नै नमिल्ने पद्मावतीको धारणा छ । उनले पनि जति पुस्तक लेखिन्, घरबाहिर बसेरै लेखिन् । लेखन भनेको बुढ्यौली उमेरका लागि सहारा पनि हुने भन्ने कुरा अन्नाले आमाबाट सिकेकी छिन् । बुढ्यौली उमेरमा आमाको लेखन सक्रियता देखेर उनलाई औधि खुसी लाग्छ । यसलाई उनी आमाको सबैभन्दा बलियो पक्षका रुपमा लिन्छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया