मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सन्दर्भ: विश्व कार्टुनिस्ट दिवस

‘हामीले तीन दशकअघि देउवा र ओलीका कार्टुन बनाउँथ्यौँ, अहिले पनि त्यस्तै प्रवृत्ति छ’

सत्तापक्षको प्रवृत्ति दोहोरिएपछि व्यङ्ग्यचित्रले नयाँ विषयमा फड्को मार्न सकेन 

काठमाडौँ– आज मे ५ अर्थात् विश्व कार्टुनिस्ट दिवस । कार्टुनिस्टहरुको कला सिर्जनालाई सम्मान गर्दै यो दिवस मनाइँदै आएको छ । नेपालमा पनि ‘कार्टुनिस्ट क्लब नेपाल’ले यो दिवस मनाउँदै आएको पाइन्छ ।

कार्टुन क्षेत्रमै तीन दशकदेखि निरन्तर रुपमा लागिरहेका क्लबका निर्वमान अध्यक्ष तथा वरिष्ठ कार्टुनिस्ट अविन श्रेष्ठले दिवसकै अवसरमा आफ्ना दीवङ्गत बुवाआमाको नाममा ‘शारदा–गोविन्दमान व्यङ्ग्यचित्र प्रतिभा पुरस्कार’ स्थापना गरेका छन् ।

पुरस्कार स्थापनाकै पहिलो वर्ष कार्टुनिस्ट महेश बस्ताकोटीलाई यो पुरस्कार प्रदान गरिएको छ ।

नेपालमा कार्टुनिस्टहरुको योगदान र कार्टुन कलामा नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले अविनले विश्व कार्टुनिस्ट दिवसकै दिन यो पुरस्कार स्थापना गरेका हुन् । यसले नयाँ प्रतिभामध्ये एक जनालाई दुई/दुई वर्षमा सम्मान गर्ने निर्णय गरेको छ ।

कार्टुनिस्ट दिवसकै सन्दर्भमा कार्टुन कलाको अवस्था, यसका चुनौती र अब चाल्नुपर्ने पाइलाका विषयमा कार्टुनिस्ट अविन श्रेष्ठसँग जोय नेपालका लागि सुशीला तामाङले गरेको कुराकानीको सम्पादित अंश:

तीन दशकअघिको कार्टुन कला र अहिलेको अवस्थालाई तुलानात्मक रुपमा हेर्दा कति फरक पाउनुहुन्छ ?

तीन दशकअघिको कार्टुनकला र अहिलेको कार्टुनमा फरक छुट्याउँदा सबैभन्दा ठूलो कुरा त प्रविधिले धेरै फड्को मारिसकेको छ । यो चाहिँ फरक आएको छ । फरक नआएको चाहिँ एउटा कुरा छ । तीन दशकअगाडिको विकृति तथा विसङ्गतिहरु र अहिले हेर्दा त्यस्तै छन् । पात्रहरु त्यही छन् । त्यो बेला पनि हामी शेरबहादुर देउवा र केपी शर्मा ओली लगायतका राजनीतिज्ञलाई व्यङ्ग्य गरेर कार्टुन सिर्जना गर्थ्यौँ । अहिले पनि उहाँहरुकै बनाउनु परिरहेको छ । प्रवृत्तिहरु पनि त्यही छन् । त्यो चाहिँ दुःखलाग्दो छ ।

जसरी प्रविधिले कार्टुन सिर्जनालाई फरक बनायो । विषयवस्तुमा पनि फरक बनाउन पाएको भए कति रमाइलो हुन्थ्यो होला । पात्र, प्रवृत्ति, उही भएपछि कन्टेन्ट पनि दोहोरिरह्यो । कार्टुनमा नयाँपन कसरी दिने भन्ने मुख्य चुनौती छ । कार्टुनलाई हेर्ने पारखीहरुमा भने पहिले र अहिलेको समय धेरै फरक छ । पहिलाको माध्यम त प्रिन्ट मिडिया मात्र हुन्थे । अहिले सोसल मिडियाले धेरै ठाउँ लिइसकेको छ ।

पछिल्लो पुस्ताले पत्रिका पनि हेर्न छोडिसके । त्यसकारण अहिलेका पाठकहरु अहिले धेरै विषयमा जानकार भइसके । पहिले विदेशी कार्टुनहरु धेरै हेर्न पाइँदैनथ्यो । अहिले सजिलैसँग विश्वभरका कार्टुन पाठकले हेर्न पाउँछन् । यसले गर्दा प्रतिस्पर्धा एकदमै बढिसक्यो । पाठकलाई चित्त बुझाउन पनि पहिलाभन्दा धेरै गाह्रो छ । सानो–तिनो विषयमा कार्टुन बनाउँदा ‘यस्तो पनि कार्टुन हुन्छ’ भन्ने अवस्था भइसक्यो । तर, दुःखलाग्दो कुरो कार्टुन बनाएरै जीविकोपार्जन गर्न सक्ने अवस्थामा पहिलाको भन्दा अहिले झनै खस्केको छ ।

कार्टुनकला सिर्जना मात्र नभएर सत्तापक्षलाई खबरदारी गर्ने सशक्त माध्यम समेत हो । यसकै माध्यमबाट निरन्तर तपाईंहरु जस्ता कार्टुनिस्टहरुले खबरदारी गरिरहँदा पनि सत्तापक्षको चरित्रमा किन परिर्वतन आउन सकेन ? यसमा कुन पक्षको कमजोरी देख्नुहुन्छ ?

यसमा कार्टुनको कुनै कमजोरी हुँदै होइन । यो त सत्ता पक्षकै कमजोरी हो । सत्ता पक्ष व्यवस्थामा पनि त्यही अनुसार परिवर्तन हुँदै गएको भए हामीले नयाँ–नयाँ शैलीमा कार्टुन बनाउन पाउँथ्यौं । कहिलेकाहीँ उही कन्टेन्टले दिक्क लाग्छ । त्यही समाचार, त्यही हेडलाइन कति पढ्ने भन्ने हुन्छ ।

यस्तै कुरा हिजो पनि छापिएको थियो, आज पनि छापिएकै छ र भोलि पनि त्यस्तै छाप्ला कि भन्ने डर छ । राजनीतिमा नयाँ पुस्ता आए र आउँदैछन् भन्ने एउटा उत्साह भएको छ । कति नयाँ पुस्ताहरुले पद ग्रहण नगरिकनै उमेरले नेटो काटिसके । कतिपय नयाँ पुस्ताका राजनीतिकर्मीहरूमा आउँदाआउँदै विकृतिहरु देखा परिसके । अब यस्तै हो भने हामीले पछिसम्म यही खालका कार्टुनहरु पो बनाउनुपर्ने हो कि भन्ने चिन्ता छ ।

भनेपछि, कार्टुनको विषयवस्तुमा समकालीन समाजको प्रभाव र यसको भूमिका अहम् छ ?

समकालीन समाजको प्रभाव एकदमै छ । समकालीन समाज जता जान्छ, हामी पनि उतै लाग्छौँ । समाजलाई छोडेर हामी अगाडि जान सक्दैनौँ ।

लैङ्गिक, धार्मिकजस्ता संवेनशील विषयमा सिर्जना भएका पछिल्ला केही कार्टुनहरु विवादमा आइरहेका छन् । यसलाई कसरी लिनुभएको छ ? कार्टुनिस्टहरुले यस्ता संवेनशील विषयलाई कसरी लिनुपर्छ

कार्टुन भनेको एकदम संवेदनशील विधा हो । कतिपय देशमा कार्टुनकै कारण ठूला–ठूला दङ्गाहरु भएका छन् । कार्टुनकै कारण ज्यानै गुमाएका पनि छन् । त्यसकारण कार्टुनिस्टहरु यसमा सजक हुनैपर्छ ।

विभिन्न जाति, लिङ्ग, धर्म जस्ता विषयमा कार्टुन बनाउँदा सजग हुन जरुरी छ । एक त कार्टुनले विकृति र विसङ्गतिहरु दिने भएकोले व्यङ्ग्य भनेको अलिक तीतै हुन्छ । यस्तै तीता कुराहरुले कसैको धार्मिक आस्था र जातीय भावनामा चोट पुग्यो भने गलत नतिजा आउन सक्छ ।

हुन त कार्टुनिस्टहरुलाई हामीलाई स्वतन्त्रता चाहिन्छ भन्ने पनि हुन्छ । तर, स्वतन्त्रताको सीमा हुन्छ । त्यो नाघियो भने अराजकता हुन्छ । त्यसकारण हामीले सीमाभित्र बसेर सिर्जना गर्नुपर्ने हुन्छ । कतिपय नयाँ पुस्ताले काम गर्दै जाँदा यसमा स्वविवेक बुझ्नुपर्ने हो ।

मलाई लाग्छ, खासमा नेपालका कार्टुनहरु अन्य देशका तुलनामा धेरै सभ्य र शालीन छ । विदेशीको कार्टुनहरु हेर्दा त्यो विषय बनाउन त परको कुरा हामी सोच्न पनि सक्दैनौं । त्यसकारण यो शालीनता, सभ्यता कायम राख्न पनि नयाँ पुस्ताले यो विषयमा सजक हुनुपर्छ । 

प्रेस स्वतन्त्रतामा कतिपय समयमा अङ्कुश लगाइँदा कार्टुन क्षेत्र पनि प्रभावित भए होलान्, तपाईंको तीन दशकको यात्रामा यस्ता भोगाइहरु कतिको भए ?

बन्देज नै भएको अनुभव त भएन । तर हामीकहाँ एउटा कानून ल्याउँछ, त्यही कानून नै सबैलाई हुन्छ । हात्तीलाई पनि त्यही कानून अनि कमिलालाई पनि त्यही कानून जस्तै हुन्छ । बेलाबेलामा बन्देज र मिडिया विधियकका कुराहरु आउँछन् । मुलुकी आचार संहितामा कसैलाई व्यङ्ग्य गर्न पाइँदैन भन्ने बुँदा पनि छ । त्यसो भए कार्टुन नै नबनाउने त ? भनेर हामीले आवाज उठाउँदा कार्टुनिस्टहरुलाई भनेको होइन भन्ने जवाफ आयो । यस्तो कुरामा त्यहाँ तोकेर लेखिदिनुपर्ने हो । जस्तो विद्युतीय कारोवार ऐन पनि पत्रकारलाई बनेको होइन, तर त्यही ऐन लगाएर कति पत्रकारलाई थुनामा राखेको छ । यस्ता कुरामा राज्यले पनि अलि गम्भीरताका साथ हेरिदिनुपर्छ । कार्टुनिस्टहरुलाई चाहिँ स्वतन्त्रता चाहिन्छ । त्यो भएन भने कार्टुन बनाउनै सकिँदैन ।

अहिले पनि एउटा अखबारमा हजार शब्दको समाचार र एउटा कार्टुन छापिनुमा कुन चाहिँको बढी मूल्य र प्रभाव हुन्छ ? 

आम मानिसले कार्टुन हजार शब्दको लेख भन्दा बलियो हुन्छ भनेर भन्छन् । यसको मूल्याङ्कन र जोख्ने मापनका पनि आ–आफ्नै दायरा होलान् । कार्टुनहरु सबै बलिया हुन्छन् भन्ने पनि हुँदैन । म एकजना कार्टुनिस्ट भएको नाताले पनि के भन्न सक्छु भने पछिल्लो समयमा छोटोभन्दा छोटो समयमा पनि मानिसले धेरै सूचनाहरु खोजिरहेका छन् ।

यसका लागि कार्टुन एउटा बलियो माध्यम हो । लेखले कति घुमाएर भनेको कुरा कार्टुनले ‘टु दि पोइन्ट’मा भन्न सक्छ । यसले भन्न खाजेको कुरा सीधै भन्ने भएकाले यसको महत्त्व बेग्लै छ ।

पछिल्लो समयमा अनलाइन मिडियाको बलियो उपस्थिति देखिएपनि कार्टुन चाहिँ प्रिन्टमै किन खुम्चिरहेको छ ?

यो एकदमै दुःखलाग्दो कुरा हो । हाम्रो कार्टुनिस्टहरु सोसल मिडियामा मात्र नभइदिएको भए अहिलेको नयाँ पुस्ताले कार्टुन हेर्नै पाउँदैनथे । नयाँ पुस्ताले प्रिन्ट मिडिया किनेर हेर्दैनन् । नाम चलेका अनलाइन मिडियामा कार्टुन छँदै छैन । कार्टुनिस्टहरु नै सोसल मिडियामा सक्रिय भएर नयाँ पुस्ताले कार्टुन कला हेर्न पाइरहेका छन् । यो विषयमा चाहिँ अनलाइन मिडियालाई किन कार्टुन नराख्नुभएको हो भनेर सोध्नुपर्ने हुन्छ । किनकि अनलाइन मिडियामा कार्टुन बलियो स्थान दिनुपर्ने अवस्था आइसकेको छ ।

अबको भविष्य त अनलाइनकै हो । नयाँ पुस्तालाई कार्टुन नै नदेखाउने गरी अन्याय नै चाहिँ गर्नुहुँदैन । नयाँ पुस्ताले कार्टुनबारे जान्नु/बुझ्नुपर्‍यो भने कहाँ गएर बुझ्ने ? त्यसकारण अनलाइन मिडियाले यसमा गम्भीर भएर सोच्नुपर्छ । समय ढिला भइसकेको छ ।

यो क्षेत्रलाई कसरी अगाडि बढाउन सकिएला जस्तो लाग्छ ?

त्यसका लागि अनलाइनका प्रकाशक र सम्पादकले पनि सोच्नुपर्छ । होइन भने अहिलेको विकल्प नै सोसल मिडिया हो । अर्को कुरा कार्टुन बनाएर नै जीविको चलाउन सक्ने अवस्था बन्नुपर्छ । कार्टुन बनाएर खान पुग्दैन र दिनभरी मःम पसल खोलेर कार्टुन बनाउँछु भनेर लाग्न सकिँदैन ।

एउटा कार्टुनिस्टले कार्टुन बनाएर नै परिवार चलाउन सक्यो भने मात्र सबै काम छोडेर ऊ सिर्जनामा लाग्न सक्छ । कार्टुन एउटा चित्र मात्र होइन, यसमा लगनशीलता, अध्ययन र आफूलाई विश्लेषण गर्ने क्षमता चाहिन्छ । त्यो क्षमता अभिवृद्धिका लागि पनि यसमा धेरै समय लगाउनुपर्ने हुन्छ । उक्त समय लगाए वापत उसले प्रतिफल पाए मात्र कार्टुन क्षेत्र अगाडि बढ्न सक्छ । होइन भने कार्टुन भनेको ‘लोपोन्मूख प्राणी’ हो भन्ने अवस्था आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?