हेटौँडा – बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले प्रदेशमा अब सरकारी कामकाजको नेवा: र तामाङ भाषालाई यही वैशाख २४ गतेदेखि व्यावहारिक रूपमा प्रयोगमा ल्याइने बताएका छन् ।
मन्त्री बज्राचार्यले वैशाख २४ गते बिहान ९ बजे काठमाडौँको वसन्तपुरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त दुवै भाषा सबै सरकारी कार्यालयमा प्रयोगमा ल्याइने कार्यक्रमको समुद्घाटन गर्ने जानकारी दिए ।
उनले काठमाडौँको वसन्तपुरबाट सोही दिनको बिहान ७ बजे विभिन्न वेशभूषा र झाँक्रीसहित र्यालीले काठमाडौँ नगरको परिक्रममा गर्ने पनि उल्लेख गरे।
यसैगरी प्रदेश सरकारले प्रदेशमा नेवा: (नेपाल) तामाङ भाषा सरकारी कामकाजको भाषा प्रयोगमा ल्याइएको खुसीयालीमा सो दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनी मन्त्री गङ्गानारायण श्रेष्ठले बताए ।
उक्त भाषा प्रयोगमा ल्याइएको खुसीयालीमा हुने कार्यक्रम भव्यरुपमा सम्पन्न गर्न संस्कृति मन्त्री बज्राचार्यको अध्यक्षतामा तीन सय पाँच सदस्यीय आयोजक समिति बनाइएको छ ।
बागमती प्रदेशसभाको केही महिनाअघि बसेको बैठकले प्रदेशमा सरकारी कामकाजको भाषाका रूपमा नेवारी र तामाङ भाषाको विधेयक पारित गरिएको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया