काठमाडौँ – ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा दोस्रो युद्धविराम हुनसक्ने सम्भावना देखिएको छ ।
हमास नेता याह्या सिनवारका अनुसार हमास इजरायली बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा सहमत भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार हमासले इजिप्ट र इजरायलको प्रस्तावमा आफूलाई कुनै समस्या नभएको बताएको छ ।
यसका लागि इजरायली प्रतिनिधिमण्डल कायरो जान सहमत भएको छ । इजरायलले प्यालेस्टिनी बन्दीहरूको बदलामा हमासले १३० बन्धकमध्ये ४० जनालाई रिहा गर्न माग गरिरहेको छ ।
अर्कोतर्फ अमेरिकी विदेशमन्त्रीले पनि हमासको प्रस्ताव छिट्टै स्वीकार गर्नुपर्ने बताएका छन् । ब्लिन्केन वर्ल्ड इकोनोमिक फोरममा सहभागी हुन साउदी अरेबिया पुगेका थिए । यहाँ उनले हमास र प्यालेस्टाइनको विषयमा कुरा गरे ।
समाचार एजेन्सी एएफपीले एक अधिकारीलाई उद्धृत गर्दै इजरायलले कुनै समस्या सिर्जना नगरेसम्म इजिप्टको प्रस्तावमा हमासलाई कुनै खास समस्या नरहेको बताएको छ ।
हमासको प्रतिनिधिमण्डलले कायरोमा इजिप्ट र कतारी मध्यस्थकर्ताहरूसमक्ष हमासको प्रस्तावको प्रतिक्रिया प्रस्तुत गर्ने बताइएको छ ।
इजिप्ट, कतार र अमेरिका मिलेर हमास र इजरायलबीच युद्धविराम गराउने प्रयास गरिरहेका छन् । उक्त प्रस्तावमाथि छलफल गर्न तीन देशले शुक्रबार अप्रिल २६ मा इजरायलमा उच्चस्तरीय प्रतिनिधिमण्डल पठाएका थिए । अब दुई देशबीच युद्धविरामको विषयमा कायरोमा वार्ता हुनेछ ।
जसले निकास दिने आशा गरिदाँ भर्खरै कतारी राजा शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण र विपिन जोशीका विषयमा भएको कुराकानीले यो पटकको बन्दी रिहाईमा उनी समेटिन्छन त भन्ने चासो बढ्दो छ ।
तर हमास र इजरायल बीचको युद्धविराम सम्झौता र बन्धकहरूको रिहाइसँग सम्बन्धित विवरणहरू खुलाइएको छैन। यद्यपि, केही मिडिया रिपोर्टहरूका अनुसार यसले ३३ इजरायली बन्धकहरूलाई रिहा गर्ने कुरा गरेको छ । बदलामा इजरायलले जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ ।
हिब्रू मिडिया च्यानलहरूका अनुसार इजरायलले प्यालेस्टिनीहरूलाई उत्तरी गाजामा फर्कन अनुमति दिने जस्ता धेरै ठूला सहुलियतहरू दिन तयार छ। यद्यपि, इजरायलले पनि बन्धकहरूलाई रिहा गर्ने बदलामा गाजामा युद्ध अन्त्य नगर्ने बताएको छ ।
६ महिनाको युद्धमा इजरायलले रफाह बाहेक सम्पूर्ण गाजा कब्जा गरेको छ । रफाहमा आक्रमण गर्नुअघि इजरायलले हमासलाई सम्झौताको अन्तिम मौका दिएको थियो। हमासले सम्झौता स्वीकार नगरे इजरायलले रफाहमा ठूलो हमला गर्ने बताएको थियो ।
हाल रफाह सहरमा १० लाखभन्दा बढी प्यालेस्टिनीहरूले शरण लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया